‘६० करोडको तिहार लक्षित विद्युतीय बजार ३० करोडमा खुम्चियो, ग्राहकको छैन चहलपहल’

काठमाडौँ । झिलिमिलीको पर्व तिहार नजिकिएको छ । तिहार नजिकिए सँगै तिहारको बेलामा विद्युतीय सामग्रीहरुको व्यापार व्यवसाय फस्टाउने आशामा व्यवसायीहरु छन् । तर विगतको वर्षहरुमा भन्दा यस वर्ष ग्राहकहरुको माग कम आएको व्यवसायीहरु बताउँछन् । माग कम आएसँगै पसलको भाडा कसरी तिर्ने भन्ने चिन्ता व्यवसायीहरुलाई छ । न त माग बढेको छ न त भनेको […]

Oct 28, 2024 - 08:01
 0
‘६० करोडको तिहार लक्षित विद्युतीय बजार ३० करोडमा खुम्चियो, ग्राहकको छैन चहलपहल’

काठमाडौँ । झिलिमिलीको पर्व तिहार नजिकिएको छ । तिहार नजिकिए सँगै तिहारको बेलामा विद्युतीय सामग्रीहरुको व्यापार व्यवसाय फस्टाउने आशामा व्यवसायीहरु छन् । तर विगतको वर्षहरुमा भन्दा यस वर्ष ग्राहकहरुको माग कम आएको व्यवसायीहरु बताउँछन् ।

माग कम आएसँगै पसलको भाडा कसरी तिर्ने भन्ने चिन्ता व्यवसायीहरुलाई छ । न त माग बढेको छ न त भनेको जस्तो व्यापार । पोहोरकै विद्युतीय सामग्रीहरु बिक्री नभएकाले यस वर्ष नयाँ सामग्रहीहरु खासै नकिनेको व्यवसायीहरुको भनाइ छ । गत सालकै सामानलाई बेचिसक्ने सोचमा व्यापारीहरु छन् ।

तिहारमा विशेषतः बिक्री हुने भनेको झिलिमिली बत्ती नै हो । तर युवाहरु विदेश जाने र नेपालमा रमाइलो गर्ने जनशक्ति कम भएकाले व्यापार व्यवसाय हुन नसकेको अनुमान व्यवसायीहरुको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था कमजोर रहेको बताए । उनका अनुसार विगतका वर्षहरुमा झैँ यस वर्ष विद्युतीय सामग्रीको व्यापार छैन । कोलकताबाट वीरगञ्ज नाका हुँदै भारतबाट आउने सामानहरु आइसकेको भएपनि तातोपानी र केरुङ नाका भएर चीनबाट आउने विद्युतीय सामग्री आएका छैनन् । तातोपानी नाकाबाट केही दिनभित्रै सामग्री आउने जानकारी पाएपनि काठमाडौं केन्द्रित बजार हुने निश्चित भएको उनको भनाइ छ । महासंघले यस वर्षको तिहारमा ३० करोड सम्मको सामान विक्री गर्ने अनुमान छ । तर विगतका वर्षहरुमा ५०/६० करोडको बजार तिहारमा हुने गरेको उनले बताए ।

अध्यक्ष देवकोटाले पोहोर सालकै विद्युतीय सामानहरु विक्री नभएकाले यस वर्ष नयाँ सामान ल्याउँदा फसिन्छ की भन्ने त्रास व्यवसायीहरुको रहेको बताए । उनले भने, ‘अहिले व्यवसायीहरु ल्याएर फसिन्छ की भन्ने विगतको अनुभवले गर्दा त्यति उत्साहति छैनन् । सबै व्यवसायीहरुसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना राख्नुभएको छ ।’

त्यस्तै, सुन्धाराका विद्युतीय सामग्रीहरुको व्यापार गर्दै आएका सुशील प्रधानाङ्गले अहिले व्यापार खासै राम्रो नभएको गुनासो गरेका छन् । नेपालीहरु अन्तिममा आएर किन्ने बानी भएकाले पनि अझै व्यापार हुने आश रहेको उनले बताए । उनले भने, ‘व्यापार खासै अहिलेसम्म देखिएको छैन । हामी नेपालीहरु अन्तिम अन्तिममा तात्ने चलन छ तर अहिलेसम्म खासै देखिएको छैन । कारोबार धेरै नै गर्ने लक्ष्य हो तर छैन ।

उनका अनुसार सहकारीमा जम्मा पारेको रकम सहकारी ठगहरुले खाइदिएकाले पनि आम नागरिकसँग पैसा नहुँदा क्रय गर्ने सामथ्र्य नरहेको हुनसक्ने अनुमान छ । पैसाको अभावका कारण नै बजारमा चहलपहल कम रहेको उनले बताए ।

त्यसैगरी, सुन्धारा क्षेत्रमै विद्युतीय सामग्रीको व्यवसाय गर्दै आएकी संगीता श्रेष्ठ पनि यस वर्ष खासै व्यापार नभएको बताईंन । तिहार आउन अझै केही दिन बाँकी भएकाले अन्तिमसम्म व्यापार हुने आशा रहेको उनको भनाइ छ ।

नेपालमा अहिले वृद्धवृद्धा र बालबालिकाहरु मात्रै रहेको उनको ठम्याइ छ । नयाँ इनोभेसन चाहिने युवाहरु बाहिरिँदा देशमा व्यापार व्यवसाय पनि खस्किएको श्रेष्ठले बताईन् । उनले भनिन्, ‘नेपालमा बस्ने मान्छे नै धेरै छैनन् । प्रायःजस्तो बाहिर नै जान्छन् । राम्रो लगाउने, झिलिमिली गर्ने भन्ने मान्छे जति सबै विदेशिए । बुढाबुढी मात्रै छन् । नयाँ इनोभेसनको कुरा युवाहरुलाई चाहिन्छ, युवाहरु देशमै छैनन् ।’

व्यवसायी दुर्गा सापकोटाले पनि विगतको तुलनामा व्यापार कम रहेको बताईंन । प्राकृतिक प्रकोप, पैसाको कमीका कारण पनि ग्राहकहरु नआएको हनुसक्ने उनको अनुमान छ । उनले भनिन्, ‘दीपावलीको लागि व्यापार कम नै छ । हुनत समय आउन अझै बाँकी नै छ । भनेको जस्तो व्यापार भएको छैन । प्राकृतिक प्रकोप, पैसाको कमी पनि छ । त्यसैले पनि ग्राहक कम आउनुभएको छ ।’

यता, व्यवसायी बाबुराम घिमिरेले भने असोजको तुलनामा कार्तिक लागेपछि विद्युतीय सामग्रीहरुको व्यापार बढेको बताए । बजारमा विगतको तुलनामा खासै चहलपहल भने नरहेको उनको भनाइ छ । विद्युतीय सामग्रीहरुको बजार मूल्य भने विगतको सरह नै रहेको उनले बताए । उनले भने, ‘कार्तिक लागेपछि व्यापार केही न केही सुध्रिएको छ । चहलपहल त खासै छैन । पोहोर सालको भन्दा यस वर्ष पाउने रेट सस्तो छ ।’

व्यवसायीकाअनुसार यस वर्ष विगतको तुलनामा विद्युतीय सामग्रीहरुको माग धेरै कम छ । ग्राहकहरु पनि बजारमा किनमेलका लागि पुगेका छैनन् । देशको आर्थिक अवस्थाका कारण हुनसक्ने कतिपयको अनुमान छ । अन्तिमसम्ममा व्यापार हुने आशामा रहेको उनीहरु बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register