लन्डन जाँदै गरेको विमान भीषण दुर्घटनामा : २४१ जनाको मृत्यु, नेपाली सवार नरहेको पुष्टि

–मौसम सामान्य हुँदा पनि मेडे कल दिएपछि दुर्घटना काठमाडौं । भारतको गुजरातस्थित अहमदावादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन ग्याटविकतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार दिउँसो उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको छ । उक्त भीषण दुर्घटनामा चालक दलसहित विमानमा सवार २४२ जनाको मृत्यु भएको पुष्टि भएको छ । एयर इन्डियाको फ्लाइट नम्बर […]

Jun 13, 2025 - 03:39
 0
लन्डन जाँदै गरेको विमान भीषण दुर्घटनामा : २४१ जनाको मृत्यु, नेपाली सवार नरहेको पुष्टि

–मौसम सामान्य हुँदा पनि मेडे कल दिएपछि दुर्घटना

काठमाडौं ।

भारतको गुजरातस्थित अहमदावादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन ग्याटविकतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार दिउँसो उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको छ । उक्त भीषण दुर्घटनामा चालक दलसहित विमानमा सवार २४२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

एयर इन्डियाको फ्लाइट नम्बर एआई–१७१ ले दिउँसो १ः३८ बजे उडान भरेको थियो । तर, उडेको केही मिनेटमै आवासीय क्षेत्रमा खसेर विस्फोटसहित दुर्घटनामा परेको थियो । विमान एक अस्पताल नजिकैको भवनमा ठोक्किएको थियो जहाँ डाक्टरहरूको होस्टेल रहेको बताइएको छ ।

अहमदावादका प्रहरी प्रमुख जीएस मलिकका अनुसार दुर्घटनास्थलबाट २२० भन्दा बढी शव निकालिएको छ । केही गम्भीर घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ भने उद्धार टोलीहरूले होस्टेलमा रहेका अन्य सर्वसाधारणको अवस्थाबारे खोजी गरिरहेका छन् । पछिल्लो समाचारअनुसार भवनभित्र रहेका केही व्यक्तिहरू पनि हताहत भएका छन् । घटनास्थलमा कालो धूवाँको मुस्लो देखिएको थियो भने प्रत्यक्षदर्शीका अनुसार विमान जमिनतर्फ सोझै खस्दै गएको दृश्य मोबाइलमार्फत खिचिएको भिडिओहरू भाइरल भएका छन् ।

विमानमा नेपाली नागरिक नरहेको दूतावासको पुष्टि
विमानमा नेपाली नागरिक सवार भएको हुनसक्ने प्रारम्भिक आशंकापछि नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरूसँग समन्वय गरेको थियो । दूतावासका कन्सुलर सन्जीव दास शर्माका अनुसार भारतीय पक्षले पठाएको यात्रु सूचीमा कुनै पनि नेपाली नागरिकको नाम समावेश छैन । उक्त सूचीअनुसार विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानडेली नागरिक सवार थिए । चालक दलका १२ सदस्य पनि विमानमै थिए ।

विमान उड्नेबित्तिकै ‘मेडे’ कलफ्लाइट राडारले दिएको जानकारीअनुसार विमानले उड्नेबित्तिकै जमिनबाट ६२५ फिटको उचाइमा पुग्दा अन्तिम सिग्नल प्राप्त भएको थियो । त्यसपछि पाइलटले एयर ट्राफिक कन्ट्रोललाई ‘मेडे, मेडे’ अर्थात् आपत्कालीन सन्देश पठाएपछि विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उडान भरेको केही मिनेटमा नै विमानसँग सम्पर्क विच्छेद भएको थियो । बाँचेकामध्ये एक जनाले झ्यालबाट हामफालेर ज्यान जोगाएका थिए । ती व्यक्ति गम्भीर घाइते भए पनि उपचारपछि अवस्था सामान्य रहेको जनाइएको छ ।

प्राविधिक गडबडीको आशंका
विमान दुर्घटना हुने बेला मौसम एकदमै सामान्य रहेको पुष्टि भएको छ । उड्डयन मौसम सेवाले दिएको जानकारीअनुसार उक्त समयमा आकाशमा बादल थिएन, हावाको गति न्यून थियो र भिजिविलिटी ६ किलोमिटर थियो । उड्डयन सुरक्षा विज्ञ मार्को चानका अनुसार त्यहाँ न त आँधीबेहरी थियो, न त हावाको वेग तीव्र, यस्तो अवस्थामा दुर्घटना हुनु निकै अस्वाभाविक हो । विमानले प्राविधिक गडबडी अनुभव गरेको वा इन्जिन फेल भएको हुन सक्ने प्रारम्भिक अड्कलबाजी गरिएको छ ।

बोइङको ड्रिमलाइनरको पहिलो ठूलो दुर्घटना
बोइङ कम्पनीको ७८७–८ ड्रिमलाइनर मोडेलको यो पहिलो गम्भीर दुर्घटना हो । सन् २०११ मा सार्वजनिक गरिएको यो मोडलले हालसम्म विश्वभर एक अर्बभन्दा बढी यात्रु ओसारिसकेको छ । यसअघि बोइङका म्याक्स मोडेलका दुई विमान दुर्घटना हुँदा ठूलो आलोचना खेपेको थियो । तर, ड्रिमलाइनरलाई निकै सुरक्षित मानिँदै आएको थियो । बोइङ कम्पनीले यस दुर्घटनाबारे प्रारम्भिक जानकारी संकलन भइरहेको बताउँदै समवेदना व्यक्त गरेको छ ।

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घटनापछि युद्धस्तरमा उद्धार तथा राहत कार्य गर्न निर्देशन दिनुभएको छ । भारतका नागरिक उड्डयन मन्त्री किन्जरापु राम मोहन नायडुले भन्नुभयो– ‘म घटनाबाट अत्यन्त दुःखी छु । सबै आपत्कालीन निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ ।’

त्यन्तै सुरक्षित मानिएको बोइङ ७८७–८ ड्रिमलाइनरको उडेको केही मिनेटमै दुर्घटनामा पर्दा भारतमात्र होइन, विश्व उड्डयन उद्योगमै बहसको विषय बनेको छ । मौसम सामान्य, पाइलट अनुभवी, विमान नयाँ यस्ता स्थितिमा यो दुर्घटना हुनुले प्रविधिमा गम्भीर त्रुटि भएको आशंका उठाएको छ ।

अबको छानबिनले दुर्घटनाको कारण प्रस्ट पारेपछि मात्रै विमान निर्माण कम्पनी बोइङ र एयर इन्डिया दुवैको जवाफदेहिता निर्धारण हुनेछ । ‘मेडे’ कल दिइसक्दा पनि विमानलाई सुरक्षित अवतरण गराउन नसक्नु प्रणालीगत विफलता हो या संयोगवश भयंकर त्रासदी त्यो अबको निष्कर्षले मात्र बताउनेछ ।

उक्त घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह अहमदावाद पुग्नुभएको छ । दुर्घटनापछि भारतीय नागरिक उड्डयन निर्देशनालय र अनुसन्धान टोलीले ब्ल्याक बक्सको खोज शुरू गरिसकेको र यसको विश्लेषण नै दुर्घटनाको कारण पत्ता लगाउन अहम भूमिका खेल्ने बताइएको छ । यो समाचार तयार पार्दासम्म ब्ल्याक बक्स फेला परेको थिएन ।


‘म बच्नु चमत्कार हो’
१२ जना चालक दलका सदस्यसहित कुल २ सय ४२ जना सवार विमानका रमेश विश्वास कुमारकोे भने जीवितै उद्दार गरिएको छ ।
अस्पतालमा उपचार गराइरहेका कुमारले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भने– ‘विमान दुर्घटना भएलगत्तै ठूलो विस्फोट भएको थियो र चारैतिर आगोको लप्का थियो ।

एम्बुलेन्सले मलाई तत्काल अस्पताल ल्यायो । अहिले पनि म आफू जीवित छु भन्नेमा विश्वास गर्न सकिरहेको छैन । यो मेरो लागि कुनै चमत्कारभन्दा कम छैन । म बच्नु चमत्कार हो ।’

अहमदाबाद प्रहरी कमिस्नर जीएस मलिकले दुर्घटनाको पुष्टि गर्दै दुर्घटना निकै भयानक रहेको बताए । ‘घटनास्थलको अवस्था हेर्दा कसैको बच्ने सम्भावना निकै न्यून थियो । रमेश विश्वास जीवित रहनु एकदमै असाधारण हो’ –उनले भने ।

भारतमा विगतमा भएका प्रमुख विमान दुर्घटनाहरू
भारतमा सन् १९७० पछि हालसम्म एक दर्जनभन्दा बढी ठूला विमान दुर्घटनाहरू भएका छन् ।
१९७८, पुणे : एयर इन्डियाको विमानमा आगलागी हुँदा २१३ जनाको मृत्यु ।

१९९६, चर्की दादरी (हरियाणा) : दुई विमान एकआपसमा ठोक्किँदा ३४९ जनाको मृत्यु, भारतकै सबैभन्दा ठूलो विमान दुर्घटना ।
२०१०, बंगलोर : एयर इन्डिया एक्सप्रेसको विमान धावनमार्ग पार गरेर खस्दा १५८ जनाको मृत्यु ।
२०२०, कोझिकोड : एयर इन्डिया एक्सप्रेस विमान ल्यान्डिङमा चिप्लिएर दुर्घटना हुँदा २१ जनाको मृत्यु ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register