‘ग्रीन रिभोलुसन’को ठोस कार्यक्रम ल्याउँदै माओवादी, कस्तो हुन्छ मोडेल ?

अहिले माओवादीले ग्रीन रिभोलुसन अर्थात् हरित क्रान्तिबारे ठोस कार्यक्रम नै ल्याउने गरी छलफल गरिरहेको छ । युवाहरू विदेसिने सन्दर्भलाई मध्यनजर गरेर यो कार्यक्रम ल्याउन लागिएको माओवादी नेताहरूले बताएका छन् ।

Nov 5, 2024 - 07:57
 0
‘ग्रीन रिभोलुसन’को ठोस कार्यक्रम ल्याउँदै माओवादी, कस्तो हुन्छ मोडेल ?

काठमाडौं । “हुन त म ७० लागेँ तर, मलाई ७० भएजस्तो लाग्दैन । म अझै एउटा क्रान्तिको नेतृत्व गर्न सक्छु भन्ने आँट छ मभित्र । त्यो सशस्त्र होइन, त्यो जनयुद्ध होइन, जनक्रान्तिको माध्यमबाट हुन्छ- ग्रीन रिभोलुसन । अब युवाहरूको हातमा बन्दुक होइन, औजार थमाउने हो ।”

गत कात्तिक १० गते काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित खबरदारी सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेका थिए ।

अहिले माओवादीले ग्रीन रिभोलुसन अर्थात् हरित क्रान्तिबारे ठोस कार्यक्रम नै ल्याउने गरी छलफल गरिरहेको छ । युवाहरू विदेसिने सन्दर्भलाई मध्यनजर गरेर यो कार्यक्रम ल्याउन लागिएको माओवादी नेताहरूले बताएका छन् ।

प्रदर्शनीमार्गमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्ड ।

माओवादी उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपालभ्युजसँग भने, “छलफल भइराखेको छ पार्टीभित्र । अब बस्ने केन्द्रीय समितिको बैठकपछि यसको छिनोफानो हुन्छ । त्यसपछि ठोस कार्यक्रम आउँछ ।”

ग्रीन रिभोलुसनको कार्यक्रम किन ?

धेरैभन्दा धेरै युवाहरू बाहिरिरहेको सन्दर्भलाई मध्यनजर गर्दै ग्रीन रिभोलुसनको ठोस कार्यक्रम ल्याउन लागिएको माओवादी नेताहरू बताउँछन् ।

विदेश जानु नै गलत नभएको तर, नेपाली युवाहरू गएपछि फर्किएर नआउने सन्दर्भ जोड्दै प्रवक्ता सापकोटा भन्छन्, “हाम्रा युवाहरू विदेश जाने तर, नफर्किने ट्रेन्ड बढेको छ । अब युवाहरू विदेश गएर पनि फर्किने कार्यक्रमको आवश्यकता छ । त्यसमा हामीले छलफल गरिरहेका छौँ ।”

माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता । तस्वीर : नेपालभ्युज ।

त्यसबाट स्वदेशी उत्पादनले पनि ग्राह्य पाउने र स्वदेशमै उत्पादनमा लाग्न युवाहरूलाई प्रेरणा मिल्ने प्रवक्ता सापकोटा बताउँछन् ।

उनले भने, “समग्रतामा यसले युवाहरू स्वदेश नै बस्नुपर्छ र विदेश गए पनि फर्किएर पुन: नेपाल नै आउनुपर्छ भन्ने थिममा काम गर्छ ।”

युवाको हातमा हँसिया-हथौडा थमाउँछौँ

माओवादी सचिव दीनानाथ शर्मा अब युवाहरूको हातमा उत्पादनका औजार अर्थात् हँसिया-हथौडा थमाउने कार्यक्रम पार्टीले ल्याउने बताउँछन् ।

“युवाहरूलाई स्वदेशी उत्पादनमा प्रोत्साहित गर्ने कार्यक्रम हो यो,” सचिव शर्माले नेपालभ्युजसँग भने, “हाम्रा युवाहरू विदेश जाने तर, फर्किएर नआउने समस्या व्यापक हुँदै गएको छ । यसकै लागि हो हाम्रो कार्यक्रम ।”

माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा ।

सचिव शर्माको थप व्याख्या छ, “विकास, प्रगति र परिवर्तन सधैँभर एकै तवरबाट हुँदैनन् । हिजो जनयुद्धबाट परिवर्तन भयो, अब त्यसबाट हुँदैन । अबचाहिँ हामीले उत्पादनलाई नै जोड दिएर मात्रै अगाडि बढ्न सकिन्छ । त्यहीअनुरूप हामीले छलफल अगाडि बढाएका छौँ । अबचाहिँ युवाहरूलाई उत्पादनका औजार हातमा थमाइदिने हो, हँसिया हथौडा थमाइदिने हो ।”

कार्यक्रमको मोडे के हो ?

कार्यक्रमको मोडेलबारे अहिले नै छिनोफानो नभइसकेको माओवादी नेताहरू बताउँछन् ।

तर, मुख्यगरी स्वदेशी उत्पादनमै प्रोत्साहित गर्ने, त्यहीअनुसार शिक्षा नीति तय गर्नेलगायतका विषयमाथि प्रारम्भिक छलफल भएको सचिव शर्मा बताउँछन् । “पहिले त शिक्षा नीति नै परिवर्तन हुनुपर्छ । त्यसपछि युवाहरू कसरी स्वदेशमै आकर्षित हुन सक्छन्, त्यसबारे मुख्य रूपमा छलफल भइरहेका छन्,” उनले भने ।

माओवादी केन्द्रको बैठक ।

त्यसमा समग्रतामा युवाहरूमा बनेको ‘विदेश नगई हुन्न’ भन्ने भाष्य नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको माओवादी नेताहरू बताउँछन् ।

कार्यक्रम चरणबद्ध रूपमा अगाडि बढाइने गरी तय हुने सचिव शर्माले बताए । “कार्यक्रम चरणबद्ध रूपमा अगाडि बढाउने गरी छलफल भइरहेका छन्,” उनले भने, “त्यसले काम गर्छ भन्ने हाम्रो बुझाइ हो ।”

ग्रीन रिभोलुसन के हो ?

ग्रीन रिभोलुसन अर्थात् हरित क्रान्ति कृषि उत्पादनसँग सम्बन्धित छ । यो उत्पादनमा ठूलो परिवर्तन ल्याउने एक आन्दोलन थियो, जुन १९६० को दशकमा सुरु भएको थियो ।

यसको मुख्य उद्देश्य कृषि उत्पादनलाई वृद्धि गर्दै खाद्य सुरक्षा सुनिश्चित गर्नु थियो । नेपालमा समेत यस अवधिमा कृषि उत्पादनमा महत्त्वपूर्ण वृद्धि देखिएको थियो ।

प्रतिकात्मक तस्वीर ।

उन्नत बीज, उर्वर र रासायनिक खादको प्रयोग, सिँचाइ प्रणाली, कृषि यन्त्रको प्रयोग, अनुसन्धान र विकासलगायत यसको विशेषता हो ।

यसले कृषि विज्ञानका अनुसन्धान र विकासमा ध्यान केन्द्रित गर्‍यो, जसले नयाँ र प्रभावकारी कृषि विधिहरूको विकासमा मद्दत गर्‍यो ।

समग्रमा, हरित क्रान्ति एक महत्त्वपूर्ण कृषि विकासको चरण थियो, जसले धेरै देशहरूको कृषिमा स्थायित्व र उत्पादनमा वृद्धि ल्याउन मद्दत गर्‍यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register