पूर्व गोर्खा सूर्य नेम्वाङ ठगी मुद्दामा दोषी, पीडितलाई बिगो रकम फिर्तासहित एक वर्ष कैद फैसला

काठमाडौं । लन्डनमा बसोवास गर्ने भूतपूर्व ब्रिटिश गोर्खा सूर्यकुमार नेम्वाङ ठगी मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका माननीय जिल्ला न्यायाधिश रामचन्द्र खड्काको इजलासले प्रतिवादी नेम्वाङलाई ठगी मुद्दामा दोषी ठहर गरेको हो । शुक्रबार अदालतले सजाय निर्धारण गर्दै नेम्वाङलाई एक वर्ष कैद र जाहेरवालाहरुको ठगी तथा नोक्सान भएको बिगो रु ३२ लाख ५७ […]

May 24, 2025 - 19:30
 0
पूर्व गोर्खा सूर्य नेम्वाङ ठगी मुद्दामा दोषी, पीडितलाई बिगो रकम फिर्तासहित एक वर्ष कैद फैसला

काठमाडौं । लन्डनमा बसोवास गर्ने भूतपूर्व ब्रिटिश गोर्खा सूर्यकुमार नेम्वाङ ठगी मुद्दामा दोषी ठहर भएका छन् ।

काठमाडौं जिल्ला अदालतका माननीय जिल्ला न्यायाधिश रामचन्द्र खड्काको इजलासले प्रतिवादी नेम्वाङलाई ठगी मुद्दामा दोषी ठहर गरेको हो ।

शुक्रबार अदालतले सजाय निर्धारण गर्दै नेम्वाङलाई एक वर्ष कैद र जाहेरवालाहरुको ठगी तथा नोक्सान भएको बिगो रु ३२ लाख ५७ हजार ४ सय ७० फिर्ता गराउन फैसला गरेको हो ।

९ कक्षासम्ममात्र अध्ययन गरेका नेम्वाङले गैर कानूनी रुपमा आफूलाई वकिल हुं भन्दै बेलायतमा आवासीय अधिकार दिलाइदिन्छु भनि मोटो रकम लिएर काम नगरेपछि पीडितहरु दिलप्रसाद लिम्बु, एलिसा थाम्सुहाङ र रमिला राईले जाहेरी दिएपछि नेपाल सरकार वादी भएर गत ०८० साल फागुन १ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको दर्ता नम्बर ०८०- C१-8189 थियो ।

अदालतले प्रतिवादी नेम्वाङले मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ बमोजिमको कसुर गरेको ठहर गर्दै निजलाई सजाय तोकेको हो ।

ब्रिटिश आर्मी भएपनि गोर्खा सैनिकका सन्तानलाई बेलायत लैजाने कार्य गर्न नेपाल सरकारबाट कुनै अनुमति नलिई नेम्वाङले भूपू गोर्खा सैनिकका सन्तानलाई बेलायतमै बसोवास गर्ने गरि कानूनी प्रक्रिया मिलाउन भन्दै रकम उठाएका थिए ।

भूपू गोर्खा आर्मीका सन्तान जाहेरवाला दिलप्रसाद लिम्बु र निजका दाजुभाई एवं दिदी गरि चार जना, जाहेरवाला एलिसा थाम्सुहाङ र उनको दिदी र जाहेरवाला रमिला राई र निजको दिदी दुई जना समेतलाई बेलायतमा गइ काम गर्ने र बसोवासको व्यवस्था मिलाइदिने भनि झुक्याइ झुट्ठा आश्वासन दिएर दिलप्रसादबाट २१ लाख २७ हजार तीनसय रुपैयां, एलिसाबाट ४ लाख ७६ हजार रुपैयां र रमिलाबाट ६ लाख ५४ हजार १७० रुपैयां लिएका थिए ।

तर, जाहेरवालाहरुलाई तत्काल बेलायत नपठाएको र उक्त बिगो रकम फिर्ता नगरि ठगी गरि खाइ मासी वारदात घटाइ कानून विपरित कार्य गरेको देखिंदा निज प्रतिवादी नेम्बाङलाई उल्लेखित कानूनी व्यवस्था अनुसार एक वर्ष कैद र ठगी गरि खाएको बिगो रकम मुलुकी अपराध संहिता २०७४ को दफा २५४ बमोजिम नेम्वाङबाट जाहेरवालाहरुले अलग अलग पाउने ठहर गरेको छ ।

नेम्वाङ नेपाल आउंदा २०८० माघ १५ देखि फागुन १ गतेसम्म थुनामा परेका थिए । ०८० चैत्र २ गतेको अदालतको आदेश अनुसार माग भएको धरौटी रकम पांच लाख रुपैयां पनि उनले तारिख गुजारेपछि जफत भएको फैसलामा उल्लेख छ ।

धरौटी बुझाएको ५ लाख रुपैयांबाट जरिवाना १० हजार कट्टा गरि बांकी धरौटी रकम जफत गरि अदालतको राजश्वमा आम्दानी बांध्ने भनि फैसलामा उल्लेख छ ।

जाहेरवाला दिलप्रसाद लिम्बुले सूर्यकुमार नेम्वाङले पटक पटक गरि २१ लाख २७ हजार तीन सय रुपैयां लिइ कुनै पनि कानूनी प्रक्रिया नगरेको र निजलाई सम्पर्क गर्दा अब काम गर्ने हो भनि पछि दोब्बर रकम लाग्छ भन्दै बेलायतमा आवासीय भिसाका लागि उक्त रकम लिइ झुक्याएको भन्ने बयान दिएका थिए ।

जाहेरवाला एलिसा थाम्सुहाङको बयान अनुसार, नेम्वाङले दिदीबहिनीलाई यूके पठाइदिने भनि विभिन्न प्रलोभनमा पारी बेलायत सरकारले आमालाई प्रदान गर्ने रकम (बेनिफिट) का लागि आफ्नै बैंक खाता सञ्चालन गरि विगत ४ वर्षदेखि आमाको सम्पूर्ण रकम २४ हजार पाउण्ड अर्थात नेपाली ४० लाख ६० हजार ८० रुपैयां नेम्वाङले खाएका थिए ।

नेम्वाङले यूकेमा बसेर नेपाल सरकारसंग अख्तियारी समेत नलिइ आफूले गर्न नसक्ने काम समेत गर्छु भनि झुक्याई शुरुमा भिसा प्रक्रियाका लागि लाग्ने रकम भनि ४ लाख ७६ हजार लिएको र कुनै प्रक्रिया नगरेको हुंदा उक्त रकम माग्दा उल्टै जे गर्न सक्छस् गर अब पैसा मागे उल्टै कारवाही गर्छु भनि धाक धम्की दिएको बयान एलिसाले दिएकी थिइन् ।

जाहेरवाला रमिला राईले दिएको जाहेरी दरखास्त अनुसार विगत ४ वर्ष पहिले उनी आफन्तमार्फत चिनजान भएर नेम्वाङसंग सामाजिक सञ्जालमार्फत सम्पर्क भई कुराकानी गर्न थालेकी थिइन् ।

यसै सिलसिलामा नेम्वाङले आफू बेलायतमा वकिल पेशा गरि बसोवास गर्दै आएको र आवासीय भिसा (आइएलआर) मा नेपाली नागरिकहरुलाई बेलायत बोलाई राम्रो काम लगाइदिने गरेको भनि झुठो आश्वासन दिएका थिए ।

कुराकानी अघि बढ्दै गएपछि नेम्वाङले बेलायत आउंदा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया ९ महिनाभित्र गरिदिन्छु र त्यहां गएपछि राम्रो काम समेत पाइन्छ र भने बमोजिम काम भएन भने सम्पूर्ण रकम तत्काल फिर्ता गरिदिन्छु भनि विभिन्न प्रलोभन देखाइ फकाइ फुल्याइ आवश्यक कागजातसहित निज नेम्वाङको नेपालमा रहेको बैंक खाता समेत ६ लाख ५४ हजार एकसय ७० रुपैयां जम्मा गरेको तर निजले काम नगरि आलटाल गरि रकम लिइ झुक्याइ ठगी गरेको भन्ने जाहेरी रमिलाले दिएकी थिइन् ।

जिल्ला अदालतको फैसलापछि नेम्वाङले ठगेका अरु पीडितहरुलाई पनि न्यायका लागि अब कानूनी उपचार खोज्ने बाटो खुलेको छ ।

नेम्वाङले नेपालमा गार्डियन नामको एक कन्सल्टेन्सी खोलेर अझै पनि गैर कानूनी रुपमा भूतपूर्व गोर्खाका सन्तानलाई भ्रममा पारि रकम असुल्ने गरेका छन् । बेलायतमा समेत आफूलाई लिगल कन्सल्टेन्ट भनेर उनले सयौं भूतपूर्व गोर्खा र तिनका सन्तानलाई आवासीय भिसा अधिकार दिने भनेर ठग्ने क्रम जारी राखेका छन् । उनी अनुसन्धानका क्रममा लन्डनमा समेत ८ दिन प्रहरी हिरासतमा थुनिएका थिए । उनी नेपाल भाग्ने क्रममा बेलायत प्रहरीले लन्डन हिथ्रो विमानस्थलमा राहदानीसमेत जफत गरि पक्राउ गरेको थियो ।

नेम्वाङले अहिले पनि सामाजिक सञ्जाललाई दुरुपयोग गरि बिना सन्दर्भका तस्विरहरु पोष्ट गरेर आफूले धेरैजनालाई बेलायत ल्याएको देखाइ लाखौं पाउण्ड ठगी गर्दै आएका छन् । आफूले दिएको रकम मागे होम अफिसमा ‘कम्प्लेन’ गरेर आवासीय अधिकार भिसा रद्द गराइदिन्छु भनेर धम्क्याउंदै आएको पीडितहरुको गुनासो छ ।

आफूलाई नेपाली कांग्रेसको कथित नेता भन्ने उनले कमाएको अकुत सम्पत्तिविरुद्ध सम्पत्ति शुद्धीकरण आयोगमा समेत उजुरी परेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register