इजरायल फिर्ता हुने गाजा युद्धविराम योजनाबारे छलफल गर्छौँं : हमास

गाजा । हमास समूहले गाजामा युद्धविराम प्रस्ताव प्राप्त नगरेको तर इजरायलको फिर्तासहितको कुनै पनि विचार वा प्रस्तावमा छलफल गर्न तयार रहेको हमासका एक प्रवक्ताले बुधबार बताएका छन् । “हामीले औपचारिक रूपमा कुनै विस्तृत प्रस्ताव प्राप्त गरेका छैनौँ । यदि युद्ध अन्त्य र गाजा पट्टीबाट सेना फिर्ता गर्ने कुरामा सहमति जनाउने त्यस्ता प्रस्ताव वा विचारहरू हाम्रो […]

Oct 30, 2024 - 15:26
 0
इजरायल फिर्ता हुने गाजा युद्धविराम योजनाबारे छलफल गर्छौँं : हमास

गाजा । हमास समूहले गाजामा युद्धविराम प्रस्ताव प्राप्त नगरेको तर इजरायलको फिर्तासहितको कुनै पनि विचार वा प्रस्तावमा छलफल गर्न तयार रहेको हमासका एक प्रवक्ताले बुधबार बताएका छन् ।

“हामीले औपचारिक रूपमा कुनै विस्तृत प्रस्ताव प्राप्त गरेका छैनौँ । यदि युद्ध अन्त्य र गाजा पट्टीबाट सेना फिर्ता गर्ने कुरामा सहमति जनाउने त्यस्ता प्रस्ताव वा विचारहरू हाम्रो सामु राखिन्छन् भने हामी तीसँग संलग्न हुन तयार छौँ”, प्रवक्ताले भने ।

गोप्य रहन चाहने ती प्रवक्ताले अमेरिकी दबाब नभएका कारण इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘नरसंहार, जातीय सफाया र विस्थापन’ को एजेन्डा कार्यान्वयन गर्न युद्धविराम प्रयासहरूमा बाधा पुर्‍याइरहेको बताए ।

“यदि इजरायल युद्धविराम प्रस्तावमा सहमत हुन्छ भने हमास तयार छ भनेर हामीले मध्यस्थकर्ताहरूलाई भनेका छौँ, यसमा गाजा पट्टीबाट पूर्ण फिर्ता, गाजामा विस्थापित मानिसहरूलाई उनीहरूका घरहरूमा फिर्ता ल्याउने, हाम्रा मानिसहरूका लागि पर्याप्त सहायता प्रवाह र गहन कैदी–विनिमय सम्झौता समावेश छ”, हमासको पटक–पटकको युद्धविराम सर्तसम्बन्धी वार्तालाई उल्लेख गर्दै उनले भने ।

उनका अनुसार इजिप्ट र कतार हमास र इजरायल बीचको मध्यस्थता छलफलमा लागिरहेका छन् ।

हमासले मंगलबार राति एक बयानमा ‘युद्धविराम र कैदी–विनिमयका लागि नयाँ प्रस्तावहरूमा छलफल गर्ने’ मध्यस्थहरूको अनुरोधमा केही बैठकहरू भएको पुष्टि गरेको थियो ।

अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूले गाजामा इजरायल र हमास बीच कैदी–विनिमय, सहायता पहुँच र दीर्घकालीन शान्ति वार्ताका लागि युद्धविराम वार्ता गर्न महीनौँदेखि प्रयास गरिरहेका छन् ।

इजरायलका गुप्तचर प्रमुख डेभिड बार्नेआ, सिआइए निर्देशक बिल बर्न्स र कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुरहमान बिन जासिम अल–थानीले गत आइतबार र सोमबार दोहामा आफ्ना छलफलहरूको नयाँ दौर सुरु गरेका थिए ।

छलफल ‘एक महिनाभन्दा कम समयको’ ‘छोटो–अवधिको’ युद्धविरामको विषयमा केन्द्रित रहेको वार्तासँग परिचित एक स्रोतले बुधबार बताएको छ । “यदि छोटो–अवधिको सम्झौता हासिल हुन सक्छ भने त्यसले अझ स्थायी सहमतिको मार्ग प्रशस्त गर्न सक्छ भन्ने अमेरिकी अधिकारीहरूको मान्यता छ”, स्रोतले भन्यो । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register