नोम चोम्स्की : जीवित किंवदन्ती बनेका एक सार्वजनिक बौद्धिक

अमेरिकी राज्य र चोम्स्कीको व्यक्तित्वबीच अनौठो विरोधाभास छ । उनी संसारमै अमेरिकाको सबैभन्दा ठूला बौद्धिक आलोचक हुन् र त्यही राज्यका सर्वाधिक सम्मानित वरिष्ठ नागरिक पनि ।

Dec 7, 2024 - 07:54
 0
नोम चोम्स्की : जीवित किंवदन्ती बनेका एक सार्वजनिक बौद्धिक

आज डिसेम्बर ७ । सन् १९२८ डिसेम्बर ७ मा जन्मेका नोम चोम्स्की ९६ वर्षका भए । यद्यपि, उनी सार्वजनिक जीवनमा सक्रिय छन् । यो उमेरमा पनि उनी लेख लेख्छन्, अन्तर्वार्ता दिन्छन् । संसारभरिबाट आउने अनेक जिज्ञासाको इमेलबाट जवाफ दिन्छन् ।

उनको स्मरण शक्ति र तार्किक सङ्गतिमा बुढ्यौलीको कुनै छनक हुँदैन । उनी तिनै कुरा भन्दै हुन्छन्, जो उनको जीवनभरिको अध्ययन, अनुभवबाट निर्मित अडान हो । र, रोचक कुरा, जब उनी बोल्छन्, के भन्दैछन् भनेर संसारले ध्यान दिएर सुन्छ । उनका फ्यान वा समर्थकले मात्र हैन, आलोचक र यहाँसम्म कि कट्टरविरोधीले समेत ।

यति दीर्घजीवन, उस्तै ताजा स्मरण शक्ति, तर्क र तथ्यले संसारको ध्यान खिच्न सक्ने अद्भूत क्षमता र मानक व्यक्तित्व निर्माण मानव जीवनमा बिरलै हासिल गर्न सकिने दुर्लभ सफलता हो ।

नोम चोम्स्की, एक्काइशौं शताब्दीको तेस्रो दशकमा बीसौं शताब्दीका त्यस्ता जीवित बौद्धिक हुन्, सम्भवत: जीवनपछि पनि उनको लामो अवधि स्मरण र चर्चा हुनेछ ।

अध्ययन, अध्यापन, पेशा वा करिअरले उनी मूलतः भाषाशास्त्री हुन् । भाषाशास्त्रमा उनको योगदानलाई कतिपयले ‘भाषिक निष्कर्षको क्रान्तिकारी भावधारा’ भन्ने गर्दछन् । भाषाशास्त्रमा उनले जे निष्कर्ष दिए, ती त्यसअघि कमैले ध्यान दिन्थे ।

सार्वजनिक विमर्शमा चोम्स्की अमेरिकी विदेश नीतिका कटु आलोचक हुन् । चोम्स्कीलाई लाग्छ कि अमेरिका विश्वशान्तिका लागि सबैभन्दा ठूलो जोखिम हो । विश्वले यसकारण पनि चोम्स्कीलाई सुन्ने इच्छा गर्छ कि उनी आफ्नै मातृदेशका वैदेशिक मामिला नीतिका कमजोर पक्षलाई निर्भीकतापूर्वक भन्न सक्दछन् ।

अमेरिकी राज्य र चोम्स्कीको व्यक्तित्वबीच अनौठो विरोधाभास छ । उनी संसारमै अमेरिकाको सबैभन्दा ठूला बौद्धिक आलोचक हुन् र त्यही राज्यका सर्वाधिक सम्मानित वरिष्ठ नागरिक पनि ।

सम्भवत: चोम्स्कीको अडान र सम्मान अमेरिकी लोकतन्त्रको सुन्दरताको एक आधार हो । अनुदारवादी वा अलोकतान्त्रिक राज्यले नोम चोम्स्कीजस्ता पात्रलाई यति दीर्घजीवन बाँच्न दिन्थे वा दिँदैनथे भन्न सकिन्न । यदि बाँच्न दिन्थे नै भने पनि सम्मानित वा स्वतन्त्र नागरिकका रूपमा वा जेलमा हुन्थे भन्ने प्रश्न बाँकी नै रहन्छ ।

औपचारिक अध्ययन, ज्ञान र करिअरको विषय भाषाशास्त्र भएपनि उनको आजको वास्तविक परिचय भने मनोविज्ञानमा रूझान भएका एक दार्शनिकको हो । भाषाशास्त्रलाई आधार बनाएर मानव मष्तिष्क र मानवीय मनोविज्ञानका तहको अन्वेषण गर्नु र दार्शनिक निष्कर्ष दिनु उनको व्यक्तित्वको विशिष्ठता हो ।

भाषाशास्त्रीय अध्ययनबाट उनले भाषा विचार विनिमय, अभिव्यक्ति र सम्पर्कको माध्यम मात्र नभएर मानव प्राणीको संज्ञान संयन्त्रमा अन्तर्निहित प्राकृतिक अस्तित्व हो भन्ने निष्कर्ष निकाले ।

बिरालोको बच्चाले जुनसुकै भाषा जति सिकाए पनि सिक्न सक्दैन तर, मानिसको बच्चाले संसारको जुनसुकै भाषा सिक्न सक्दछ । यसको अर्थ हो- भाषा मानव प्राणीको मष्तिष्कमा प्राकृतिक तवरले अन्तर्निहित हुन्छ । तसर्थ, संसारका सबै भाषाको आधारभूत व्याकरण, प्रणाली र विशेषता एउटै र उस्तै हुन्छ ।

चोम्स्की यहुदी परिवारमा जन्मे । तसर्थ, भाषाशास्त्रीय अध्ययनको प्रारम्भिक आधार उनले हिब्रूलाई बनाएका थिए । त्यो बेलाको हिब्रू, जब इजरायलको स्थापना नै भएको थिएन । हिब्रू ग्रन्थमा सीमित भएको एक मृतभाषा मानिन्थ्यो । तर, जिओनिष्ट आन्दोलन र वालफोर घोषणापछि हिब्रू भाषा साहित्यको पुनरूत्थान हुन थालेको थियो ।

१० वर्षको उमेरमा चोम्स्कीले आफ्नो स्कुलको पत्रिकाका लागि स्पेनिश गृहयुद्धमा बार्सिलोनाको पतन र युरोपमा फाँसीवादको उदयबारे सम्पादकीय लेखेका थिए ।

सन् १९४५ मा दोस्रो विश्वयुद्ध रोकिदा चोम्स्की १६ वर्षका थिए । व्यक्तिगत राजनीतिक रूचिले उनी विश्वमामिलाका व्याख्यताजस्तो बनेका थिए । पेल्सिनभेनिया विश्वविद्यालयमा उनका गतिविधिहरू भाषाशास्त्रीय अध्ययन र राजनीतिक विश्वदृष्टिकोणको व्याख्यान, दुबै विधाको समानान्तर विमर्शमा केन्द्रित हुन्थ्यो ।

हार्वर्डमा सन् १९५१ मा उनको स्नातकोत्तर डिग्रीको शोध आधुनिक हिब्रू भाषाको तार्किक संरचना र भाषाशास्त्रीय सिद्धान्तमा केन्द्रित थियो । चोम्स्कीभन्दा अघि अधिकांश भाषाशास्त्री मान्छेको दिमाग ‘नलेखिएको स्लेट’ जस्तै खाली थियो र त्यसमा बाल्यकालको सङ्गत र परिवेशले जुनसुकै भाषा भर्न सकिन्छ भन्ने विश्वास गर्थे । अर्कोथरि भाषाशास्त्री भाषा मानव मष्तिष्कको प्राकृतिक बनोटबाट निसृत हैन, अभ्यासको प्रतिफल हो भन्ने ठान्दथे ।

चोम्स्कीले यी अवधारणा अस्वीकार गरे । उनले मान्छेको मस्तिष्कमा भाषिक संरचना प्राकृतिक तवरले नै अन्तर्निहित हुन्छ भन्ने पुष्टि गरेका छन् । चोम्स्कीले स्थापित गर्न जोखेको मुख्य मान्यता के मानवीय ज्ञान शिक्षाद्वारा परिष्कार मात्र हुन्छ, सृजना हैनन् भन्ने थियो । भाषा र सूचना प्रणालीको सम्बन्धबारे चोम्स्कीका अध्ययन र निष्कर्षले आधुनिक कम्प्युटर विज्ञानमा भाषिक उपयोग गर्न सजिलो भएको ठानिन्छ ।

सन् १९६१ मा चोम्स्की म्यासाचुइटेस इन्स्टिच्युट अफ टेक्नोलजी (एमआईटी)मा भाषाशास्त्रका प्राध्यापक बने र सन् २००२ सम्म ४ दशक बढी यही करिअरका दत्तचित्त रहे ।

सन् १९७० को दशकमा उनको पुस्तक ‘द एक्सपेक्ट अफ थ्योरी अफ सेन्टाक्स’ खुबै प्रशंसित भएको थियो । यसले ‘युनिभर्सल ग्रामर’ को अवधारणालाई अघि सार्दथ्यो । उनको यो अवधारणाअनुरूप भाषिक सिद्धान्तहरू वैश्विक र भाषाका संरचनात्मक विशेषतामा साझापन हुन्छ ।

त्यही कारण हो कि बच्चालाई सानैदेखि परिवेश दिने हो भने संसारको जुनसुकै भाषा सिक्न सक्दछन् । मानिसले बहुभाषिक अभ्यास गर्न सक्दछन् ।

चोम्स्कीयन भाषाविज्ञानअनुसार मानिसको मस्तिष्कमा भाषा ग्रहण यन्त्र (ल्याङ्वेज एडप्टेसन डिभाइस) हुन्छ । यो एक काल्पनिक तथा अवधारणागत यन्त्र हो, जो मानव मष्तिष्कको विशेषताका रूपमा अन्तर्निहित हुन्छ । यो यन्त्र विशेषतः २/६ वर्षको उमेरमा बढी सक्रिय हुन्छ । तसर्थ, यस उमेरमा बच्चाले आफूलाई जुन भाषिक परिवार वा समुदायमा पाउँछ, त्यसैलाई मातृभाषा वा प्रथम सहज भाषाका रूपमा ग्रहण गर्दछ ।

चोम्स्की भन्छन्– व्याकरण दुई प्रकारको हुन्छ । एक– एक युनिर्भसल ग्रामर, अर्को– जेनेरेटिभ ग्रामर । सबै भाषामा समान नियमका रूपमा रहने व्याकरण ‘युनिभर्सल ग्रामर’ हो ।

भाषापिच्छे फरक हुने वा भाषाविद्‌द्वारा परिस्कार गरिएका नियम ‘जेनेरेटिभ ग्रामर’ हो । चोम्स्कीको तर्क थियो– भाषालाई प्राकृतिक प्रवाहमा बग्न दिनुपर्दछ । ‘जेनेरेटिभ ग्रामर’ हाबी भयो भने भाषा बोझिलो हुँदै जान्छ र सङ्कटमा पर्दछ ।

उनको विचारमा संस्कृत भाषासम्बन्धी पाणिनीको व्याकरण ‘जेनेरेटिभ ग्रामर’ को सबैभन्दा राम्रो उदाहरण हो ।

चोम्स्कीको अर्को ठूलो सैद्धान्तिक योगदान व्यवहारवाद (विह्याविअरिज्म) को खण्डन हो । बीसौँ शताब्दीमा व्यवहारवाद एक ठूलो सैद्धान्तिक मान्यता र दृष्टिकोण बन्दै गएको थियो । यो अवधारणले मानवीय तथा पशुपन्छीहरूको आचरण तिनले सामना गरेको वातावरण, परिवेश, अन्तर्क्रिया र अन्तर्सम्बन्धले प्रभावित र विकसित गर्दै लान्छ भन्ने मान्यता राख्दथ्यो ।

यसको अर्थ हो– मानिसको अन्तर्निहित विवेक र सौन्दर्यलाई अविश्वास गर्नु । आलोचनात्मक चेतलाई कमजोर पार्नु । आचरणगत समायोजन र सहवरणका नाममा मौकापरस्त वा सम्झौतावादी व्यवहारलाई मान्यता दिनु वा गौरवीकरण गर्नु ।

चोम्स्कीको विचारमा मानवीय चरित्र ‘व्यवहारात्मक’ हैन, ‘संज्ञानात्मक’ हुन्छ । ‘संज्ञानात्मक विज्ञान’मा चोम्स्कीको मात्र योगदान थिएन तर, भाषाशास्त्रीय आधारबाट यसलाई उनले बल दिए ।

भियतनाम युद्धमा अमेरिकी भूमिकाको विरोध गरेर उनले आफूलाई युद्धविरोधी विश्व अभियन्ताका रूपमा चिनाएका थिए । उनले भियतनाम युद्धको मात्र हैन, इराक, अफगानिस्तान, सिरियालगायत अमेरिकी संलग्नता भएका सबै युद्धको चर्को आलोचना गरे ।

सन् १९६० को दशकको पुस्तक ‘द रेस्पोन्सिबिलिटज अफ इन्टेलेक्चुअल्स’ मा उनले बौद्धिकहरू सत्ता राजनीतिको भाष्यभन्दा बाहिर न्याय र सत्यको पक्षमा हुनुपर्दछ भन्ने तर्क गरे । चोम्स्कीले लोकतन्त्रमा सर्वसाधारणसँग मताधिकार र विवेक त हुन्छ तर, सूचना र विश्लेषणको अभाव हुँदा तिनको सही प्रयोग नै हुन्छ भनेर ग्यारेन्टी गर्न नसकिने यथार्थलाई सैद्धान्तिकरण गर्न खोजे ।

चोम्स्की भन्छन्- राजनीतिक शक्ति सम्भ्रान्त जनताको विवेकलाई विकसित हुन दिन चाहँदैन । तिनीहरूले दिने राजनीतिक शिक्षा शक्ति सम्बन्धमा आधारित हुन्छ । शक्ति–स्वार्थका लागि जनतालाई सही कुरा भन्दैनन् । त्यति सत्य मात्र भन्दछन् – जसले उनीहरूको सत्तास्वार्थको समर्थन गर्दछ ।

यस प्रकारको राजनीतिक शिक्षाले ‘प्रोपागन्डा’ निर्माण गर्दछ । ‘प्रोपागन्डा’को साटो जनतासामु वास्तविक सत्य तथ्यलाई पस्किनु बौद्धिकहरूको जिम्मेवारी हो ।

चोम्स्कीको यस्तो सोचले लोकतन्त्रमा सार्वजनिक बौद्धिक (पब्लिक इन्टेलेक्चुअल्स) को भूमिका अभिवृद्धि गर्न माग गर्दछ । अथवा यो भन्न सकिन्छ कि चोम्स्की आफैँ आफ्नो समय र युगका एक ठूला ‘सार्वजनिक बौद्धिक’ सिद्ध भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register