दशैंका कुरा : बाल्यकालका सम्झना र आयाम

जवान केटा-केटी मिलेर दोहोरी मच्चाए गाउँभरि हल्ला हुन्थ्यो । फलाना र फलानीले दोहोरी मच्चाए, झन्डै फुर्को छोए । मन थाम्न नसकेर कहिलेकाहीँ म पनि मच्चाउँथेँ । तर, उत्रिनेबित्तिकै भनभनी रिङ्गटा लाग्थ्यो । कहिलेकाहीँ त ह्वालह्वाली बान्तासमेत हुन्थ्यो ।

Oct 10, 2024 - 05:33
 0
दशैंका कुरा : बाल्यकालका सम्झना र आयाम

दशैं मान्ने-मनाउने तरिका फरक होलान् तर, सायद दशैं नै एउटा यस्तो चाड हो, जसले नेपाली समाजलाई एक साथ सबैभन्दा धेरै प्रभावित गर्दछ । देशका राष्ट्रिय समुदायबीच कुनै न कुनै प्रकारले सांस्कृतिक सम्बन्ध-सेतु निर्माण गर्दछ । सम्भवत: दक्षिण एसियाली हिन्दू तथा जनजातीय समाजको सबैभन्दा लामो चाड पनि यही हो ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म दशैं १५ दिन लामो छ । बाल्यकालमा यो हाम्रा लागि ग्रीष्मकालीन बिदापछिको सबैभन्दा लामो छुट्टी थियो । घटस्थापनादेखि तिहार भाइटीकाको भोलिपल्टसम्म स्कूल बिदा हुन्थे । बालबालिकाका लागि स्कूलमा यति लामो छुट्टी हुनुभन्दा खुसीको कुरा अरु के हुन्छ ।

अरु बेला नै किन नहोस्, भुराभुरी खुसी देख्यो कि ठूला मान्छे भन्थे– ‘केटाकेटीलाई दशैं आए जस्तो छ !’ लाग्थ्यो– बच्चाबच्चीले खुसी हुने भन्या नै दशैंमा हो । बालबालिका खुसी हुनु दशैं आउनु हो ।

दशैंको बेला अहिले पनि धेरै मान्छे बाल्यकालका सम्झनाले ‘नोस्टाल्जिक’ हुन्छन् । आ-आफ्ना जन्मस्थल, पुर्ख्यौली थलो वा गाउँघर पुग्दछन् । पुग्न नसके सम्झना र कुरा गर्दछन् ।

मेरो जीवनको संयोग भने अनौठो छ । छोडेर हिँडेका दिनदेखि म न जन्मगाउँ पुगेको छु, न पुर्ख्यौली थलो नै ! झापाको गच्छेमारी गाउँमा जन्मिएँ । पहिले जुरोपानी गाविसमा पर्थ्यो यो गाउँ । अहिले गौरादह नगरपालिकाको कुनै वडा होला । त्यहाँबाट १८ महिनामा आमाको ढाँडमा कोक्रोमा बोकिएर भोजपुरको कटुन्जे पुगेँ । त्यसपछि फर्किएर कहिल्यै गइएन । गच्छेमारीको दशैं कस्तो हुन्छ, थाहा पनि छैन ।

मेरो जीवनको दशैं अनुभव सुनसरीको मानपुर गाउँबाट सुरु हुन्छ । दशैं मात्रै हैन, जीवनका अरु धेरै आयाम यही गाउँबाट सुरु हुन्छन् । जन्म गाउँ गच्छेमारी र पुर्ख्यौली थलो कटुन्जे दुवै मेरा लागि धेरै अर्थपूर्ण छैनन् ।

त्यसपछिका ३/४ वर्ष भोजपुरको कटुन्जे गाउँमा बिते । अहिले रामप्रसाद राई गाउँपालिकामा पर्छ त्यो गाउँ । ५/६ वर्षको उमेरमा छोडेर हिँडेको कटुन्जे गाउँका केही धमिला स्मृतिहरू छन् । फर्किएर गएको छैन । कटुन्जेको दशैं कस्तो हुन्छ, त्यो पनि थाहा छैन ।

मेरो जीवनको दशैं अनुभव सुनसरीको मानपुर गाउँबाट सुरु हुन्छ । दशैं मात्रै हैन, जीवनका अरु धेरै आयाम यही गाउँबाट सुरु हुन्छन् । जन्म गाउँ गच्छेमारी र पुर्ख्यौली थलो कटुन्जे दुवै मेरा लागि धेरै अर्थपूर्ण छैनन् ।

अहिले पनि लाग्छ, अन्यत्रको दशैं त के दशैं, मानपुरको दशैं पो दशैं । भलै कि करिब २ दशकयता म मानपुरको दशैंमा पनि नियमित संलग्न छैन । यसपाली पनि दशैंमा मानपुर नजाने भइयो ।

विसं २०३० को दशकको मानपुर वरिपरि बाक्ला थारु वस्तीहरूको बीचमा पहाडियाहरूको सानो झोडा थियो । रामुधनी जङ्गलको उत्तरपूर्वी खण्ड हामीभन्दा एक लहर अघि मधेस झरेका पहाडेहरूले फाँडेका थिए ।

‘मेठ बा’ ले झोडा फँडानीको नेतृत्व गरेका थिए भने यहाँका बासिन्दालाई त्यो बेलासम्म ‘झोडाली’ भनिन्थ्यो । हाम्रो परिवार भने झोडाली थिएन । किनकि झोडा फाँडेको जमिन पाएका थिएनौँ । भोजपुरको कटुन्जेबाट झरेर हजुरबाले मानपुर र जिरायत दुई नजिकका गाउँमा जमिन किन्नुभएको थियो । दुवै जङ्गलसँग जोडिएका भर्खरैका झोडा थिए ।

झापाको गच्छेमारीमा बसाइँ सर्ने योजना अनेकन् कारणले अनुपयुक्त र असफल भएपछि हजुरबाले बसाइँसराइको दोस्रो गन्तव्यका रूपमा मानपुर रोज्नुभएको थियो ।

इक्राही, दुब्याही, लालपुर, रामपूरा, कुम्याहीजस्ता थारु गाउँको बीचमा थियो— मानपुर झोडा । पुराना बासिन्दाले यो टोललाई ‘जिउनी झोडा’ भन्थे । यस झोडाका तीनवटा टोल थिए— पूर्व, पश्चिम र बीच । हामी पूर्व टोलमा थियौँ ।

झोडा फाँड्न चाहने र वन प्रशासनका बीच सङ्घर्ष रमिता बन्थे । रातारात जङ्गलमा घर बन्थे । भोलिपल्ट बिराटनगरबाट कन्जर्बेटर नामका वन हाकिम हात्ती लिएर आउँथे । हात्तीको लस्कर हेर्न रमाइलो हुन्थ्यो । हात्तीले झोपडी भत्काएका दृश्य अनौठा लाग्थे ।

बाँकी जङ्गलमा पनि झोडा फाँड्ने प्रयास बारम्बार भइरहन्थ्यो । मानिस कहाँ-कहाँबाट ओइरिन्थे र जङ्गलमा झुप्रा हाल्थे । झोडा फाँड्न चाहने र वन प्रशासनका बीच सङ्घर्ष रमिता बन्थे । रातारात जङ्गलमा घर बन्थे । भोलिपल्ट बिराटनगरबाट कन्जर्बेटर नामका वन हाकिम हात्ती लिएर आउँथे । हात्तीको लस्कर हेर्न रमाइलो हुन्थ्यो । हात्तीले झोपडी भत्काएका दृश्य अनौठा लाग्थे ।

यो सङ्घर्ष केही वर्षसम्मै चल्यो तर, राज्यले रामधुनी जङ्गल थप झोडा फाँड्न दिएन । हाम्रो गाउँ नै जङ्गलसँग जोडिएको अन्तिम गाउँ बन्यो । जब जिरायतको खेत बेचेर हजुरबाले घर एकै ठाउँ बनाउनुभयो, हामी मानपुरे भयौँ । दशैंप्रतिको उत्सुकता बर्खे बिदापछि स्कूलमा साथीहरू भेट्दा सुरुवात भइसक्थ्यो । श्रावणको एक महिना स्कूलमा ग्रीष्मकालीन बिदा हुन्थ्यो । भदौ १ गते स्कूल खुल्दादेखि दशैं बिदाका दिन गन्ती सुरु गर्थ्यौँ ।

दशैंका लुगा किन्न नजिकको बजार धरान थियो । त्यतिखेर पूर्वी नेपालको सर्वाधिक आकर्षक र गुल्जार बजार मानिन्थ्यो धरान । आमा लुगा किन्न धरानको पुरानो बजार, देशी लाइनका मारवाडीकहाँ पुग्नुहुन्थ्यो । आमा धरानबाट लुगा किनेर फर्किने साँझ अबेरसम्म हामी पर्खिरहन्थ्यौँ । घरमै बालीघरे दर्जी दाइ बोलाएर सिलाउने चलन कायमै थियो ।

खासमा यो मानपुरको स्थानीय प्रचलन थिएन । बसाइँ सरेर आएकाहरूले पहाडबाट लिएर आएको चलन थियो । चैनपुरको डाँगी गाउँबाट बसाइँ सरेर आएका प्रेमबहादुर दर्जीले बालीमा गाउँभरिका लुगा सिलाउँथे । अक्सर त्यो बेला हामीले दशैंमा पाउने नयाँ लुगा पोलिष्टरका सर्ट र हाफपैन्ट हुन्थे । ती निकै बलिया हुन्थे तर, जिउलाई पाछ्थ्यो, पोल्थ्यो । भुराभरीले जुत्ता-चप्पल लगाउने प्रचलन सुरुवात भएकै थिएन । खाली खुट्टा नै हामी घण्टौँ हिँड्थ्यौँ । कक्षा ७ सम्म म खाली खुट्टा नै स्कूल गएँ । त्यसपछि भने ‘भुक्के चप्पल’ लगाउन थालियो ।

धान मंसिरमा पाक्थ्यो, दशैं धान पाक्नु अगाडि नै आउँथ्यो । दशैं खर्च जुगाड गर्न सनपाट बेचिन्थ्यो । खसी-बोका बेचिन्थे । जुटको राम्रै खेती हुन्थ्यो त्यो बेला । सनपाटको खेती बैशाख-जेठमा लगाइन्थ्यो र असार/साउनमा पाक्थ्यो ।

पटुवाको खेती जति कठिन थियो, मूल्य भने वर्षेनी आकास जमिन तलमाथि पर्थ्यो । यसै निहुँमा स्थानीय किसान आन्दोलन हुन्थे । पटुवाको भाउ राम्रो आयो भने दशैं राम्रो हुने सङ्केत हुन्थ्यो ।

स्थानीय भाषामा जुटलाई पटुवा भनिन्थ्यो । पटुवा डुबाएका पोखरी, खोला र खान्ताले सिङ्गो गाउँ नै गन्हाएको हुन्थ्यो । तर, त्यो बेला गाउँले किसान परिवारको दशैं मान्ने खर्चको मूल स्रोत यही थियो । अहिले पूर्वी नेपालमा पटुवाको खेती त्यो मात्रामा हुँदैन, जति त्यो बेला हुन्थ्यो । त्यो धानपछिको मूल बाली थियो त्यसबेला ।

पटुवाको खेती जति कठिन थियो, मूल्य भने वर्षेनी आकास जमिन तलमाथि पर्थ्यो । यसै निहुँमा स्थानीय किसान आन्दोलन हुन्थे । पटुवाको भाउ राम्रो आयो भने दशैं राम्रो हुने सङ्केत हुन्थ्यो ।

दशैंको तयारीमा मूलतः पाँच काम हुन्थे ।

एक— एउटा भीमसिने बोका र एउटा जखमले खसीको जुगाड । यो हाम्रो घरमै पालिएको हुन्थ्यो । हरेक वर्ष बाख्रा गोठबाट अर्को वर्षको दशैंका लागि खसी र बोका छुट्याइन्थे । बाख्रा नपाल्ने परिवारका मान्छे खसी-बोका किन्न चतरा वा उदयपुर जिल्लाको रामपुर बजार जान्थे ।

दुई— नयाँ लुगा, जो दशैंभन्दा केही दिनअघि आमाले धरानबाट ल्याउनु हुन्थ्यो ।

तीन— चिउरा कुट्नु । हरेक दशैंलाई कम्तीमा एक थुन्से चिउरा चाहिन्थ्यो । करिब २ मन धान कुट्नुपर्थ्यो, त्यसका लागि ।
चिउरा कुट्ने दुईवटा तरिका थिए । पहिलो, थारु महिला अधियाँमा चिउरा कुट्थे । त्यसबापत् उनीहरूलाई धान दिनुपर्थ्यो । ढिकीमा कुटेको चिउरा आधा-आधा ।

दोस्रो, आलोपालो श्रमपैँचो गरेर आफैँ चिउरा कुट्ने । पहाडे गाउँमा ढिकी सीमित थिए । दशैं आउनु १ महिना अघिदेखि वल्लो गाउँ, पल्लो गाउँ सबैतिर ढिकी भक्र्याङ च्याङ भक्र्याङ च्याङ गरिरहेका हुन्थे । बिहान सबेरै ढिकी कुटेको आवाजले निन्द्रा ब्युझाँउथ्यो ।

चार— केरा पकाएर राख्ने । गाउँमा अठिया, पर्रा, धुस्रे, मालभोग, कुर्कुच्चे र चिनीचम्पा जातका केरा पाइन्थे । अठिया केराभित्र गेडा हुन्थे, त्यो दशैंका लागि उपयुक्त मानिँदैनथ्यो । हाम्रो गाउँमा दशैंका लागि जुगाड गरिने केरा मालभोग, पर्रा र कुर्कुच्चे हुन्थे । धुस्रे र चिनीचम्पा कमै पाइन्थे ।

जहाजी केरालाई विकासे वा बजारिया केरा मानिन्थे । गाउँघरमा जहाजी केराका बोट धेरैपछि आएका हुन् । त्यतिन्जेल इन्डियाबाट आयात गरेर बजारमा बेच्न राखिन्थे ।

केराका घरी जुगाड गर्नु सजिलो काम थिएन । ठ्याक्कै दशैंको फूलपातीका दिन पाक्ने र पूर्णिमासम्म रहनेगरी केरा मिल्दैनथ्यो । सबैका घरमा वर्षेनी ठीक त्यही बेला केरा पसाउने ग्यारेन्टी हुन्थेन । छिटो पाके कुहिन्थ्यो, रहँदैनथ्यो । ढिलो पाके झनै काम भएन ।

केरा पकाउन राजवृक्षको स्याउला प्रयोग हुन्थ्यो । ५/७ दिन अगाडि ठीक्कका घरी काट्ने काँचो केराका काइँयोको चेपमा राजवृक्षको पात घुसारेर थुन्सेमा छोपेपछि ठीक समयमा केरा पाक्ने सम्भावना हुन्थ्यो ।

पाँच— घर-आँगनको सरसफाइ । मानपुरका त्यतिखेर अधिकांश घर एकै प्रकृतिका थिए । सेन्टरबेरा गरिएका काठेघर । भुइँ रातो माटो, बेरा सेतो कमेरो माटो र बेराका वत्तीहरूमा कालो रङ्ग लगाइन्थ्यो । यस्तो कालो रङ्ग बनाउन सालका काँचो बोक्रालाई खट्कुलोमा उमाल्नुपर्थ्यो । घण्टौँ उमालेपछि एक डबका जति झोल बन्थ्यो । त्यसलाई झुम्रोले सेन्टरबेराका बत्ती, झ्याल र ढोकामा लगाइन्थ्यो । यसरी सिंगारेका घर दुई/चार महिनासम्म चम्किला र उज्याला देखिन्थे । यति भए दशैंको आधारभूत तयारी पूरा हुन्थ्यो ।

अर्को महत्त्वपूर्ण कुरा हुन्थ्यो, फलामे हतियार अर्जाप्ने काम । घटस्थापना अगाडि नै घरमा भएका फलामका सबै हतियार जम्मा गरिन्थ्यो । हसियाँ, बन्चरो, खुँडा, खुर्पा, खुकुरी, कर्द, दाउ, कट्टी र तलबार हुन्थे फलामका मुख्य हतियार । बोरामा यी हतियार बोकेर कामीको आरनमा लाने गरिन्थ्यो । आरनमा हतियार उद्याएको हेर्न खुबै रमाइलो लाग्थ्यो । अष्टमीको दिन बिहान दुर्गा थानमा राखेर ती पूजा गरिन्थे ।

दशैंका दश दिन बिहान गाउँमा सबै मानिस नुहाउनुपर्ने हुँदा इनारमा पानीको अभाव हुन्थ्यो । मौका छोप्न हजुरबाले बिहान ३ बजे नै उठाएर नुहाउन इनार लानुहुन्थ्यो, तैपनि मानिसको भीड लागिसकेको हुन्थ्यो ।

गाउँमा जम्मा दुईवटा मात्र इनार थिए । ट्युबेल गाड्ने प्रचलन सुरु भएकै थिएन । तराईका गाउँमा पनि शुद्ध खानेपानीको ठूलो अभाव थियो । इनारको पानी माटोका घैलामा जम्मा गरेर राख्नुपर्थ्यो ।

दशैंका दश दिन बिहान गाउँमा सबै मानिस नुहाउनुपर्ने हुँदा इनारमा पानीको अभाव हुन्थ्यो । मौका छोप्न हजुरबाले बिहान ३ बजे नै उठाएर नुहाउन इनार लानुहुन्थ्यो, तैपनि मानिसको भीड लागिसकेको हुन्थ्यो । त्यसरी नुहाउँदा भर्खरै सुरु भएको शरदकालीन बिहानको जाडोले कपाएको याद यद्यपि आउँछ ।

जुन दिन जे काटिन्थ्यो, त्यो दिन ननुहाए त्यसैको जुनी हुने विश्वास गर्थे गाउँलेहरू । सप्तमी ननुहाए सुँगुर वा राँगोको जुनी, अष्टमी ननुहाए बोकाको जुनी, नवमी ननुहाए खसीको जुनी ।

हाम्रो गाउँमा २०३६ सालपछि मात्र घर-घर ट्युबेल गाडिन थाले । त्यसपछि खाने र नुहाउने पानीको अभाव समाप्त भयो ।

देवीथानको पोखरी ढिलमा लिङ्गे पिङ लगाउनु दशैंको अर्को ठूलो रोमाञ्चक घटना हुन्थ्यो । गाउँलेले पत्याएका युवाहरू लिङ्गे पिङ बनाउँन पटुवा, ओद्रा र पैसा उठाउँदै हिँड्थे घर-घरै । बाँस किन्न पैसा चाहिन्थ्यो ।

सनपाटले लठारो बाँटिन्थ्यो । सुकाएको जुटलाई ओद्रा भनिन्थ्यो । ओद्राका ससाना डोरीहरू बाँसको फुर्को जोड्न र काम्रो बनाउन प्रयोग हुन्थ्यो । पिङ जसै बनिसक्थ्यो, काम्रोमा अगरबत्ती गाडेर ७ पटक खाली हल्लाइन्थ्यो । अनि मात्र कन्या केटीबाट उद्घाटन गरिन्थ्यो । पिङ बनाउने समूहमा सनपाट, पैसा र ओद्रा उठाउँदै हिँड्नु बडो शानको विषय हुन्थ्यो । निकै ठूलो सार्वजनिक महत्त्वको काम गरेजस्तो ।

पिङ बनाउने अर्को तरिका जङ्गलको भोर्लाका लहराबाट बनेको लठारो रुखका हाँगामा बाँध्नु हुन्थ्यो । गाउँबाट जङ्गल सुरु हुने मुखमा यस्ता पिङ बनाइन्थे । यसरी दशैंमा बनाएका पिङ तिहारसम्म रहन्थे ।

मलाई भने लिङ्गे पिङ मच्चाउँदा खुबै रिङ्गटा लाग्थ्यो । गाउँलेहरू पिङमा झुत्ती खेल्दा परैबाट रमिता हेर्थेँ । काम्रोमा बसेर अरु कसैले मच्चाइदिनु बच्चालाई मात्र सुहाउने हुन्थ्यो । किशोरका लागि त्यो हीनताको विषय बन्थ्यो ।

जवान केटा-केटी मिलेर दोहोरी मच्चाए गाउँभरि हल्ला हुन्थ्यो । फलाना र फलानीले दोहोरी मच्चाए, झन्डै फुर्को छोए । मन थाम्न नसकेर कहिलेकाहीँ म पनि मच्चाउँथेँ । तर, उत्रिनेबित्तिकै भनभनी रिङ्गटा लाग्थ्यो । कहिलेकाहीँ त ह्वालह्वाली बान्तासमेत हुन्थ्यो ।

काली जगाउने जात्रा डरलाग्दो हुन्थ्यो । कछाड मात्र लगाएको नाङ्गो शरीरमा चुना र गेरु माटो दलेर राघेपाटे बनेको भाकले थारु युवा हातमा नाङ्गो तलबार बोकेर जात्राको अगाडि हिँड्थ्यो । उनको अगाडि जो पर्छ, त्यसलाई काट्न मिल्छ, मान्छे मारे पनि ज्यानमुद्दा लाग्दैन भनिन्थ्यो ।

थारु गाउँमा दशैंका मेला हुन्थ्यो, विशेषतः भाकलेको घरमा । थारु समाजमा जसको घरमा ‘काली जगाउने’ भाकल हुन्थ्यो, उसैको घर-आँगनमा भैंसीमा चढेको महिषासुर र बाघमा चढेकी कालीको बढेमाको मूर्ती बनाइन्थ्यो । कुनै वर्ष यस्ता मूर्ति गाउँको बीचमा वा सार्वजनिक चोकमा हुन्थे ।

काली जगाउने जात्रा डरलाग्दो हुन्थ्यो । कछाड मात्र लगाएको नाङ्गो शरीरमा चुना र गेरु माटो दलेर राघेपाटे बनेको भाकले थारु युवा हातमा नाङ्गो तलबार बोकेर जात्राको अगाडि हिँड्थ्यो । उनको अगाडि जो पर्छ, त्यसलाई काट्न मिल्छ, मान्छे मारे पनि ज्यानमुद्दा लाग्दैन भनिन्थ्यो ।

हो न हो, हामी केटाकेटी डरले छुलछुल हुन्थ्यौँ । नाङ्गो तलबार बोकेको भाकलेको पछि-पछि गाउँलेको भीड र चमार बाजाको चर्को आवाज हुन्थ्यो । त्यसपछि बयलगाडाको ताँती ।

भाकलेले मान्छे नकाटे पनि बाटो छेउको तुलफूल काट्दै हिँड्थ्यो । हाम्रो घरको बाटो छेउमा मेवाका बोट थिए लाइनै । भाकलेले एक छप्कामै मेवाको बोट काट्थे र मेवा बलयगाडमा लोड हुन्थ्यो । यसरी नै जसको घर अगाडि जे छ, त्यही काट्ने र बलयगाडमा सङ्कलन हुन्थ्यो । ती तुलफूल देवीको मूर्ति अगाडि चढाएपछि प्रसादका रूपमा बाँडिन्थे ।

अष्टमीको दिन घटस्थापना जमरा थान नजिक अर्जापिएका वा साँध लाएका फलामे हतियार जम्मा गरिन्थे । साँझ बिहान दुईपटक पूजा गर्नुपर्थ्यो । हजुरबा चण्डी र रुद्रीमा श्लोकहरू भट्याउन प्रेरित गर्नु हुन्थ्यो, जुन मैले कहिल्यै जानिनँ ।

संस्कृत मलाई सर्वाधिक जटिल भाषा लाग्दछ । बाल्यकालदेखि नै हजुरबाको चण्डी, रुद्री घोकाउने प्रयासका बाबजुद अहिले पनि केही सीमित श्लोकहरू मात्र कन्ठस्थ भन्न सक्दछु । राम्ररी पढ्न वा उच्चारण गर्नसमेत जान्दिनँ ।

हाम्रो घरमा पञ्चबलिको नियम थियो— घिरौला, कुभिण्डो, परेवा, बोका र खसीको बलि । घिरौला र कुभिण्डोलाई खसी बोका जस्तै बनाउन सिन्का र कप्टेराको खुट्टा र पुच्छर लगाउनुपर्थ्यो ।

आँगनमा चामलको पिठोको रेखी हालेर तिनलाई बलि दिने ठाउँ बनाइन्थे । कुखुरा नचल्ने घरमा मात्र परेवा बलि हुन्थ्यो । हाम्रो घरमा परेवाका आफ्नै गुँड थिए । बोका अष्टमीको दिन काटिन्थ्यो र खसी नवमीमा । बोका भीमसेनको नाममा चढाएको हुन्थ्यो । तसर्थ, भीमसिने बोका भनिन्थ्यो ।

यी सबै चलन हाम्रो घरमा हजुरबा हुन्जेल मात्र रहे । अधिकांश चलन हजुरबासँगै गए । हजुरबाको निधनपश्चात् हामीले ती खासै गरेनौँ । हजुरबा हुन्जेल हाम्रो परिवार शाक्त प्रवृत्तिको थियो, त्यसपछिका दिनमा वैष्णवी चरित्रको हुँदै गयो ।

दशैंका यति धेरै नियम र प्रचलन अब बाँकी छैनन् । आधुनिकता र बजार अर्थतन्त्रको विकाससँगै ती कमजोर हुँदै गए । अब त ढिकी, आरन, बालीघरे प्रथा लोप भइसकेका छन् । खासमा २०४० को दशकपछि नै त्यस्ता प्रचलन पूर्वी नेपालमा लोप वा कमजोर हुन थालेका थिए ।

हजुरबा बितेपछि हजुरआमा घरमूली बन्नुभो  ! दशैंको टीका लगाउँदा दिइने आशीर्वाद, ‘आयुद्रोर्ण सुते’ भन्न हजुरआमालाई आउँदैनथ्यो । बडो गज्जबको छोटो आशीर्वाद दिनु हुन्थ्यो, ‘हाके-ताकेको पुगोस् ।’

हजुरआमाले दिने आशीर्वाद यत्ति नै हुन्थ्यो ।

घटस्थापनादेखि नवमीसम्मको माहोल फरक लाग्थ्यो । शाक्त वा तामसी प्रवृत्ति हाबी भएजस्तो । दशमीको बिहानबाट भने फरक संस्कृतिको अनुभूति हुन्थ्यो । सात्विक वा वैष्णव संस्कृति प्रभावी भएजस्तो ।

पूर्वी र पश्चिम नेपालको दशैं परम्परा केही फरक छ । पश्चिमका धेरै स्थानमा दशमीको टीकासँगै दशैं सकिन्छ । मध्य र पूर्वी नेपालमा भने कोजाग्रत पूर्णिमासम्म घर-घर घुमी-घुमी आफन्तका कहाँ टीका लगाइन्छ । वर्षौँदेखि नआएका वा नभेटिएका आफन्त आउने वा भेटिने आशा गरिन्थ्यो ।

त्यतिखेर अहिलकोजस्तो फोन थिएन । पाहुना आउने, नआउने, को-को आउने वा आफू कहाँ-कहाँ जाने कुरा ‘सस्पेन्स’ जस्तो हुन्थ्यो । कुनै कुनै वर्ष कल्पना नै नगरिएका नातेदार टाढा-टाढाबाट आउँथे । भारतको असामबाट कान्छी दिदी (कान्छी बुढी फुपू) वा भानिज बाहरू आएको दशैं हाम्रा घरमा विशेष र बढी रोमाञ्चक हुन्थ्यो । उनीहरू हाम्रो परिवारमा बिरलै र सबैभन्दा टाढाबाट आउने पाहुना थिए ।

आज दशैंका पक्ष तथा विपक्षमा अनेकन् तर्क हुने गर्दछन् । यो धेरै लामो, खर्चिलो र अनुत्पादक चाड भयो भन्ने गुनासो पनि सुनिन्छ । दशैं गरिबका घरमा दशा बनेर आउँछ भन्ने उखान नै छ । तामझाम र देखासिकी प्रभावले आर्थिक रूपमा कमजोर परिवारलाई दशैंले ठूलो मनोवैज्ञानिक दबाबमा राखेको हुन्छ ।

दशैंलाई राज्यले अनावश्यक बढावा दिएको र शासक जातिले सांस्कृतिक वर्चस्वको आधार बनाइएको आलोचना पनि सुनिन्छ । कर्मचारीलाई दशैं  भत्तास्वरूप थप एक महिनाको तलब दिने प्रचलनलाई यससँग जोडेर हेरिन्छ । अहिले सायद यसलाई दशैं भत्ता भनिँदैन, चाडपर्व भत्ता भनिन्छ र सबै धर्मावलम्बीका लागि समान छ ।

दशैं कुनै निश्चित जातिका पूर्खाले अर्को कुनै जातिमाथि विजय हासिल गरेबापत् मानिने चाड भएको हुँदा खास समुदायले यसको बहिष्कार गर्नुपर्दछ भन्ने तर्क पनि छ । सम्भवत: कुनै चाड मान्नु वा नमान्नु निजी स्वतन्त्रताको विषय हो । यसलाई बहिष्कार, प्रतिकार वा निषेधको अर्थमा लिन जरुरी हुँदैन ।

दशैं मात्र हैन, कुनै पनि चाडपर्वलाई राजनीतिको विषय बनाइनु उचित हैन, यी सांस्कृतिक निरन्तरता, सामाजिक सद्भाव र मानवीय सहिष्णुताको आधार बन्नु पर्दछ । दशैं वा अरु कुनै चाड पर्वसँग जोडिएर आउने विभेद, अतिवाद र अन्धविश्वासहरू भने त्याज्य हुनु पर्दछ ।

नेपालको बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक यथार्थलाई आत्मसात् गर्दै आधुनिक लोकतान्त्रिक युगमा दशैंका चालचलन र प्रबन्धन् समयानुकूल समायोजित हुँदै जालान् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register