काठमाडौं महानगर र निजी क्षेत्रको सहकार्यमा सिप मेला २०८२ को तयारी

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सिपयुक्त जनशक्ति र रोजगारदातालाई जोड्ने उद्देश्यले आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सिप मेला २०८२’ आयोजना गर्ने भएको छ। गत वर्ष सम्पन्न ‘सिप मेला २०८१’ ले दुवै पक्षलाई पुलको काम गरेको निष्कर्ष निकाल्दै निजी, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले यस वर्षको मेलामा पनि सहकार्य गर्न तत्परता देखाएका छन्। महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग […]

May 5, 2025 - 15:55
 0
काठमाडौं महानगर र निजी क्षेत्रको सहकार्यमा सिप मेला २०८२ को तयारी

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सिपयुक्त जनशक्ति र रोजगारदातालाई जोड्ने उद्देश्यले आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सिप मेला २०८२’ आयोजना गर्ने भएको छ। गत वर्ष सम्पन्न ‘सिप मेला २०८१’ ले दुवै पक्षलाई पुलको काम गरेको निष्कर्ष निकाल्दै निजी, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले यस वर्षको मेलामा पनि सहकार्य गर्न तत्परता देखाएका छन्।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग सोमबार भएको बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो धारणा राखेका हुन्। बैठकमा प्रमुख शाहले महानगरपालिकाले वर्षभरि नै सिपमूलक तालिम सञ्चालन गरिरहेको जानकारी दिँदै तालिमबाट उत्पादित जनशक्तिलाई रोजगारीमा आवद्ध गराउन निजी क्षेत्रसँग सहकार्यलाई अगाडि बढाइएको बताए।

उनले निजी क्षेत्रले कस्तो जनशक्ति आवश्यक महसुस गरेको छ भन्ने जानकारी दिएमा सोही अनुसारको तालिम सञ्चालन गर्न महानगरपालिका तयार रहेको बताए। प्रमुख शाहले जनशक्तिको माग नै महानगरपालिकाका लागि ठूलो सहयोग हुने र यसले मानव पुँजी र निजी क्षेत्रबीचको खाडल पुर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

उनले सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रसँग सहकार्य गर्न महानगरपालिका इच्छुक रहेको बताउँदै यस सहकार्यबाट देशभित्र नै रोजगारीको सम्भावना देखिने र निराश युवाहरुमा आशा पलाउने धारणा राखे।

बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरुले उद्योग क्षेत्रले भोगिरहेको जनशक्तिको अभाव कम गर्न महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरु प्रभावकारी देखिएको बताए। उनीहरुले आधारभूत तालिमलाई अद्यावधिक गर्दै विशेषज्ञ तालिम सञ्चालन गर्न, मानव पुँजी पलायन रोक्न, वैदेशिक रोजगारीबाट फर्केका दक्ष जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन सुझाव दिए। साथै, उनीहरुले सेवा निवृत्त व्यक्तिहरुको ज्ञान र सीपलाई पनि श्रम क्षेत्रमा उपयोग गर्न र बैंकहरुसँग सहकार्य गरी उद्यम गर्न चाहनेहरुका लागि बिउ पुँजीको व्यवस्थापनमा सहजीकरण गर्न महानगरपालिकालाई आग्रह गरे।

छलफलमा सहभागीहरुले नेपालमा डकर्मी, सिकर्मी, कपाल काट्ने, प्लम्बिङ् जस्ता काममा युवाहरुको आकर्षण कम देखिएको तर विदेशमा यही काम सहजै गर्ने गरेको उदाहरण दिँदै यी पेशाहरुमा आकर्षण बढाउनुपर्नेमा जोड दिए। उनीहरुले यी क्षेत्रमा तत्काल रोजगारी दिन सकिने सम्भावना रहेको बताए। नेपालमा रोजगारदाता र रोजगार खोज्ने जनशक्ति दुवै रहेको तर उनीहरुबीच समन्वयको अभाव रहेको औंल्याउँदै सिप मेला यस्तो समस्या समाधानका लागि उपयुक्त थलो बन्न सक्ने धारणा उनीहरुले राखे।

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्य, केएल दुगड ग्रुपका अध्यक्ष कुमुद दुगड, सूर्य नेपालका उपाध्यक्ष रवि के. सी. र उपमहाप्रवन्धक प्रेम अर्याल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, एनसेल फाउन्डेसनका निर्देशक विशाखा लक्ष्मी खड्का, त्रिवेणी ग्रुपका अध्यक्ष रामचन्द्र संघाइ, शंकर ग्रुपका अखिल गुप्ता लगायतका प्रतिनिधिहरु बैठकमा सहभागी थिए।

बैठकको प्रारम्भमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले गएको वर्षको सिप मेलाको प्रगति विवरण प्रस्तुत गर्दै २ हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएकोमा २ हजार ७२५ जनालाई तालिम प्रदान गरिएको जानकारी दिए। तालिम लिएकामध्ये करिब १ हजार २ सयभन्दा बढी स्वदेश र विदेशमा प्रत्यक्ष रोजगारीमा आवद्ध भएको उनले बताए।

महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ नामक महानगर गौरव योजना कार्यान्वयन गरिरहेको छ। यस कार्यक्रम अन्तर्गत १५ हजार व्यक्तिलाई सिपमूलक तालिम प्रदान गरी कम्तीमा ५ हजार जनालाई रोजगारी तथा स्वरोजगार बनाउने लक्ष्य राखिएको छ। ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नभएकालाई सिपयुक्त बनाउने, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने र रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गरी आयमा वृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

सिप मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ को अवसर पारेर टुँडिखेलमा आयोजना गरिएको थियो, जसमा तालिमका लागि ६८ हजार ८ सय ६६ जनाले आवेदन दिएका थिए। यसले आन्तरिक रुपमै रोजगारीको प्रशस्त सम्भावना रहेको र सिप नभएर अनौपचारिक क्षेत्रमा रहेका जनशक्तिलाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्न यस्ता मेलाहरु महत्वपूर्ण हुने सन्देश दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register