सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनी हन्टिङ’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरूमा महसकिार (हनी हन्टिङ) सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रूपमा गाउँ वरपरको भिरमा सामूहिक मह सिकार गर्ने वर्षौंदेखिको चलनलाई निरन्तरता दिएका छन् । स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ । डोरीमा झुण्डिएर मह निकाल्ने […]

May 21, 2025 - 07:38
 0
सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनी हन्टिङ’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरूमा महसकिार (हनी हन्टिङ) सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रूपमा गाउँ वरपरको भिरमा सामूहिक मह सिकार गर्ने वर्षौंदेखिको चलनलाई निरन्तरता दिएका छन् । स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ ।

डोरीमा झुण्डिएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुन, तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजालगायतका युवाहरू सहभागी थिए ।

अक्करे भिरमा सिकारीले भाँडामा झिक्ने मह संकलन गर्ने, प्रारम्भिक प्रशोधन गर्ने र सहयोगीसहित करिब २० जना सहभागी थिए । मह सिकार गर्ने चलन लोप हुन नदिनका लागि अग्रजहरूले युवाहरूलाई यससम्बन्धी सिप सिकाएर हस्तान्तरण गरेका छन् ।

स्वाँतबासीहरू घरको काम सकेर दिनभर मह सिकार अवलोकन गर्न छहरेभिर गएका थिए । मह सिकार गर्नुअघि भिरको नजिकै मगर संस्कृतिअनुसार अशुभ नहोस् भन्ने कामना गर्दै पूजाआजा गरिएको थियो । गत वर्ष दुई सय लिटर मह निकालिएको छहरे भिरमा यसपाली पाँच गुणा कम मह उत्पादन भएको छ ।

केही दिनदेखिको वर्षाका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले मह कम भएको सिकारी पाइजाले बताए । छहरीको भिरमा ११ वटा गोला थियो । बुधबार स्वाँतदेखि खोपारा जाने पदमार्गमा पर्ने छिसको टाउको भिरमा मह सिकार गर्ने तयारी छ । त्यहाँ करिब २० वटा गोला छन् ।

खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बिच भागमा भिरमौरीको वासस्थान हुन्छ । वनजङ्गलमा फुल्ने फूल भिरमौरीको आहरा हो । हिउँदमा न्यानो खोज्दै वेँसी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाइँसराइँ गर्छन् ।

मह सिकार अवलोकनका लागि पर्यटकहरू पनि आएका थिए । काठमाडौंका सागर पराजुलीले रसीमा झुण्डिएर भिरबाट मह निकालेको साहासिक दृष्य अवलोकन गर्ने सौभाग्य मिलेको बताए ।

‘मह सिकारीले डोरीको सहायताले भिरमौरीको गोला भएको डरलाग्दो भिरमा झुण्डिएर मह निकालेको पहिलोपटक देख्दा शरीर नै जिरिङ्ग भयो,’ उनले भने, ‘भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने रहेछ ।’

भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुण्डिएर मह सिकार गर्ने गर्दछन् । वसन्त र शरद ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा वेंसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो ।

मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुण्ड्याउँछन् भने भिरको तल अथवा माथिपट्टि बस्ने अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।

महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पुर्‍याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् ।

माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरूलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले तलमाथि गराइन्छ ।

१४ वर्षदेखि मह सिकार गर्दै आएका ७२ वर्षीय केशबहादुरले पछिल्लो समय मौरीको टोकाइबाट बच्न सकिने कपडा, सेफ्टी बेल्ट प्रयोग गर्न थालेपछि जोखिम घटेको अनुभव सुनाए । ‘आठ दश वर्षअघिसम्म सिकार गर्दा एकातर्फ मौरीले टोक्ने अर्कोतर्फ रसी फुत्किएर खस्ने डर हुन्थ्यो,’ उनले भने, ‘अहिले सेफ्टीका सामान भएपछि सुरक्षित र सजिलो भएको छ ।’

स्वादिलो, स्वास्थ्यका लागि हितकर भिरमह शक्तिवर्द्धक हुने स्वाँतका बासिन्दा बलबहादुर तिलिजाले बताए । मह धार्मिक कार्यमा पनि प्रयोग हुने भएकाले थप महत्व छ । विदेश गएका र सहरमा बस्नेहरूले भिरमह कोशेलीका रूपमा लैजाने गर्छन् ।

स्वाँतका सबै भिरबाट निकालिएको मह संकलन गरेपछि बैठक बसेर वितरण गर्ने चलन छ । पराङमा चढ्ने, उनीहरूलाई सहयोग गर्ने र गाउँमा बसोबास गर्नेहरूलाई तीन वर्गमा विभाजन गरेर मह वितरण गर्ने चलन छ । गाउँमा वितरण भएपछि बढी भएको मह बाहिर बिक्री गर्ने गरिन्छ ।

स्वाँतको भिरमहको मूल्य प्रतिलिटर तीन हजार कायम गरिएको छ । बसाइ सरेर बेनी, पोखरा, काठमाडौं, चितवन गएकाहरू मह सिकार गर्ने समयमा स्वाँत आउँछन् । पोखरामा बस्दै आएकी स्वाँतकी चन्द्र पुनले मह सिकार हेर्न, ताजा मह खान र किनेर लैजान हरेक वर्ष गाउँमा आउने गरेको बताइन् । स्वाँतमा बस्ती बसेदेखि नै मह सिकार गर्ने चलन रहेको छ ।

अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष राजेश तिलिजा पुनले मह सिकारलाई व्यवस्थित, आधुनिक र सुरक्षित तथा व्यवसायिक बनाउँदै पर्यटनसँग जोड्ने योजना रहेको बताए । मह सिकारको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, महलाई व्यवस्थित रूपमा प्रसोधन र भण्डारण गरी बजारीकरणको ब्यवस्था मिलाउन पहल गर्ने वडा अध्यक्ष तिलीजाले बताए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register