शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जंगली याक

काठमाडौं । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जंगली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जंगली याक भेटिएको हालै खुलासा गरिएको हो । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जंगली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ । स्थानीय नागरिक वैज्ञानिक सोनाम वाङ्दीले तस्वीर लिएको जंगली याक […]

Oct 26, 2024 - 06:07
 0
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जंगली याक

काठमाडौं । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जंगली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जंगली याक भेटिएको हालै खुलासा गरिएको हो ।

वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जंगली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ । स्थानीय नागरिक वैज्ञानिक सोनाम वाङ्दीले तस्वीर लिएको जंगली याक शे–फोक्सुन्डो गाउँपालिका–१ सल्दाङस्थित क्षेत्रमा भेटिएको हो ।

चार हजार ६२३ मिटरदेखि चार हजार ९३५ मिटर उचाइ रहेको सो स्थानमा उक्त जङ्गली याक गत जुलाई २३ देखि २६ सम्म देखिएको विभागको तथ्यांक छ ।

यो अध्ययन स्थानीय समुदायको पूर्वजानकारीपछि निकुञ्ज विभागको अगुवाइमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालको सहकार्यमा सम्पन्न भएको थियो ।

विगतमा तथ्यांक अभाव तथा स्थानीय समुदायका अनुसार जंगली याक लोप हुने अवस्थामा रहेको मानिएको थियो । जंगली याक प्रायः समुद्री सतहबाट चार हजार ८२५ मिटरको उचाइमा पाइन्छ ।

यस अध्ययनका क्रममा स्थानीयका साथै युवा वैज्ञानिकहरू सोनाम वाङ्दी र उर्गेन गुरुङको महत्त्वपूर्ण योगदान रहेको डब्लूडब्लूएफ नेपालका पर्वतीय कार्यक्रम व्यवस्थापक सेरेन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यो जंगली याक देखिएको क्षेत्रबाट पश्चिमतिर चीनको सीमा नजिक पनि अर्को जंगली याक देखिएको स्थानीयले जानकारी दिएका छन् । उनले भने, “तर यही हो वा अर्को जंगली याक हो विस्तृत अध्ययन विना भन्न सकिने अवस्था छैन । चीन, भारत र नेपालका हिमाली क्षेत्रमा पाइने जंगली याकको नेपालमा खासै तथ्यांक छैन ।”

नेपालमा पहिलोपटक अनुसन्धानकर्ताहरूले हुम्लामा सन् २०१४ मा जंगली याक देखेका र पहिलो आधिकारिक तस्बिर पनि सोही समयमा सार्वजनिक गरिएको थियो ।

नेपालमा वन चौँरी पनि भनेर चिनिने जंगली याक विश्वव्यापी रूपमा चीन, भारत र नेपालको मूल रैथाने प्रजाति हो । जंगली याक खासगरी अल्पाइन टुन्ड्रा क्षेत्रको घाँसेमैदान र चिसो मरुभूमि क्षेत्रहरूमा पाइन्छ ।

जाडोमा तल्लो उपत्यकाहरूमा झर्दै, मौसमी रूपमा सर्ने गर्छ । यद्यपि, यस प्रजातिको हालको वितरण दायरा राम्रोसँग थाहा छैन । जंगली याक प्रायः उत्तरी सिमाना छिमेकी चीनको तिब्बतसँग जोडिएका हिमाली क्षेत्रमा बढी रहने गरेको अनुमान छ ।

नेपालमा यस प्रजातिको संख्याको आकारका बारेमा कुनै जानकारी उपलब्ध छैन । हुम्ला जिल्लाको लिमी उपत्यकामा सन् २०१४ मा पुनः पत्ता नलागेसम्म जंगली याक लोप भइसकेको मानिन्थ्यो ।

विश्वव्यापी रूपमा जंगली याकलाई आईयूसीएनले ‘रेड लिस्ट’ले जोखिममा राखेको छ । नेपालमा राष्ट्रिय रूपमा यसलाई तथ्यांक अभावका रूपमा वर्गीकृत गरिएको छ । नेपालमा यस प्रजातिको कानुनी स्थिति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित (परिशिष्ट १) छ ।

साइटिसले परिशिष्ट १ प्रजातिमा जंगली याकलाई सूचीकृत गरेको निकुञ्ज विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए । उनका अनुसार जंगली याक गाई प्रजातिको जन्तु हो । तराई क्षेत्रमा गौरी गाई पाइएजस्तै उपल्लो हिमाली क्षेत्रमा चौँरी र जंगली याक पाइन्छ ।

“जंगली याक दुर्लभ छ । कठिन भौगोलिक क्षेत्र र हिमाली क्षेत्रमा पाइने भएकाले यसको अध्ययन र अनुसन्धान पर्याप्त हुन सकेको छैन,” वरिष्ठ इकोलोजिष्ट आचार्यले भने, “अहिले बिस्तारै हवाई यातायात, सडकको पँहुच, प्रविधिको विकासले गर्दा हिमाली वन्यजन्तुसँगै जंगली याकको पनि अध्ययन सुरु हुन थालेको छ ।”

हिउँ चितुवाको र यसको बासस्थान प्रायः एकै क्षेत्रमा हुन्छ । जंगली याकको बासस्थान र चरन क्षेत्र हिउँचितुवाको तुलनामा भने सीमित हुन्छ । घरपालुवा चौँरीभन्दा यो शारीरिक बनावटले फरक हुन्छ ।

“घरपालुवा चौँरीको तुलनामा यसको आकार ठूलो हुन्छ, सिङ र रौँ फरक हुन्छ । विभागले सार्वजनिक गरेको उक्त तस्बिरसँगै जंगली याकको अध्ययन गर्न अनुसन्धानकर्ताको चासो बढ्छ । त्यसमा हामी प्रोत्साहन गर्छौं”, उनले भने । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register