भारतले दियो नेपाललाई ४० एम्बुलेन्स उपहार, देशभर एकसाथ हस्तान्तरण समारोह

काठमाडौं । भारत सरकारले आज नेपालका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरेको छ। यो सहयोग नेपालको स्वास्थ्य सेवा पूर्वाधार सुदृढ गर्ने भारत-नेपाल विकास साझेदारीको निरन्तर प्रतिबद्धताको एक हिस्सा रहेको दूतावासले शनिबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । दूतावासका अनुसार एम्बुलेन्स हस्तान्तरण समारोह काठमाडौंस्थित भारतीय राजदूतावास, वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास, र पोखरा […]

Jun 14, 2025 - 14:44
 0
भारतले दियो नेपाललाई ४० एम्बुलेन्स उपहार, देशभर एकसाथ हस्तान्तरण समारोह

काठमाडौं । भारत सरकारले आज नेपालका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरेको छ। यो सहयोग नेपालको स्वास्थ्य सेवा पूर्वाधार सुदृढ गर्ने भारत-नेपाल विकास साझेदारीको निरन्तर प्रतिबद्धताको एक हिस्सा रहेको दूतावासले शनिबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

दूतावासका अनुसार एम्बुलेन्स हस्तान्तरण समारोह काठमाडौंस्थित भारतीय राजदूतावास, वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास, र पोखरा तथा धरानका पेन्सन भुक्तानी कार्यालयहरू (PPO) गरी चार स्थानमा एकैसाथ आयोजना गरिएको थियो। शनिबार नेपालका सातै प्रदेशका ३३ वटा जिल्लालाई समेट्दै कुल ४० वटा एम्बुलेन्स प्रदान गरिएको हो। यीमध्ये २२ वटा एम्बुलेन्स काठमाडौंमा हस्तान्तरण गरियो, भने वीरगञ्जमा ७ वटा, पोखरामा ७ वटा र धरानमा ४ वटा एम्बुलेन्स भारत सरकारका प्रतिनिधिहरूद्वारा हस्तान्तरण गरियो।

काठमाडौंमा विशेष कार्यक्रम
काठमाडौंमा आयोजित समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख  प्रसन्न श्रीवास्तवले सवारी साधनका चाबी हस्तान्तरण गरे। कार्यक्रममा बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाका मेयर र अध्यक्षहरूका साथै विभिन्न लाभार्थी संस्थाका प्रतिनिधिहरू, राजनीतिक प्रतिनिधिहरू र समाजसेवीहरू समेतको उपस्थिति रहेको दूतावासले जनाएको छ ।

समारोहमा नियोग उप–प्रमुख श्रीवास्तवले स्वास्थ्य क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई थप बलियो बनाउन भारत सरकारको यो एम्बुलेन्स उपहार लामो समयदेखिको पहलमध्ये एक रहेकोमा जोड दिए। उनले यो पहल भारत र नेपालबीचको अत्यन्तै बलियो र जीवन्त विकास साझेदारीको एक हिस्सा रहेको बताए, जुन विगत सात दशकमा थप विस्तार, गहिराइ र विविधताले भरिएको छ।

लाभार्थी संस्थाहरूका प्रतिनिधिहरूले भारतको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ एम्बुलेन्सहरूले आ-आफ्नो क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे। वीरगञ्ज, पोखरा र धरानका लाभार्थीहरूले पनि यस्तै सकारात्मक प्रतिक्रिया दिएका थिए।

भारत सरकारले नेपालको स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिँदै तीन दशकभन्दा बढी समयदेखि विभिन्न संस्थाहरूलाई एम्बुलेन्स प्रदान गर्दै आएको छ। सन् १९९४ यता आज प्रदान गरिएका एम्बुलेन्ससहित भारत सरकारले नेपालभरि १०४९ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको छ।

यसका अतिरिक्त, भारतले नेपाललाई अन्य प्रकारका लजिस्टिक सहयोग पनि प्रदान गर्दै आएको छ। नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई हालसम्म ३०० वटा स्कुल बस उपहार दिइएको छ। सन् २०२२ मा निर्वाचन सञ्चालनका लागि कानुन कार्यान्वयन गर्ने निकायहरू र नेपालको निर्वाचन आयोगलाई २०० वटा सवारी साधन प्रदान गरिएको थियो। हालै, मे २०२५ मा ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको आयोजनालाई सहज बनाउन नेपालको परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारी साधन उपहारस्वरुप प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भारत र नेपालबीचको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीले दुवै देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ। यस्ता सहयोगले नेपालको विकास र दुवै देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ पार्न भारत सरकारको निरन्तर प्रतिबद्धतालाई झल्काउने जारी विज्ञप्तिमा उल्लेख छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register