भरतपुर महानगरको नीति तथा कार्यक्रम : वरपीपल रोप्नेदेखि पटिहानी ईको पार्कसम्म

चितवन । भरतपुर महानगरपालिकाले वरपीपल रोप्ने अभियान सुरु गर्ने भएको छ । महानगरको १७औंँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख (मेयर) रेनु दाहालले हरियाली प्रवर्द्धनसँगै वरपीपल रोप्ने अभियानलाई प्राथमिकतामा राखिने बताएकी हुन् । समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित सहर निर्माणलाई प्राथमिकतामा राखिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरपालिकाले पूर्वाधार निर्माणलाई निरन्तरता […]

Jun 22, 2025 - 12:17
 0
भरतपुर महानगरको नीति तथा कार्यक्रम : वरपीपल रोप्नेदेखि पटिहानी ईको पार्कसम्म

चितवन । भरतपुर महानगरपालिकाले वरपीपल रोप्ने अभियान सुरु गर्ने भएको छ । महानगरको १७औंँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख (मेयर) रेनु दाहालले हरियाली प्रवर्द्धनसँगै वरपीपल रोप्ने अभियानलाई प्राथमिकतामा राखिने बताएकी हुन् ।

समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित सहर निर्माणलाई प्राथमिकतामा राखिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरपालिकाले पूर्वाधार निर्माणलाई निरन्तरता दिँदै हरियाली प्रवर्द्धन र सुरक्षित महानगरका रूपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने उनले बताइन् ।

वरपीपल रोप्ने अभियान सञ्चालन गरी टोल विकास संस्थामार्फत संरक्षण कार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । हरियाली महानगरपालिका कार्यक्रमको लागि महानगरको आफ्नै नर्सरीबाट उत्पादित विभिन्न जातका फलफूलका बिरुवा रोपिनुका साथै बिक्री वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘भरतपुर महानगर स् हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई सार्थक बनाउन हरियाली एवं सरसफाइ वर्ष कार्यक्रम सञ्चालन गरी हरियाली प्रवर्द्धनका कार्यक्रमलाई टोल विकास संस्था समेतलाई परिचालन गरी सरसफाइ र हरियालीलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । मापदण्ड पुगेका सडक दायाँबायाँ वृक्षरोपण र नगरवासीलाई बहुवर्षीय एवम् फलफूलका बिरुवा निःशुल्क वितरण गरिने जनाइएको छ ।

‘एक घर, दुई रुखको नीति’ लाई घर निर्माण सम्पन्न प्रक्रियामै समावेश गरी प्रभावकारी कार्यान्वयन र उचित संरक्षणको व्यवस्था गरिने पनि जनाइएको छ । यस्तै सामुदायिक तथा संस्थागत विद्यालयलाई मागको आधारमा निःशुल्क बिरुवा वितरण गरी वृक्षरोपण र संरक्षणको व्यवस्था मिलाइने बताइएको छ । सङ्घीय सरकारसँगको सह लगानीमा महानगरभित्रका वडा नं २९, रामनगर, नारायणगढ र भरतपुर बजार क्षेत्रलाई समेट्ने गरी एकीकृत सहरी खानेपानी तथा ढल व्यवस्थापन आयोजना आव २०८२–८३ बाट कार्यान्वयन प्रारम्भ गरिने महानगर प्रमुख रेनु दाहालले बताइन् ।

‘उज्यालो भरतपुर’ अभियान अन्तरगत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा निर्माणधीन पहिलो र दोस्रो चरणको स्मार्ट सडक बत्ती, हाई मास्ट एवम् मिनी मास्ट बत्ती जडान र विस्तारको साथै मुख्य बजार क्षेत्रमा बिजुलीका तारलाई भूमिगत प्रणालीमा लैजाने काम सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरभित्रका पार्क, सामुदायिक वन तथा अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने व्यवस्था गरी राजस्वको दायरामा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगर प्रमुख दाहालले सम्बन्धित निकायको सहयोग तथा समन्वयमा साझा पूर्वाधार अवधारणा अनुसार नगरभित्रका विद्युत्, टेलिफोन, केबुल लाइन र इन्टरनेटका तारलाई भूमिगत गर्ने कार्यलाई निरन्तरता दिइने बताइन् । महानगरपालिकाभित्रका खोलानाला संरक्षण अभियानलाई तीव्रता दिई केरूङ्गा घोल, पुङ्गी खोला, पोखरी, ताल, सिमसार क्षेत्रको संरक्षण गरी आकर्षक पर्यटकीय करिडोरका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरभित्रका नगर गौरवका आयोजनालाई सार्वजनिक–निजी–साझेदारी विधिबाट सञ्चालन गर्ने नीतिअनुरूप लायन्स चोकमा महानगरीय व्यावसायिक भवन यसै आर्थिक वर्षमा निर्माण सुरु गरिने छ । फोहरमैला व्यवस्थापनको लागि आधुनिक पूर्वाधारसहितको ल्याण्डफिल साइट निर्माणकार्य सार्वजनिक निजी साझेदारीमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सङ्घ तथा प्रदेश सरकारको साझेदारीमा महानगरपालिकाभित्र निर्माणाधीन देशकै बृहत् महानगरीय चक्रपथ र लिङ्रोडको बाँकी खण्डमा निर्माण कार्य अगाडि बढाउने लक्ष्य लिएको छ । अन्तरराष्ट्रियस्तरको सिटीहल, रानीपोखरी पार्क, लक्ष्मीनारायण मन्दिर तथा पार्कलगायत आयोजना सङ्घीय सरकासँगको समन्वयमा निर्माण सम्पन्न गरी आर्थिक वर्ष २०८२र८३ भित्र सञ्चालनमा ल्याइने जनाइएको छ ।

भरतपुर महानगरपालिकाले दियालो बङ्गला सङ्गहालयलाई थप व्यवस्थित बनाउने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा सर्वसाधारणका लागि खुला गरिएको सङ्ग्राहालयलाई हरियाली पार्क र अन्य पर्यटकीय पूर्वाधार निर्माण गरी थप व्यवस्थित बनाइने नीति तथा कार्यक्रममा जनाइएको छ । यो सँगै देवनगर वन्यजन्तु उद्धार केन्द्र, राइनो चिल्ड्रेन पार्क, लक्ष्मीनारायण मन्दिर, प्रज्ञा स्मृति पार्क, रानी पोखरी, जोरकुसुम पार्क, देवीस्थान पार्क लगायतलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गरिने महानगर प्रमुख दाहालले बताइन् ।

पटिहानी ईको पार्कलाई गुरुयोजनाबमोजिम प्रदेश सरकारको सहकार्यमा निर्माण अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

भरतपुर महानगरले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि रु पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार बजेट प्रस्तुत गरेको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register