१६ दिने अभियानले मात्र महिला हिंसा अन्त्य होला त ?

द्रोण अधिकारी गुहेँली‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ राष्ट्रिय नाराका साथ नेपालभरी यही मङ्सिर १० गतेदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । उक्त अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विगतमा जस्तै गैरसरकारी सङ्घसस्थासँग सहकार्य गरेर नेपालमा यो अभियान चलाइरहेको छ । सन्सारभरी चल्ने यो अभियान हरेक वर्ष महिला [...] The post १६ दिने अभियानले मात्र महिला हिंसा अन्त्य होला त ? appeared first on Jhapa Online.

Dec 7, 2024 - 13:25
 0
१६ दिने अभियानले मात्र महिला हिंसा अन्त्य होला त ?

द्रोण अधिकारी गुहेँली
‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ राष्ट्रिय नाराका साथ नेपालभरी यही मङ्सिर १० गतेदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । उक्त अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विगतमा जस्तै गैरसरकारी सङ्घसस्थासँग सहकार्य गरेर नेपालमा यो अभियान चलाइरहेको छ । सन्सारभरी चल्ने यो अभियान हरेक वर्ष महिला हिंसा विरूद्धको १६ दिने अभियान नेपाल देशभरी भव्य रूपमा मनाउने गरिएको छ । प्रत्येक वर्ष मंसीरमा १६ दिनसम्म मनाइने यस अभियानले कति सफलता पायो भन्ने हिसाब किताव नभए पनि बिरालो बाँधेर श्राद्ध गरेकै शैलीमा निरन्तर मनाइदै आइरहेको छ । नेपालमा वि सं २०५४ सालदेखि लैंगिक हिंसाविरुद्ध विविध चेतनामूलक कार्यक्रमका रूपमा राज्य स्तरबाटै अभियान चलाउन सुरू गरिएको हो । हरेक वर्ष यस अभियानको एउटा नयाँ अन्तराष्ट्रिय नारा तय गरेर दिवस मनाइन्छ । नेपालमा मात्र नभएर यो अभियान विश्वभरी नै एउटै समयमा सञ्चालित हुने गरेको छ । अभियान अवधिभरी नारी पुरूष मिलेरै विविध कार्यक्रम पनि गर्ने गरेका छन् ।

अभियानको उद्देश्य कुनै पनि महिलालाई हिंसा हुनु÷गर्नु भनेको कसैकी आमा÷दिदीबहिनी÷छोरी हिंसामा पर्नु हो भन्ने बोध गराउनु हो । यस अवस्थाको बोध नहुँदासम्म महिला हिंसा नाराले मात्र अन्त्य हुने छैन । इतिहास हेर्दा सन् १९६० नोभेम्बर २५ का दिन डोमिनिकन रिपब्लिक देशका तीन दिदीबहिनीले त्रुजिलो सरकारको शासनमा महिलालाई हुने गरेका भेदभाव र अन्यायविरुद्ध सशक्त आवाज उठाउँदै अन्तर्रा्ष्ट्रिय महिला हिंसाविरुद्ध दिवस सुरू गरेका थिए । सन् १९९९ डिसेम्बर १७ तारिखका दिन संयुक्त राष्ट्रसंघले नोभेम्बर २५ लाई अन्तर्रािष्ट्रय महिला हिंसाविरुद्धको दिवस घोषणा गरेको थियो । त्यसयता संसारभर यो दिवस नोभेम्बर २५ देखि १६ दिनसम्म मनाउने प्रचलन रहेको छ । हाम्रो समाजमा भने अभियान सकिएको भोलिपल्ट हिंसा बिरूद्ध नारा लगाउने नै महिला हिंसाका कारक बनेर आउने अवस्था अहिलेसम्म जीवितै छ । जो बढी क्रान्तिकारी भएर महिला हिंसा बिरूद्ध कुर्लन्त त्यही हिंसासित गासिएर आएका घटना धेरै छन् ।

हरेक घरपरिवारबाटै शिक्षा, स्वास्थ्य, खानपान, जीवनशैली, स्वतन्त्रता र अवसरमा छोराछोरी दुवैलाई समान अधिकार दिने संस्कार विकास हुँदै जाने हो भने कुन समाजमा महिला हिंसा हुदैन थियो । अभियानले नेपाली समाजमा चेतना बढाए पनि हिंसा अन्त्य तथा सुधार भएको छैन । नेपालमा विभिन्न समयमा भएका क्रुर हत्या, बलात्कार तथा बेचबिखनका अत्तेस लाग्दा घटनाहरूले महिला हिंसाका विभिन्न रूपमा जिउँदै रहेको पुष्टि गर्छ । निरन्तर सञ्चालनमा रहेको अभियानको सार्थकता भविष्यमा देखिएला तर अपेक्षित उपलब्धिका लागि सरकार, नागरिक समाज, महिला अधिकारकर्मी लगायत विभिन्न निकायबाट घटनाको गाम्भीर्य र व्यक्तिको मनोविज्ञान बुझेर योजना तथा कार्यक्रम लागू गर्नुपर्ने देखिन्छ । हुन त पछिल्ला वर्षहरूमा नेपालमा पुरूष हिंसाका घटना पनि प्रसस्तै देखिन थालेका छन् । अधिकारका नाममा महिलाले विनाकारण पुरूषलाई आर्थिक शोषण, मानसिक यातना र कानुनी झमेलामा फसाएर अनावश्यक जेल बस्न बाध्य बनाउने घटनाहरू प्रशस्तै देखिन थालेको अवस्था छ ।

लैंगिक हिंसा महिला विशेषको सवाल मात्र नभएर घर, समाज, राष्ट्रिय र अन्तर्रािष्ट्रय समस्या भएकाले यसको समाधानका लागि पनि सबै पक्षको पहल आवश्यक देखिन्छ । त्यो पहल चेतना जागृत गराउने कार्यक्रमहरूबाट सुरु गर्दा प्रभावकारी हुन सक्छ । लैंगिक हिंसालाई गहन रूपमा बुझ्न जरुरी छ । यो यौन शोषण मात्र नभएर महिलाविरुद्ध हुने सामाजिक÷सांस्कृतिक लगायत विविध विभेद नै समग्रमा लैंगिक हिंसाभित्र पर्ने भएकाले यसको अन्त्य गर्न घर, समाज र राज्यले संयुक्त पहल गर्नुपर्छ । त्यसका साथै महिलाबाट पुरूषतिर सर्दै गएको हिंसाका घटना रोक्न पनि जरूरी छ । आधुनिकता, समावेशिता जस्ता विशेष अवसरको दुरूपयोग गरेर कतिपय महिलाहरूले पुरूषमाथि हिंसा बढाइरहेका छन् ।

संघीयता कार्यान्वयनमा आएपछि लोकतान्त्रिक गणतन्त्रात्मक नेपालले महिला सशक्तीकरणका लागि विभिन्न अभ्यास र अभियान सञ्चालन गर्दै आइरहेको छ तर लगानी अनुरूप परिणाम हेर्दा सकारात्मक अवस्था देखिएको छैन । आजको परिवर्तित, शिक्षित, आधुनिक र सभ्य भनिएको समयसम्म आइपुग्दा पनि संसारभर नै भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, शारीरिक, मानसिक विभिन्न तरिकाले महिलालाई हिंसा गर्ने प्रवृत्ति कायम रहनु दुर्भाग्य शुभ संकेत मान्न सकिदैन । अमेरिका जस्तो सन्सारकै उच्च सभ्यता भएको भनिएको देशमा पनि महिला हिंसा देखिएको अवस्थाले नेपालको हालत झन के होला ? अनुमान गर्न सहजै सकिन्छ । आगामी दिनमा महिलालाई आत्मनिर्भर बनाउन सकिए उनीहरूविरुद्ध हुने घरेलु हिंसा न्यूनीकरण गर्न सकिने थियो । यस सत्यलाई जानेर पनि नजाने जस्तो व्यवहार देखाउने सरकारी प्रवृत्तिले महिला हिंसा निर्मुल हुन सकेको छैन । नेपाली महिला सिर्जनशील, संघर्षशील, बहुप्रतिभाशाली, सहनशील र साहसी छन् । तर पनि सामाजिक–आर्थिक पक्षबाट हेर्दा अहिले पनि महिला सबै किसिमका अवसरबाट बञ्चित देखिन्छन् । घर, परिवार तथा आफन्तबाटै लैंगिक हिंसाको शिकार भएर बस्न नसक्ने अवस्थाका नागरिकहरूको सुरक्षाका लागि सुरक्षित आवासको समेत व्यवस्थापन गर्न सरकारले बेवास्ता गरेको अधिकारकर्मीहरूको गुनासो निरन्तर रहेको छ । तीन तहका सरकार रहेको भए पनि नेपालमा लैंगिक हिंसामा परेर पीडित भएकाहरूको सुरक्षा दिने दायित्व कुनै पनि सरकारले नलिँदा समस्या आइपरेको गुनासो पोखिने गरेको छ ।

मेचीदेखि महाकालीसम्म हेर्ने हो भने नेपालमा अझै पनि जवरजस्ती करणी, महिला बेचबिखन, देहव्यपार, बोक्सीको आरोप, दाइजोका नाममा हुने घरेलु हिंसा यथावत् छन् । यी सवै विकृति अन्त्य गरेर जबसम्म महिलाको जीवनस्तर माथि उठाइदैन तबसम्म देशको विकास सम्भव छैन । किनभने हरेक क्षेत्रमा महिलाको नेतृत्व र सहभागिता अभावले नै देश भष्टाचारको भुमरीमा परिरहेको छ । समाजमा रहेका व्यक्तिहरूका बीचमा महिला र पुरुषका सम्बन्धमा सोच र व्यवहारमा विभेद आउञ्जेल समानताको आभास अनुभव गर्न सकिँदैन । मानिस महिला–पुरुष दुवैको संयुक्त रूप हो । मानसिक, शारीरिक र भावनात्मक रूपमा प्रत्येक मानिस एउटै हुन्छ र सबैको लक्ष्य जीवनमा सुख, शान्ति र आनन्द प्राप्त गर्दै एउटा सामाजिक प्राणीको आत्मिक ज्ञान विकास गराउन सक्नु पर्दछ अनि मात्र महिला हिंसा घट्छ । समाजमा महिला भएकै कारण कसैले असुरक्षा तथा हिनता बोध गर्ने वातावरण रहन्छ भने हिंसा त्यही हो । विश्व समाजले चाहेको के हो भने महिला होस् या पुरूष समान अस्तित्व सहित बाँच्न पाउनु पर्छ । सायद हिंसा बिरूद्धको १६ दिनसम्मको अभियानले पनि यही भावना विकास गर्ने लक्ष्य लिएको होला । विज्ञान र प्रविधिले चमत्कारिक फट्को मारिसकेको विश्व मानव समाजमा अहिले पनि महिला हिंसा बन्द गर भन्दै कराइरहनु परेको छ । यो अवस्थाचाहिँ मानव सभ्यता बिरूद्धको अक्षम्य प्रहार भन्नु पर्छ ।

विकसित होस् या विकाशील सवैखाले राष्ट्रमा महिला हिंसा कुनै न कुनै रूपमा भइ रहेकै छन् । नीति, नियम र कानुनी प्रावधान बलियो भएका देश भित्र त निर्मुल हुन नसकेको महिला हिंसा हाम्रो जस्तो देशमा कहाँ सहजै समाप्त होला ? समय र प्रविधिमा आएको फेरबदलसंगै हिंसाको स्वरूपमा पनि शैली फोरिएको छ । हिजो हात र हाते हतियार नै हिंसा गर्ने माध्यम थिए भने आज प्रविधि हिंसा गर्ने साधन भएका छन् । जहाँ चरित्रलाई निशाना बनाएर महिला हिंसाका घटना घटिरहेको अवस्था छ । प्रविधि दुरूपयोग गर्नेमा महिला र पुरूष दुवैको उत्तिकै हात देखिने गरेको छ । आश्चर्य त के छ भने महिलाको चरित्र हत्या गर्न महिला नै अगाडि सर्ने घटनाले महिला हिंसा शब्दमाथि व्यंग्य कसिरहेको देखिन्छ । यी सवै घटनालाई मनन् गर्ने हो भने महिला हिंसा पुरूष पात्रका कारण मात्र भइरहेको छैन । महिलाकै कारण पनि महिला हिंसा भइरहेकै छन् । घर भित्रै हुने गरेका लैंगिक हिंसालाई लुकाउने परिपाटी अन्त्य नभएसम्म हिंसा पीँडितले न्याय पाउन सक्दैनन् । अबको आवश्यकता जस्तासुकै हिंसा गर्नेलाई पनि कानुनी दायरामा ल्याउनु हो । यसकारण पनि परम्पराका नाममा हिंसा सहनु हसँदैन । यस्तो हिंस्रक प्रवृत्ति रोक्न सवै सचेत भएर एकताबद्ध हुने हो भने मात्र हिंसाको अन्त्य पक्कै हुन्छ । नत्र हरेक वर्ष १६ दिन अभियान चलाएर हिंसा रोकिने वातावरण बन्दैन ।

The post १६ दिने अभियानले मात्र महिला हिंसा अन्त्य होला त ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register