कम्बोडियाका पूर्वनेतासँगको संवाद लिक भएपछि शिनावात्रालाई राजीनामा दिन दबाब

काठमाडौं । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा राजनीतिक संकटमा परेकी छन् । कम्बोडियाली पूर्वनेता हुन सेनसँगको गोप्य टेलिफोन संवाद लिक भएपछि उनको पद नै धरापमा परेको हो । सार्वजनिक अडिओमा पेटोङटार्नले हुन सेनलाई “काका” भनेर सम्बोधन गरेकी छिन् र थाइल्यान्डका एक सैन्य कमान्डरको आलोचना गरेकी छन्, जसले सीमा तनावको व्यवस्थापन गरेका थिए । यो अडिओ लिक […]

Jun 19, 2025 - 11:16
 0
कम्बोडियाका पूर्वनेतासँगको संवाद लिक भएपछि शिनावात्रालाई राजीनामा दिन दबाब

काठमाडौं । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा राजनीतिक संकटमा परेकी छन् ।

कम्बोडियाली पूर्वनेता हुन सेनसँगको गोप्य टेलिफोन संवाद लिक भएपछि उनको पद नै धरापमा परेको हो ।

सार्वजनिक अडिओमा पेटोङटार्नले हुन सेनलाई “काका” भनेर सम्बोधन गरेकी छिन् र थाइल्यान्डका एक सैन्य कमान्डरको आलोचना गरेकी छन्, जसले सीमा तनावको व्यवस्थापन गरेका थिए ।

यो अडिओ लिक भएपछि उनको तीव्र आलोचना भइरहेको छ र सत्तारूढ गठबन्धनको दोस्रो ठूलो दल भुमजाइथाई पार्टीले सरकार छोडेको छ । अब प्रधानमन्त्री शिनावात्राको गठबन्धनसँग संसद्‌मा संख्यात्मक बहुमत मुस्किलले मात्र बाँकी रहेको बीबीसीले जनाएको छ ।

यसबारे शिनावात्राले माफी मागेकी छन् । “कम्बोडियाली नेतासँगको मेरो निजी संवाद लिक भएपछि उत्पन्न जनआक्रोशप्रति म माफी चाहन्छु,” शिनावात्राले भनिन् । तर, विपक्षीहरूले उनको राजीनामा माग गरेका छन् ।

पूर्व प्रधानमन्त्री तथा शिनावात्राका पिता थक्सिन र हुन सेनबीच लामो मित्रता रहेको छ । हुन सेनले अडिओ आफूले ८० जना नेतासँग साझा गरेको स्वीकारेका छन् र सोहीमध्ये एकले लिक गरेको बताए । उनले अन्ततः १७ मिनेट लामो उक्त टेलिफोन संवाद सामाजिक सञ्जालमा पनि सार्वजनिक गरेका छन् ।

थाइल्यान्डको परराष्ट्र मन्त्रालयले कम्बोडियाली दूतावासलाई पत्र लेख्दै “गोप्य संवाद लिक हुनुमा गहिरो निराशा” व्यक्त गरेको छ । मन्त्रालयले यस्तो लिकले दुई देशबीचको विश्वासमा चोट पुर्‍याएको र विवाद समाधानका प्रयासहरू प्रभावित हुने चेतावनी दिएको छ ।

सीमा विवादले पछिल्ला महिनाहरूमा तीव्र रूप लिएको छ । मे महिनामा झडपमा एक कम्बोडियाली सैनिकको मृत्यु भएपछि तनाव चुलिएको हो । त्यसयता कम्बोडियाले थाइल्यान्डबाट हुने आयातमा प्रतिबन्ध लगाउँदै फलफूल, तरकारी, बिजुली, इन्टरनेटदेखि थाइ टेलिश्रृंखला र फिल्मसमेत निषेध गरेको छ ।

शिनावात्रा थाइल्यान्डको इतिहासमै सबैभन्दा कान्छी र दोस्रो महिला प्रधानमन्त्री हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register