विपिनकी बहिनी पुष्पा भन्छिन्- किन आउँछ भाइटीका परेलीका डिल भत्काउन ?

पुष्पा, दाजु विपिन फर्किने आशामा छिन् —होइन भने, सधैँका लागि ती तिहारका झलमलाउने यादहरू मात्र बाँकी रहनेछन् । यो तिहारमा पुष्पाको आँगनीमा झिलमिली हराएको छ तर, उनको मनमा दाजु विपिनको स्मृति छ र एकदिन उज्यालो छाउने आशाको दियो बलिरहेकै छ ।

Nov 3, 2024 - 05:03
 0
विपिनकी बहिनी पुष्पा भन्छिन्- किन आउँछ भाइटीका परेलीका डिल भत्काउन ?

काठमाडौं । दशैं सकिएपछि स्कुल खुलेको दिनले कञ्चनपुर भीमदत्त ३ की पुष्पा जाेशीको मनमा तिहारको झझल्को ल्याउँथ्यो ।

दशैंको रमाइलो बिदा त सकिएको थियो, तर अब तिहार, छठजस्ता चाडपर्व नजिकिँदै गरेका हुन्थे । तिहारको सोचले उनमा छुट्टै उत्साह भरिदिन्थ्यो । आकाश खुलेर चङ्गा भए जसरी नै मन पनि खुला हुन्थ्यो ।

बजार धपेडीको पखेटा बिसाएपछि पुष्पा बजार जान्थिन् । एक्लै हिँडेर तिहारका लागि चाहिने सामान किन्थिन् । उनलाई हरेक कुरा मन लगाएर सजाउन मन पर्थ्यो, खासगरी घर आँगन । आमा भन्थिन्, ‘सफा घरमा लक्ष्मी खुशीले बास गर्छिन् ।’

त्यसैले आँगनदेखि घरभित्रसम्म सफा गर्न उनको जाँगर बढ्थ्यो । घर सफा राख्नमा दाजु विपिन पनि सघाउँथे । ‘सफा मन र सफा घरमै भगवान् आउँछ,’ भन्दै उनीहरूले तिहारका लागि झिलिमिली बनाउँथे ।

घरको आँगनमा कोदालोले फाल्नुपर्ने माटो झारपात हटाउने जिम्मा दाजु विपिनको हुन्थ्यो, गोबरले लिप्ने जिम्मा पुष्पा ।

पिँढीमा बसेर टपरी गाँस्न हजुरआमा व्यस्त हुन्थिन् । उनले सालका पातलाई टपरीमा यसरी गाँस्थिन् कि, मानौँ कुनै मेसिनले सिलाएको हो ।

केही वर्षअघि पुष्पा र विपिन

सालको पातको टपरीमा भाइ मसला दिने चलन थियो । त्यसैमा राखेर मीठो खानपिन गर्न मजा आउँथ्यो । आँगनमा रङ्गोली बनाउने, झ्याल–ढोकामा मालाले सजाउने, बत्तीहरू बालेर उज्यालो पार्ने काम पनि पुष्पा र विपिनले गर्थे ।

देउसी–भैलो त झन् औधी रमाइलो हुन्थ्यो । दाजु साथीभाइसँग मिलेर गाउँघरमा देउसी खेल्न जान्थिन् पुष्पा । रातभर गीत गाउँदै नाच्दै उनीहरू एक अर्कासँग खुसी बाँड्थे ।

ओइलायो पुष्पाले गाँसेको माला, आएनन् दाजु विपिन

भाइटिकामा भने रमाइलोको अर्को रौनक हुन्थ्यो । पुष्पाले दाजु विपिनलाई टीका लगाएर उपहार दिन्थिन् । दक्षिणा माग्दा भने उनी जिस्क्याउन कहिल्यै छुटाउँदिनथिन् । ‘फलानो माथिको दाइले त यति दिने रे, तपाईँले पनि बढाउनुपर्छ नि !’

भीमदत्त ३ मा जोशी परिवारको घर

यसरी बार्गेनिङ गर्दागर्दै दाजु विपिनले खुसी हुँदै ठट्यौली गर्थे । पैसा नथपि धर पाउँदैनथे । उनीहरूले सँगै हाँसेर रमाइलो मनाउँथे । अनि पुष्पा आफ्नै दक्षिणाबाट दाजुलाई सानो उपहार किनेर दिन्थिन् ।

पुष्पा सम्झिन्छन्, ‘तिहारमा दाजुसँग गरिएका यी रमाइला सम्झनाहरू अहिले पनि मनमा खेल्छन् । त्यो बालापनको तिहार, त्यो सरलता, त्यो खुसी अझै पनि मभित्र बाँचिरहेको छ ।’

०००

यसपालि पनि तिहारको रङ्गिन उत्सवले भीमदत्त नगरपालिकालाई सिङारिरहेको छ । हरेक चोक, घर, आँगन झिलिमिली बत्ती र रंगोलीले उज्यालो बनेको छ ।

सबैजसो गाउँलेहरू दशैंपछि पुनः फर्केर आफ्नो आँगन र ढोकामा माटोले पोत्दै, सयपत्री र मखमली फूलको माला गाँस्दै, आफ्नो थातथलोमा रमाइरहेका छन् ।

तर, १८ वर्षीया पुष्पा जोशीको घरमा भने यसपटक त्यो झलमल हराएको छ । अघिल्ला तिहारहरूमा आफ्ना दाजु विपिनसँग मिलेर रंगोली बनाउँदै, झ्यालढोका सजाउँदै रमाउने पुष्पाको लागि यो तिहार निराशा र प्रतीक्षाको छ । पुष्पा यसपटक एक्लै छिन् ।

विपिनकी हजुरआमा ८५ वर्षीय कल्पना जोशी

घरको आँगनीमा बसेर दाजुको प्रतीक्षामा छिन्, उनको सम्झनामा मात्र अब तिहार मनाउनुपरेको छ । मोबाइलमा पुराना म्यासेजहरू पढ्दै उनी पटक–पटक दाजुलाई म्यासेज पठाउँछिन् तर, कुनै उत्तर आउँदैन । यसरी नै एकोहोरो म्यासेज पठाउँदै बितेका छन् १४ महिना ।

पुष्पाका दाजु विपिन, जसले हरेक तिहारमा उनलाई सघाउँथे, अहिले उनीसँग छैनन् । विपिनलाई अन्तिम पटक इजरायलको युद्धभूमिमा देखिएको थियो । एक महिनाअघि मात्रै इजरायलमा पुगेका विपिन, अघिल्लो सालको भदौ २० मा हमासको आक्रमणपछि बेपत्ता भए ।

दशजना नेपालीहरू त्यहाँ मारिएका थिए । साथीहरूले जानकारी अनुसार विपिनलाई भने हमासका सेनाले अपहरण गरेका थिए ।

इजरायली सरकारले पनि विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरिसकेको छ । तर, कहाँ छन्, कस्तो अवस्थामा छन्—यसको जवाफ कसैसँग छैन ।

अहिले पनि पुष्पा हरियो कुर्ता लगाएर पुष्पा आँगनको डिलमा बसेर दाजुको प्रतीक्षा गरिरहेकी छिन् । चोकमा बालिएका बत्तीहरूले गाउँ उज्यालो पारेको छ, तर पुष्पाको मन अँध्यारो छ । तिहारको उमङ्ग छ, तर त्यसले पुष्पाको आँगनीमा खुसी ल्याउन सकेको छैन ।

हमासले लगेका भनिएका विपिन जोशीलाई कहाँ राखिएको छ ?  खोज्न के गर्दैछ सरकार ?

पुष्पा सम्झिन्छिन्, ‘पहिले हामी देउसी खेल्न जान्थ्यौँ । माला बनाउन बगैँचाका फुल टिप्न जान्थ्यौँ । यसपालि भने सबै कुराले एक्लोपन मात्रै थपिदिएको छ । दाजु बिना यो तिहार किन आउँछ ।’

तिहारको उज्यालोमा झलमलाउँदो घरहरूबीच पुष्पाको घर भने शून्यतामा हराइरहेको छ ।

हरेक घरमा खुशीयाली र हर्षको बाढी छ, तर पुष्पाको मन केवल सम्झनाका लहरमा बगिरहेको छ ।

भाइटिकाको दिन, पुष्पाले आँखाका डिलहरू भत्काउँदै आँसु बगाउँछिन्, दाजु विपिनको सम्झनामा । सम्झनाका लहर सल्बलाईरहन्छ उनको मनमा । तिहार लागेसँगै नाचिरहन्छ आँखामा दाजुको तस्वीर ।

हरेक वर्ष टीकाको यो विशेष दिनमा दाजुको निधारमा टीका लगाएर माला दिन पाउने खुसी अहिले गहिरो पीडामा बदलिएको छ ।

दाजु विपिनको तस्वीर आँखा अघि नाचिरहन्छ, आँसुको भल बगिरहन्छ । उनी सोचिरहन्छिन्, ‘दाइ भएर पनि नहुनुको पीडा महसुस भइरहेको छ यो तिहारमा । किन आउँछ भाइटिका परेलीका डिल भत्काउन ?’

भीमदत्त नगरको हरेक घरमा तिहारको उल्लास छाएको बेला, पुष्पाको घरमा भने प्रतीक्षा र चिन्ताको ओझेल छ । पुष्पा दाजु फर्किने आशामा छिन् —होइन भने, सधैँका लागि ती तिहारका झलमलाउने यादहरू मात्र बाँकी रहने छन् ।

पुष्पाले भन्छिन्, ‘दादा सकुशल फर्किनुहोला भन्ने आश छ । दशैँ तिहार रोकिए पनि अहिलेसम्म कुनै वर्ष पनि हाम्रो तिहार रोकिएको थिएन । मलाई थाहा भएदेखि दादालाई टीका लगाउन छुटाएकी छैन । अघिल्लो सालबाट तिहार छुट्यो । अघिल्लो साल पनि माला उनेर राखेकी थिएँ । अहिले पनि बाटो हेर्दाहेर्दै भाइटिका सकिन लाग्यो ।’

यो तिहारमा पुष्पाको आँगनीमा झिलमिली हराएको छ तर, उनको मनमा दाजु विपिनको स्मृति छ र एक दिन उज्यालो छाउने आउने आश बाँकी छ । विपिन फर्केर आउने आशाको दियो निभेको छैन ।

विपिनलाई हमासबाट छुटाएर स्वदेश ल्याइदिन प्रधानमन्त्रीसँग परिवारको आग्रह

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register