शब्दहरूको नैतिक प्रभाव घट्दै जानुको खतरा

यही सन्दर्भमा एउटा गम्भीर प्रश्न उठ्छ - के यस्तो भाषण र शब्द प्रयोग सत्य खोज्ने इमानदार चेष्टा हो कि मात्र प्रभाव जनाउने साधन ? 'द डेन्जर्स अफ सोफिस्ट्री' (सोफिस्ट्रीको खतरा) यहीँबाट सुरु हुन्छ । अर्थात्, जब भाषा सत्यसँग होइन, रणनीतिसँग मात्र जोडिन्छ, त्यसले झनै अन्यायलाई ढाकछोप गर्ने काम गर्छ ।

May 30, 2025 - 06:41
 0
शब्दहरूको नैतिक प्रभाव घट्दै जानुको खतरा

‘सेटिङ’, ‘माथिसम्म’, ‘बिचौलिया’

यस्ता केही प्रतिनिधि शब्दबिना आजको दिनमा समसामयिक नेपाली राजनीतिको चर्चा सायद सम्भव छैन ।

नेपालमा भ्रष्टाचार ‘सेटिङ’मा हुन्छ, ‘बिचौलियाहरू’को जगजगी छ, पैसा ‘माथिसम्म’ पुग्छ — यस्ता भनाइहरू अब सामान्य भइसकेका छन् । चिया गफदेखि समाचार शीर्षकसम्म, सडक बहसदेखि संसद्सम्म, यी शब्दहरू बडो सहज तरीकाले भनिन्छन् र लेखिन्छन् । पक्कै पनि भएको वा हुने नै त्यही होला । किनकि, नेताहरू (आफ्नो अनुकूलताअनुसार) त्यही भन्छन्, मिडियाहरू पनि त्यही प्रकाशन/प्रसारण गरिरहेका हुन्छन् ।

हरेकपटक यस्ता मुद्दाहरू सतहमा आउँदा पूरै राजनीति र समाज तरङ्गित भएझैँ हुन्छ, तर यो फेरि क्षण स्थायी हुन्छ । केही दिन या हप्तामा हराउँछ, पानीको फोकाझैँ ।

फेरि अर्को केही न केही नयाँ विषय आइहाल्छ । अनि यिनै शब्दहरू पुनः सतहमा आउँछन्— ‘सेटिङ’, ‘माथिसम्म’, ‘बिचौलिया’। नेपाली राजनीति र समाज केही वर्षदेखि यही/यस्तै ‘रिपिट मोड’मा चलिरहेको छ ।

अङ्ग्रेजी भाषाको ‘सेटिङ’ त अहिले करिब करिब नेपाली नै भइसकेको छ । अखबारी लेखनमा यसको प्रयोग कहिलेदेखि सुरु भयो यकिन गर्न गाह्रो छ ।

यद्यपि, यहाँ चर्चा गर्न खोजिएको विषय त्यो होइन ।

माथि उल्लेखित तीनैवटा शब्दहरू(अरू पनि होलान्) को बारम्बार दोहोर्‍याइले तिनको ओज हराउँदै गएको छ । कुनै समय आश्चर्य वा आक्रोश उत्पन्न गर्ने यी शब्दहरू आज सामान्य सुनिन थालेका छन् । परिणामस्वरूप तिनीहरूको नैतिक र भावनात्मक प्रभाव अत्यन्तै मन्द भएको छ ।

यस्तो लाग्छ कि, नेपाली समाज र राजनीतिमा (केही) शब्दहरूको ‘सेम्यान्टिक स्याचुरेशन’ (Semantic Saturation) भइसकेको छ । जब एउटै शब्द बारम्बार र सतही रूपमा प्रयोग गरिन्छ, त्यसको भाव हराउँदै जान्छ। ‘भ्रष्टाचार’, ‘बिचौलिया’ अब केवल एउटा सजिलो लेबुल जस्तो भएका छन् । यी शब्द सुन्दा आजभोलि हामीलाई ‘यो त के नौलो भयो र?’ भन्ने जस्तो भइसक्यो । यसले पार्ने नकारात्मक प्रभाव के हो भने यसले हामीलाई ‘केही गलत त होला’ भन्ने आभास त दिन्छ, तर त्यो ‘गलत’ को गहिराइमा पुग्ने प्रयासतिर धकेल्दैन ।

सन् १९८७ को एउटा अङ्ग्रेजी सिनेमा ‘प्रिन्सेस अफ ब्राइड’ मा इनिगो मोंटोयाले एक पात्रलाई भन्छ, “You keep using that word. I do not think it means what you think it means.” अर्थात्, “तिमी बारम्बार त्यो शब्द प्रयोग गरिरहेका छौ। मलाई लाग्दैन त्यो शब्दले त्यो अर्थ दिन्छ, जुन तिमीलाई लागिरहेको छ ।”

हाम्रो सन्दर्भमा पनि त्यस्तै भएको छ ।

हामी ‘सेटिङ’, बिचौलिया’, ‘माथिसम्म’ जस्ता शब्दहरू प्रयोग गरिरहेका छौँ, तर ती शब्दहरू वास्तवमा के जनाइरहेका छन् भन्ने कुरामा गहिरो गरी सोच्न छाडेका छौँ । यी शब्दहरूले यथार्थ वर्णन गरे पनि भाव दिन नसक्ने भइसकेका छन् ।

हामी ‘सेटिङ’, बिचौलिया’, ‘माथिसम्म’ जस्ता शब्दहरू प्रयोग गरिरहेका छौँ, तर ती शब्दहरू वास्तवमा के जनाइरहेका छन् भन्ने कुरामा गहिरो गरी सोच्न छाडेका छौँ । यी शब्दहरूले यथार्थ वर्णन गरे पनि भाव दिन नसक्ने भइसकेका छन् ।

हामी ती शब्दहरू पढ्छौँ र सुन्छौँ, तर के साँच्चिकै महसुस पनि गरिरहेका छौँ ? फलस्वरूप ती शब्दहरूले इङ्गित गर्न खोजेको घटनाक्रमको यथार्थ र पार्ने वास्तविक प्रभाव सामान्यीकरण भएको होस् ।

हालै कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक मुछिएको घटना हेरौँ । ‘सेटिङ, ‘माथिसम्म’, बिचौलिया’ सबै शब्द प्रयोग भएका छन् । र, यी सबैले भ्रष्टाचारतिर संकेत गर्छन् । तर आम रूपमा यी शब्दहरूको यति सामान्यीकरण भइसक्यो कि त्यसमा निहित व्यापक नैतिक गहिराइको अनुभूति नै हुन छाडिसक्यो । त्यसैले त होला, उनको दलले उनलाई ‘निर्दोष’ दाबी गरिदियो ।

‘सेटिङ माथिसम्म नै छ’ भन्नुले ‘माथिसम्म’ भनेको कहाँ, कुन तहसम्म हो भनेर कसरी बुझ्ने ? प्रधानमन्त्री ? मन्त्री ? दलका नेता वा संरक्षक ? त्यसको कुनै स्पष्टता छैन।

‘बिचौलिया’ भन्ने बित्तिकै को हुन् त ती ? व्यापारी ? कर्मचारी ? दलका कार्यकर्ता ? यस्तो अस्पष्टता अझ खतरनाक हुन्छ । किनभने, यसले सबैलाई दोषी वा कसैलाई पनि दोषी नदेखाउने अवस्थामा पुर्‍याउँछ । यसले उत्पन्न गर्ने ‘मोरल फग’ ले समाजलाई झनै अन्योलमा पार्छ । सही के हो, गलत के हो भन्ने छुट्टिने अवस्था नरहन सक्छ ।

गभर्नर नियुक्तिको रस्साकस्सी चलिरहेको बेला कांग्रेस महामन्त्री गगन थापाले ‘बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष सम्म छ’ भनिदिए । उनले प्रस्ट नै भनेका थिए । कुनै यो वा त्यो प्रधानमन्त्री भनेका थिएनन् । उनको आशय बिचौलियाहरूको पहुँच जोसुकै प्रधानमन्त्री हुँदा पनि छ भन्ने थियो । यो अर्थमा, संविधान निर्माणपछि बनेका प्रधानमन्त्रीको सूचीमा थापाकै दलका सभापति शेरबहादुर देउवा पनि पर्छन् ।

सत्ता साझेदार दलको महामन्त्रीबाट आएको यो वक्तव्य वास्तवमा आफैँमा एउटा ‘बोल्ड स्टेटमेन्ट’ थियो । यसले तरङ्ग त पैदा गर्‍यो, तर केही समयलाई मात्र । वास्तवमा वर्तमान राजनीतिमा प्रभावशाली मानिएका एक नेताबाट आएको यस्तो गम्भीर र साहसी वक्तव्य त ‘विस्फोटक’ नै हुनसक्थ्यो । यसले क्षणिक तरंग मात्र हैन, राजनीतिक हलचल नै ल्याउनुपर्थ्यो । तर, त्यसो भएन ।

यही हो ‘सेम्यान्टिक स्याचुरेशन’को असर । अर्थात्, संज्ञानता प्रभाव (cognitive effect) यस्तो भइसक्यो कि हाम्रो मस्तिष्कले यी र यस्ता शब्दहरूको वास्तविक अर्थको तौल र गहिराइलाई समाउनै छाडिसक्यौँ । जसले गर्दा सुन्दा वा पढ्दा आश्चर्य लाग्ने, असहज हुने वा आक्रोश महसस हुने स्थिति नै हराइसक्यो । एक किसिमले यी शब्दहरूको अधिक सामान्यीकरण र असम्वेदीकरण भइसक्यो ।

फ्रान्सेली चिन्तक मिशेल फुकोले भाषाको शक्ति र सत्ताबीचको सम्बन्धबारे चर्चा गर्दा भनेका छन्— ‘शब्दहरू सत्ता र संस्थामा यति गहिरो गरी मिसिन्छन् कि अन्ततः ती शब्दहरूले न्याय र विवेक बोकेको सन्देश नै गुमाउँछन् ।’ उनका अनुसार शब्द केवल अर्थ दिने साधन होइनन्, तिनीहरूले सत्ता संरचना कायम राख्न पनि मद्दत गर्छन् । उनले भनेझैँ,  हाम्रो वर्तमान अवस्थामा यिनै शब्दहरू — ‘सेटिङ, ‘बिचौलिया’, ‘भ्रष्टाचार’ — हाम्रो ‘रुटिन डिस्कोर्स’ मा यसरी अन्तर्निहित भइदिए कि यिनीहरूले न झस्काउँछन्, न नैतिक रूपमा उद्वेलित नै गर्छन् ।

आफैँमा गहिराइ बोकेका यस्ता शब्दहरूको हल्का र सतही रूपमा अनायासै, जानाजानै वा नजानेरै प्रयोग गर्ने बानीबाट यो लेखक पनि अछुतो चाहिँ छैन ।

शब्द आफैँमा परिवर्तन ल्याउने साधन त होइनन्, तर तिनीहरूले सोच्ने तरिका भने पक्कै बदल्न सक्छन् । त्यसैले यस्ता शब्दहरूको प्रयोग गर्दा त्यसले आम जनजीवनमा पार्ने प्रभावबारे सोच्नु पनि आवश्यक छ । आखिर ‘सेटिङ’ र ‘बिचौलिया’द्वारा सृजित भ्रष्टाचारको मूल्य चुकाउने जनता नै हुन् — सिधै होस् वा परोक्ष रूपमा ।

शब्द आफैँमा परिवर्तन ल्याउने साधन त होइनन्, तर तिनीहरूले सोच्ने तरिका भने पक्कै बदल्न सक्छन् । त्यसैले यस्ता शब्दहरूको प्रयोग गर्दा त्यसले आम जनजीवनमा पार्ने प्रभावबारे सोच्नु पनि आवश्यक छ । आखिर ‘सेटिङ’ र ‘बिचौलिया’द्वारा सृजित भ्रष्टाचारको मूल्य चुकाउने जनता नै हुन् — सिधै होस् वा परोक्ष रूपमा ।

त्यस कारण, कुनै पनि अनियमितता, दुराचार, भ्रष्टाचार, ‘सेटिङ’ र ‘बिचौलिया’का बारेमा बोल्दा वा लेख्दा त्यसले आमजनजीवनमा कसरी असर पर्छ वा सर्वसाधारणमा त्यसको नकारात्मक प्रभाव कसरी पर्छ वा त्यसले कसरी अन्याय गर्छ भन्ने कुराको विवेचना पनि आजको आवश्यकता हो । ‘बिचौलिया’ को भूमिका देखाउँदा केवल दोष देखाएर होइन, त्यसले सार्वजनिक सेवा र राज्य संयन्त्रमा कसरी व्यवधान पुर्‍याउँछ र प्रकारान्तरले त्यसले आम मानिसलाई कसरी प्रभावित गर्छ भन्ने पक्ष पनि उठाउनु जरुरी छ ।

भ्रष्टाचार कुनै आर्थिक मात्रै मुद्दा होइन, यो विश्वासको र सार्वजनिक कर्तव्यको उल्लङ्घन पनि हो । भ्रष्टाचार र बिचौलियाका विषय अब लेबलका रूपमा  मात्र प्रयोग गर्नु अपुग हुन सक्छ । जनहितविरुद्ध यसले समाजलाई कसरी आक्रान्त र त्रसित बनाएको छ भन्नु पनि जरुरी भएको छ ।

नेपालमा ‘भ्रष्टाचार’ शब्द को उच्चारण सायद नेताहरू नै सबैभन्दा बढी गर्छन् । रोचक के छ भने यो दुष्कार्यमा संलग्नता पनि उनीहरूकै धेरै छ । उनीहरूले आफ्नो अनुकूलतामा धेरै प्रयोग गरेर नै पनि होला यो र यस्तै शब्दले दिने नैतिक उल्लङ्घनको भाव र त्यसले पैदा गर्ने नकारात्मक सन्देश अनि आक्रोश मन्द हुँदै गएको छ ।

यही सन्दर्भमा एउटा गम्भीर प्रश्न उठ्छ — के यस्तो भाषण र शब्द प्रयोग सत्य खोज्ने इमानदार चेष्टा हो कि मात्र प्रभाव जनाउने साधन ? ‘द डेञ्जर्स अफ सोफिस्ट्रि’ (सोफिस्ट्रीको खतरा) यहीँबाट सुरु हुन्छ । अर्थात्, जब भाषा सत्यसँग होइन, रणनीतिसँग मात्र जोडिन्छ, त्यसले झनै अन्यायलाई ढाकछोप गर्ने काम गर्छ ।

त्यसै पनि अधिकांश नेपाली नेताहरू ‘रेटोरिक’मा अब्बल नै छन् । भ्रष्टाचार र बिचौलिया जस्ता शब्द (जुन या त लापरवाह या त रणनीतिक तरिकाले खास उनीहरूमै पनि लागू हुन्छ)  उनीहरूले यसरी प्रयोग गरिदिन्छन् कि त्यसको उद्देश्य सत्य उजागर गर्नुभन्दा पनि विषयान्तर गर्नेमा बढी केन्द्रित हुन्छ । जब भाषाको उद्देश्य सत्य होइन, रणनीति मात्र हुन्छ, छल मात्र हुन्छ, तिकडम मात्र हुन्छ, त्यसले न्यायको भाव गुमाउँछ ।

त्यसैले, प्रश्न केवल शब्दको प्रयोग होइन, प्रश्न हो यसले जनताको चेतनामा के र कसरी असर पारिरहेको छ भन्ने । जब शब्दहरू अर्थ गुमाउन थाल्छन्, संवाद त संकटमा पर्छ नै, त्यो भन्दा महत्त्वपूर्ण न्याय पनि संकटमा पर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register