बैंकमा थुप्रियो ८ खर्ब, बढी तरलता भयो भने के हुन्छ ? 

काठमाडौं । हाल बैंक तथा वित्तीय संस्थामा व्यापारी-व्यवसायीहरूलाई ऋण दिन मिल्ने रकम भरपुर थुप्रिएको छ । बैंकहरूले उत्पादनशील क्षेत्रमा लगानी गरेर मनग्गे नाफा कमाउन सक्ने अवस्था छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल नेपालको बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य पुँजी) लगभग ८ खर्ब छ । जुन रकम बजारका उत्पादनशील क्षेत्रमा जान सके बजार चलायमान […]

Nov 9, 2024 - 05:39
 0
बैंकमा थुप्रियो ८ खर्ब, बढी तरलता भयो भने के हुन्छ ? 

काठमाडौं । हाल बैंक तथा वित्तीय संस्थामा व्यापारी-व्यवसायीहरूलाई ऋण दिन मिल्ने रकम भरपुर थुप्रिएको छ । बैंकहरूले उत्पादनशील क्षेत्रमा लगानी गरेर मनग्गे नाफा कमाउन सक्ने अवस्था छ ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल नेपालको बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य पुँजी) लगभग ८ खर्ब छ । जुन रकम बजारका उत्पादनशील क्षेत्रमा जान सके बजार चलायमान हुनका साथै मुनाफा पनि आउने विज्ञहरूको दाबी छ ।

कोरोना महामारी अगाडिको समयलाई नियाल्ने हो भने सो समयमा बैंकिङ क्षेत्रले तरलता सङ्कटलाई झेल्नुपरेको थियो । यद्यपि, लकडाउनपश्चात्‌को समयमा बिस्तारै बैंक तथा वित्तीय संस्थामा लगानी गर्न मिल्ने रकम बढ्दै जान थालेको तथ्याङ्कले देखाउँछ ।

सो समयदेखि नै बिस्तारै बढ्न थालेको तरलता अहिले चरम बिन्दुसम्म पुगिसकेको छ । यद्यपि, कारोनाकालमा थलिएका व्यापार व्यवसायहरू अझै तङ्ग्रिन नसकेको व्यवसायीहरू बताउँछन् ।

नेपालको सन्दर्भमा राष्ट्र बैंकले सिडी रेसियो ९० प्रतिशत तोकिएको छ । अर्थात् बैंकहरू आफूले सङ्कलन गरेको कूल निक्षेप रकमको १० प्रतिशत सुरक्षाका लागि राखेर बाँकी लगानी गर्नुपर्ने हुन्छ । तर, बैंकहरूले विविध कारण लगानी गर्नुपर्ने ९० प्रतिशत रकम लगानी गर्न सकेनन् भने त्यस्तो अवस्थामा सो रकम तरलता हुन जान्छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आवको भदौ मसान्तसम्ममा ६६ खर्ब ९५ अर्ब १५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ । जसमा निक्षेप सङ्कलन बोलकबोलमार्फत ४ खर्ब २४ अर्ब ७५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६२ खर्ब ७० अर्ब ४० करोड रुपैयाँ प्रशोचन भएको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३५ अर्ब ३ करोड (० दशमलव ५ प्रतिशत) रुपैयाँले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३ दशमलव ८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्क रहेको छ ।

त्यस्तै, सो अवधिमा निजी क्षेत्रतर्फ ७३ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

कसरी बढ्यो तरलता ?

कोभिडका कारण देश आक्रान्त बनिरहेको बेला सरकारले लकडाउन घोषणा गर्‍यो । करिब २ वर्षजति देशका उद्योग, कलकारखाना र व्यापार-व्यवसायहरू प्राय: बन्द नै भए । सोताकादेखि थलिएका कतिपय उद्योगी-व्यवसायीहरू पलायन भए भने कोही पर्ख र हेरको अवस्थामा बसिरहेका थिए ।

लकडाउनको अवधिभर कर्जा लगानी प्राय: ठप्प नै थियो । व्यापार-व्यवसाय चलायमान हुन छाडेपछि कर्जाको माग बढ्न छाड्नु, निजी क्षेत्रमा देखिएको निराशा र डर इत्यादिको कारण तरलता बढेको विज्ञहरू औँलाउँछन् ।

अधिक तरलता हुँदा के हुन्छ ? 

अधिक तरलता थुप्रिएपछि त्यसको व्यवस्थापनको लागि विभिन्न उपायहरू अवलम्बन गरिन्छ । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउ थाल्छन् । ब्याजदर घट्दा कर्जाको मात्रै घट्दैन साथसाथै निक्षेपको पनि ब्याजदर घट्छ । यसबाट निक्षेपकर्ताहरू प्रभावित हुन जान्छन् ।

जुन प्रयास हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले पनि गरिरहेका छन् ।  उता कर्जाको ब्याजदर घटे पनि लगानीयोग्य वातावरणको अभावमा कर्जाको माग बढ्न सक्दैन र लगानी अनुत्पादक क्षेत्रतर्फ प्रवाहित हुन थाल्दछ ।

अधिक तरलताका कारण स्वदेशमा बचतको न्यून प्रतिफल हुने हुँदा पुँजी पलायनको अवस्था सिर्जना गर्छ । त्यस्तै, बैंकमा कम ब्याज पाउने भएपछि सुपरिवेक्षण र निगरानीबाट टाढा रहेका सहकारी जस्ता संस्थाहरूमा निक्षेप जान्छ, जसले वित्तीय जोखिम निम्त्याउँछ ।

अधिक तरलताको समस्या लामो समयसम्म चल्दा सिंगो अर्थतन्त्रमा बहुआयामिक असर पर्ने विज्ञहरू चेतावनी दिएका छन् । तरलता अधिक भएको अवस्थामा मुद्राको परिमाणमा वृद्धि हुँदा त्यसको महत्त्व कम हुने भएकाले पनि वस्तु तथा सेवाको मूल्य बढ्छ ।

नेपालको सन्दर्भमा ब्याजदरमा कमी आउँदा पुँजी पलायन (मनी फ्लाइट)को सम्भावना अधिक रहन्छ ।

तरलता व्यवस्थापनका प्रक्रिया

विशेषगरी बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएमा यसको व्यवस्थापनको लागि ब्याजदर घटाइने गरिन्छ । जुन अहिले नेपालका बैंक तथा वित्तीय संस्थाले पनि गरिरहेकै छन् । यसको अलवा नेपाल राष्ट्र बैंकले पनि रिभर्स रिपो जारी गर्ने गर्दछ ।

रिभर्स रिपो भनेको बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति देखिएमा बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको राष्ट्र बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ ।

यसबाहेक, राष्ट्र बैंकले ऋणपत्रहरूमार्फत पनि तरलता व्यवस्थापन गर्दछ । यसबाहेक ब्याजदर करिडोर, सीसीडी रेसियो, अन्तर्बैंक कारोबारलगायतका नीतिगत व्यवस्था एवम् मापदण्डको प्रयोग गरेर पनि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने गर्दछ ।

प्रक्रिया अवलम्बन कति प्रभावकारी ?

बैंकिङ विश्लेषक अनलराज भट्टराई भन्छन्, “हाल बैंक तथा वित्तीय संस्थामा भएकाे अधिक तरलता तुरुन्त रिकभरीकाे फेजमा छैन समय लाग्छ । राष्ट्र बैंककाे विभिन्न उपकरणहरूबाट प्रयासहरू भइरहेका छन् । समय लाग्छ । अहिले अर्थतन्त्र सुधार भइरहेकाे छ । अब वित्तीय क्षेत्र सुधारका प्रयासहरू पनि भइरहेका छन् । काेरानाबाट थलिएका व्यवसायीहरूमा कर्जा लिन सक्ने क्षमता छैन । निर्माण कम्पनीहरू थलिएका छन्, धेरै कर्जा निर्माण कम्पनीहरूबाट उठ्थ्याे त्याे क्षेत्र शिथिल छ । सरकारले व्यवसायीकाे मनाेबल उच्च बनाउने प्याकेजहरू ल्याउनुपर्छ ।”

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल तरलता बिस्तारै घट्दै गइरहेको बताउँछन् । उनी पछिल्लो दुई महिनामा बजारमा गएका करिब ७३ अर्ब कर्जाको सन्दर्भलाई जोड्दै राष्ट्र बैंकले तरलता सुकाउनको लागि भरपुर प्रयास गरिरहेको बताउँछन् ।

“तरलता सुकाउन राष्ट्र बैंकले भरपुर प्रयास गरिरहेको छ । एकैचोटी घट्ने कुरा हैन अब बिस्तारै घट्दै जान्छ,” उनले भने ।

बैंकमा पैसा ‘फालाफाल’ : कर्जा विस्तारमा केले लगायो अङ्कुश ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register