नेप्सेको आँगनमा ‘बुल’ कि ‘बाच्छो’ ? डेढ करोडको मूर्तिले मच्चायो ट्रोलको आँधी !

सेयर बजारको बुलिस ट्रेन्डलाई झल्काउन राखिएको प्रतिमाले बुलको भन्दा बाच्छोको जस्तो रूप देखाएपछि, सर्वसाधारणले ‘यो साँढे हो कि गाईको बाच्छो ?’ भन्दै मजाक उडाउन थालेका छन् ।

Oct 24, 2024 - 02:19
 0
नेप्सेको आँगनमा ‘बुल’ कि ‘बाच्छो’ ? डेढ करोडको मूर्तिले मच्चायो ट्रोलको आँधी !

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को आँगनमा ठडिएको १० फिट अग्लो ‘बुल’को मूर्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

१४ महिना लगाएर, झन्डै डेढ करोड रुपैयाँ खर्चिएर बनाइएको यो प्रतिमाले भने सोचेभन्दा फरक तरिकाले ध्यान तान्दैछ ।

सेयर बजारको बुलिस ट्रेन्डलाई झल्काउन राखिएको प्रतिमाले बुलको भन्दा बाच्छोको जस्तो रूप देखाएपछि, सर्वसाधारणले ‘यो साँढे हो कि गाईको बाच्छो ?’ भन्दै मजाक उडाउन थालेका छन् ।

यो ठुलो ‘बुल’ भनिएको मूर्ति वास्तवमा ‘मरन्च्याँसे बाच्छो’ भन्दै ट्रोलको सिकार बनेको छ ।

मूर्ति ठडिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको संरचनालाई लिएर रमाइलो टिप्पणी गर्न थालेका छन् ।

डेढ करोडमा ‘बुल’ भन्दै ‘बाछो’को रूप

यो बुल १० फिट अग्लो, १२ फिट लम्बाइको र तामा–पित्तल मिश्रित धातुबाट बनेको हो । तर विश्वभर चर्चित बुलहरू राम्रा देखिन्छन् । तर, नेप्सेको बुलको आकार राम्रो देखिएन ।

अन्य देशका स्टक एक्सचेन्जहरूमा देखिने शक्तिशाली साँढेहरू जहाँ सिङ उजाउँदै, बलशाली भाव देखाउँदै उभिएका हुन्छन्, नेप्सेको यो बुल भने त्यस्तो छैन ।

कतिपयले यसको आँखाको भावलाई साधारण र सिङ फिका र नतिखारिएको भनेका छन् । समग्रमा बाच्छो जस्तो देखिएको टिप्पणी छ ।

सामाजिक सञ्जालमा अहिले यो प्रतिमालाई देखेर अनेक ट्रोल बनिरहेका छन् । ‘सेयर बजारको प्रतीक भनेर बाछो हो कि साँढे, छिनोफानो गर्नै गाह्रो’ भन्दै मानिसहरूले रमाइलो टिप्पणी गरेका छन् ।

कतिपयले भने ‘सेयर बजार बढ्ने आशा थियो, तर बुल नै बाछो भयो’ भन्दै यसलाई नेप्सेको प्रतीकात्मक व्याख्या पनि गरेका छन् ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार, बुलको प्रतिमा नेप्सेको परिसर सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत निर्माण गरिएको हो । मूर्ति भने अझै औपचारिक रूपमा अनावरण भएको छैन ।

नेपाली कला संसारभरि लोकप्रिय छ । नेपाली शिल्पकारहरूले बनाएका मूर्तिको विदेशीहरूले समेत मुक्तकण्ठले प्रशंसा गर्दै आएका छन् । तर सरकारी काममा प्रयोग हुने मूर्तिहरूको कला सौन्दर्यलाई लिएर पटकपटक आलोचना हुँदै आएको छ । केही समयअघि बाघको मुर्ती पनि बाघ जस्तो नभएको भन्दै आलोचना भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register