‘प्रचण्ड मुभ’ खोजिरहेको देश

सरकार र सडक दुबैतिर नागरिक अधिकार, विकास, सुशासन, लोकतन्त्र र सामाजिक न्यायलाई फेरि पुनर्स्थापित गर्ने समय भयो । त्यसका लागि प्रचण्डको अवश्यकता प्रष्ट देखियो ।

Dec 11, 2024 - 01:43
 0
‘प्रचण्ड मुभ’ खोजिरहेको देश

आज कमरेड प्रचण्डको जन्मदिन । त्यसो त म जन्मदिनलाई खासै महत्त्व दिने गर्दिनँ । तर, पनि केही विशिष्ट व्यक्तिहरूको जन्मदिन विशेष हुन्छ ।

नेपालमा राजनीतिक-सामाजिक परिवर्तनका लागि भएका क्रान्ति र आन्दोलनमध्येका सबैभन्दा उपलपुथलकारी दश वर्षे सशस्त्र क्रान्तिका नायक प्रचण्डको जन्मदिन भएकाले मलाई मात्रै होइन, धेरैलाई आजको दिन महत्त्वपूर्ण लाग्छ ।

प्रचण्ड त्यस्ता नायक हुन्, जसले बितेका तीन दशकदेखि नेपाली राजनीतिलाई गति, दिशा र आकार दिएका छन् । जनयुद्धको सुरुवातसँगै नेपाली राजनीतिले जुन बाटो र वेग समात्यो, त्यो धेरै किसिमले ऐतिहासिक थियो । बितेका तीन दशकमा नेपाली राजनीतिमा कल्पनै नगरिएको, लगभग असम्भव ठानिएको गणतन्त्र स्थापनाको अगुवा थिए प्रचण्ड । उनले डोर्‍याएको गणतन्त्रको दिशामा एमाले र कांग्रेस विस्तारै तानिएका थिए । जसले नयाँ संविधानमार्फत राज्यलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरायो ।

तीन दशकअघि कसरी दरबारदेखि दलसम्म, सिंहदरबारदेखि संसद्सम्म, सामन्तवादी रजगज र पुराना दलका भ्रष्टीकरणले सीमा नाघेको थियो ? जब राजा र पुराना दलहरू यथास्थितिको गोलचक्करमा थिए, त्यसलाई क्रमभङ्ग गर्न प्रचण्ड नेतृत्वको माओवादीको जन्म भएको थियो । उनको नेतृत्वमा लाखौं मान्छेहरूले परिवर्तनको सपनाका लागि लडेका थिए । माओवादी सशस्त्र विद्रोह र संसद्‌वादी दलको शान्तिपूर्ण आन्दोलनलाई ‘फ्यूजन’ गरेर राजतन्त्रको टाउकोमा हान्ने प्रचण्ड-सूत्रको प्रतिफल नै हो, अहिलेको गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समावेशिता ।

एक युगमा एक पटक हुने यस्तो परिवर्तनको केन्द्रमा थिए कमरेड प्रचण्ड । त्यसैले अहिले प्रचण्ड एक व्यक्ति मात्रै हैन, बरु हजारौं शहीदहरूको बलिदान, सयौं बेपत्ता, घाइते, अपाङ्ग र योद्धाहरूको योगदान र लाखौं सचेत नागरिकको समर्पणले निर्माण भएको नेतृत्व हो, जो अहिले परिवर्तनको विम्ब र आशा दुबै बनेका छन् ।

सरकारमा प्रचण्डको अभाव

राजनीति नबुझ्ने वा यर्थाथलाई अस्वीकार गर्ने कतिपय मान्छेहरू भन्छन्, अब प्रचण्डको युग सकियो । तर, उनीहरूले हिजो जस्तै यतिखेर के कुरा बुझेका छैनन् भने, देश पुनः उथलपुथलको सङ्घारमा छ । नयाँ र पुरानाका बीचमा टकराव छ । परिवर्तनका पक्षधर र प्रतिगामी बीचको, भ्रष्टाचारको स्वर्गमा रमाउने र सुशासनका पक्षधरहरूबीचको, अराजकता चाहने र मूल्य मान्यतालाई पुनर्स्थापित गर्न चाहनेबीचको द्वन्द यतिखेर उत्कर्षमा छ ।

वर्तमान राज्य सत्तामा हालिमुहाली गरिरहेकाहरू आदर्श, मर्यादा, इमान र उत्तरदायित्वबाट च्यूत हुँदै गएपछि नागरिकहरू नैतिक, शालीन, लोकतान्त्रिक र उत्तरदायी विकल्प खोजिरहेका छन् । अर्थात्, फेरि एकपटक बेथिति, निराशा र जन आक्रोशको उर्लँदो वेग इतिहासको एक चक्र घुमेर माओवादी अध्यक्ष प्रचण्डसमक्ष आइपुगेको छ ।

देशले फेरि एकपटक पश्चगामी चिन्तन बोकेर यथास्थितिमै ब्रम्हलुट मच्चाइरहेका कांग्रेस र एमालेको कुशासनबाट मुक्ति खोजिरहेको छ । नागरिक आन्दोलनको ‘मुड’मा छन् । सडक तात्न आतुर छ र देशले त्यसको सुस्पष्ट नेतृत्व गर्ने नायक खोजिरहेको छ । त्यसैले प्रचण्डको युग सकिएको होइन, बरु प्रचण्डको नेतृत्व अपरिहार्य हुँदै गएको हो ।

यसअघिको प्रचण्ड सरकारले त्रिभुवन विश्वविद्यालयदेखि बालमन्दिरसम्मको जग्गा खोजबिन गर्न थालेपछि भ्रष्ट भूमाफिया तिल्मिलाएका थिए । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया थाल्दा भ्रष्टहरूको दरबारमा हलचल मच्चिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन सुरु गर्दा बेइमानहरूको पङ्क्तिमा खैलाबैला मच्चिएको थियो । तर, प्रचण्डले भ्रष्टाचारमाथिको छानबिनमा कुनै हस्तक्षेप गरेनन्, उल्टो सरकारका विभिन्न निकायलाई इमान्दारीका साथ अनुसन्धान गर्न उत्प्रेरित गरे ।

नेपालको इतिहासमै पहिलो पटक तथाकथित ‘हाइप्रोफाइल’ भनिएकाहरू प्रहरी हिरासतमा पुगे । शुसासनको सुरुवात मात्रै होइन, प्रचण्डकै कुशल नेतृत्वमा देशको आर्थिक अवस्थामा सुधार आउँदै थियो । देशभित्र लगानीमैत्री वातावरण बन्दै थियो । पर्यटक आगमनमा व्यापक सुधार आएको थियो । पाँच लाख भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनको पूर्ण तयारीसहित बजेट आएको थियो । किसानलाई समयमै ४ लाख १ हजार मेट्रिक टन रासायनिक मल वितरण गरिएको थियो ।

प्रचण्डकै नेतृत्वमा सुनकोशी मरिन डाइभर्सन र नागढुङ्गा नौबिसे सुरुङमार्ग निर्माणमा ‘ब्रेक थ्रु’ भयो । सरकारले पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्रका कार्यक्रमसहितको बजेट ल्यायो । एकीकृत आर्थिक करिडोर विकास, डिजिटल अर्थतन्त्रको विस्तार र हरित अर्थतन्त्रको निर्माणको युगान्तकारी प्रतिबद्धताबाट चौतर्फी उत्साह बढ्दै थियो । सुशासन, आर्थिक विकास र पूर्वाधारका विभिन्न सूचकाङ्क राम्रो हुँदै गएको बेला प्रचण्ड सरकारलाई ढाल्नुको अर्थ कांग्रेस-एमालेलगायतका पुराना पार्टीहरूको भ्रष्टाचार, कुशासन र कुविकास मोह प्रष्ट हुन्छ ।

प्रचण्ड असंलग्न नीति र पञ्चशीलको मान्यताअनुसार छिमेकीसँग सम्बन्ध अगाडि बढाउन प्रतिबद्ध थिए । उनकै नेतृत्वमा भारत भ्रमणका बेला १० वर्षमा १० हजार मेगावाट विद्युत् भारततर्फ निर्यात गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भयो । चीन भ्रमणका क्रममा १२ वटा समझदारी पत्रमा हस्ताक्षर गरेर प्रचण्डले उत्तरको छिमेकीलाई पनि सन्तुलनमा ल्याए । तर, अहिले के हुँदैछ ?

यसर्थ, क्रान्ति र आन्दोलन मात्र हैन, सरकारमा पनि प्रचण्ड सफल थिए । तर, जसरी षड्यन्त्र गरेर प्रचण्ड सरकार ढालियो, त्यसको अर्थ हो, सरकार र सडक दुबैतिर नागरिक अधिकार, विकास, सुशासन, लोकतन्त्र र सामाजिक न्यायलाई फेरि पुनर्स्थापित गर्ने समय भयो । त्यसका लागि प्रचण्डको अवश्यकता प्रष्ट देखियो ।

‘असफलता’को कारक एमाले

प्रचण्ड निषेध, अपमान र प्रतिशोध हैन, सहमति, सहकार्य र विश्वासको राजनीति गर्न चाहन्छन् । जसको उदाहरण हो १२ बुँदे समझदारी । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र अध्यक्ष प्रचण्डबीच भएको थियो ‘मिलेरै पछिसम्म जाने’ सहमति । अन्तिम क्षणमा पनि प्रचण्डसँगको भेटमा कोइरालाले ‘यो देश तपाईंको हातमा छाडेर जाँदैछु, शान्ति, स्थिरता र समृद्धिको बागडोर सम्हाल्नुहोला’ भनेका थिए ।

म यो कुरा किन भन्नसक्छु भने सबै प्रक्रिया र संवादहरूको म स्वयम् साक्षी थिएँ । तर, शान्ति प्रक्रिया प्रारम्भ भएदेखि नै एमालेले विभिन्न बहानामा बखेडा झिकिरहन्थ्यो । जसले परिवर्तनका एजेन्डालाई स्थापित गर्नबाट रोक्न अनेक अवरोध गर्‍यो । खासमा एमालेभित्रको ओली गुट सकेसम्म गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता लागू नै नहोस् भन्ने चाहन्थ्यो । ओलीले गणतन्त्रको आन्दोलनलाई गाढा चढेर अमेरिकाको यात्रासम्म भन्न भ्याए । पहिलो संविधान सभाबाट संविधान निर्माण नहुनको मुख्य दोषी एमाले नै थियो, जसले राज्य पुनर्संरचना र शासकीय सुधारका युगान्तकारी निर्णयमा बाधा हाल्यो ।

पछिल्ला दिनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच विश्वासपूर्ण सहकार्यबाट राष्ट्रका समस्याको हल खोज्न प्रचण्डले पटक पटक अपील गरेको जगजाहेर छ । तर, एमालेकै चलखेल र षड्यन्त्रमा उनलाई एक्ल्याइयो । के यसो गर्नु प्रचण्डको गल्ती थियो ?

एमालेका नेता सभामुख निर्वाचित भइसकेपछि राष्ट्रपति नेपाली कांग्रेस पृष्ठभूमिका व्यक्तिलाई दिँदा सहकार्यको वातावरण बन्छ र ठूलो दलका हिसाबले शक्तिको न्यायपूर्ण वितरण पनि हुन्छ भनेर प्रचण्डले एमाले अध्यक्ष ओलीसँग छलफल गर्नु गल्ती थियो ?

प्रचण्डले राष्ट्रिय सहमति, सहकार्य र शक्ति सन्तुलनको प्रस्ताव राख्दा सरकारबाटै बाहिरिएको एमालेले अहिले कुन मुखले ‘राष्ट्रिय सहमति’को कुरा गर्दैछ ? प्रचण्ड सरकारलाई गिराउन रातारातका षडयन्त्रहरू सबै प्रतिगामी थिए, शान्ति प्रक्रियाविपरीत र सुशासन बिरोधी थिए । त्यसैले मुलुक अहिले फेरि खटपटीमा छ र एउटा परिवर्तनको आन्दोलन पर्खिरहेको छ ।

सहभागितामूलक लोकतन्त्रको माली

जगजाहेर छ, कांग्रेस र एमालेको रजगज भएको २०४८ सालको संसद्‌मा महिलाको उपस्थिति जम्मा ३ दशमलव ९ प्रतिशत थियो । अहिले प्रतिनिधि सभामा ३३ दशमलव १० प्रतिशत महिला प्रतिनिधित्व छ । प्रदेश सभामा महिला हिस्सेदारी ३६ दशमलव ३६ प्रतिशत छ । २०४८ को संसद्‌मा दलितको सङ्ख्या शून्य दशमलव ४८ प्रतिशत थियो, अहिले ५ दशमलव ८ प्रतिशत छ । यो हिस्सेदारी प्रत्यक्ष निर्वाचनबाट पूरा हुन सक्दैन । यो सबै समावेशी र समानुपातिक प्रतिनिधित्वको कारण मात्रै सम्भव भएको हो, जसलाई स्थापित गरेको थियो प्रचण्ड नेतृत्वको आन्दोलनले ।

कांग्रेस र एमालेको मौजुदा सरकार अहिले संविधान संशोधनका नाममा समावेशितालाई खण्डित गर्ने तानाबाना बुन्दैछ । मधेसी, जनजाति, दलित, मुस्लिम र सीमान्तकृत वर्गलाई घुमाउरो पाराले ‘अस्थिरताका कारक’ ठान्ने कांग्रेस र एमालेको पश्चगामी सोचले प्राप्त अधिकारसमेत खोसिनेतिर लैजाँदैछ । परिस्थिति कस्तो देखिदैँछ भने सरकार समावेशीकरणलाई सङ्कुचित गर्न चाहन्छ ।

सरकार भ्रष्टाचारको स्वर्गमा रम्न चाहन्छ, राज्य अङ्गलाई दलीय भागबन्डाको सिकार बनाइरहन चाहन्छ, लोकतन्त्रलाई दुईदलीय तन्त्रमा सङ्कुचित गर्न चाहन्छ । यस्तो षड्यन्त्र बुझेपछि माओवादी अध्यक्ष प्रचण्डले भनिसकेका छन्, ‘लोकतन्त्रको सर्भिसिङका साथै सुशासन तथा सीमान्त वर्ग-समुदायको अधिकारको रक्षाका लागि फेरि आन्दोलन आवश्यक भएको छ र म त्यो आन्दोलनको नेतृत्व गर्नेछु ।’

यसको अर्थ प्रचण्ड फेरि एकपटक अग्रगामी शक्ति र समावेशी लोकतन्त्र चाहनेहरूबीच एकता निर्माण गर्न चाहन्छन् । परिवर्तनका एजेन्डालाई थप बलियो बनाउन चाहन्छन् र लोकतन्त्रलाई अझै अगाडि लैजान चाहन्छन् । उनी लोकतन्त्रको सुन्दर र समावेशी बगैँचा बनाउन र त्यसको माली हुन चाहन्छन् ।

यो स्पष्ट छ, देश आज फेरि सडक आन्दोलनको पर्खाइमा छ । सडकमा ‘प्रचण्ड मुभ’ भएन भने भोलि जनताको आक्रोश र अस्थिरताको आगोलाई कसले निभाउने ?

अतः राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, शान्ति, स्थिरता, सुशासन र समृद्धिका लागि यो देशले फेरि एक पटक ‘प्रचण्ड मुभ’ खोजेको छ । अग्रगमनको ‘प्रचण्ड मुभ’ । थप सुशासन, समावेशिता र सामाजिक न्यायको ‘प्रचण्ड मुभ’ । अझ परिस्कृत लोकतन्त्रका लागि ‘प्रचण्ड मुभ’ ।

त्यसैले मुलुकले फेरि एक पटक क्रमभङ्गता खोजेको छ । जसको नेतृत्व गर्ने अनुभव, सपना र नैतिक तागत प्रचण्ड बाहेक अरु कसैसँग देखिँदैन । यही नै वर्तमानको आह्वान हो र भविष्यको चाहना हो । यसमा सफलता मिलोस्, जन्मदिनको हार्दिक शुभकामना क्रान्तिनायक क. प्रचण्ड ।

X: @BishwadeepP

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register