ओली सरकारसँग फेसबूक प्रयोगकर्ता आक्रोशित, सय दिनको कामबारे दिए यस्तो मत

वर्तमान सरकार बनेपछि राम्रा काम के-के भए ? भन्ने प्रश्नमा घोत्लिँदा एउटा जवाफ भेट्न गाह्रो छ । त्यसैले समाजिक संजालमा वर्तमान सरकारको आलोचना बढ्दो छ । 

Oct 23, 2024 - 11:49
 0
ओली सरकारसँग फेसबूक प्रयोगकर्ता आक्रोशित, सय दिनको कामबारे दिए यस्तो मत

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो १०० दिन पूरा गरेको छ । यसमा सत्तारूढ दलले सरकार सफल भएको निष्कर्ष निकाल्दा विपक्षीले सरकार असफल भएको बताइरहेका छन् ।

त्यसो त यसबीचमा ओली सरकारमाथि अनेकन् प्रश्न उठेकै हुन् । खासगरी असोज १० देखि १२ को प्राकृतिक विपद्को पूर्वतयारी, मुलुकमा बढेको सार्वजनिक ऋण र समग्रतामा सुशासनको सन्दर्भमा ओली सरकारमाथि धेरै प्रश्न उठे ।

दल विभाजनसम्बन्धी अध्यादेशसम्म आइपुग्दा सरकारको आलोचना झनै बढेको छ । समाजिक सञ्जाल प्रयोगकर्ता पनि वर्तमान सरकारसँग निकै रुष्ट रहेको पाइएको छ । उनीहरूले सरकारको काम खराब रहेको राय दिएका छन् ।

नेपालभ्युजजे आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा भोटिङ पोल राखेको थियो । त्यहाँ यो समाचार बनाउँदासम्म हजारभन्दा धेरैले भोट गरेका छन् ।

पोलमा राखिएको प्रश्न थियो— केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको १०० दिनको काम तपाईंलाई कस्तो लाग्यो ? आफ्नो मत व्यक्त गर्नुस् ।

प्रश्नमा तीन विकल्प थिए— पहिलो- उत्कृष्ट, दोस्रो- ‍औसत र तेस्रो- खराब ।

नेपालभ्युजको आधिकारिक फेसबूक ह्यान्डलमा राखिएको पोल ।

जसमा ८८ प्रतिशतले सरकारको कामकारबाहीलाई ‘खराब’ औँल्याएका छन् । यस्तै ७ प्रतिशतले उत्कृष्ट बताउँदा ५ प्रतिशतले औसतमा भोटिङ गरेका छन् ।

पोलमा फेसबूक प्रयोगकर्ताले विभिन्नखाले टिप्पणी गरिरहेका छन् । एक प्रयोगकर्ता ईश्वरी ओझा लेख्छिन्, “सत्ताको चरम दुरुपयोग गरेर आफ्ना जोगाउने, अरुलाई फसाउने, महङ्गी बढाउने, भ्रष्टाचार गर्नेमा यो सरकार अहिलेसम्मकै उत्कृष्ट देखियो ।”

यस्तै अर्का प्रयोगकर्ता दिलिप कुमार उप्रेतीले सरकारको प्रगति विवरण भन्दै व्यङ्ग्यात्मक सातबुँदे सूची नै बनाएका छन् ।

उनी लेख्छन्, “भुटानी काण्ड सामसुम पारेर लुकाउन सफल, गिरीबन्धु काण्ड तत्काललाई दबाउन सफल, राजनीतिक पूर्वाग्रह राखेर रविलाई पक्राउ गर्न सफल, सहकारीपीडितलाई कसरी उचित ढङ्गबाट न्याय दिन सकिन्छ भन्नेविपरी अलपत्र पार्न सफल, बाढी-पहिरोपीडितलाई थप पीडा दिन सफल, अदालतमा विचाराधीन मुद्दा खेपिरहेका व्यवसायीबाट अर्बौँको जग्गा घुस लिन सफल, अन्त्यमा सिद्धान्त, दर्शन, लाज, घिन सबै पचाउन सफल ।”

अर्का प्रयोगकर्ता गोल्धोङ राईले भने ओली सरकारलाई ‘श्रद्धाञ्जली’ दिएका छन् । पोलको टिप्पणी बक्समा उनी लेख्छन्, “१०० दिनको मूल्याङ्कन गर्नुपर्दा केपी शर्मा ओली सरकारलाई हार्दिक श्रद्धाञ्जली ! भ्रष्टाचार गर्न र गराउन फुइँतिहाइको सरकार एक ढिक्का हुने भएछ ।”

रोचक त के भने कतिपय प्रयोगकर्ताले पोलमा ‘महा-खराब’ भन्ने अप्सनको पनि माग गरेका छन् । प्रयोगकर्ताहरू चमु नेपाल र हरि भट्ट सोध्छन्— अति खराब वा महा-खराब भन्ने अप्सन छैन ?

दिपक घिमिरे नामबाट गरिएको टिप्पणीमा भनिएको छ, “काम गजब भयो, परिणाम ००००००००० ।”

त्यसो त ज-जसले टिप्पणी गरेका छन्, कसैले पनि ओली सरकारले राम्रो काम नगरेको बताएका छन् । यो फेसबूक प्रयोगकर्ताको मत भनेर सरकार पक्षले बेवास्ता गर्न सक्छन् । तर, योचाहिँ सत्य हो कि यहाँ प्राय: सरकारका कामकारबाहीमाथि नजर राखिरहनेकै सहभागिता छ ।

वर्तमान सरकार बनेपछि राम्रा काम के-के भए ? भन्ने प्रश्नमा घोत्लिँदा एउटा जवाफ भेट्न गाह्रो छ । त्यसैले समाजिक सञ्जालमा वर्तमान सरकारको आलोचना बढ्दो छ ।

असार ३१ गते गठन हुँदै गर्दा यो सरकारले संविधान संशोधनको विषयलाई मुख्य कार्यक्रम बनाएको थियो तर, यहाँसम्म आउँदा संविधान संशोधनको सम्भावना क्षीण देखिएको छ । स्वयम् सत्तारूढ दलकै नेताले सम्भावना कम रहेको बताउन थालेका छन् ।

जे होस्, यति भन्न सकिन्छ कि सरकार निरन्तर अलोकप्रिय भइरहेको छ । १०० दिनसम्म ‘हनीमून पिरियड’ भनेर चुप बसेकाहरू पनि अब सरकारमाथि खनिनेछन् । त्यसैले सरकारले आफूले उत्कृष्ट काम गरिरहेको भन्ने दाबी छाडेर आफूलाई गम्भीर रूपमा समीक्षा गर्नु र कार्यशैली सच्चाउनुपर्ने आवश्यकता देखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register