टाटा परिवारको कथा : धर्मपुत्र थिए रतनका पिता नवल, अब कसले गर्ला नेतृत्व ?

टाटा समूहका संस्थापक जमशेदजीको सम्मानमा झारखण्डमा जमशेदपुर नामको एक शहर छ । यहाँ जमशेदले टाटा समूहको पहिलो स्टिल कारखाना स्थापना गरेका थिए । जमशेदपुर भारतको दोस्रो उन्नत जीवनस्तर भएको शहर मानिन्छ ।

Oct 10, 2024 - 12:53
 0
टाटा परिवारको कथा : धर्मपुत्र थिए रतनका पिता नवल, अब कसले गर्ला नेतृत्व ?

काठमाडौं । टाटा समूह भारतको एक पुरानो र सर्वाधिक प्रतिष्ठित व्यावसायिक परिवार हो । यो समूह अन्तर्राष्ट्रिय औद्योगिक लगानीकर्ता समूहका रूपमा प्रतिष्ठित छ । यसले १५० देशमा सेवा दिन्छ भने १०० भन्दा बढी देशमा लगानी गरेको छ ।

यसका पछिल्ला उत्तराधिकार रतनलाल टाटाको बुधबार ८६ वर्षको उमेरमा निधन भयो । अब टाटा परिवारको उत्तराधिकार कसमा जाला ? यो अहिले धेरैको चासो बनेको छ ।

टाटा कम्पनीको स्थापना १५६ वर्षअघि सन् १८६८ मा जमशेदजी टाटाले गरेका थिए । तर, उनका पिता नसरवानीजी टाटा पारसी पुरोहित परिवारबाट व्यवसायमा प्रवेश गर्ने पहिलो सदस्य थिए ।

नसरवानीजी टाटाले मुम्बईमा व्यापार सुरु गरेपछि जमशेदजी टाटालाई व्यापारको सिलसिलामा चीन जाने अवसर मिलेको थियो । उनले चीनको कपडा उद्योग देखेर देशमा कटन मिल खोल्ने उद्देश्य बनाएका थिए ।

जमशेदजी टाटाको जन्म सन् १८३९ मा गुजरातमा भएको थियो । जमशेदजीले सन् १८६८ मा एक टाट पल्टिएको तेल मिल खरिद गरी कटन मिल बनाए । यही मिल नै टाटा समूहको पहिलो कम्पनी र उद्योग थियो ।

जमशेदजी टाटाका पत्नी हिरावाईबाट दुई छोरा र एक छोरी भए । छोरी धुनवाई अविवाहित थिइन् । जेठा दोराबजी टाटाले मेहरवाईसँग विवाह गरेका थिए तर, उनका सन्तान भएनन् । पिता जमशेदजी पछि दोराबजी टाटा समूहको दोस्रो उत्तराधिकार र नेतृत्वकर्ता थिए ।

कान्छा छोरा रतनजी टाटाले नवाफवाईसँग बिहे गरेका थिए । तर, उनीहरूका पनि सन्तान भएनन् । यसरी टाटा समूहका संस्थापक जमशेदजी टाटापछिको एक पुस्तामै यो परिवार छोरा र छोरी दुवैतिरबाट निसन्तान भयो ।

दोराबजीपश्चात् टाटा समूहको नेतृत्व रतनजी टाटाले गरेका थिए । उनी जमशेदजी टाटाका भतिजा थिए । उनी टाटा समूहको तेस्रो उत्तराधिकार तथा नेतृत्वकर्ता बने ।

चौथो उत्तराधिकार र नेतृत्व रतनजीका छोरा जहाँगिर टाटाले गरे । सन् १९९१ सम्म टाटा समूहको नेतृत्व यिनले गरेका थिए । त्यसपछि पाँचौँ उत्तराधिकारका रूपमा रतनलाल टाटाले नेतृत्व लिए । रतनलाल जहाँगिरका छनोट थिए । रतनलाललाई उत्तराधिकार छनोट गरेको २ वर्षपछि सन् १९९३ मा उनको निधन भएको थियो ।

टाटा समूहमा २९ कम्पनी समावेश छन् । यसभित्र टाटा मोटर्स, टाटा स्टिल, टाटा एयरलाइन्सदेखि टाटा आईटीसम्म छन् ।

रतन टाटा : सरलताको उदाहरण, देखावटीपनबाट सधैँ टाढा

टाटा समूहका कम्पनीको कूल सम्पतिको पुँजीगत बजार मूल्य ४०३ बिलियन अमेरिकी डलर बराबर छ । टाटा समूहका कम्पनीको ६५ प्रतिशत शेयर टाटा परिवारका सदस्यको ट्रष्टको नाममा छ । दोस्रो धेरै १८ प्रतिशत शेयर पालोनजी मिस्त्री परिवारमा छ । करिब १३ प्रतिशत समूहका कम्पनीको स्वामित्वमा हुन्छ ।

जमशेदजी टाटाका कान्छा छोरा रतनजी टाटाको मृत्युपछि उनकी पत्नी नवाजवाई टाटाले एक अनाथलाई धर्मपुत्र बनाइन् । ती थिए— नवल टाटा । संयोगले नवल जमशेदका टाढाका नातेदारका छोरा, थरले टाटा नै थिए ।

रतनलाल टाटा तिनै धर्मपुत्र नवलका छोरा थिए । रतनका मातापिताबीचको सम्बन्ध राम्रो थिएन । तसर्थ, उनलाई हजुरआमा नवाजवाईले हुर्काएकी, बढाएकी थिइन् । उनकी आमा सुन्नुले पछि उनका पिता नवलसँग सम्बन्धविच्छेद गरेकी थिइन् । पिता नवलले अर्को बिहे गरे ।

सन् १९३७ मा जन्मिएका रतनलाल टाटा अविवाहित थिए । उनले आफ्नो नेतृत्वकालमा टाटा समूहको सम्पत्ति ५० गुणाले बढाए । संसारको सबैभन्दा सस्तो कार उत्पादन गर्ने उनको सपना थियो । उनको यो सपना पूरा गर्न टाटा मोटर्सले नानो कार बनाएको थियो ।

जहाँगिर टाटाले करिब ५० वर्ष टाटा समूहको नेतृत्व गरेपछि उत्तराधिकारका रूपमा रतनलाललाई छनोट गरेका थिए । रतनलालको समग्र नेतृत्वकाल ३३ वर्षको रह्यो तर, उनले २१ वर्ष मात्र टाटा समूहको सक्रिय नेतृत्व गरे । टाटा समूहका कम्पनीमा १० लाखभन्दा बढी कामदारले रोजगार पाएका छन् ।

टाटा समूहका संस्थापक जमशेदजीको सम्मानमा झारखण्डमा जमशेदपुर नामको एक शहर छ । यहाँ जमशेदले टाटा समूहको पहिलो स्टिल कारखाना स्थापना गरेका थिए । जमशेदपुर भारतको दोस्रो उन्नत जीवनस्तर भएको शहर मानिन्छ । यसलाई टाटानगर पनि भनिन्छ ।

अहिले टाटा समूहको नेतृत्व नटराजन चन्द्रशेखरनको हातमा छ । तर, उनी टाटा परिवारका सदस्य हैनन् । टाटा ट्रष्टको अध्यक्ष जो हुन्छ, टाटा समूहको उत्तराधिकार उसैको हातमा जान्छ । किनकि टाटा समूहको सबैभन्दा ठूलो सेयर सदस्य टाटा ट्रष्ट हो ।

जहाँगिर टाटाले मृत्युअघि नै रतनलाललाई उत्तराधिकार छानेजस्तो रतनलालले उत्तराधिकार छानेका थिएनन् । सम्भवत: एक पात्र नोएल टाटा हुन् । उनी रतन टाटाका अर्की आमा पट्टीका भाइ हुन् ।

रतनकी आमा सुन्नुसँगको सम्बन्धविच्छेदपछि नवल टाटाले एक स्वीस महिला सिमोनीसँग बिहे गरेका थिए । नोएल टाटा नवल र सिमोनीका छोरा हुन् ।

उनी ४० वर्षदेखि टाटा समूहका कम्पनीमा काम गरिरहेका छन् । अहिले उनी टाटा इन्भेष्टमेन्टलगायत समूहका तीन कम्पनीको अध्यक्ष छन् । साथै टाटा स्टिलका उपाध्यक्ष छन् ।

नोएलका तीन सन्तान छन्— लेअह, माया र नेभाली टाटा । सम्भवत: अब टाटा परिवारको उत्तराधिकार, टाटा ट्रष्ट र समूहको नेतृत्व यिनैमा सर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register