महाशक्ति राष्ट्र अमेरिकामा ट्रम्पको पुनरागमन

काठमाडौं । विश्व महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प पुनः चार वर्षका लागि निर्वाचित हुनुभएको छ। सन् २०२१ को जनवरी ६ मा संसद् भवनमा भएको हिंसात्मक घटनापछि सत्ताबाट बाहिरिनुभएका ट्रम्पले आफूमाथि लागेको कालो दागलाई पखालेर पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । डेमोक्र्याटको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्नुभएकी वर्तमान उपराष्ट्रपति कमला […]

Nov 7, 2024 - 01:44
 0
महाशक्ति राष्ट्र अमेरिकामा ट्रम्पको पुनरागमन

काठमाडौं ।

विश्व महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प पुनः चार वर्षका लागि निर्वाचित हुनुभएको छ। सन् २०२१ को जनवरी ६ मा संसद् भवनमा भएको हिंसात्मक घटनापछि सत्ताबाट बाहिरिनुभएका ट्रम्पले आफूमाथि लागेको कालो दागलाई पखालेर पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

डेमोक्र्याटको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्नुभएकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको भए पनि ट्रम्पले इलेक्ट्रोरल र पपुलर मतमा समेत बहुमत ल्याएपछि उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
कुल खसेको मतको ५१ प्रतिशत मत ट्रम्पको पक्षमा गएको थियो भने ४७ प्रतिशत मत ह्यारिसको पक्षमा गएको थियो । कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये राति अबेरसम्म ट्रम्पले २ सय ७९ मत पाउनुभएको थियो भने ह्यारिसले २ सय २३ मत पाउनुभएको थियो ।

विश्वमा आफूलाई अब्बल प्रजातन्त्रको मसिहा भएको दाबी गर्ने अमेरिकनहरूले महिलालाई राष्ट्रपतिका रूपमा स्वीकार गर्न सकेका छैनन् । यसअघि पनि हिलारी क्लिटन र ट्रम्पबीच भएको प्रतिस्पर्धामा ट्रम्पले नै बाजी मार्नुभएको थियो। अघिल्लो निर्वाचनमा पनि दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरे पनि परिणाम भने त्यस्तो हुन सकेको थिएन।

यसपटक रातो र निलोको पक्षमा रहेका राज्यहरूले सोचेजस्तै परिणाम दिए पनि कुनै पनि उम्मेदवारको पक्षमा नरहेका भनिएका ७ वटा राज्यमध्ये अधिकांशले ट्रम्पको पक्षमा मतदान गरेका थिए । ५० राज्यमध्ये १६ राज्यमा डेमोक्र्याटले अग्रता हासिल गरेको थियो भने बाँकी ३४ राज्यका रिपब्लिकनले अग्रता कायम गरेको थियो ।

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गर्न बाँकी भए पनि ट्रम्पले भने आफू निर्वाचित भएको घोषणा गर्नुभएको छ। उहाँले फ्लोरिडामा आफ्ना सकमर्थकहरूलाई सम्बोधन गर्दै यसपालि भव्य जित हासिल गर्न सफल भएको बताउनुभएको छ। उहाँले यो अमेरिकी नागरिकका लागि भव्य जित भएको र यसले अमेरिकालाई पुनः महान् बनाउने बताउनुभएको छ। यस्तै, उहाँले अमेरिकामा अब स्वर्ण युगको सुरुआत भएको दाबीसमेत गर्न भ्याउनुभएको छ।

‘म हरेक नागरिक, परिवार र भविष्यका लागि लड्नेछु । म हरेक दिन तपाईंहरूका लागि लडिरहेको हुनेछु। अन्तिम सास रहुन्जेल म लडिरहेको हुनेछु’, उहाँले भन्नुभयो– ‘यो अमेरिकी नागरिकका लागि साँच्चिकैको विजयको दिन हो।’

राष्ट्रपतिमा ट्रम्पको विजयपछि विश्व भूराजनीतिमा समेत ठूलो परिवर्तन आउने आँकलन गरिएको छ। आप्रवासीको विरोधमा रहनुभएका ट्रम्पले अमेरिकामा अवैध रूपमा बसेका आप्रवासीहरूलाई लखेट्ने र अमेरिकाको दक्षिणी सिमानामा रहेको मेक्सिकोको बोर्डरमा पर्खाल लगाउने योजना बनाउनुभएको छ।

अघिल्लो कार्यकालमा पनि पर्खाल लगाउने घोषणा गरे पनि बजेट अभावले उक्त परियोजना कार्यान्वयनमा आउन सकेको थिएन। ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकामा रहेका लाखौं आप्रवासीहरूको मनमा भने ढ्याङ्ग्रो ठोक्न थालेको छ। ट्रम्पले निर्वाचनका दौरानमा अमेरिका अब अनावश्यक रूपमा अन्य देशको आन्तरिक मामिलामा आँखा नलगाउने र रसिया युक्रेन वारमा आफूले युक्रेनलाई कुनै सहयोग नगर्ने घोषणा गर्नुभएको छ।

चिनियाँहरूसँग अघिल्लोपटक व्यापार युद्धको घोषणा गर्नुभएका ट्रम्पले यसपटक पनि आफ्नो पुरानो अडानलाई कायम राख्ने बताउनुभएको छ। यसले विश्व दुई ध्रुवमा बाँडिने निश्चितजस्तै छ।

यसैबीच राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि विश्वभरका नेताहरूले बधाई दिएका छन्। नेपाल, जापान, बेलायत, फ्रान्स, जर्मनी, दक्षिण कोरियालगायतका संसारका अधिकांश मुलुकले ट्रम्पलाई निर्वाचित भएकोमा बधाई दिएका छन्।

दुवै सदनमा रिपब्लिकन अगाडि
संसद्को दुवै सदनमा रिपब्लिकनको बहुमत आएको छ। हाउस अफ रिपे्रजेन्टेटिभमा रिपब्लिकनले २ सय ५ स्थानमा विजय हासिल गरेको छ भने डेमोक्र्याटले १ सय ९१ स्थानमा जित हासिल गरेको छ। त्यस्तै, माथिल्लो सदन सिनेटमा पनि रिपब्लिकनले बहुमत ल्याएको छ।

सिनेटमा रिपब्लिकन ५२ स्थानका लागि विजयी भएको छ भने डेमोक्र्याट ४२ स्थानमा विजयी भएको छ। त्यस्तै, २७ वटा गभर्नरमा रिपब्लिकन विजयी भएको छ भने २३ स्थानमा डेमोक्र्याटका उम्मेदवार विजयी भएका छन्।
(एजेन्सीको सहयोगमा)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register