विनाशकारी भुकम्पः मुहान सुकेपछि गाँउनै खण्डहर

दोलखा । दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ८ खारेमा एउटा गाँउ छ किरसे । यो गाँउ विगतमा सुन्तला खेतीको लागि जिल्ला भरीनै प्रख्यात थियो । २०७२ सालको विनाशकारी भुकम्प पछि भने यो गाँउ खण्डहर बनेको छ । भुकम्प लगतै गाँउको नजिक रहेको देवीथान पदेरो र जामुने खोल्चामा रहेको दुईवटा पानीको मुहान सुकेपछि किरसेका झण्डै १० […]

Apr 25, 2025 - 04:29
 0
विनाशकारी भुकम्पः मुहान सुकेपछि गाँउनै खण्डहर

दोलखा ।

दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ८ खारेमा एउटा गाँउ छ किरसे । यो गाँउ विगतमा सुन्तला खेतीको लागि जिल्ला भरीनै प्रख्यात थियो । २०७२ सालको विनाशकारी भुकम्प पछि भने यो गाँउ खण्डहर बनेको छ ।

भुकम्प लगतै गाँउको नजिक रहेको देवीथान पदेरो र जामुने खोल्चामा रहेको दुईवटा पानीको मुहान सुकेपछि किरसेका झण्डै १० घर धुरीका वासिन्दा अन्यत्र सर्न बाध्य भएको र त्यसपछि गाँउ खण्डहर बनेको स्थानीय जेष्ठ नागरिक कृष्ण बहादुर तमाङले बताए । सिन्धुपाल्चोकको लिसंखुतिरबाट आएका तमाङ समुदाय किरसेमा बस्न थालेको सात पुस्ता वितिसकेको कृष्णबहादुरको भनाई छ ।

किरसेका स्थानीय अहिले वडा नम्बर– ८ खारेकै लुङ्गटा र खारेखोला तथा चंखु– मार्वुको बरुमा स्थानान्तरण भएका छन् । कोही– कोही भने जिरी, काठमाण्डौ र विदेशमा समेत गएको स्थानीय गोकर्ण तमाङले बताए । स्थानीय सरकारले पानीको व्यवस्था गरेर आफ्नै थातथलोमा फर्कने वातावरण बनाउछन् की भनेर १० बर्षसम्म पर्खदा पनि कुनै वास्ता नगरेको गोकर्ण तमाङको गुनासो छ ।

भुकम्प पछि वसाई आएको लुङ्गटा र खारेखोला पनि पहिरोको जोखिममा छ, जमिन पनि धेरै छैन स्थानीय गोकर्ण तमाङले भने– त्यसैले हामी जेसुकै हुन्छ होस भनेर किरसेमै फर्कने तयारीमा छौ । २०७२ सालको भुकम्पले किरसेको घरहरुलाई धेरै ठुलो क्षति पुगेको थिएन गोकर्ण तमाङले भने– पानीको मुहान सुकेर स्थानीयले गाँउ छोडेपछि भने आगलागी र लार्पवाहिले धेरै घरहरु ढलेको हो ।

अहिले गाँउमा स्थानीय कृष्ण बहादुर तमाङको एउटा भग्नावशेष घरमात्र बाँकी रहेको उनले बताए । आफु र अर्का छिमेकी रत्नबहादुर तमाङले किरसेमै सुन्तला खेती सुरु गरेर घर बनाउने तयारी गरेको गोकर्ण तमाङको भनाई छ । अझै पनि सरकारले किरसेको उर्वर भुमिलाई वस्न योग्य बनाउन पानीको व्यवस्था गरिदिन्छ कि भन्ने आश मारेका छैनौ– उनले भने ।

करिब ४ सय रोपनी जमिन रहेको किरसेमा सुन्तला, केरा, आलु, मकै, कोदो, धान लगायतका खेती हुने भएकोले यहाँका स्थानीयलाई खाने कुनै समस्या थिएन, कृष्ण बहादुरले भने– सुन्तला बिक्रिबाट त राम्रो आम्दानी समेत लिने गरेका थिए ।
किरसेको सुन्तलाको चर्चा आसपासका हरेक मठ– मन्दिरमा लाग्ने जात्रा र पुजा हरुमा समेत हुने गरेको अर्का जेष्ठ नागरिक आरत बहादुर तमाङ बताउछन् ।

आसपासका हरेक जात्रा– पुजाहरुमा,
सुन्तला मिठो किरसेको
किरसेको मायाले बिर्सेको…….भन्दै युवा– युवतीहरुले दोहोरी गाँउदै ठुम्का लगाउने गरेको आरत बहादुरले सुनाए । तर अहिले गाउँ खण्डहर बनेको छ, सुन्तलाका बोटहरु पानीको अभाव र डढेलोले सखाप भएका छन्– आरत बहादुरले भने । किरसेको अर्का जेष्ठ नागरिक ८४ बर्षिय मुगी घिसिङ भुकम्प अघि असाध्य उर्वर किरसे गाँउ छोड्नु पर्दा आफुलाई पीडा हुने गरेको बताउछिन् । किरसेमा रहेका सुन्तलाको एउटा बोटमा पाँच हजार दानासम्म सुन्तला फल्ने गरेको थियो, फलफुल तथा खाद्यान्न बाली प्रशस्त हुने भएकोले गुजारामा कुनै समस्या थिएन मुगी घिसिङले भनिन् ।

भुकम्प पछि पानीको मुहान सुकेर बाध्य भै गाँउ छोड्नु परेको र अहिले दैनिक गुजारा गर्नै मुश्किल भएको उनको गुनासो छ । उब्जनीको समस्याले स्थानान्तरण भएकाहरु पनि काठमाडौँ र विदेशमा मजदुरी गर्न जान बाध्य भएको स्थानीय युवा सुवराज तमाङ बताउछन् ।

तस्विरहरुः १) किरसेमा रहेको एउटा भग्नावशेष घर र किरसेका स्थानीय २) भुकम्प पछि सुकेको देवीथान पानीको मुहान ३) किरसेका स्थानीय बसाई सरेको लुङ्गटा गाँउ ४) किरसेको उजाड सुन्तला बारी ५) स्थानीय मुगी तमाङ ६) कृष्ण तमाङ ७) सुकेको मुहान देखाउदै गाकर्ण तमाङ ।
०८२ बैशाख ११

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register