कांग्रेसभित्र मन्त्री फेर्ने छलफल, लेखकको ठाउँमा साउद ?

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले गृहमन्त्री फेर्न चाहेको चर्चा सुरु भएको छ । अहिले रमेश लेखक गृहमन्त्री छन् । उनी गृहमन्त्री बनेको जम्माजम्मी १०० दिन कटेको छ । तर, यसबीचमा उनका केही कदम विवादित बने । खासगरी आफूअनुकूल प्रहरी सरुवा गरेको, विपद्‌मा आकस्मिक सही निर्णय लिन नसकेको, पार्टीभित्र संस्थापन पक्षको मात्रै सुझाव सुनेको […]

Oct 27, 2024 - 13:07
 0
कांग्रेसभित्र मन्त्री फेर्ने छलफल, लेखकको ठाउँमा साउद ?

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले गृहमन्त्री फेर्न चाहेको चर्चा सुरु भएको छ । अहिले रमेश लेखक गृहमन्त्री छन् । उनी गृहमन्त्री बनेको जम्माजम्मी १०० दिन कटेको छ ।

तर, यसबीचमा उनका केही कदम विवादित बने । खासगरी आफूअनुकूल प्रहरी सरुवा गरेको, विपद्‌मा आकस्मिक सही निर्णय लिन नसकेको, पार्टीभित्र संस्थापन पक्षको मात्रै सुझाव सुनेको लगायतका कुरा सुनिए ।

त्यसपछि खासगरी संस्थापनइतर पक्षले गृहमन्त्री फेर्नेबारे छलफल सुरु गरेको बताइन्छ ।  संस्थापनइतर पक्षमा पनि खासगरी गगन थापा प्यानलले यो छलफल सुरु गरेको हो ।

यो पक्षले आफ्नो प्यानलमा यसबारे छलफल गर्ने गरेको छ । गगननिकट एक नेता भन्छन्, “यसबीचमा उहाँ (गृहमन्त्री रमेश लेखक) माथि प्रश्नहरू पनि उठे । सबैका सुझाव सुन्ने काम पनि भएन । त्यसकारण फेर्नुपर्छ भन्ने छलफल भएको हो । तर, यो कार्यान्वयनमा गइहाल्छ भन्ने होइन ।”

त्यसो त रमेश लेखक पार्टी सभापति शेरबहादुर देउवा अर्थात् संस्थापन पक्षीय नेता हुन् । भनिन्छ— उनी देउवाका दाहिने हात हुन् । अझ बढी नै आलोचनात्मक भाषा प्रयोग गर्नेहरू त उनलाई ‘देउवाका गोजीका मान्छे’समेत भन्दछन् ।

जे होस्, उनी देउवाका निर्णय र उनका अभिव्यक्तिविरुद्ध कहिल्यै जाँदैनन् । त्यसैले पनि देउवाले पछिल्लो मन्त्रिपरिषद्‌मा उनलाई गृहमन्त्री दिएका हुन् ।

यही कारण आफूहरूको सुझाव नसुनिएको गगन प्यानलको ठम्याइँ छ । गगन समूहले संस्थापन पक्षकै नेता नै भए पनि हुने तर, गृहमन्त्री फेर्नुपर्ने भन्दै छलफल सुरु गरेको हो । उनीहरूले एनपी साउद (नारायणप्रकाश साउद) को नाम लिएको स्रोत बताउँछ ।

साउद पनि देउवानिकट नेता नै हुन् । कांग्रेसकै प्रमुख समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा साउद परराष्ट्रमन्त्री थिए । गगन प्यानलले देउवानिकट नै भए  ‘रमेशभन्दा एनपी ठीक’ भनेर त्यो निष्कर्ष निकालेको बताइन्छ ।

यद्यपि, यो छलफलको निष्कर्ष पार्टी सभापति देउवालाई सुनाइएको छैन । अहिले गगन भारतमा छन् । यो छलफल उनी भारत जानुभन्दा अगाडि नै गरिएको हो ।

कांग्रेस नेता मीनबहादुर विश्वकर्मा भन्छन्, “कांग्रेसभित्र मन्त्री फेर्नेबारे कुनै औपचारिक तथा अनौपचारिक छलफल भएको छैन । कोही नेताहरूले व्यक्तिगत रूपमा भन्नुभयो होला ।”

गगन समूहले प्रस्ताव गरेको भनिएका एनपी साउद पनि त्यसबारे आफूलाई जानकारी नभएको बताउँछन् । उनले नेपालभ्युजसँग भने, “यसबारे मलाई थाहा छैन । यो कुरा मेरो कानमा परेको छैन ।”

यसमा संस्थापनइतर पक्षकै अर्का नेता शेखर कोइराला पक्ष पनि ‘हुँदैन’ भन्ने पक्षमा छैन । अझ कोइराला त वर्तमान सरकारको आलोचना गर्ने नेतामध्ये पर्दछन् । उनले वर्तमान सरकारलाई ‘फेल’ हुन छुट नभएको र मन्त्रीहरू बढी ‘एक्सन-ओरिन्टेड’ हुनुपर्ने बताउँदै आएका छन् ।

यता सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) ले पनि कांग्रेसभित्रको मन्त्री फेर्न चाहेको चर्चाबारे थाहा छैन । प्रमुख सचेतकसमेत रहेका एमाले नेता महेशकुमार बर्तौला भन्छन्, “प्रधानमन्त्रीज्यूकहाँ त्यस्तो सल्लाह आएको थाहा छैन ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register