गर्भनरका लागि काङ्ग्रेस र एमाले दुवैको आँखामा परेका ढुङ्गाना

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल सकेर आउँदो चैत २५ गतेदेखि बिदा हुँदैछन् । तर, उनको उत्तराधिकारी को हुन्छ भन्ने अझै यकिन भइसकेको छैन । नेपाल राष्ट्र बैङ्क ऐन, २०५९ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्छ । सिफारिस समितिमा पूर्व गभर्नरहरुमध्येबाट एक […]

Mar 1, 2025 - 10:43
 0
गर्भनरका लागि काङ्ग्रेस र एमाले दुवैको आँखामा परेका ढुङ्गाना

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल सकेर आउँदो चैत २५ गतेदेखि बिदा हुँदैछन् । तर, उनको उत्तराधिकारी को हुन्छ भन्ने अझै यकिन भइसकेको छैन ।

नेपाल राष्ट्र बैङ्क ऐन, २०५९ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्छ । सिफारिस समितिमा पूर्व गभर्नरहरुमध्येबाट एक जना र आर्थिक, मौद्रिक, वित्तीय तथा व्यवस्थापन क्षेत्रका विज्ञहरूमध्येबाट एक जना रहन्छन् ।

समितिले गभर्नरको नियुक्तिको लागि आर्थिक, मौद्रिक, बैङ्किङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुनका लब्ध प्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्‌मा सिफारिस गर्नुपर्छ । तीमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर पदमा नियुक्त गर्छ ।

हाल अर्थमन्त्री र प्रधानमन्त्री एउटै दल नेकपा एमालेका छन् । तर, नेपाली काङ्ग्रेसको समर्थनमा यो सरकार बनेकाले एमालेले एकलौटी गर्न सक्ने अवस्था छैन । एमाले र काङ्ग्रेसबीच केही महत्त्वपूर्ण पदमा भागबन्डा गर्ने सम्भावना देखिएको छ ।

धितोपत्र बोर्ड र बीमा प्राधिकरणमा क्रमशः एमाले र काङ्ग्रेसले भागबन्डा गरेका छन् । यस्तै, राष्ट्र बैङ्कको गभर्नर र नेपाल प्रहरीको महानिरीक्षकमा पनि यसैगरी भागबन्डा हुन सक्नेछ ।

राष्ट्र बैङ्कको गभर्नर बन्न इच्छुक कम्तीमा दर्जन जति देखिएका छन् । राष्ट्र बैङ्ककै डेपुटी गभर्नरदेखि कार्यकारी निर्देशक र पूर्वकार्यकारी निर्देशक दौडमा छन्  । यस्तै, निजी र सरकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृतले पनि चासो देखाएका छन् ।

दुई जना डेपुटी गभर्नरमध्येबाट नीलम ढुङ्गानाको नाम अगाडि देखिन्छ । यसअघि नेपाली काङ्ग्रेस र माओवादीको गठबन्धन सरकारले अधिकारीलाई निलम्बन गर्दा नीलमलाई नै कायम कायममुकायम गभर्नर तोकेको थियो । उनलाई राष्ट्र बैङ्कका कर्मचारीहरू भने एमालेनिकट मान्छन् ।

राजनीतिक रूपमा अर्का बलिया दाबेदारमा प्रकाश श्रेष्ठलाई लिइएको छ । उनी अर्थमन्त्री विष्णु पौडेलका निकटका रूपमा चिनिन्छन् । पौडेल अर्थमन्त्री हुनासाथ श्रेष्ठले केही न केही नयाँ अवसर पाइहाल्छन् । यसअघि अर्थमन्त्रीकै सल्लाहकार भइसकेका उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य छन् । उनी राष्ट्र बैङ्ककै कार्यकारी निर्देशकबाट अवकाश पाएका व्यक्ति हुन् । यसैले अर्थमन्त्रीको सिफारिसमा उनी नछुट्ने प्रबल सम्भावना छ । श्रेष्ठले पनि पनि राष्ट्र बैङ्कको संरचनालाई सहज र प्रभावकारी रूपमा सञ्चालनका आधार पेस गर्न सकेका छैनन् ।

राष्ट्र बैङ्ककै पूर्वनिर्देशक ज्ञानेन्द्र ढुङ्गानाको नाम पनि चर्चामा छ । राष्ट्र बैङ्कभित्र र बाहिर पनि उनले कार्य अनुभव बटुलेका छन् । गर्भनरमा राजनीतिक भागबन्डा हाबी नभएको परिस्थितिमा ढुङ्गानाको सम्भावना बलियो छ ।

ढुङ्गाना हाल नबिल बैङ्कको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । ढुङ्गानाले यसअघि नेपाल बङ्गलादेश बैङ्क, एनसीसी बैङ्कको व्यवस्थापकीय नेतृत्व सम्हालेका थिए ।

नेपाल बङ्गलादेश बैङ्कको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म काम गरेका ढुङ्गानाले उक्त बैङ्कलाई नबिलमा गाभेका थिए । उनले कुशल ढङ्गले कर्मचारी समायोजन गरेका थिए । ढुङ्गानासँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रका साथै बैङ्किङ क्षेत्रको विज्ञता छ । विषम अर्थतन्त्रलाई नीतिगत र व्यवहारिक ढङ्गबाट सम्हाल्ने क्षमता ढुङ्गानासँग छ । पेसाले चार्टर्ड एकाउन्टेन्ट ढुङ्गानाले पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैङ्किङ लगानीको क्षेत्रमा दखल राख्छन् ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन गरेका ढुङ्गानालाई भारतीय अर्थतन्त्रको पनि विशेष जानकार मानिन्छ । मुलुकको अर्थतन्त्र तथा मौद्रिक नीति भारतीय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएकाले उनको विशेषज्ञता अर्थतन्त्र चलायमान बनाउन फलदायी हुनेछ ।

खुला र लोकतान्त्रिक मूल्य मान्यताका हिमायती ढुङ्गानालाई नेपाली काङ्ग्रेसको नेतृत्व पङ्क्तिले राम्रै पत्याएको देखिन्छ भने एमालेका निम्ति पनि उत्तिकै स्वीकार्य हुने सम्भावना छ । त्यसैले ज्ञानेन्द्र ढुङ्गानाको पल्ला भारी हुने सम्भावना बढ्दै गएको छ ।

नेपाल व्यवस्थापन सङ्घद्वारा म्यानेजर टु वाच अवार्ड र म्यानेजर अफ द इयर अवार्ड विधामा उनी सम्मानित भएका छन् । नेपालका वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स सङ्घको अध्यक्षका रूपमा सिङ्गो राष्ट्रकै बैङ्किङ क्षेत्रको नेतृत्वको अनुभव उनीसँग छ ।

राष्ट्र बैङ्कसँगै निजी क्षेत्रको पनि अनुभव भएका ढुङ्गाना नियामक निकायको नेतृत्वमा पुग्दा बैङ्किङ क्षेत्रसँगै मुलुकको अर्थतन्त्रलाई लाभ पुग्ने अपेक्षा धेरैको छ ।  सबैलाई समेटेर लैजान सक्ने उच्च व्यावसायिकता भएको व्यक्ति अहिलेको आवश्यकता हो । निष्पक्ष भएर राम्रोलाई पुरस्कृत गर्ने र गलतलाई दण्डित गर्ने क्षमता र साहस गर्भनरमा हुनुपर्छ । दबाब र प्रभावबाट मुक्त हुने क्षमता राख्नुपर्दछ । मुलुकको अर्थ व्यवस्थासम्बन्धी राम्रो ज्ञान, व्यावसायिक दक्षता र भविष्यका लागि कुनै लोभ लालच नभएको व्यक्तिलाई नयाँ गभर्नर नियुक्त गर्नुपर्छ ।

केवल राष्ट्र बैङ्कको साँघुरो घेरामा बसेको जागिरे होइन, मौद्रिक बजारको फराकिलो समुद्रमा पौडी खेलेको, विविध क्षेत्रसँग परिचित भएको र निजी क्षेत्रसँगै राष्ट्रिय आवश्यकताको भावनालाई बुझ्ने व्यक्ति गभर्नर हुनुपर्छ । सरकारले गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउँदा फराकिलो दायराबाट उम्मेदवारको खोजी गर्नुपर्छ । राष्ट्र बैङ्कको प्रभावकारिता, बैङ्किङ र मौद्रिक क्षेत्रको नियमन र सबलीकरणका साथै राष्ट्रकै साख उँचो बनाउन सक्ने व्यक्तित्वलाई छनोट गर्नुपर्छ । सबै मापदण्डमा ढुङ्गाना अब्बल ठहरिन सक्ने प्रशस्त आधार रहेको बैङ्किङ क्षेत्रको विश्वास छ ।

मौद्रिक नीति तयार गरी कार्यान्वयन गर्नु र सरकारको आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नु पनि गभर्नरको मुख्य दायित्व हो । देशमा वित्तीय स्थायित्व कायम राख्न, मूल्यवृद्धि नियन्त्रण गर्न, अधिकतम आर्थिक वृद्धि प्राप्त गर्ने मौद्रिक नीति परिचालन गर्न, बैङ्क तथा वित्तीय संस्थाहरूको नियमन तथा सुपरिवेक्षण गरी आवश्यक कारबाही गर्न र मुलुकमा लगानीको वातावरण तयार गर्न मुख्य भूमिका गभर्नरले खेल्न सक्छ । जुन कुनै मन्त्री र सरकार आए पनि सरकारको नीतिलाई सघाउने र विशुद्ध व्यावसायिक सल्लाह दिने गभर्नरको आवश्यकता छ । राष्ट्रिय ढुकुटीको साँचो हातमा लिएर बस्ने व्यक्तिमा इमानदारिता अनि बेदाग छवि त हुनु आवश्यक छँदै छ, साथसाथै राष्ट्रको आवश्यकताअनुसार केही गर्ने हुटहुटी पनि हुनुपर्छ ।

नेपाल राष्ट्र बैङ्कका करिब १४ सय कर्मचारीलाई स्मार्ट तरिकाले परिचालन र नेतृत्व गर्न सक्ने खुबी पनि नयाँ आउने गभर्नरमा हुनुपर्नेछ । साथै राजनीतिक नेतृत्वसँग समन्वय गर्न सक्ने खुबी र पहुँच पनि गभर्नरमा हुनु आवश्यक हुन्छ । खुला र लोकतान्त्रिक मूल्य मान्यताका हिमायती ढुङ्गानालाई नेपाली काङ्ग्रेसको नेतृत्व पङ्क्तिले राम्रै पत्याएको देखिन्छ भने एमालेका निम्ति पनि उत्तिकै स्वीकार्य हुन सक्छन् । त्यसैले ज्ञानेन्द्र ढुङ्गानाको पल्ला भारी हुने सम्भावना बढ्दै गएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register