लगानी मैत्री वातावरण तयार गर्न सरकारले ठोस कदम चालेको छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा अहिले लगानीमैत्री वातावरण तयार भएको बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले बिहीबार दाङमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशको आर्थिक अवस्था पनि क्रमशः सुधार हुँदै गएको बताए । पोखरेलले निजी क्षेत्रलाई आत्मविश्वासका साथ लगानी गर्न आग्रह गरे । मूल्यवृद्धि घटेको, बैंँकको ब्याजदर कम भएको, […]

Jan 17, 2025 - 10:19
 0
लगानी मैत्री वातावरण तयार गर्न सरकारले ठोस कदम चालेको छ : महासचिव पोखरेल

काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा अहिले लगानीमैत्री वातावरण तयार भएको बताएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले बिहीबार दाङमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशको आर्थिक अवस्था पनि क्रमशः सुधार हुँदै गएको बताए । पोखरेलले निजी क्षेत्रलाई आत्मविश्वासका साथ लगानी गर्न आग्रह गरे ।

मूल्यवृद्धि घटेको, बैंँकको ब्याजदर कम भएको, विदेशी मुद्रा सञ्चिति बढेको, राजस्व सङ्कलन सुधार भएको र अर्थतन्त्र उल्लेखनीय सुधार भएको पोखरेलले सुनाए । यस्तो अवस्थामा पनि व्यवसायीहरू अझै उत्साहित हुन नसकेका भन्दै उनले चिन्ता व्यक्त गरे ।

घोराही–तुलसीपुर सडक विस्तारको कामलाई सरकारले बजेट सुनिश्चित गरेर अघि बढाएको जानकारी दिँदै उनले फोर लेन सडक निर्माणको कामले उपलब्धि हासिल गर्दै अघि बढिरहेको बताए।

लमही–घोराही सडक विस्तारका लागि डिटेल प्रोजेक्ट रिपोर्ट तयार भइरहेको जानकारी दिँदै उनले आगामी आर्थिक वर्षमा यसको टेण्डर प्रक्रिया सुरु हुने जानकारी दिए । मसोट खोला क्षेत्रमा वैकल्पिक मार्ग निर्माण गरी आउने र जाने दुईवटा पुल निर्माण गरिने योजना पनि उनले सुनाए । यसले व्यावसायिक क्षेत्रमा सहयोग गर्ने पोखरेलले धारणा राखे ।

टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि डिटेल प्रोजेक्ट रिपोर्ट तयार भइसकेको र विमानस्थललाई थप व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइरहेको उनले बताए ।

पोखरेलले दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा प्राप्तिको नीतिगत निर्णय मन्त्रिपरिषद्ले गरिसकेको उल्लेख गर्दै अब जग्गा नामसारीका लागि पहल गर्नुपर्ने र त्यसपछि डीपिआर निर्माण हुने जानकारी दिए । दाङमा इन्धन डिपो स्थापना गर्ने प्रक्रिया अघि बढेको र यसले पेट्रोल पम्पहरूले नेपालगन्जबाट इन्धन ल्याउनु पर्ने बाध्यता अन्त्य गर्ने पनि उनले बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासलाई विशेष प्राथमिकता दिँदै शैक्षिक कार्यक्रम सुरु भएसँगै शिक्षा र स्वास्थ्य सेवामा ठूलो उपलब्धि प्राप्त भएको उनले बताए । उनले ४ सय शय्याको भवन निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै केही वर्षभित्र प्रतिष्ठानले उल्लेखनीय सुधार गर्ने विश्वास व्यक्त गरे ।

भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि ल्याइएको अध्यादेशबारे चर्चा गर्दै उनले अध्यादेशले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्ने बताए । सार्वजनिक सेवा प्रभावकारी बनाउन र लगानी मैत्री वातावरण तयार गर्न सरकारले ठोस कदम चालेको उनले बताए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरी, संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठलगायतले बोलेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register