ठगको ‘झुटो प्रेम’मा परेर उम्दा करियर गुमाएकी बिनु, छोरासहित हिरासतमा पछुताउँदै

प्रतिभाशाली कलाकार बिनु शाक्य, जसले नामुद ठगको प्रेम र झूटा सपनामा फसेर आफ्नो करियर र इज्जत गुमाइन् । नेम र फेमको दुरुपयोग गर्दै ठगले उनलाई बर्बादीको खाडलमा धकेल्यो । चर्चाको शीखरमै रहँदा विदेश भाग्नुपर्याे । दर्जनौँ अवसर गुमाउनुपर्‍यो । अहिले ८ महिनाको छोरासहित हिरासतमा पुगेपछि पश्चात्ताप गर्दैछिन् ।

Nov 7, 2024 - 12:15
 0
ठगको ‘झुटो प्रेम’मा परेर उम्दा करियर गुमाएकी बिनु, छोरासहित हिरासतमा पछुताउँदै

काठमाडौं । बिनु शाक्य कुनै बेलाकी चर्चित बेली डान्सर र मोडल हुन् । मनमोहक प्रस्तुतिका कारण आफ्नै पहिचान बनाएकी उनको म्युजिक भिडिओ, लाइभ शो तथा फेसन शोहरूमा राम्रो माग हुन्थ्यो ।

बेली डान्सरको रूपमा बिनुको नाम सुनिनासाथ दर्शक रमाउँथे, खुसीले हल्ला गर्थे । त्यसैले मेला-महोत्सवमा पनि उनको माग उत्तिकै हुन्थ्यो । २०७० को दशकबाट उनी अझ व्यस्तिन थालेकी थिइन् ।

बिनुलाई सामाजिक सञ्जालमा समेत धेरैले पछ्याइसकेका थिए । उनले टिकटकमा ११ लाख, इन्स्टाग्राममा १ लाख २५ हजार र फेसबुकमा झन्डै २ लाख फलोअर्स कमाइसकेकी थिए ।

उनले म्युजिक भिडियो तथा स्टेज शोहरूमा मात्र होइन, सिनेमामा समेत काम पाइरहेकी थिइन् । उनले मासिक एक लाखभन्दा बढी कमाइ हुने बताउँथिन् कुनै बेला ।

सिन्धुपाल्चोककी उनकै मुख्य र परिवारका अरु सदस्यहरूको कमाइ गरी भक्तपुरको सूर्यविनायकमा घर थियो ।

बिनुको डान्सको चर्चा सबैतिर हुन्थ्यो । उनको करियर उचाइमा पुगिसकेको थियो, जीवनमा सबथोक राम्रै भइरहेको थियो । तर, उनको जीवनमा अकस्मात् अँध्यारो त्यतिबेला छिर्‍यो, जतिबेला उदयपुर त्रियुगा नगरपालिका १० का सुजन आचार्यसँग भेट भयो ।

केही वर्षअघि विभिन्न स्टेजमा नृत्य प्रस्तुति दिँदै बिनु शाक्य ।

बिनुभन्दा चार/पाँच वर्ष कान्छा सुजन आकर्षक थिए, मीठो बोल्थे । उनीहरूबीच प्रेम भयो, जुन बिनुका लागि साँचो थियो भने सुजनका लागि सफेद झुट ।

२२ वर्षे ‘नेपाली नटवरलाल’को अपराध यात्रा, हीरा चोरी’देखि मानव तस्करीसम्म

दैनन्दिन बिनु सुजनको मीठो कुरामा डुब्दै गइन् । २०७९ सालतिरको कुरा हो, बिनु अकस्मात् अलप भइन् । दर्शक र प्रशंसकहरू छक्क परे— बिनु आखिर कहाँ हराइन् ?

उनी हराएको २ वर्षपछि केही दिनअघि  उनका फ्यान/फलोअर्सहरूले अप्रिय खबर सुने— करोडौं ठगेर विदेश भागेकी बिनु पक्राउ परिन्, नेपाल ल्याइएको छ ।

***

खासमा बिनु सुजनकै कारण विदेश भागेकी रहेछिन् । तीन वर्षअघि भेटिएका सुजनकै कारण उनी पनि ठगीमा मुछिएर बदनामी भइसकेकी थिइन् ।

तीन वर्षअघि २५ वर्षको हुँदा आफूभन्दा चार वर्ष कान्छा २१ वर्षका सुजनसँग प्रेममा परेकी थिइन् बिनु । त्यसको वर्ष दिनपछि उनीहरू विदेश भागेका थिए ।

डान्सर बिनु शाक्य ।

भेटको सुरुआती समयमा चिल्लो कारमा बडीगार्डसहित भेट्न आउँथे सुजन । फोनमा कुरा गर्दा करोड रुपैयाँ घटीको कुरा गर्थेनन् ।

सुजनले ठूला गफ लगाएर बिनुलाई भविष्यको सुनौलो सपना देखाएका थिए । उनी बिनुलाई भन्थे, “सिंगापुरमा होटेल छ । त्यतै मेनेज हौँला ।”

चितवनमा रहेको चौधरी ग्रुपको रिर्साेटलाई आफ्नो भएको भदै गफ लगाउँथे । सुजनका यस्तै यस्तै कुराले बिनुलाई पँगाल्यो । आफ्नो करियर सेटल हुन्छ भन्ने सोचिन् । तर, उनलाई के थाहा; ती मानिस वास्तवमा ठग थिए, एक दिन उसले आफ्नो करियर ध्वस्त पार्नेछ भनेर ।

उनी करियरको उचाइमा पुग्दै गर्दा सुजनको झुटो प्रेममा परिन्, तब उनको बर्बादी सुरु भयो । त्यो बेला सुजनले सयौँ युवालाई विदेश लैजाने भन्दै पैसा असुलिरहेका थिए । सुजन यसअघि २ वटा मुद्दामा हिरासत पुगेका थिए ।

हिरा चोरीको मुद्दामा सफाइ पाए पनि अर्काे मुद्दा चलिरहेको थियो । एक अभिनेत्रीको अश्लील भिडिओ भेटेपछि ७ करोड रुपैयाँ बार्गेनिङ गरेको मुद्दामा धरौटीमा छुटेका थिए ।

एक म्यूजिक भिडिओ दृश्यमा बिनु शाक्य ।

उनै सुजन फेरि सुध्रिएनन् । ठगीधन्दा जारी राखे । पैसा असुल्नको लागि प्रेमिका बिनुको लोकप्रियताको समेत दुरुपयोग गरे ।

बिनुको नेम र फेम बेचेर सुजनले युवाहरूलाई वैदेशिक रोजगारीको अनेक आश्वासन बाँडेर पैसा असुले । सिंगापुर लगेर होटेलमा काम लगाइदिने भन्दै पैसा असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

युवाहरू बिनुलाई विश्वास गर्थे र लाखौँ रुपैयाँ बुझाउन शङ्काको कुनै ठाउँ नै थिएन । खासमा सुजनको मनसाय बिनुलाई प्रेममा पारेर आफ्ना गलत धन्दामा उनको पहिचान र प्रतिष्ठालाई प्रयोग गर्नु थियो ।

इन्टरपोलमा नोटिस जारी गरिएका ठग सुजन आचार्य विमानस्थलबाटै पक्राउ

सुजनले युवाहरू भेट्थे । आफ्नो खातामा मात्र नभई प्रेमिका बिनुको बैंक खातामा पैसा पठाउन भन्थे । बिनुको खातामा पैसा आएपछि आफ्नोमा ट्रान्स्फर गर्थे ।

नेपालभ्युजलाई प्राप्त कागजातमा वैदेशिक रोजगारीका लागि भन्दै सुजन बिनुलगायतले युवाहरूबाट लाखौँ रकम असुलेको देखिन्छ ।

श्रम नै नगरी सिधै सिङ्गापुर लगेर मासिक ४ लाख रुपैयाँसम्मको जागिर दिने आश्वासनमा करोडौँ रुपैयाँ असुलेर बिल्लीबाठ पारिदिएको पीडितहरूले बताएका छन् ।

सय जनामध्ये ५० युवाले उनीहरूविरुद्ध जाहेरी दिएका छन् । उजुरी दिएका ५० जनाको मात्रै करिब ६ करोड रुपैयाँ फसेको छ ।

सुजन आचार्य, जसले बिनुलाई प्रेममा पारेर ठगेका थिए।

बिनुले उज्ज्वल भविष्यको सपना देखेर जसलाई माया गरेकी थिइन्, उही व्यक्तिले उनले प्रयोग गरेर ठगे । ठगीबाट जम्मा गरेको पैसा अन्तै लगानी लगाए ।

अन्तमा पीडितले बिनुविरुद्ध वैदेशिक रोजगारी ठगीमा जाहेरी दिए । किनकि धेरै पीडितहरूले बिनुको नाउँमा पैसा पठाएका थिए ।

प्रहरीले उनीहरूविरुद्ध छानबिन सुरु गरेपछि बिनु पनि सुजनसँगै भाग्न बाध्य भइन् । भागेर उनीहरू सिंगापुर पुगे । ठगेकै पैसाबाट सुजनले मोजमस्ती गरे । धेरै पैसा विदेशमा उठाए ।

अन्तमा पीडितलाई फिर्ता दिने पैसा पनि बचेन । त्यहाँबाट उनीहरू केही समयपछि कम्बोडिया पुगे, जहाँ उनीहरूको छोरा जन्मियो ।

विदेशमा लुक्नु परेपछि बिनुले आफ्ना धेरै महत्त्वपूर्ण अवसरहरू गुमाइन् । करियरको उच्चतम् बिन्दुमा रहेको बेलामा विदेश भाग्नुपरेपछि करियर अघि बढाउन सकिनन् ।

सुजन र उनको गिरोहबाट ठगिएका पीडितहरू ।

आठ महिने छोरासहित हिरासतमा

सुजन र बिनु भागेपछि वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा दुवैविरुद्ध गतसालको १९ माघमा इन्टरपोलबाट रेड नोटिस जारी भयो ।

वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ५० व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगेको उजुरी परेको प्रहरीले जनाएको छ । २०८१ असोज १ गते कम्बोडियामा दुवै जना पक्राउ परे ।

त्यसपछि प्रहरीको निगरानीमा उनीहरू छुटे । तर देश तत्कालै छाड्नुपर्ने थियो । त्यसपछि कात्तिक ९ गते सुजन नेपाल फर्किए । विमानस्थलबाटै प्रहरीले समात्यो

बिनु भने ८ महिने काखे छोरासहित गत सोमबार नेपाल आइपुगिन् । बिनुलाई वैदेशिक ठगी सम्बन्धी कसूरमा कानूनबमोजिम कारबाही गराउने प्रयोजनार्थ प्रहरी वृत्त कालिमाटीको हिरासतमा छिन् । ८ महिने छोरासमेत उनकै साथमा छ ।

सुजनले पैसा फिर्ता गर्न भन्दै पीडितलाई दिइएको चेक तर, पैसा नभएपछि साटिएन ।

पश्चात्तापको आँसुमा डुबेकी बिनु

बिनु जस्तो एक प्रतिभावान् कलाकारले ठगको मायामा फसेर आफ्नो उम्दा करियरमा ठूलो असर बेहोर्नुपरेको उनको माइती पक्षको भनाइ छ ।

उनको परिवार (माइती पक्ष) भन्छन्, “जुन सम्बन्धमा बिनु आफ्ना सपना र विश्वास समर्पण गरिन्, त्यही सम्बन्धले धोका दियो । उनलाई प्रयोग गरेर सुजनले ठगे । तर, बिनु परिबन्धले फसेकी छिन् ।”

परिवार स्रोतका अनुसार विदेशमा रहँदा बिनुले पश्चात्ताप गरिरहेकी थिइन् । उनको भनाइ उद्धृत गर्दै परिवारका एक सदस्य भन्छन्, “प्रेमकै कारण मेरो करियर ड्याजेम होला भन्ने सोचेको थिइनँ । म बर्बाद भएँ । अब के गर्ने होला ।”

हिरासतमा परेपछि बिनु झन् गम्भीर समस्यामा परेकी छिन्, किनकि सुजनको परिवारले बिनुको खातामा आएको रकमप्रति कुनै जिम्मेवारी नलिने दाबी गरेको छ ।

सुजनलाई  मात्रै छुटाउन उनका परिवारले प्रयास गरिरहेका छन् । सुजनको खातामा मात्र पैसा हालेका पीडितहरूलाई केही रकम फिर्ता दिएर जाहेरी फिर्ता गराउने योजनामा छन् ।

तर, बिनुको खातामा आएको रकमबारे आफूहरूलाई थाहा नभएको बताउँदै सुजनका बुबा वेदराजले भने, “म आफ्नो छोरा मात्र चिन्छु, अरू कोहीसँग सरोकार छैन । अरू कुनै मान्छे चिन्दिन ।”

आफूले नलिएको तर आफ्नो खाता प्रयोग गरी सुजनले लिएको रकमको जिम्मेवारी पनि बिनु एक्लै उठाउनुपर्ने देखिएको छ ।  बिनुको खातामा आएको देखिएको करोडौं रकम उनले अब कसरी तिर्लिन् ? वा अदालतले सुजनलाई नै जिम्मेवार देखाउला ? यो चासोको विषय बनेको छ।

विभिन्न व्यक्तिहरूसँग फोटो खिचाउँदै सुजन, अर्काेतिर पीडितहरुको पत्रकार सम्मेलन ।

‘नेपाली नटवरलाल’ सुजनबाट ठगिएकामध्ये चारजना होटेलमा बन्धक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register