चीनले ब्रह्मपुत्रमा संसारकै ठूलो परियोजना बनाउँदै, भारत र बङ्गलादेशमा चिन्ता, नेपालमा पनि पर्नेछ प्रभाव

यो आयोजना निर्माणमा चीनले आजसम्म हासिल गरेका सबै उच्च गुणस्तरीय प्रविधि र राष्ट्रिय क्षमतास्तरको प्रयोग हुनेछ । तिब्बतमै त्यति विशाल परियोजना सुरु भएपछि नेपालको उत्तरतर्फ जलविद्युत निर्यातको सपना अब तुहिन सक्नेछ । 

Dec 29, 2024 - 10:03
 0
चीनले ब्रह्मपुत्रमा संसारकै ठूलो परियोजना बनाउँदै, भारत र बङ्गलादेशमा चिन्ता, नेपालमा पनि पर्नेछ प्रभाव

काठमाडौं गत हप्ता बुधबार चिनियाँ सरकारले ब्रह्मपुत्र नदीको पूर्वी तिब्बत खण्डमा संसारकै सबैभन्दा ठूलो बाँध र जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । चीन सरकारको यो निर्णयले विश्वव्यापी चर्चा मात्र पाएको छैन, भारत र बङ्गलादेशमा तल्लोतटीय अधिकारलाई लिएर व्यापक चिन्ता उत्पन्न भएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार चीन सरकार ‘यारलुङ जाम्बो’ नदीमा वार्षिक ३०० बिलियन किलोवाट क्षमताको जलविद्युत आयोजना बनाउने निर्णयमा पुगेको हो । ब्रह्मपुत्र नदीलाई तिब्बतमा ‘यारलुङ जाम्बो’ भनिन्छ । यो आयोजनाको लागत १३७ बिलियन अमेरिकी डलर बराबर हुने बताइएको छ ।

ब्रह्मपुत्रमा ठूलो बाँध र जलविद्युत आयोजना बनाउनेबारे चीनमा दशक अघिबाट चर्चा सुरु भएको थियो । सन् २०१५ बाट यसको सम्भाव्यता अध्ययनलाई तीव्र पारिएको थियो । सन् २०२१ मा चिनियाँ जनकाङ्ग्रेसबाट यस सम्बन्धी प्रस्ताव पारित गरिएको थियो । यसलाई चिनियाँ सरकारको १४ औं पञ्चवर्षीय योजनाभित्रको सबैभन्दा ठूलो र महत्वाकाङ्क्षी आयोजनाका रुपमा हेरिएको थियो ।

सिन्ह्वाका अनुसार यो आयोजना निर्माणमा चीनले आजसम्म हासिल गरेका सबै उच्च गुणस्तरीय प्रविधि र राष्ट्रिय क्षमतास्तरको प्रयोग हुनेछ । साथै, आयोजनाले नवीकरणीय हरित उर्जा विकास, कार्बन कटौती र विश्व जलवायु परिवर्तन अनुकूलनमा समेत उल्लेखनीय योगदान गर्ने चिनियाँ सरकारको विश्वास छ । परियोजनाको वरिपरिको परिवेश र वातावरणबाट सौर्य र वायु उर्जाको समेत व्यापक उपयोग हुने बताइएको छ ।

यसले ‘सिजाङ’ स्वायत्त प्रदेशको आर्थिक विकास र गरिबी निवारणमा यसले उल्लेखनीय भूमिका खेल्ने विश्वास गरिएको छ । ‘सिजाङ’ चीन सरकारले सन् २०२१ यता औपचारिक प्रयोग गर्न थालेको तिब्बत स्वायत्त प्रदेशको चिनियाँ नाम हो ।

कस्तो नदी हो ब्रह्मपुत्र ?

ब्रह्मपुत्र विश्वकै सबैभन्दा अग्लो भूभागबाट बग्ने संसारको ९ औं ठूलो र १५ औं लामो नदी हो । यसको उत्पत्ति कैलाश पर्वतको मानसरोवरबाट हुन्छ । समुद्र सतहबाट औसत ५००० मिटर उचाइको तिब्बती पठार हुँदै यो पूर्वतिर बग्दछ । तिब्बतको पूर्वी क्षेत्रबाट भारतको अरुणाञ्चल प्रदेश, असम हुँदै बङ्गलादेश भएर यो नदी बङ्गालको खाडीमा मिसिन्छ ।

यो करिब ३००० किमि लामो बग्छ । यसलाई तिब्बतमा ‘यारलुङ जाम्बो’, भारतमा ब्रह्मपुत्र, आसामी भाषामा ‘लोहित’, अरुणाञ्चल प्रदेशको स्थानीय भाषामा ‘दिहाङ’, बङ्गलादेश प्रवेश गर्दा ‘जमुना’ भनिन्छ । अन्ततः यो गङ्गा नदीसँग मिसिएर बङ्गालको खाडीमा प्रवेश गर्दछ ।

यसर्थ ब्रह्मपुत्र चीन, भारत र बङ्गलादेश हुँदै बग्ने त्रिदेशीय नदी हो । यो चीनको दक्षिणी र भारतको उत्तरी भूभाग हुँदै बग्दछ । चीनले सन् २०२१ यता भारतको अरुणाञ्चल प्रदेशका धेरै भूभागलाई समेत आफ्नो औपचारिक नक्साभित्र समेटेर ‘दक्षिणी सिजाङ’ अर्थात् ‘दक्षिण तिब्बत’ भन्ने गरेको छ ।

अहिलेसम्मको ठूलो बाँध पनि चीनमै

संसारको अहिलेसम्मको सबैभन्दा ठूलो बाँध र जलविद्युत परियोजना पनि चीनमै छ । मध्य चीनको हुवेई प्रदेशमा याङ्त्से नदीमा बनाइएको ‘थ्रि गर्जेज बाँध’ को विद्युत उत्पादन क्षमता वार्षिक ८८.२ बिलियन किलोवाट हो ।

चीन सरकारले यो बाँध सन् २००६ मा निर्माण पूरा गरेको थियो । निर्माणस्थल र सन् २००८ को भुकम्पको प्रभाव समेत गणना गर्दा यो बाँधबाट ४ करोडभन्दा बढी जनता विस्थापित भएका थिए ।

सन् २०१२ देखि यसको पावर हाउसले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न थालेको हो । यसको लम्बाइ २ हजार ३३५ मिटर, उचाइ १८१ मिटर र चौडाइ ११५ मिटरको जगबाट ४० मिटरको टप बनेको छ । यसको लागत ३४.८३ बिलियन अमेरिकी डलर बराबर थियो । प्रस्तावित नयाँ बाँध भने थ्रि गर्जेज भन्दा ३ गुणाभन्दा पनि ठूलो हुनेछ ।

भूरणनीतिक बिन्दु

चीनले बनाउन लागेको संसारकै सबैभन्दा ठूलो बाँधको निर्माणस्थल भौगर्भिक र भूराजनीतिक दृष्टिले असाध्यै संवेदनशील हो । यो त्यो ठाउँ हो जहाँबाट ब्रह्मपुत्र नदीले पूर्व दिशाको बहाव परिवर्तन गरी दक्षिण मोडिन्छ र उच्च हिमाली क्षेत्रबाट हिमालयपार दक्षिणी क्षेत्रमा प्रवेश गर्ने मोड लिन्छ ।

यो स्थलमा संसारकै गहिरा गल्छी छन् । यहाँनेर करिब ३००० मिटरको तीव्रतम ओरालो बहाव हुने मानिएको छ । ‘वाटर : एसियाज न्यु ब्याटल ग्राउन्ड’ का लेखक ब्रह्म चेलानीकाअनुसार यो त्यस्तो बिन्दू हो, जहाँ बाँध फुट्ने समस्या आएमा पानीको बहावले तल्लो तटीय क्षेत्रमा ‘वाटर बम’ को जस्तो काम गर्ने छ ।

भूकम्पीय जोखिमको प्रश्न 

यो बाँधको निर्माणस्थल भूकम्पीय दृष्टिले पनि जोखिमपूर्ण हुने भूगर्भविद्हरूको भनाइ छ । किनकि यो इन्डियन र युरेसियन टेक्टोनिक प्लेटको जोड्नी बिन्दु हो । यस्तो क्षेत्रमा ठूलो जनघनत्वको रिजर्भ वायर बनाउँदा टेक्टोनिक दबाब बढ्ने र भूकम्प छिटछिटो जान सक्ने भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

तल्लो तटीय प्रभावको चिन्ता

बाँध निर्माणपछि ब्रह्मपुत्रको जल प्रणाली र प्रवाहमा चीनको नियन्त्रण हुनेछ जबकि यो त्रिदेशीय नदी हो । बाँध निर्माणपछि भारत र बङ्गलादेशको वातावरण र जलसम्पदामा कस्तो असर पर्छ भन्नेबारे उठेका प्रश्नको चीन सरकारले कुनै उत्तर दिएको छैन ।

भारतको कुल जलसम्पदामा ब्रह्मपुत्रको ३० प्रतिशत योगदान हुन्छ । ब्रह्मपुत्र करिडोरमा भारतले विभिन्न साना आयोजना निर्माण गर्ने सोच बनाइरहेको थियो । यसमा पर्नसक्ने प्रभाव केलाउँदै विज्ञले तल्लो तटीय अधिकारको प्रश्न उठाइरहेका छन् ।

ब्रह्मपुत्र किनाराको सभ्यता, स्थानीय जनजातीय समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा पर्न सक्ने असर, नदी प्रणाली, जीवजन्तु, वनस्पति र जैविक विविधतामाथिका दबाबबारे चिन्ता व्यक्त गरिँदैछ ।

ठीक यही प्रकारको चिन्ता बङ्गलादेशमा समेत सुरु भएको छ । भारत र बङ्गलादेशका सञ्चारमाध्यम र जलस्रोत विज्ञले तल्लोतटीय अधिकार सुरक्षित नभए अन्तर्राष्ट्रिय जल कानुनअनुरूप चीनविरुद्ध प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् । यद्यपि, दुवै देशका सरकारले यसबारे औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरिसकेका छैनन् ।

नेपाललाई पनि पर्न सक्छ प्रभाव

चीनको यो महत्वाकाङ्क्षी महापरियोजनाको असर नेपाललाई मूलतः दुई वटा कोणबाट पर्न सक्ने देखिन्छ । भारत–चीनबीचको परम्परागत प्रतिस्पर्धा र तनावमा ब्रह्मपुत्र जलविवाद थपिएमा नेपालको भूराजनीतिक संवेदनशीलता झनै पेचिलो हुन सक्ने छ ।

यसले दुई देशका सुरक्षा चासो र स्वार्थहरूको सन्तुलन गर्न नेपाललाई झन् कठिन हुन सक्दछ ।

दोस्रो–नेपालले उत्तरतर्फ पनि अन्तर्देशीय प्रसारणलाइन निर्माण गरी चीनतर्फ विद्युत निर्यात गर्नसक्ने जुन सोचसहित गल्छी–रसुवागढी प्रसारण लाइन बीआरआईमा प्रस्ताव गरेको थियो, त्यसको सम्भावना कमजोर हुनेछ ।

चीनले उत्तरी छिमेकी प्रदेश तिब्बतमै त्यति विशाल जलविद्युत परियोजना सुरु गरेपछि नेपालको उत्तरतर्फ जलविद्युत निर्यातको सपना अब तुहिन सक्नेछ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register