पानीको हाहाकार झेल्दै द्वन्द्वग्रस्त यमन

Jun 18, 2023 - 01:28
 0
पानीको हाहाकार झेल्दै द्वन्द्वग्रस्त यमन
पानीको हाहाकार झेल्दै द्वन्द्वग्रस्त यमन

ताएज, यमन - यमनमा पानीको अभाव थप सङ्कटग्रस्त बनेको छ । यहाँका बालबालिका विद्यालय जाने उमेरमा पानीको जाहो गर्न बाध्य बनेका छन् । 

चौध वर्षीय सलिम मोहम्मद हरेक दिन बिहान पानी लिन घरबाट निस्कन्छन् र दक्षिणपश्चिम यमनको आफ्नो शहर हुँदै नजिकैको सार्वजनिक डिस्पेन्सरको लाइनमा सामेल हुनुपर्छ ।

मोहम्मद र उहाँका तीन जना भाइबहिनीहरू कम्तीमा पनि एक माइल (१.६ किलोमिटर) हिँड्छन् र कहिलेकाहीँ आफ्नो पानीको भाँडो भर्ने र समयमै विद्यालयको लागि फर्कने आशामा घन्टौं सम्म पानीको लागि पर्खन्छन् । 

“मैले हरेक दिन बोक्ने भारीले मेरो पाखुरा र ढाड दुख्ने गर्छ,” परिवारको अस्थायी अपार्टमेन्टमा रहेको एक किराना पसलबाट मोहम्मदले एएफपीलाई बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी बिहान सबेरै उठ्छौं (कहिलेकाहीं राति पनि) र बुबासँग पानी लिन जान्छौं ।” 

सन् २०१५ मा इरान समर्थित हुथी विद्रोही र अपदस्थ सरकारलाई समर्थन गर्ने साउदी अरब नेतृत्वको गठबन्धनबीच द्वन्द्व सुरु हुनुअघि नै विश्वको सबैभन्दा बढी पानीको अभाव भएको मुलुकको सूचीमा रहेको यमनमा किशोरको अवस्था सामान्य छ ।

युद्ध र जलवायु परिवर्तनको विकराल मिश्रणले देशको पानीको समस्यालाई अझ बढाएको छ ।

युद्धका कारण महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ भने बढ्दो तापक्रम र फरक–फरक वर्षाका कारण आपूर्तिमा थप असर परेको विज्ञ तथा सहायता समूहले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार यमनको भूमिगत जल पुनःपूर्ति भइरहेको भन्दा दोब्बर दरमा ह्रास भइरहेको छ ।

हालको दरमा अरब प्रायद्वीपको सबैभन्दा गरिब देश २० वर्षभित्रमा भूमिगत पानीको पूर्ण रूपमा समाप्त हुन सक्ने एफएओले जनाएको छ ।

“हामी हरेक बिहान उठ्छौं र पानीको पछि दौड्छौं,” मोहम्मदकी ३५ वर्षीया आमा उम मुजाहिदले भन्नुभयो ।

उहाँले भन्नुभयो, “कहिलेकाहीं हामीले पानी पाउँछौ भने कहिले रित्तै फर्किनुपर्ने पनि हुनसक्छ । यो एक प्रतियोगिताजस्तो हो । जो पहिले पुग्छ उसले पानी पाउँछ । ढिलो पुग्ने व्यक्तिले खाली हात फर्किनु पनि पर्नसक्छ । उहाँका बच्चाहरूले सार्वजनिक ट्याङ्कीमा पानीका भाँडाहरू भर्ने स्थान शहरको वरिपरिका धेरै स्थानमध्ये एक हो ।

– ‘दुखद परिणाम’ –

यो परिवार ‘रेड सी’ सागरको बन्दरगाह शहर होदेइदामा युद्ध हुँदा भागेर तेएजमा सरेको थियो । तेइज एउटा सरकार नियन्त्रित स्थान हो । यसलाई हुथीहरूले वर्षौंदेखि घेरेका छन् र शहर विद्रोहीको कब्जामा नभए पनि घेरिएको छ ।

एफएओका अनुसार यमनको तेस्रो ठूलो सहरले अहिले सबैभन्दा खराब अभावको सामना गरिरहेको छ । यहाँको करिब एक करोड ४५ लाख मानिस (अर्थात् जनसङ्ख्याको आधा हिस्सा) सुरक्षित पिउने पानीको प्रशस्त पहुँचबाट वञ्चित छन् ।

अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) का राल्फ वेहबेका अनुसार यमनका ३० प्रतिशतभन्दा कम भूभागमा पाइपबाट पानीको पहुँच कोसेलीको रूपमा पुगेको छ । लाखौं मानिस निजी कम्पनी वा असुरक्षित इनारमा निर्भर हुन बाध्य छन् ।

सानामा रहेका यमनका लागि आईसीआरसीको प्रतिनिधिमण्डलका उपप्रमुख वेहबेले भन्नुभयो, “विशेष गरी बालबालिका हरू जोखिममा छन् ।” 

पानीको अभावले गर्दा थुप्रै आमाबाबुलाई पानी पाउन आफ्ना छोराछोरीको मदत चाहिन्छ । विद्यालय जानुको साटो उनीहरू आफ्नो परिवारका लागि घन्टौं कुरेर पानी जम्मा गर्न बाध्य छन् ।” 

उहाँले भन्नुभयो, “यो पानीको सङ्कटको कारण निम्तिएको दुःखद परिणाम हो ।” अनि पानीको अभावले चरम असर पार्न सक्छ ।

गत महिना राजधानी सानामा पानीको ट्याङ्कीमा पहुँचको विषयलाई लिएर छिमेकीले एक बालिकाको छुरा प्रहार गरी हत्या गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको बताइएको थियो । यो समाचारलाई स्वतन्त्र रुपमा पुष्टि गर्ने उक्त भिडियो दृष्यको आधिकारिकतालाई एएफपीले प्रमाणित गर्न खोजे पनि स्थानीय वातावरणका कारण यो सम्भव हुन सकेन ।

सन् २०२२ को अप्रिलमा ताएजमा पानी लिन पर्खिरहेका महिला र बालबालिकालाई पानीको ट्रकले ठक्कर दिँदा एउटा घातक दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका थिए ।

– ‘पिउने पानीका लागि थोपा थोपाको हिसाब’ –

ताएजको जल प्राधिकरणका निर्देशक समिर अब्दुलवाहिदले हुथीको घेराबन्दीलाई दोष दिँदै युद्धअघि ९० वटा कुवा रहेकोमा अहिले सहरमा २१ वटा इनार रहेको बताउनुभयो ।

“ताइजमा प्रतिव्यक्ति दैनिक ०.७ लिटर पानीको उपलब्धता छ,” उहाँले भन्नुभयो ।

“ताएजका धेरै क्षेत्र अर्थात् शहरको करिब ६० प्रतिशत भागमा युद्ध सुरु भएदेखि एक थोपा पनि पानी आएको छैन ।” उनीहरूले थोपा थोपाको हिसाब गरेर पानीको अभाव टार्छन् । 

अब्दुलवाहिदका अनुसार बालबालिकाले पनि यो सङ्कटको मार धेरै खेपिरहेका छन् ।

“बालबालिका विद्यालय जाँदैनन्,” उहाँले एएफपीसँग भन्नुभयो । उहाँले भन्नुभयो, “उनीहरू आफ्नो भागको पानी पाउनको लागि विद्यालयको साटो पानीको वितरण स्थलमा जान बाध्य हुन्छन् ।

‘युनिभर्सिटी अफ नोट्रे डेमको ग्लोबल एडाप्टेशन इनिसियटिभ’ले यमनलाई यस क्षेत्रको सबैभन्दा बढी जलवायु–संवेदनशील देशहरूको रूपमा स्थान दिएको छ ।

यमनको वातावरणीय परामर्शदाता कम्पनी होल्म अखदारका अनुसन्धाता महा अल सालेहीका अनुसार समुद्रको सतह बढ्नुका साथै अचानक आएको बाढीले भूमिगत जललाई नुनिलो बनाउनुका साथै ढललगायतको प्रदूषण निम्त्याउँछ ।

“यमनमा पानीको घट्दो उपलब्धता मात्र होइन, कमजोर गुणस्तर, पहुँच र किफायती क्षमता पनि यसमा अभावमा समावेश छ,” उहाँले भन्नुभयो । यसले यमनवासीलाई चरम जल असुरक्षामा मात्र राख्दैन तर खाद्य असुरक्षामा पनि राख्छ ।

यमनको द्वन्द्व समाधान भए पनि पानीको अभाव कायमै रहने वेहबेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यमनमा भोलि शान्ति कायम भए पनि पानीको अभावको मुद्दा जारी रहनेछ ।” (अनुवाद ः दिलीप शर्मा)

रासस÷एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1