वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

जुम्ला– यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन् । आठवर्ष अघि सङ्घीय खानेपानी कार्यालय जुम्लाबाट तिला–९ ढीपुबाट खानेपानी ल्याउने पञ्चवर्षीय योजना सुरु गरिएपनि पनि उपझोक्ता समिति र कार्यालयले राम्रोसँग काम नगर्दा योजना सञ्चालन हुन सकेन । स्थानीय […]

Nov 5, 2024 - 06:57
 0
वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

जुम्ला– यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन् ।

आठवर्ष अघि सङ्घीय खानेपानी कार्यालय जुम्लाबाट तिला–९ ढीपुबाट खानेपानी ल्याउने पञ्चवर्षीय योजना सुरु गरिएपनि पनि उपझोक्ता समिति र कार्यालयले राम्रोसँग काम नगर्दा योजना सञ्चालन हुन सकेन । स्थानीय सरकार गठन भएपछि रु ५० लाखमा गाउँमा खानेपानी लिफ्टिङ योजना बनाइयो तर पानी आइपुगेन ।

यहाँका बासिन्दाले धित मरुन्जेल खानेपानी पिउन नपाएको पुस्तौँ भइसक्यो । विसं २०३५ मा निर्माण गरिएका चारवटा सार्वजनिक धारा छन् । यी धारामा दैनिक ४ घण्टाका दरले पानी आउँछ । गाउँमा रहेका दुई सय ६० घरधुरी चारवटा धाराको पानीमा निर्भर छन् । कहिलेकाहीँ धारामा पानी नआउँदा एक घण्टा पैदल दूरीमा रहेको तिला नदीको पानी पिउन बाध्य छन् । ४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदा पानीको सङ्कट झन् बढ्ने चिन्ता थपिएको छ । पानीको मूल विस्तारै सुक्न थालेको छ । मागअनुसार आपूर्ति नहुने भएकाले गाउँमा खानेपानीकै विषयमा दैनिकजसो झगडा हुने गरेको छ ।

रारागाउँ वरपर पर्याप्त उर्वर जमिन छ । तर, सिँचाइ अभावले गाउँ मरुभूमिजस्तो देखिन्छ । गाउँको तलपट्टि कर्णाली राजमार्गको छेउबाट तिला नदी बगिरहे पनि खेतमा सिँचाइका लागि कुलो नभएको स्थानीयवासी मानसिंह रावतले गुनासो गरे । ‘घरवरिपरिका करेसाबारी बाँझै छन्, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ । उत्पादन हुने उर्वर जमिन त छ, तर सुक्खा छ, उनले भने, ‘नदीको पानी खेर गइरहेको छ ।’

१४ वर्षअघि खानेपानी आयोजना निर्माण थालिए पनि बिचमै रोकिएको थियो । उक्त आयोजना किन रोकियो, कति बजेट खर्च भयो भन्नेबारे स्थानीयले थाहै पाएनन् । सो आयोजनाका लागि ल्याइएको जिआई पाइपलगायतका केही निर्माण सामग्री तिला गाउँपालिका– ८, पुरुगाउँ खोलामा अहिले पनि लथालिङ्ग छन् ।

खानेपानीको समस्या समाधानका लागि हाल गाउँपालिकाले चार करोडको योजना कार्यान्वयनमा ल्याएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा ६ करोडको ठेक्का आह्वान गरेकोमा चार करोडमा निर्माण कम्पनी शिवदेउती, सुलोचना, बजु जेभीसँग तीन वर्षभित्र खानेपानी गाउँमा पु¥याउने गरी सम्झौता भएको छ । पहिलो चरणको काम सुरु भएको गाउँपालिका प्रविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले जानकारी दिए ।

गाउँमा तीन वर्षभित्र खानेपानी पुर्याउने गरी सङ्घीय सरकारबाट प्राप्त विशेष अनुदान अन्तर्गत राष्ट्रिय योजना आयोगबाट विनियोजन जम्मा बजेट रु चार करोड ६९ लाखमध्ये गतवर्ष पचास लाख र यो वर्ष एक करोड ५० लाख क्रमागत रकम पालिकामा प्राप्त भएको हो । उक्त योजनाका लागि संयुक्त राष्ट्रसङघीय विकास कार्यक्रम (यूएनडीपी)ले रु ९५ लाख सहयोग गरेको हो । सो योजनामा एक करोड १० लाख पालिकाले बजेट विनियोजन गरेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।

योजना छिटो सम्पन्न गर्न अनुगमनलाई प्राथमिकतामा राखिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए । तिला–६ बाट रारा गाउँसम्म मुहानको संरचना १५ किलोमिटर लामो छ । गाउँमा खानीपानी निर्माण योजनाको काम अघि बढेपछि स्थानीयवासीमा खुसी छाएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register