गुरही पर्व : थारू संस्कृतिका किंवदन्तीहरू

संस्कृति हरेक समुदायको आफ्नो मौलिक पहिचान हो । कुनै पनि जातिको जातीय पहिचान कला, संस्कृति र भाषासँग जोडिएको हुन्छ । थारू समुदायमा पनि यस्ता धेरै संस्कृति छन् । जुन अहिले प्रायः लोप हुने अवस्थामा पुगिसकेका छन् । बाह्य संस्कृतिको प्रभावले मौलिकतामाथि प्रश्न उठिरहेको छ । यस्तै धेरै कुरा थारू समुदायका द्विविधा रही आ–आफ्नै किसिमको तर्क […]

Jul 29, 2025 - 12:09
 0
गुरही पर्व : थारू संस्कृतिका किंवदन्तीहरू

संस्कृति हरेक समुदायको आफ्नो मौलिक पहिचान हो । कुनै पनि जातिको जातीय पहिचान कला, संस्कृति र भाषासँग जोडिएको हुन्छ । थारू समुदायमा पनि यस्ता धेरै संस्कृति छन् । जुन अहिले प्रायः लोप हुने अवस्थामा पुगिसकेका छन् । बाह्य संस्कृतिको प्रभावले मौलिकतामाथि प्रश्न उठिरहेको छ । यस्तै धेरै कुरा थारू समुदायका द्विविधा रही आ–आफ्नै किसिमको तर्क वितर्कले समाजभित्रै अन्योलको स्थिति सिर्जना भएको यथार्थ पनि हामीसँग छ । त्यसमध्ये एक हो — थारू समुदायको महत्वपूर्ण बालपर्व ‘गुरही’ ।

थारू समुदाय प्रकृति पुजक अथवा प्राकृत धर्म समूहभित्रको एक जाति हो । प्रकृतिप्रति विश्वास गर्ने समुदाय भएकोले प्राकृत धर्म नै थारू जातिको प्राचीन धर्म हो भन्ने कुरा धेरै इतिहासकारले उल्लेख गरेका छन् । तर, पछिल्लो समयमा हिन्दु धर्मको प्रभावले आफूहरू हिन्दु भएको दाबी गर्नेहरूको संख्या पनि छ । त्यसकारण कतिपय हिन्दु धर्मका पौराणिक मान्यताहरू पनि अनुसरण गरेको पाइन्छ । मिश्रित बसाईका कारण पनि एकअर्काका धर्म, आस्था र संस्कृतिप्रति सद्भाव तथा समान व्यवहारका कारण अन्य समुदायका सांस्कृतिक प्रभावले कतिपय संस्कृतिहरू थारू समुदायको लागि मौलिक भइसकेको छ ।

के हो गुरही ?

‘गुरही’ थारू समुदायको एक बालपर्व हो । यो पहिले आम थारू समुदायको चाड थिएन । एउटा निश्चित क्षेत्रबाट विकसित हुँदै अहिले आम थारू समुदायको पहिचानको रूपमा स्थापित हुँदैछ । यसको उद्गम थलो दाङको देउखुरी मानिन्छ । पछि देउखुरीबाट छारा (बसाइँसराइ) गरेर बुर्हान गएकाहरूले पनि गुरही पर्व आफू बसेको ठाउँमा मनाइरहेको पाइन्छ । अहिले देउखुरीलगायत बर्दिया, कैलाली, कञ्चनपुर, काठमाडौं र विदेशमा समेत मनाउन थालिएको छ । यसको सीमासाँध तोडिएको छ ।

अहिले यो आम थारू समुदायको पर्वको रूपमा स्थापित भइसकेको छ । त्यसो त दाङकै दाङ उपत्यका (घोराही–तुलसीपुरक्षेत्र) का थारू समुदायमा यो पर्व मनाइँदैन । त्यसक्षेत्रमा बसोवास गर्ने अधिकांश थारू र त्यहाँबाट छारा गरेर गएकाहरूलाई यो पर्वबारे अहिले पनि जानकारी छैन । पछिल्लो समय सञ्चारमाध्यम र काठमाडौंलगायत विभिन्न शहरमा गरिने गुरही विशेष कार्यक्रमका कारण यसले व्यापकता पाइरहेको छ ।

यसलाई धेरैले लुतो फाल्ने पर्वको रूपमा पनि लिन्छन् । यो पर्व साउन महिनाको शुक्लपक्षको पञ्चमीको दिन पर्दछ । यसैदिन हिन्दुहरूको नागपञ्चमी पनि पर्छ । त्यसकारण ‘गुरही’ र नाग पञ्चमी एउटै हो भन्ने धेरैको बुझाइ रहेको छ । तर, यो संयोग मात्रै हो, वास्तविकता होइन । थारू समुदायको ‘गुरही’ पर्वको आफ्नै सामाजिक मूल्य र मान्यता छ भने नागपञ्चमीको आफ्नै छ । नागपञ्चमीमा सर्प र विषालु किराहरूको पूजा गरिन्छ, तर गुरहीमा न सर्पको पूजा हुन्छ न विषालु विच्छी, गोजरको । यस पर्वको मूल्यमान्यता र लोक बुझाइहरू पनि अलग-अलग भएकाले यो भिन्नै पर्व हो भन्ने कुरा बुझ्न जरुरी छ ।

गुरही कि गुरिया ?

गुरही पर्वप्रति थारू समुदायको आकर्षण बढेसँगै केही कुरामा द्विविधा उत्पन्न हुँदै आएको छ । त्यसमध्ये यस पर्वको वास्तविक नाम गुरही हो वा गुरिया भनेर प्रत्येक वर्ष कुरा उठ्ने गरेको छ । यो खासमा भाषागत बुझाइबाट उत्पन्न समस्या हो । गुरही शब्दको प्रयोग र बुझाइ यस पर्वबाट ३ तरिकाले बुझ्न सकिन्छ । १. देवीको रूपमा गुरही, २. कपडाको खेलौना गुरही र ३. किराको रूपमा गुरही ।

– देवीको रूपमा गुरही :– यस पर्वसँग जोडिएको मिथकीय कथाअनुसार एक बालिका पात्रको रूप गुरही स्थापित गरिएको छ । जसले सिंगो कथाको नेतृत्व गर्दछ । उनी देवको रूपमा उभिएर समुदायमा फैलिएको रोगव्याधिको निवारण गर्दछिन् । जसले गर्दा पृथ्वीलोकमा फैलिएको महामारीको अन्त्य हुन्छ । मानव समुदायमा शान्ति मिल्छ ।

– कपडाको खेलौना गुरही :– बालबालिकाहरूका लागि कपडाले बनाएका खेलौनालाई थारू भाषामा गुरही भनिन्छ । जसलाई नेपालीमा पुतला–पुतली भनिन्छ भने अवधी, मैथली, भाजपुरी, हिन्दीलगायत मधेशी समुदायको प्रयोगको भाषामा गुडिया भनिन्छ ।

– किराको रूपमा गुरही :– ‘गुरही’ पर्व एक ‘गुरही’ नामको किरासँग जाडिएको छ । गुरही नेपाली भाषामा गाइने–किरा, धोबी–किरा भनेर पनि चिनिन्छ । अंग्रेजीमा ड्राइगन फ्लाइ भनेर चिनिन्छ । गुरही एक उड्ने किरा भएकोले यसले मच्छर, भुसुनालगायत सुक्ष्म किराहरूलाई खाने गर्छ । यिनीहरूको संरक्षणले मच्छर (लामखुट्टे) र भुसुनालगायत किराहरूको कमी हुने र रोगव्याधी कम लाग्ने धारणा छ ।

अब यहाँ केही स्थानमा गुरही पर्वलाई गुरिया भनेको पनि पाइन्छ । यसको खासकारण कपडाबाट खेलौना गुरहीलाई मधेशतिर बोलिने अवधी, भोजपुरी मैथली, हिन्दीलगायतका भाषामा गुडिया भनिन्छ । गुडिया शब्दको शुद्ध उच्चारण थारू भाषामा हुँदैन । गुडियालाई गुरिया उच्चारण हुन्छ । गुरिया नै गुडिया हो भन्ने कुरामा दुईमत छैन । तर, गुरिया शब्दलाई थारू भाषामा रुपान्तरण गर्दा यसको अलग अर्थ लाग्छ । थारू भाषामा गुरियाको अर्थ माला अर्थात् महिलाले लगाउने पोते भन्ने बुझाउँछ । र, अर्को अर्थमा गुरिया भनेको मानव शरीरको करङ जोर्ने अस्थिपञ्जरको मालालाई पनि गुरिया भनिन्छ । यसरी हेर्दा गुरही पर्वसँग महिलाले लगाउने पोते (गुरिया) र अस्थिपञ्जरको माला (गुरिया) को कुनै साइनो भेटिँदैन । गुरिया गैरथारू भाषीहरूले आफू अनुकूलको भाषा प्रयोग गर्दा त्यसको प्रभाव थारू समुदायमा परेर गुरहीलाई गुरिया भन्ने बुझिएको हो । यसकै प्रभावमा अथवा, अरुले बोलेको सुनेर अभ्यासमा आएको हुनसक्छ । त्यसकारण यो पर्व गुरिया नभएर गुरही हो ।

लोकमान्यता

गुरही पर्वसँग सम्बन्धित लोककथा पनि छ । उहिलेको जमानामा पृथ्वीमा विभिन्न किसिमका किराहरूको संख्या बढ्यो र रोगहरू पनि फैलियो । रोगका कारण मान्छेहरूको अकालमा मृत्यु हुन थाल्यो । यो देखेर स्वर्गलोकका देउताहरू पनि आश्चार्य चकित परे, उनीहरूमा चिन्ता पनि बढ्यो । एकदिन रोग निवारणका लागि देउताहरूको सभा बस्यो । सभाले यसको वास्तविक कारण बुझ्नका लागि दूतको रूपमा एक जनालाई पठाउने निर्णय भयो ।

निर्णयबमोजिम एक दूतलाई पृथ्वीलोकमा पठाए, तर उनी एकचोटी पृथ्वीमा आएनन् । उनी एक साधारण परिवारमा देवीको रूपमा जन्म लिइन् । उनको शिशुकाल निकै रमाइलोसँग बित्यो । उनी हेर्दै पुतलीजस्ती सुन्दर थिइन्, चञ्चल थिइन् । सबैले यी नानी त खेलौनाजस्ती छन् भनेर भन्थे र सुमसुम्याउथे, काँखमा लिन्थे, खेलाउँथे । उनी खेनौलाजस्तै सुन्दर भएकै कारणले उनलाई सबैले गुरही भन्न थालेपछि उनको नामै गुरही स्थापित भयो ।

जब उनको खेल्ने, हाँस्ने समय आयो, तब उनको दुःखको दिन पनि सुरु भयो । दुःखको कारण उनकी भाउजू थिइन् । भाउजूको एक छोरा थियो । भाउजुले आफ्नो छोरासँग खेल्न पनि दिँदैन थिइन् । गुरहीको आमाले उनको लागि बनाइदिएको खेलौनाहरू पनि भाउजूले फालिदिन्थिइन् । दुःख सहेर पनि उनी बसेकी थिइन् ।
उनलाई खाने कुरा पनि दिँदैन थिइयो । आमा नभएको बेला त उनी भोकै दिन बिताउँथिइन् । उनी भाउजूको ज्यादती, दुःख सहेर बस्थिन् ।

उनलाई आमाले भने निकै माया गर्थिन् । उनी विभिन्न किसिमका खेलौना, स-साना बालबालिकाहरूसँग खुब खेल्न मन पराउँथिन् र खेल्थिन् । बालबालिकाहरूलाई उनले निकै माया पनि गर्थिन् । उनलाई बालबालिकाहरूले पनि निकै माया गर्थे । कपडाका खेलौना ‘गुरही’ खुब मन पर्थ्यो । त्यसैले उनकी आमाले पनि उनको लागि, रंगीविरंगी गुरही बनाइदिन्थिन् । उनी त्यही गुरही लिएर आफ्ना साथीहरूसँग खेल्न जान्थिन् ।

यता उनकी भाउजू भने उनले खेलाउने गुरही देखि सहन्न थिइन् । आमाले बनाएको गुरही सधैं फालिदिने, बिगार्ने गर्थिन् । भाउजूले गुरही फालिदिने डरले उनकी आमाले कहिले डेहरी (धान राख्ने माटोको भकारी)को मुनी, कहिले नदेख्ने ठाउँमा लुकाएर राख्थिन् । उनी रुँदा उनकी आमाले फकाउनका लागि लोरी गीत गाउँथिन् ।

चुपि रहो गुरही, चुपि रहो गुरही ।
ढेहरिक गोराटिर ढरबुँ हो गुरही ।।

चुपि रहो गुरही, चुपि रहो गुरही ।
मोंकक पिस्निपर ढरबुँ हो गुरही ।।

चुपि रहो गुरही, चुपि रहो गुरही ।
भिटक अँर्वापर ढरबुँ हो गुरही ।।

चुपि रहो गुरही, चुपि रहो गुरही ।
भिकौटिक छर्निटिर ढरबुँ हो गुरही ।।

चुपि रहो गुरही, चुपि रहो गुरही ।
माटिक खोँख्रिम ढरबुँ हो गुरही ।।

उनी साधारण मानिसको रूपमा जन्मिए पनि पृथ्वीमा देवदूतको रूपमा आएकी थिइन् । त्यसैले सधैं नयाँ-नयाँ कुराहरूको कल्पना गर्थिन् । त्यो आफ्ना बाल सखाहरूसँग देखाउँथिन् । बालापन आफैँमा विभिन्न जिज्ञासा, उत्सुकता पाल्ने समय हो । त्यसैले बालबालिकाहरू पनि उनको अलौकिक क्रियाकलापप्रति आकर्षित थिए ।

पृथ्वीलोकमा रोग व्यापक फैलिएको थियो । रोगको प्रभाव बालबालिका वृद्धवृद्धामा बढी थियो । त्यसैले उनी यो विषयमा पनि चिन्ता लिने गर्थिन् । विभिन्न रोगका कारण मानिसको अकालमा मर्ने क्रम जारी थियो । रोकिने कुरा कम हुन छोडेर बढिरह्यो । यस विषयमा ठूलो चिन्ता बढेर आयो । यसको निवारणका लागि उनले अनेक उपायहरू सोच्न थालिन् ।

एक दिन एउटा उपाय निकालिन् । उनले आफूले खेलाउने ‘गुरही’जस्तै किराको उत्पत्ति गरिन् । जुन किराले भुसुना, मच्छरलगायत रोग सर्ने सुक्ष्म किराहरूलाई खानेछ । जसले गर्दा रोगको प्रकोप कम हुनेछ । कालान्तरमा त्यसलाई गुरही भनेर नाम राखियो । त्यही मच्छर, भुसुनालगायत सुक्ष्म किराहरूलाई गुरहीले खान, मार्न थाल्यो र रोगव्याधीहरू पनि कम भयो । यता मान्छेहरूको पनि अकालमा मृत्यु रोकियो ।

समाजमा शान्ति छाएपछि उनी फेरि स्वर्गलोक जानुपर्ने भयो । उनीसँगको उठ् बसले उनका बालसखाहरू यति मोहित भइसकेका थिए की उनलाई कुनै हालतमा पनि जान नदिने जिद्दी गर्न थाले । तर, उनी जानैपर्ने भएकोले कसैले रोक्न सक्ने अवस्था थिएन । धेरै माया गर्ने आमा थिइन् । मातृस्नेह र मातृमोहले उनलाई यो संसार छोडेर जान भारी भइरहेको थियो । उनी भावुक भएर आमाको काखमा सुतेर रुन थालिन् । आमाले उनको कपाल सुमसुम्याउँदै फकाउनलाई लोरी गीत गाउन थालिन् ।

चुपि रहो गुरही, चुपि रहो गुरही ।
टोरैयाँ फुलटि डिन जैबो हो गुरही। ।

चुपि रहो गुरही, चुपि रहो गुरही ।
कुक्ढरु फुलटि डिन जैबो हो गुरही ।।

चुपि रहो गुरही, चुपि रहो गुरही ।
लर्चा फुलटि डिन जैबो हो गुरही ।।

चुपि रहो गुरही, चुपि रहो गुरही ।
लौका फुलटि डिन जैबो हो गुरही ।।

चुपि रहो गुरही, चुपि रहो गुरही।
कोंहरा फुलटि डिन जैबो हो गुरही ।।

चुपि रहो गुरही, चुपि रहो गुरही ।
अरसि फुलटि डिन जैबो हो गुरही ।।

चुपि रहो गुरही, चुपि रहो गुरही ।
लाहि फुलटि डिन जैबो हो गुरही ।।

चुपि रहो गुरही, चुपि रहो गुरही ।
ढनियाँ फुलटि डिन जैबो हो गुरही ।।

गीत सुन्दै उनी निदाउँछिन् । साँझ परेपछि गाउँका सबै बालिकाहरू उनको घरमा जम्मा हुन थाल्छन् । गाउँका सबै बालबालिकाहरूले उपहारस्वरूप गुरही र बाटोमा भोक लागे खानको लागि चना लगायतका खाने कुरा दिएर बाजासहित बिदाइ गर्न आउँछन् ।

जब उनको गाउँ भरिका बालसखाहरूले उनलाई बिदाइ गर्न निस्किए, बालबालिकाहरूको ठूलो संख्याले गाउँ पुतलीहरूको छिरबिरे फुलजस्तै देखिन थाल्यो । घर–घरबाट स–साना बच्चाहरू रंगीचंगी नयाँ-नयाँ कपडामा सजिएर निस्किँदा साँच्चिकै गाउँ एउटा फुलबारी जस्तै देखियो । सबैको हातमा ‘पन्वाँडार नुइयाँ’, थाललगायतका भाडामा चनाको ‘घुघरी’ र रंगीन कपडाका गुरही थियो ।

यता उनकी भाउजूलाई यो कुरा मन परेको थिएन । किन कि उनकी भाउजू उनले राम्रो काम गरेको या उनको प्रशंसा गरेको सहन्न थिइन् । उनकी भाउजूलाई यो दृष्यले डाह जाग्यो । उनी रिसले चूर भइन् । आफ्नो छोरालाई गुरही खोस्न पठाइन् । गुरहीलाई बाटोमा खाजाको लागि बोकेर ल्याएको घुघरी खोस्न पठाइन् र नदिएमा पिट्नसमेत अह्राएर पठाइन् । भाउजूको छोराले पनि आमाको कुरा मानेर कपडाका टुक्राले बनेका गुरही, खाजाको नुइयाँ, भुजा खोस्न थाल्छ । खोसेर माटोमा फालिदिन्छ । नदिए सोंटा (कोर्रा) पिट्न थाल्छ । तर, गुरहीलाई पठाउन गएका बालिकाहरूले उसलाई रोक्छन्, चना दिएर खुशी बनाएर फकाउँछन् र गुरहीलाई स-सम्मान बिदाइ गरेर सबै बालबालिकाहरू फर्किन्छन् । उनी बाटो लाग्छिन् । एक्लै बाटो हिँड्दा थकाइ महसुस गर्छिन् । उनी इमिलीको रुखमुनी एक छेऊमा आफ्नो गुरही राखेर विश्राम लिन थाल्छिन् र विरहका भावना गुनगुनाउँछिन् ।

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
अमलिक रुखवाटिर बैठहिं मोर गुरही ।

जाँदाजाँदै असना भन्ने रूखमुनी बसेर थकाइ मार्न थाल्छिन् र फेरि सम्झिन्छिन्, आफ्नो डेहरीमुनी लुकाएर राखेको गुरही र आमालाई राखी दिन आग्रह गर्दै यसरी विरह पोख्छिन् –

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
असनक रुखवाटिर बैठहिं मोर गुरही ।

त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिँडिसकेपछि फेरि गुलरको रुखमुनि बसे फेरि आफ्नो विरह पोख्छिन् –

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
गुलरिक रुखवाटिर बैठहिं मोर गुरही ।

त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिँडिसकेपछि फेरि भिलोरको रुखमुनि बसे फेरि आफ्नो विरह पोख्छिन् –

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
भिलोरिक रुखवाटिर बैठहिं मोर गुरही ।

त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिँडिसकेपछि फेरि जामको रुखमुनि बसे फेरि आफ्नो विरह पोख्छिन् –

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
जामक रुखवाटिर बैठहिं मोर गुरही ।

त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिँडिसकेपछि फेरि पिपलको रुखमुनि बसे फेरि आफ्नो विरह पोख्छिन् –

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
पिपरक रुखवाटिर बैठहिं मोर गुरही ।

त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिँडिसकेपछि फेरि बरको रुखमुनि बसे फेरि आफ्नो विरह पोख्छिन् –

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
बर्गडवक रुखवाटिर बैठहिं मोर गुरही ।

त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिँडिसकेपछि फेरि गुलाचिनको रुखमुनि बसे फेरि आफ्नो विरह पोख्छिन् –

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
गुलाचिनिक रुखवाटिर बैठहिं मोर गुरही ।

त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिँडिसकेपछि फेरि सखवाको रुखमुनि बसे फेरि आफ्नो विरह पोख्छिन् –

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
सखवक रुखवाटिर बैठहिं मोर गुरही ।

त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिँडिसकेपछि फेरि भुरकुलको रुखमुनि बसे फेरि आफ्नो विरह पोख्छिन् –

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
भुरकुलिक रुखवाटिर बैठहिं मोर गुरही ।

त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिँडिसकेपछि फेरि निमको रुखमुनि बसे फेरि आफ्नो विरह पोख्छिन् –

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
निमक रुखवाटिर बैठहिं मोर गुरही ।

त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिँडिसकेपछि फेरि सइजनको रुखमुनि बसे फेरि आफ्नो विरह पोख्छिन् –

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
सइजनिक रुखवाटिर बैठहिं मोर गुरही ।

त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिँडिसकेपछि फेरि सैनिकको रुखमुनि बसे फेरि आफ्नो विरह पोख्छिन् –

दाङ बोले टिम्कि, महदेवा बोले ढोल
सैनिकिक रुखवाटिर बैठहिं मोर गुरही ।

त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिँडिसकेपछि फेरि गुलरको रुखमुनि बसे फेरि आफ्नो विरह पोख्छिन् । यसरी उनी धेरै ठाउँमा आफ्नो घर, आमा, साथीसंगी, गुरही सम्झिँदै अनि भाउजूले निकै दुःख दिएको सम्झिँदै स्वर्गलोकमा हाजिर हुन्छिन् ।

कसरी मनाइन्छ ?

शुक्लापक्षको चौथिको चौकीदारले गाउँमा हाँक हाल्छ । ‘घुघरी भिजाऊ रे, घुघरी भिजाऊ’ । गाउँका सबैले चनाको घुघरी (कोहरी, चानक एक विशेष प्रकारको परिकार) भिजाउँछन् । अर्को दिन पञ्चमीको दिन साँझ चना पकाउँछन् । यता चौकिदारले पुनः हाँक हाल्छ । ‘गुरही अस्राई चालो रे, गुरही अस्राई ।’

हाँकपछि गाउँका सबै घरका स-साना बालिकाहरू कपडाका टुक्राको गुरहीको प्रतीकको रूपमा गुरही, चनाको घुघरी (चनाको एक बिशेष परिकार) चना नभए केराउ अथवा दलहन बालीको कोंहरी (घुघरी) र केटाहरू भने सोँटा (कोंर्रा) लिएर जान्छन् । सोँटा काँसको एक झप्पे अथवा दुई झुप्पे बनाएर लैजान्छन् । यता बालबािलकाहरूलाई नयाँ-नयाँ कपडाले पुतली जस्तै सजाइन्छ ।

साँझतिर गाउँको चौकिदारल फेरिे हाँक हाल्छ । ‘अरे ! गुरही अस्राइ चलो रे, गुरही अस्राइ’ तब गाउँका बालबालिका घर–घरबाट थालमा गुरही र घुघरी लिएर निस्कन्छन् । यता गुरही अस्राउन (विसर्जन, सेलाउन) निस्कन्छन् र गाउँका घरमुली भान्सेहरू थाल र सुपा ठटाउँदै ‘खाँज खुजली सक्कु लैजा, रोग बिरोख सक्कु लैजा’ (लुतो सबै लैजा, रोगव्याधी सबै लैजा) भन्दै घर भित्रबाट निस्कन्छन् र बाटोसम्म गुरहीसंगै रोगव्याधी पठाउन आउँछन् । त्यसैगरि पृथ्वीलोक छोडेर स्वर्गलोक जाँदा ती चेलीले पोखेको विरहको भावलाई गीतमार्फत यसरी गाउँछन् –

‘दाङ बोले टिम्कि महदेवा बोले ढोल,
डेहरिक गोराटिर बैठहिँ मोर गुरही ।

जब गौर्ही (गाउँभरिका गाइ–गोरु जम्मा हुने ठाउँ) मा गाउँ भरिक बालबालिका र कन्याहरू जम्मा हुन्छन्, तब गाउँको पन्हेरवाले एउटा निशाना गाड्छ । त्यसको एक छेऊमा सबै केटाहरूलाई पंक्तिपद्ध गरेर उभ्याउँछ । यता केटीहरू थालमा ल्याएको गुडिया त्यहाँ फाल्छन् र केटाहरूले सोंटाले ठटाउँदै ‘दे घुघरी, दे घुघरी’ भन्छन् । थालमा ल्याएको घुघरी माग्न जान्छन् ।

साना-साना बच्चीहरूले आफ्नो आमा, दिदीहरूको सहयोगमा सक्भर धेरैलाई पुग्ने गरि घुघरी बाँड्छन् र बाँड्दै गाउँको भुइह्यारथान (गाउँभरिको देउथान) मा जान्छन् । त्यहाँ गाउँको ग्राम देउताहरूलाई प्रसाद चढाई मर्वाको छाप्रो छिटेर घर फकिन्छन् । घर आएर पनि आफ्नो घरमाथि, अनाज राख्ने धनसार र बारीमा लगाइएका तरकारीहरूमा छिट्ने गर्छन् । यसो गर्दा घरमा भूतप्रेत नआउने, रोगव्याधी र लुतो नलाग्ने, भकारी धानमा वृद्धि हुने, बारीको तरकारी फल्ने जस्ना जनविश्वास छ ।

त्यसैगरि केटाहरूले ठटाउन लगिएको सोंटा कसैले नदेख्ने गरि लुकाएर ल्याइन्छ । त्यो पनि तरकारी बारीमा बाँढिन्छ । यसो गरे किरा फट्याङ्ग्रा न लाग्ने र फल पनि राम्रो लाग्ने कुरा थारू समुदायमा सामाजिक धारणा छ ।

त्यस्तै त्यही सोंटालाई धूप लगाई घोटेर घाउ, खटिरामा सञ्चो हुने, पेट दुखाइ र ज्वरो आएमा पनि यसले औषधीको काम गर्ने कुरा यो समुदायका जानकारहरू बताउँछन् । यसरी गुरही पर्व विधिवत् सकिन्छ । यो बिशेष गरेर बालबालिकाहरूको एक पृथक पर्व हो । जुन पर्व लुतो फाल्नेदेखि लिएर बालीनाली सप्रिने मान्यताका साथ मनाइन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register