लन्डन परेडमा तेस्रो स्थान जित्ने ग्रीनवीच बरोका नेपालीलाई सम्मान

लन्डन– अंग्रेजी नयाँ वर्षको दिन सम्पन्न ‘लन्डन न्यू इयर डे परेड’ मा तेस्रो स्थान हासिल गर्ने ग्रीनवीच रोयल बरोको नेपाली समुदाय सम्मानित भएको छ। परेडमा सहभागी स्थानीय समुदायका एक सय बढी सदस्यलाई शुक्रबार साँझ वुल्लीच टाउन हलमा आयोजित एक समारोहमा प्रमाणपत्र र मेडलसहित सम्मान गरिएको हो। समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार […]

Jan 31, 2025 - 23:06
 0
लन्डन परेडमा तेस्रो स्थान जित्ने ग्रीनवीच बरोका नेपालीलाई सम्मान

लन्डन– अंग्रेजी नयाँ वर्षको दिन सम्पन्न ‘लन्डन न्यू इयर डे परेड’ मा तेस्रो स्थान हासिल गर्ने ग्रीनवीच रोयल बरोको नेपाली समुदाय सम्मानित भएको छ।

परेडमा सहभागी स्थानीय समुदायका एक सय बढी सदस्यलाई शुक्रबार साँझ वुल्लीच टाउन हलमा आयोजित एक समारोहमा प्रमाणपत्र र मेडलसहित सम्मान गरिएको हो। समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे र ग्रीनवीच रोयल बरोका मेयर काउन्सिलर जीत रानाभाटले परेडका सहभागी तथा सहयोगीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरे।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत घिमिरेले लन्डन परेडमा सहभागी भइ तेस्रो स्थान हासिल गर्न सफल भएकोमा ग्रीनवीच रोयल बरो र स्थानीय नेपाली समुदायलाई बधाई ज्ञापन गरे । उनले लन्डन परेडको अन्तरराष्ट्रिय मञ्चमा मौलिक नेपाली कला र संस्कृतिका प्रस्तुतिसहित नेपाली झण्डा फहराउने कार्य प्रशंसाको लायक रहेको बताए ।

दशकौं अघिदेखि नेपालीहरु बेलायत आउने क्रम शुरु भएको तथा नेपालीहरुले यो देशको लागि धेरै रगत, पसिना बगाएको सन्दर्भ उल्लेख गर्दै राजदूत घिमिरेले भने, ‘नेपालसंग ऐतिहासिक सम्बन्ध रहेको यो मुलुकमा आएर तपाईंहरुले छोटो समयमा हासिल गरेको उपलब्धि निकै महत्वपूर्ण छ । यो अहिलेलाई मात्र नभएर भावी पुस्ताका लागि समेत ठूलो प्रेरणा हुनेछ भन्ने मेरो विश्वास छ।’

बेलायतमा नेपाली पहिचानलाई प्रवर्द्धन गर्ने कार्यमा नेपाली मूलका ग्रीनवीच बरो मेयर रानाभाटको अग्रसरताका लागि धन्यवाद व्यक्त गर्दै उनले दूतावास र आफ्नो तर्फबाट आवश्यक साथ, सहयोग सधैं रहने प्रतिवद्धता गरे।


लन्डन दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले ग्रीनवीच रोयल बरोका मेयर जीत रानाभाटले बेलायत र संसारभर रहेका सबै नेपालीलाई गौरवान्वित बनाएको बताए । बेलायतमा नेपाली संस्कृति र पहिचानलाई स्थापित गराउन मेयर रानाभाटको अगुवाइमा स्थानीय नेपाली समुदायले गरेको प्रयासको उनले सराहना गरे ।

ग्रीनवीच रोयल बरो मेयर जीत रानाभाटले नेपाली संस्कृतिभित्रको विविधता र मौलिकतालाई ‘लन्डन न्यू इयर डे परेड’ मार्फत् अन्तरराष्ट्रिय मञ्चमा प्रदर्शन गर्ने कोशिश गरिएको बताए।

स्थानीय नेपाली समुदायको लगन र मेहनतका कारण नेपाली कला, संस्कृतिको प्रस्तुति परेडकै एक प्रमुख आकर्षण बन्न सफल भएको उनले सुनाए। परेडमा पहिलोपटक नेपाली सांस्कृतिक प्रदर्शनी सम्भव बनाउन योगदान गर्ने सबै संघसंस्था, समुदाय, सहभागी र सहयोगीप्रति उनले आभार प्रकट गरे ।

ग्रीनवीच बरोका काउन्सिल लिडर एन्थोनी ओकेरेकेले स्थानीय समुदायका लागि नेपालीहरुले पुर्याउँदै आएको योगदानप्रति आफूहरुलाई ठूलो गौरव रहेको सुनाए ।

परेडका लागि नेपाली समुदायका संयोजक श्रीचन्द्र गुरुङले सबै नेपाली संघसंस्था र सिंगो नेपाली समुदायलाई रोयल ग्रीनवीच बरोको एउटै झण्डामुनि एकताबद्ध गरी परेडमा सहभागी गराइएको जनाए। उनले परेडलाई सफल पार्न विशेष योगदान गर्ने ग्रीनवीच मेयर, मेयरेस गौमाया गुरुङ, राजन खकुराल, ह्यारी गुरुङ, विनोद ज्ञवालीसहितका अभियन्ता, स्वयमसेवक, प्रायोजक एवम् सबै संघसंस्थालाई धन्यवाद ज्ञापन गरे ।

परेडमा सहभागी ७५ समूहमध्ये लन्डन बरोहरुको प्रतिस्पर्धामा ग्रीनवीच रोयल बरोको नेपाली कला, संस्कृति झल्काउने मौलिक प्रस्तुतिले तेस्रो पुरस्कार जितेको थियो। पुरस्कारमा प्राप्त ५ हजार पाउण्ड नगद मेयर रानाभाटको यो वर्षको च्यारिटी बाउल क्यान्सर यूके र कमनवेल्थ एण्ड गोर्खा गार्डेन प्रोजेक्टमा खर्च गरिंदैछ।

परेडमा ग्रीनवीच बरोका तर्फबाट पासा पुचः गुथि यूकेले धिमे, ढाः र खिंग बाजाका साथ गाइजात्रामा प्रस्तुत गरिने घिन्ताङ घिसी नाच, लाखे नाच देखाउंदै कुमारी यात्रा गरेको थियो । गोविन्द सापकोटाको संयोजनमा नौमति पन्चे बाजा प्रस्तुति गरिएको थियो भने साउथ इष्ट रिजनल तमुधिं लन्डनले सोरठी नाच देखाएको थियो। थकाली समाज यूके, डायमण्ड बुद्धिष्ट सेन्टर यूके, मगर समाजले पनि आफ्नो कला संस्कृति देखाएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register