एकीकृत समाजवादी : विभाजनको बाह्य डर टरे पनि आन्तरिक उकुसमुकुस ज्यूँका त्यूँ !

के सत्य हो भने अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबाहेकका अरु नेतामा कहीँ न कहीँ एमालेमोह छँदैछ । सम्मानित नेता झलनाथ खनालसमेत एमालेसँग एक हुने मनस्थितिमै छन् ।

Oct 22, 2024 - 13:25
 0
एकीकृत समाजवादी : विभाजनको बाह्य डर टरे पनि आन्तरिक उकुसमुकुस ज्यूँका त्यूँ !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउन तयारी गरेका राजनीतिक दलसम्बन्धी अध्यादेश रोकिएसँगै एकीकृत समाजवादी विभाजनको बाह्य भय त टर्‍यो तर, आन्तरिक भने त्यूँका त्यूँ छ ।

एकीकृत समाजवादीमा गठनसँगै सुरु भएको उकुसमुकुस पछिल्लो महाधिवेशनसम्म आइपुग्दा उत्कर्षमा पुगेको थियो । महाधिवेशनअघि पदाधिकारी रहेका तर, महाधिवेशनपछि नअटाएका नेताहरूले पार्टी परित्याग गर्ने विभिन्न विकल्पमा छलफल गरिरहेका छन् । त्यसमा केही पदाधिकारीको पनि समर्थन रहेको बताइन्छ ।

उनीहरूले मुख्यत: ३ वटा विकल्पमा छलफल गरिरहेको स्रोत बताउँछ ।

पहिलो— अध्यादेशको सहारा । जुन तत्कालका लागि अन्त्य भइसकेको छ । यदि प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले नरोकेको भए सोमबार (हिजो) नै अध्यादेश ल्याउने प्रधानमन्त्री ओलीको तयारी थियो । ड्राफ्टसमेत तयार भइसकेको थियो ।

दल विभाजनका लागि एकीकृत समाजवादीका असन्तुष्ट नेताहरू तयारी अवस्थामै थिए । बाहिर रहेका नेताहरू काठमाडौं फर्किसकेका थिए तर, अन्तिम समयमा आएर अध्यादेश रोकियो । यससँगै अध्यादेशको ‘च्याप्टर क्लोज’ भएको छ ।

यसपछि पार्टी विभाजन गर्न खोजेका नेताहरू मौन छन् । उनीहरूले अरु विकल्पमाथि छलफल अघि बढाएका छन् ।

दोस्रो— पार्टी छाडेको घोषणा गरेर एमाले प्रवेश गर्ने । यो विकल्प भने असन्तुष्ट नेताहरूका लागि खुल्लै छ । किनभने यो उनीहरूले चाहनेबित्तिकै कार्यान्वयन गर्न सक्छन् ।

यसका लागि रामकुमारी झाँक्री, अम्मरबहादुर थापा, डा. विजय पौडेल, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, वंशीधर मिश्रलगायतका नेताहरू तयार नै रहेको बताइन्छ । उनीहरू एमाले प्रवेशको उपयुक्त समय कुरेर बसेका छन् ।

वरिष्ठ उपाध्यक्ष राजेनद्र पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडा र उपमहासचिव मेटमणि चौधरीबाहेक अरु नेताहरू एमालेसँगै हिँड्नेमा आपत्ति जनाउँदैनन् ।

नेता अम्मरबहादुर थापाले नेपालभ्युजसँग भने, “व्यक्तिगत रूपमा एमाले जाने भन्ने पक्षमा म छैन । बाँकी अवस्थामा सोच्नुपर्छ ।” अर्का नेता वंशीधर मिश्र सकेसम्म पूरै पार्टीलाई नै एमालेसँग एकता गराउने प्रयास भइरहेको बताउँछन् । “उपयुक्त समयको पर्खाइमा छौँ,” उनले भने ।

तेस्रो— सिङ्गो पार्टी नै एमाले प्रवेश अर्थात् पार्टी एकता । यो विकल्पमा नेता सोमप्रसाद पाण्डेलगायतका नेताहरूले काम गरिरहेका छन् । उनी पार्टी अध्यक्ष माधवकुमार नेपालका सम्धीसमेत हुन् ।

त्यसो त नेता पाण्डे पार्टी नफुटोस् भनेर अन्तिमसम्म पहल गर्ने नेता हुन् । २०७८ भदौ ७ गते राति पौने १२ बजे नेता रघुजी पन्तलाई लिएर उनी ओलीको निजी निवास बालकोट पुगेका थिए । जबकि, एकीकृत समाजवादीले भदौ ९ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गर्दै थियो ।

उनले त्यहाँ ओलीलाई माधवकुमार नेपाललाई सम्मानजनक पद दिएर रिझाउन आग्रह गरेका थिए तर, ओलीले त्यसो गरेनन् र अन्तत: एमाले विभाजन भएर एकीकृत समाजवादी बन्यो । त्यसपछि उनी पनि एकीकृत समाजवादीकै कित्तामा उभिए । एकीकृत समाजवादीमै रहेपनि उनले पुन: पार्टी एकताको प्रयास गरिरहेका छन् ।

उनले नेपालभ्युजसँग भने, “एमाले र एकीकृत समाजवादीबीच एकता हुनसक्छ, एक हुन्छन् । तर, तत्कालैचाहिँ सम्भव छैन, किनकि ओली सकारात्मक छैनन् । तर, प्रयास जारी नै छ ।”

***

के सत्य हो भने अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबाहेकका अरु नेतामा कहीँ न कहीँ एमालेमोह छँदैछ । सम्मानित नेता झलनाथ खनालसमेत एमालेसँग एक हुने मनस्थितिमै छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ।

गत वैशाखमा सम्पन्न संसदीय उपनिर्वाचनमा उनले एमाले प्रवेश गरेर इलाम २ बाट निर्वाचन लड्ने चर्चासमेत चलेको थियो । त्यसबेला उनले ओलीले प्रस्ताव गरे आफूले नाइँ नभन्ने भनेर घुमाउरो प्रतिक्रियासमेत दिएका थिए तर, ओलीले झलनाथलाई नभई सुहाङ नेम्वाङलाई अघि बढाए ।

उनको सम्बन्ध ओलीसँग त्यति तिक्ततापूर्ण छैन, जति अध्यक्ष नेपालको छ । उनी मिलेसम्म एमालेसँगै हिँड्नेमा देखिन्छन् । उनले नेपालभ्युजसँग भनेका छन्, “एमाले र एकीकृत समाजवादी मात्रै होइन, नेपालका कम्युनिष्टहरू एक भएर समाजवादी बाटोमा हिँड्ने बेला भएको छ । यसमा सबै गम्भीर हुनुपर्छ ।”

यता वर्तमान पदाधिकारिमा वरिष्ठ उपाध्यक्ष राजेनद्र पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडा र उपमहासचिव मेटमणि चौधरीबाहेक अरु नेताहरू एमालेसँगै हिँड्नेमा आपत्ति जनाउँदैनन् । उपाध्यक्ष धर्मनाथ प्रसाद साह र उपमहासचिव राजेन्द्रकुमार राईहरू त पार्टी एमालेसँग एक भए राम्रै हुने प्रतिक्रिया जनाउँछन् ।

यसरी हेर्दा एकीकृत समाजवादी विभाजनको बाह्य भय टरे पनि आन्तरिक असन्तुष्टि र उकुसमुकुस भने ज्यूँका त्यूँ छ ।

  • सम्बन्धित सामग्री

टर्‍यो अध्यादेशको खतरा, हट्यो एकीकृत समाजवादी विभाजनको डर !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register