लामो प्रतीक्षापछि प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो, डिसेम्बर पहिलो साता जाने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो कार्यकालको पहिलो विदेश भ्रमण उत्तरी छिमेकी मुलुक चीनबाट हुने निश्चित भएको छ । चिनियाँ पक्षले मिति तोकेर निमन्त्रणा पठाएसँगै लामो समयदेखि तयारीमा रहेका प्रधानमन्त्री ओलीको भ्रमण हुने तय भएको हो । प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले आगामी डिसेम्बर २ देखि ६ सम्मको भ्रमण मिति राखेर पठाएको औपचारिक […]

Nov 6, 2024 - 15:27
 0
लामो प्रतीक्षापछि प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो, डिसेम्बर पहिलो साता जाने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो कार्यकालको पहिलो विदेश भ्रमण उत्तरी छिमेकी मुलुक चीनबाट हुने निश्चित भएको छ ।

चिनियाँ पक्षले मिति तोकेर निमन्त्रणा पठाएसँगै लामो समयदेखि तयारीमा रहेका प्रधानमन्त्री ओलीको भ्रमण हुने तय भएको हो ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले आगामी डिसेम्बर २ देखि ६ सम्मको भ्रमण मिति राखेर पठाएको औपचारिक निम्तो नेपालस्थित चिनियाँ दूतावासले हस्तान्तरण गरेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ‘नेपालका लागि चिनियाँ राजदूत छन् सोङले मंगलबार चिनियाँ प्रधानमन्त्री लीको को निमन्त्रणा परराष्ट्र सचिव सेवा लम्साललाई हस्तान्तरण गरेका हुन् ।’

‘भ्रमणको निम्तो आइपुगेको छ । त्यसका लागि तयारी थाल्न पनि प्रधानमन्त्री कार्यालयबाट निर्देशन आइसकेको छ,’ परराष्ट्र स्रोतको भनाइ छ, ‘सम्पूर्ण तयारी पूरा भएपछि दुबै देशले भ्रमणको औपचारिक मिति घोषणा गर्नेछन् ।’

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र समकक्षी लीलगायत सीपीसीका वरिष्ठ नेताहरूसँग भेट गर्ने गरी तयारी भइरहेको छ ।

राष्ट्रपति सीको व्यस्ततालाई मध्यनजर गरेरै उनीसँग भेट हुने गरी ओलीको भ्रमण तय गरिएको कूटनीतिक स्रोतको भनाइ छ ।

स्रोतले भनेअनुसार चीनले प्रस्ताव गरेर पठाएको मितिमा दुवै देशको आन्तरिक वा वाह्य परिस्थिति कारक बनेमा परिवर्तन पनि हुन सक्नेछ, तर अहिलेलाई सोही मितिमा ओलीले चीन भ्रमण गर्ने गरी तयारी सुरु भएको छ ।

अनौपचारिक परम्पराजस्तै बनेको प्रधानमन्त्रित्वकालको पहिलो विदेश भ्रमण भारतबाट गर्ने ओलीको चाहना सफल हुन नसकेपछि चीन भ्रमण हुन लागेको हो ।

ओलीले अन्य प्रधानमन्त्रीजस्तै यसपटकको आफ्नो विदेश भ्रमणको सुरुवात भारतबाट थाल्ने मनस्थिति बनाएका थिए । त्यसका लागि उनले पटकपटक भारतीय पक्षसँग प्रयास गरेपनि निमन्त्रणा पाउन असफल भएका थिए ।

गएको सेप्टेम्बर अन्त्यमा राष्ट्रसंघीय महासभामा भाग लिनका लागि अमेरिकाको न्यूओर्क पुगेका बेला प्रधानमन्त्री ओली र चीनका स्टेट काउन्सिलर समेत रहेका विदेशमन्त्री वाङ यीबीच अहिले निमन्त्रणा पठाएकै मितिमा भ्रमण गर्नेबारे छलफल भएको थियो ।

राष्ट्र संघीय महासभाकै क्रममा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच समेत भेट भएको थियो । तर, उक्त भेट प्रधानमन्त्री ओलीको अपेक्षाअनुसार नभएसँगै उनले चिनियाँ पक्षसँगको संवादलाई घनिभूत बनाएका थिए ।

त्यसअघि ओलीले परराष्ट्रमन्त्री आरजु राणाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीलाई निमन्त्रणा पठाएका थिए । साथै आफ्नो भ्रमणका लागि समेत वातावरण बनाउने प्रयास गरेका थिए ।

तर, परराष्ट्रमन्त्री राणालाई नै उच्च तहको सत्कार गरेको दिल्लीले प्रधानमन्त्री ओलीको चाहनामा खासै चासो दिएको छैन ।

ओलीले न्यूओर्कबाट फर्किएपछि पनि भारत भ्रमणका लागि केही प्रयत्न गरेका थिए, तर त्यसमा भारतीयपक्ष प्रतिक्रियाविहीन जस्तै बनेपछि उनले चिनियाँ पक्षसँग छलफल अघि बढाएका थिए ।

उनी विदेशमन्त्री वाङसँगै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का वरिष्ठ नेताहरूसँगै संवादमा रहेको कूटनीतिक स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले चीनको औपचारिक निमन्त्रणा प्राप्त गरेसँगै भ्रमणको तयारी थाल्न परराष्ट्रमन्त्री आरजु रणालाई निर्देशन दिएका छन् । जसका कारण परराष्ट्रमन्त्री राणाको आगामी ११ देखि २२ नोभेम्बरसम्म हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी २९औँ सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकुमा जाने तय भइसकेको भ्रमण समेत रद्द भएको छ । अब राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल बाकु जानेछ ।

राणालाई भ्रमणको तयारीस्वरुप विभिन्न मन्त्रालयका प्रतिनिधिसँग परामर्श गर्न, नेपालमा चिनियाँ लगानीमा सञ्चालित विभिन्न परियोजनाको अवस्था, काठमाडौंलाई चिनियाँ सहयोग र आर्थिक सहयोगको अवस्था र सहयोगका सम्भावित क्षेत्रलगायतका विषयमा छलफल गरी प्रधानमन्त्रीसँग समन्वय गर्ने भनिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋणलाई अनुदानमा रूपान्तरण गर्ने, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने, बीआरआई ढाँचाअन्तर्गतका केही नयाँ आयोजना कार्यान्वयन गर्नेलगायत विषयलाई भ्रमणको प्रमुख एजेन्डा बनाउने तयारी नेपाली पक्षले गरिरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकबाट नेपालले १३ करोड ७८ लाख ७४ हजार युआन (लगभग रु २५ अर्ब ८८ करोड) ऋण लिएको छ ।

तर, पोखरा विमानस्थलले अन्तर्राष्ट्रिय उडान गर्न नसक्दा राजस्व उठाउन समस्या परेको भन्दै केही समययता नेपाल सरकारले चिनियाँ पक्षलाई ऋण मिनाहाका लागि आग्रह गर्दै आइरहेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिडका)का उपाध्यक्ष याङ वेइकुनबीच भदौ २३ गते काठमाडौंमा भएको भेटमा ऋण माफीका लागि औपचारिक अनुरोध गरिएको अर्थ मन्त्रालयले जनाएको थियो । उक्त विषय प्रधानमन्त्री ओलीको आगामी भ्रमणमा पनि दोहोरिने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register