तिहारमा ४५ लाखभन्दा बढी माला खपत हुने अनुमान, सयपत्री, मखमलीको उच्च माग

काठमाडौं । यो वर्षको तिहारमा ४५ लाख २५ हजार माला खपत हुने अपेक्षा गरिएको छ । यसमा विशेषगरी सयपत्री, मखमली, गोदावरी, र मिक्स फूलका मालाहरूको उच्च माग रहेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको प्रतिवेदनअनुसार गत वर्षको तुलनामा यस वर्ष माला खपतको वृद्धिको अपेक्षा गरिएको छ । सयपत्री माला सबैभन्दा धेरै खपत हुने अनुमान गरिएको छ, […]

Oct 27, 2024 - 01:19
 0
तिहारमा ४५ लाखभन्दा बढी माला खपत हुने अनुमान, सयपत्री, मखमलीको उच्च माग

काठमाडौं । यो वर्षको तिहारमा ४५ लाख २५ हजार माला खपत हुने अपेक्षा गरिएको छ । यसमा विशेषगरी सयपत्री, मखमली, गोदावरी, र मिक्स फूलका मालाहरूको उच्च माग रहेको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको प्रतिवेदनअनुसार गत वर्षको तुलनामा यस वर्ष माला खपतको वृद्धिको अपेक्षा गरिएको छ ।

सयपत्री माला सबैभन्दा धेरै खपत हुने अनुमान गरिएको छ, जसबाट करिब ३२ करोड रुपैयाँको कारोबार हुने विश्वास गरिएको  छ । गत वर्ष २२ करोड ७५ लाख रुपैयाँ बराबरका ३५ लाख सयपत्री मालाहरू बिकेका थिए, जसमा स्वदेशी उत्पादन ९ लाख र बाँकी २१ लाख माला भारतबाट आयात गरिएको थियो ।

यसपालि चाहिँ ४० लाख सयपत्री माला आवश्यक पर्ने अनुमान गरिएको छ । एसोसिएसनका अनुसार २५ लाख मालाहरू स्वदेशी उत्पादन हुनेछ भने १५ लाख माला भारतबाट आयात गरिनेछ । तथापि, भारतीय माला आयातको प्रक्रिया अझै सरकारको अनुमतिमा निर्भर रहेको एसोसिएसनका पूर्वअध्यक्ष मीनबहादुर तामाङले बताए ।

यस वर्षको उत्पादनमा कमी आउनुको प्रमुख कारण किसानहरूलाई फुल बिक्री नभएर गत वर्ष सयपत्री फूल फाल्नुपरेको हो। जसका कारण धेरै किसानले यसपटक फूल लगाउन हतोत्साही भए । साथै, असोज महिनाको अविरल वर्षाले पनि फूल खेतीमा नकारात्मक प्रभाव पारेकोले यसपटक सयपत्री मालाको मूल्यमा वृद्धि हुने सम्भावना छ ।

यसैगरी, तिहारमा मखमली फूलको ३ लाख २५ हजार मालाहरू आन्तरिक बजारमा खपत हुने र १ लाख ५० हजार निर्यात हुने बताइएको छ । मखमली र गोदावरी मालाहरूको मूल्यमा ठूलो वृद्धि नहुने अपेक्षा गरिएको छ, किनकि नेपाल यी फूलहरूमा आत्मनिर्भर भइसकेको छ ।

यो वर्ष पनि २० हजार गोदावरी मालाको खपत हुने अनुमान छ, जसको प्रति मालाको मूल्य करिब १ हजार रुपैयाँ पर्नेछ । गत वर्ष मखमली मालाको मूल्य ४२ रुपैयाँ ६५ पैसा रहेको थियो भने यसपालि प्रति मालाको मूल्य ४५ रुपैयाँ पुग्नसक्ने अनुमान गरिएको छ ।

यसरी, यसपालि तिहारको फूल बजारमा स्वदेशी उत्पादनको महत्त्व झल्किन्छ, जहाँ मागको पुरा आपूर्ति गर्न बाह्य आयातमा धेरै निर्भरता राख्न नपरोस् भन्ने एसोसिएसनको लक्ष्य छ । फूल खेतीलाई अझ सघन बनाउँदै जाने योजना पनि यसै सन्दर्भमा अघि सारिएको छ, जसले ग्रामीण क्षेत्रका किसानलाई लाभ दिलाउने विश्वास लिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register