र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार

नुवाकाेट – युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।

Mar 10, 2022 - 09:32
 0
र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार

आज बुधवार त्रिशूली नदीमा भएको १९ औँ हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनशिप प्रतियोगिता कार्यक्रममा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छदफल गरिरहेको बताउनुभयो । उहाँले  खेललाई मनोरञ्जनको रूपमा मात्रै नभएर उद्यमसँग जोड्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । 

नेपाललाई समृद्ध बनाउने महत्त्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएको भन्दै मन्त्री गहतराजले र्‍याफ्टिङ खेल प्रकृतिसँग जोडिएकाले गुरुयोजनाको रूपमा विकास गर्नुपर्ने बताउनुभयो । र्‍याफ्टिङ लगायत अन्य जलाशययुक्त खेलमा काठमाण्डाेबाट नजिकमा रहेका त्रिशूली, सुनकोसी र भेटेकाेसीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने उहाँले बताउनुभयो । 
मन्त्री गहतराजले र्‍याफ्टिङ जस्ता पानीमा खेल्ने अन्य खेललाई सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल जलस्रोतको हिसाबले विश्वको दोस्रो धनी राष्ट्र हो । प्राकृतिक हिसाबले विश्वको १७ औँ धनी राष्ट्रमा पर्छ । र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्न सरकार र राष्ट्रिय खेलकुद परिषद्सँग छलफल गरेर अगाडि बढ्छौँ ।’

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक (सीईओ) डा. धनञ्जय रेग्मीले र्‍याफ्टिङ एक साहसिक खेल भएकाले खेलाडीको क्षमता विकास गर्दै जानुपर्ने बताउनुभयो । उहाँले र्‍याफ्टिङ खेलाडीको क्षमता विकासका लागि पर्यटन बोर्डले आर्थिक सहयोग गर्दै आएको र आउँदा दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । डा. रेग्मीले धेरै देशले नेपालको सिको गरिरहेको बताउनुभयो । उहाँले नेपालमा र्‍याफ्टिङ गर्ने सक्ने नदीहरूलाई राम्रोसँग प्रयोग गर्न नसकेको दाबी गर्नुभयो ।

त्यस्तै पर्यटन अभियन्ता मेघ आलेले त्रिशूली नदीमा कोरोना महामारीपछिको पहिलो (१९ औँ) हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनशिप भएको बताउनु भयो । उहाँले त्रिशूली नदीबाट र्‍याफ्टिङ मात्रै नभएर रिभर पर्यटनको सुरुवात भएको बताउनुभयो । तर अहिले त्रिशूली नदीमा रिभर पर्यटनका लागि अरबाैँ रुपैयाँकाे लगानी भए पनि र्‍याफ्टिङका लागि महत्त्वपूर्ण ठाउँमा विद्युतीय ड्याम बनाउने योजनाले समस्या आएको बताउनुभयो । र्‍याफ्टिङ क्षेत्रमा सुपर त्रिशूली हाइड्रोपावर बनाउनु उचित नभएको उहाँले तर्क गर्नुभयाे । 

कार्यक्रममा र्‍याफ्टिङ खेलाडी हरि आलेले त्रिशूली नदीको संरक्षण नभएर नदीलाई दूषित बनाउने काम भएकाले र्‍याफ्टिङ गर्ने वातावरण नभएको बताउनुभयो । उहाँले र्‍याफ्टिङ क्षेत्रमा विद्युतीय ड्याम बनाउने काम भइरहेकाले र्‍याफ्टिङ खेलाडीको भविष्य नै समाप्त हुने गुनासाे गर्नुभयाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register