इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री

काठमाडौँ । इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगका सुन्तला बगान अहिले पहेलपुर छन् । सुन्तला खरिद गर्न व्यापारी बगानमै आइपुगेका छन् । सुन्तलाखेती गर्दै आएका इच्छाकामना गाउँपालिका–५ तामिनका किसान रामप्रसाद बोहोराका अनुसार बोटमै व्यापारीले प्रतिकिलो रु एक सयका दरले सुन्तला खरिद गरिरहेका छन् । उनले भने, ‘सुन्तला बिक्रीका लागि बजारको समस्या छैन । बोटमै बिक्री भइरहेको छ […]

Dec 17, 2024 - 08:47
 0
इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री

काठमाडौँ । इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगका सुन्तला बगान अहिले पहेलपुर छन् । सुन्तला खरिद गर्न व्यापारी बगानमै आइपुगेका छन् ।

सुन्तलाखेती गर्दै आएका इच्छाकामना गाउँपालिका–५ तामिनका किसान रामप्रसाद बोहोराका अनुसार बोटमै व्यापारीले प्रतिकिलो रु एक सयका दरले सुन्तला खरिद गरिरहेका छन् । उनले भने, ‘सुन्तला बिक्रीका लागि बजारको समस्या छैन । बोटमै बिक्री भइरहेको छ ।’

सोही गाउँका अर्का किसान हरिबहादुर नेपालले पनि सुन्तला बिक्रीका लागि बजारको समस्या नरहेको बताए । बगानमै आएर व्यापारीले सुन्तला खरिद गरिरहेको उनले बताए । सुन्तलाले मूल्य पाए पनि पछिल्लो केही वर्षयता बोट मर्ने क्रम बढेकाले उत्पादनमा कमी आएको उनको भनाइ छ ।

इच्छाकामना गाउँपालिका कृषि शाखाका प्राविधिक आशिष त्रिपाठीले यहाँका सुन्तला स्वादिष्ट हुने हुँदा बजारको समस्या नरहेको बताए । उनका अनुसार इच्छाकामना-१ को भाराङ, वडा नं २ को तल्लो काउले, वडा नं ३ को तोक्दाङ ढाप, माझगाउँ, सिरानगाउँ, तल्लो डुडे, माथिल्लो डुडे, वडा नं ५ को तामिन, ठङरङ, नेपेडाँडा, र वडा नं ६ को ढालामा सुन्तलाखेती हुँदै आएको छ ।

यहाँ उत्पादित सुन्तला मुग्लिन, कुरिनटार, फिस्लिङ लगायतका बजारमा बिक्रीका लागि लगिन्छ । फिस्लिङको तरकारी तथा फलफूल बिक्री केन्द्रबाट होलसेल मूल्यमा नारायणगढ, काठमाडौँ, पोखरालगायत विभिन्न सहरमा सुन्तला लैजाने गरिन्छ ।

गाउँपालिकाको कृषि शाखाका अनुसार इच्छाकामना गाउँपालिकाको ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ । आगामी आर्थिक वर्षमा १५ देखि २० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्ने गाउँपालिकाको योजना छ । किसानलाई गाउँपालिकाले अनुदानमा बेर्ना उपलब्ध गराउने योजना रहेको कृषि प्राविधिक त्रिपाठीले जानकारी दिनुभयो ।

गत वर्ष इच्छाकामनाका किसानले सुन्तलाबाट रुआठ करोड भित्र्याएका थिए । चालु आर्थिक वर्षमा पनि सोही हाराहारीमा आम्दानी हुने अनुमान गरिएको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले माटो परीक्षण तथा चुना वितरण, सुन्तलाको बेर्ना तथा कृषि सामग्री अनुदानमा वितरण, किसानस्तरीय बगैँचा व्यवस्थापन तालिम, सिँचाइका लागि सहयोग, प्राविधिक सेवाहरु उलब्ध गराउँदै आएको छ । गाउँपालिकाले गत वर्ष सुन्तला पकेट क्षेत्र वडा नं ३ स्थित माझ गाउँमा सुन्तला महोत्सव समेत आयोजना गरेको थियो ।

अध्यक्ष गुरुङले भने, ‘यहाँका सुन्तला राजमार्गका पसल र विभिन्न सहरमा पुग्ने गरेको भए पनि इच्छाकामनाको हो भन्ने थाहा थिएन, अहिले इच्छाकामनाको सुन्तला खोजी हुन थालेको छ ।’

किसानको उत्पादनलाई बजारीकरणमा सहयोग पु¥याउन गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र र भण्डारणका लागि चिस्यान केन्द्रसमेत निर्माण गरेको अध्यक्ष गुरुङले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register