आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई ‘सँझिया अर्घ’ दिइँदै

त्यस्तै मुख्य दिनमा ठेकुवा, भुसवाजस्ता कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ । अनि साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ ।

Nov 7, 2024 - 01:51
 0
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई ‘सँझिया अर्घ’ दिइँदै

जनकपुरधाम । छठ पर्वको तेस्रो तथा मुख्य दिन आज (बिहीबार) साँझ श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई सँझिया अर्घ दिँदैे मनाउँदैछन् । शुक्रबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्व विधिवत रुपमा समापन हुन्छ ।

यस अवसरमा जनकपुरधामसहित मुलुकका नदी, पोखरी, नहरलगायत जलाशयमा श्रद्धालु तथा भक्तजनहरूको घुइँचो लागेको छ ।

छठका अवसरमा जनकपुरधामको गंगासागर, अरगजा सर, दशरथ तलाउ, गोरधोइ पोखरी, नोचा पोखरी, गोसाइकुण्डलगायत दर्जनौं पोखरी सिँगारिएका छन् ।

जनकपुरधामको छठ हेर्न देश–विदेशका विभिन्न ठाउँबाट पर्यटक आउने गर्छन् । यो वर्ष पनि आएका छन् ।

छठ पछिल्लो समय समावेशी पर्वको रुपमा विकास भइरहेको छ । यस पर्वमा डोम जातिले बनाउने ‘सुपली (कुनिया)देखि किसानको खेतमा उत्पादन ‘सुथनी’समेत प्रयोग हुन्छ ।

फाइल तस्वीर ।

मनाउने विधि

छठ निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा व्रतालुले दुई दिन निराहार व्रत बस्नुपर्छ । पानी पनि खान पाइँदैन । जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ । दोस्रो दिन दिनभरि उपवास रही राति ‘खिर’ बनाइ देउतालाई चढाएर खाने गरिन्छ । यस विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै मुख्य दिनमा ठेकुवा, भुसवाजस्ता कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ । अनि साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ ।

छठ नै यस्तो पर्व हो, जसमा अस्ताञ्चलगामी (अस्ताउँदो) सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । बिहानीपख उदाउँदै गरेको सूर्यलाई अर्घ दिइ पर्वको समापन गरिन्छ । अर्घ दिन हरारौं हात एकैचोटि सूर्यतिर फर्काएर नमन गरिन्छ । छठ पूजामा साँझको समयमा सूर्य देवतालाई प्रसादको रुपमा अर्घ अर्पण गरिन्छ । सोही प्रसाद पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ’मा पनि अर्पण गर्ने लोक–परम्परा रहेको छ ।

सूर्य देवतालाई अर्पण गरिएका प्रसादहरू साँझदेखि बिहानसम्म जलाशयस्थित घाटमा नै राखिन्छ । तर नदी किनारस्थित घाट रहेका ठाउँमा असुरक्षित हुने ठानेर प्रसाद घरमै लगिन्छ । भोलि बिहान सूर्य उदाउनुअगावै पुनः त्यो प्रसाद घाटमा पुर्याइन्छ । बिहानीको अर्घ दिइसकेपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास (व्रत) समाप्त गर्छन्, जसलाई ‘पारन’ भनिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register