पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको लागि पूर्वाधार निर्माण गरिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पर्यटकको बसाइँ र खर्च बढाउने पूर्वाधारहरू निर्माण गरिनुपर्ने बताएका छन् । नेपाल आउने विदेशी पर्यटकको औषत खर्च तथा बसाइँ निकै कम रहेको उल्लेख गर्दै उनले त्यसलाई बढाउने खालका ठूला पूर्वाधारहरू निर्माण गरिनुपर्ने बताएका हुन् । शनिबार कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा आईएमई ग्रुपले निर्माण […]

Dec 28, 2024 - 12:57
 0
पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको लागि पूर्वाधार निर्माण गरिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पर्यटकको बसाइँ र खर्च बढाउने पूर्वाधारहरू निर्माण गरिनुपर्ने बताएका छन् । नेपाल आउने विदेशी पर्यटकको औषत खर्च तथा बसाइँ निकै कम रहेको उल्लेख गर्दै उनले त्यसलाई बढाउने खालका ठूला पूर्वाधारहरू निर्माण गरिनुपर्ने बताएका हुन् ।

शनिबार कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा आईएमई ग्रुपले निर्माण गर्ने जालपादेवी केबलकार शिलान्यास समारोहमा अध्यक्ष ढकालले मुलुकमा पर्यटन पूर्वाधारको कमी रहेकाले आफूहरूले सातै प्रदेशमा यस्ता पूर्वाधार बनाइरहेको बताए ।

‘अहिले मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । नेपाल आउने विदेशी पर्यटकको औषत खर्च तथा बसाइँ निकै कम छ । र, यो प्रतिदिन झन् घट्दो छ । विदेशी पर्यटकहरू औषत १२ दिन नेपाल बस्ने र दैनिक औषत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्यांक छ’, ढकालले भने, ‘हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरूको नेपाल बसाइँ र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरू निर्माण गर्नुपर्नेछ । संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक भूगोलको अवलोकन लागि नेपालमा पर्यटक आउने गर्छन् ।’

पर्यटन पूर्वाधारको विकासमार्फत जनजनलाई जोड्दै, मुलुकको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको बाटो पहिल्याउने दृढ संकल्प र उच्च उद्देश्यसहित आईएमई समूहले सातवटै प्रदेशमा केबलकारसहितको होटल तथा रिसोर्ट निर्माणमा लागिरहेको ढकालले बताए ।

‘यसै सिलसिलामा हामीले काठमाडौंको चन्द्रागिरि र पूर्वी नवलपरासीको गैँडाकोटमा मौलाकाली केबलकार, होटल तथा रिसोर्ट र अन्य मनोरञ्जनात्मक पूर्वाधारसहितको गन्तव्य सञ्चालनमा ल्याइसकेका छौं’, ढकालले थपे, ‘रुपन्देहीको बुटवलमा केबलकार सञ्चालनमा आइसकेको छ भने पाँचतारे होटलसहित अन्य पूर्वाधार निर्माणको क्रममा रहेको छ । त्यसैगरी ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि केबलकर निर्माणको काम अघि बढेको छ ।’
चन्द्रागिरिमा बनेको विशाल पूर्वाधारले ५ सय प्रत्यक्ष नयाँ रोजगारी मात्र सिर्जना नगरेर समग्र चन्द्रागिरि र यसको वरिपरि आमूल परिवर्तन ल्याएको ढकालको दाबी छ ।

‘दैनिक औषत ३ हजार हाराहारीमा मानिसको आवातजावात हुँदा आर्थिक क्रियाकलाप बढेका छन् । स्थानीयको व्यवसायमा उल्लेखनीय वृद्धि भएको छ । उनीहरूको जीवनस्तरमा सुधार आएको छ’, अध्यक्ष ढकालले भने, ‘चन्द्रागिरि स्वदेशी तथा विदेशी पर्यटककै एउटा नवीन र आकर्षक गन्तव्य बनेको छ । नेपाल भ्रमणमा आउने उच्च विदेशी पाहुनाका लागि थप एक दिन बिताउने गन्तव्य बनेको छ । बालबच्चादेखि जेष्ठ नागरिकसम्मलाई एकपटक पुग्नै पर्ने पर्यटकीय गन्तव्यको रूपमा चन्द्रागिरि रहेको छ ।’

बुटवल र गैँडाकोटमा पनि चन्द्रागिरिजस्तै सयौं स्थानीयले रोजगारी पाएका ढकालले बताए । केबलकारपछि बुटवल र गैँडाकोटमा आर्थिक गतिविधि विस्तार भएका भएका, स्थानीय, भारतीय र अन्य विदेशी पर्यटकलाई नयाँ गन्तव्य बनेको ढकालले उल्लेख गरे ।

‘हामीले चन्द्रागिरिकै मोडलमा सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको विशाल पर्यटन पूर्वाधार निर्माणको उद्देश्य लिएर अगाडि बढेका छौं’, ढकालले भने, ‘यो हाम्रो प्रयासबाट नेपाल आउने पर्यटकको बसाइँ कम्तिमा ७ दिन लम्बियोस् भन्ने हाम्रो उद्देश्य हो ।’

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको संगमस्थल कर्णाली चिसापानीमा शनिबार शिलान्यास भएको जालपादेवी केबलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवर्द्धन, आर्थिक विकास र समृद्धिमा कोशेढुङ्गा सावित हुनेमा आफूहरू विश्वस्त रहेको ढकालले बताए ।

पर्यटकीय पूर्वाधारको निर्माणमा सरकारले निजी क्षेत्रलाई जतिधेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ, त्यति नै छिटो देशको विकास हुनने ढकालले बताए ।

‘हामीलाई प्रकृतिले अपार बरदान दिएको छ । पर्यटन, प्रकृति र पर्यावरणमा हामीले गर्नसक्ने सम्भावना अनगिन्ती छन् । त्यसमा हामीले हाम्रो भिजन र इच्छाशक्ति मिसायौं, प्रविधि र पुँजी जोड्न सक्यौं भने साँच्चिकै मिराकल गर्न सकिन्छ भन्ने मेरो विश्वास छ’, ढकालले भने, ‘निजी क्षेत्र निश्चय पनि यो मुलुकको विकास र परिवर्तनमा यस्तै मिराकल ल्याउन सक्षम छ । हामीले पटकपटक यसको पुष्टि पनि गर्दै आएका छौं । अनुकूल वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो ।’

हरेक प्रदेश तथा स्थानीय तहले आफ्नो क्षेत्रमा लगानी भित्र्याउन प्रतिस्पर्धा गर्नुपर्ने ढकालको भनाइ छ । त्यसका लागि प्रदेश र स्थानीय तहबीच लगानीकर्ताहरूलाई सम्भावित आयोजनामा लगानीका लागि आह्वान गर्ने, ठोस र व्यवहारिक नीतिमार्फत सहजीकरण गर्ने र आफ्नो प्रदेश तथा स्थानीय तहमा धेरै भन्दा धेरै लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ छ ।

‘तब मात्र हामीले अपेक्षा गरेको आर्थिक विकास र समृद्धि हासिल गर्न सक्छौं’, अध्यक्ष ढकालले भने

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register