बेलायतका नेपाली उद्यमीले अफ्रिका महादेशमा खोले सूचना प्रविधि कम्पनी

लन्डन– बेलायतमा बसोबास गर्ने नेपालीमूलका एकजना उद्यमीले नेतृत्व गरेको कम्पनीले अफ्रिका महादेशमा आफ्नो कार्यालय खोलेको छ। बेलायतमा मुख्यालय भएको सूचना प्रविधि सम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सलुशनले नाइजेरियामा आफ्नो कार्यालय औपचारिक सुरुवात गरेको हो। दक्षिण पश्चिम नाइजेरियास्थित लेगोस महानगरमा बुधबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै नाइजेरियाका लागि बेलायतको व्यवसाय तथा व्यापार मन्त्रालयका राष्ट्रिय निर्देशक मार्क […]

Oct 19, 2024 - 07:16
 0
बेलायतका नेपाली उद्यमीले अफ्रिका महादेशमा खोले सूचना प्रविधि कम्पनी

लन्डन– बेलायतमा बसोबास गर्ने नेपालीमूलका एकजना उद्यमीले नेतृत्व गरेको कम्पनीले अफ्रिका महादेशमा आफ्नो कार्यालय खोलेको छ।

बेलायतमा मुख्यालय भएको सूचना प्रविधि सम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सलुशनले नाइजेरियामा आफ्नो कार्यालय औपचारिक सुरुवात गरेको हो।

दक्षिण पश्चिम नाइजेरियास्थित लेगोस महानगरमा बुधबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै नाइजेरियाका लागि बेलायतको व्यवसाय तथा व्यापार मन्त्रालयका राष्ट्रिय निर्देशक मार्क स्मिथसनले जेनेस सलुशनको अफ्रिका महादेशमा पहिलो कार्यालय खुल्नु खुशीको कुरा भएको बताए।

‘यूकेको सूचनाप्रविधि क्षेत्र संसारकै सफल उद्योगको रुपमा पनि चिनिन्छ । गत जुन २०२४ मा हाम्रो सूचना प्रविधि क्षेत्र १० खर्ब डलर पुगेको मूल्यांकन गरिएको थियो। यूकेमा १५० वटा ’युनिकर्न’ कम्पनीहरु छन्। नाइजेरियामा तीव्र रुपमा विकास भइरहेको प्रविधि क्षेत्रमा जेनेस सलुशनको योगदानको हामी स्वागत गर्दछौं’, उनले भने।

अफ्रिकाको सबैभन्दा ठूलो सूचना प्रविधि बजार मात्रै होइन, प्रविधि हबको रुपमा पनि उदाउँदै गरेको मुलुक नाइजेरियामा आफ्नो व्यवसाय विस्तार गर्न पाउँदा आफूहरु अत्यन्तै हर्षित भएको जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले बताए।

‘संसारकै क्लाउड सेवा प्रदायकहरुले उदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले पनि नाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौँ । नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथा लगानी भित्रयाउन सहज गरिदिएकाले पनि हामीले नाइजेरियामा सहकार्य र व्यवसाय वृद्धिको राम्रो सम्भावना देखेका छौं’, उनले भने।

जेनेस सलुशन नाइजेरियाले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरुलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुशन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवाहरु उपलब्ध गराउने बताइएको छ।

जेनेस सलुशनका मुख्य प्रविधि तथा सूचना सुरक्षा अधिकृत निरन्जन कुँवरले अहिले सबैजसो कम्पनीहरुका लागि साइबर सुरक्षाको जोखिम उच्च रहेको बताउंदै विद्यमान डिजिटल परिदृश्यमा दीर्घकालिन व्यवसायिक सफलताका लागि सक्रिय साइबर सुरक्षा व्यवस्थापन अत्यन्तै महत्वपूर्ण हुने जनाए। हरेक कम्पनीले आफ्नै सूचना तथा ग्राहकहरुको सूचना सुरक्षित राख्न पनि साइबर सुरक्षालाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए।

नेपालदेखि नाइजेरियासम्म

दक्षिण पश्चिम इंग्ल्याण्डस्थित प्लिमथ शहरमा मुख्यालय रहेको जेनेस सलुशनका नेपाल, बंगलादेश, स्पेन, अमेरिका लगायत १० मुलुकमा कार्यालय छन्। उक्त कम्पनीले नाइजेरियामा आफ्नो दशौँ कार्यालय खोलेको हो।

‘एकजना नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनी नाइजेरियामा स्थापना हुनु एउटा गौरवको कुरा हो। यसले नेपालीहरुको सीप र दक्षताका बारे बाँकी विश्वले थाहा पाउनुका साथै नेपाल सूचना प्रविधिको हबको रुपमा उदाउँदै छ भन्ने सन्देश पनि दिएको छ’, नाइजेरियास्थित औद्योगिक प्रतिष्ठान डाङोटे ग्रुपका वरिष्ठ व्यवस्थापक तथा गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले भने।

थापाले जेनेस सलुशनको यो प्रगतिले नेपालका अन्य सूचना प्रविधि उद्यमीहरुलाई पनि प्रोत्साहित गर्ने आशा व्यक्त गरे।

यस अघि लन्डन, ढाका तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासहरुले नेपाल सूचना प्रविधिको हबको रुपमा उदाउँदै गरेको जानकारी दिन आयोजना गरेका सेमिनारहरुमा जेनेस सलुशनले सहकार्य गरेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register