महिला सांसदहरूको गुनासो– हामीले बोल्दा समाचार बन्दैन

काठमाडौं । आमसञ्चार माध्यमले आफूहरूलाई विभेद गर्ने गरेको गुनासो सङ्घीय संसद्का महिला सांसदहरूले गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सदस्यहरूले संसद्मा सार्वजनिक महत्वका मुद्दा उठान गर्दा मिडिया कभरेजमा विभेद हुने गरेकाले लैङ्गिक संवेदनशील हुन पत्रकारहरुलाई सुझाव दिए । सोमबार काठमाडौंमा आयोजित लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङसम्बन्धी अन्तरक्रियामा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी […]

Jan 7, 2025 - 00:35
 0
महिला सांसदहरूको गुनासो– हामीले बोल्दा समाचार बन्दैन

काठमाडौं । आमसञ्चार माध्यमले आफूहरूलाई विभेद गर्ने गरेको गुनासो सङ्घीय संसद्का महिला सांसदहरूले गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सदस्यहरूले संसद्मा सार्वजनिक महत्वका मुद्दा उठान गर्दा मिडिया कभरेजमा विभेद हुने गरेकाले लैङ्गिक संवेदनशील हुन पत्रकारहरुलाई सुझाव दिए ।

सोमबार काठमाडौंमा आयोजित लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङसम्बन्धी अन्तरक्रियामा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी पन्तले महिला सांसदलाई पुरुष सांसदको विकल्पको रुपमा व्यवहार गरिनु विभेद भएको बताइन् ।

‘महिला सांसदले बोल्दा समाचार बन्दैन,’ सांसद पन्तले भनिन्, ‘धेरै सांसदलाई बैठक सकेर चिया खाजा खाने भलाकुसारी गर्ने समय हुन्छ । महिला सांसदहरू बैठक सकेर घर पुगेर लुगा फेर्न नपाउँदै भान्छा पस्नुपर्छ । ९९ प्रतिशत महिला सांसदको समस्या हो यो ।’

उनले पत्रकारसँगको अनुभव सुनाउँदै राष्ट्रियसभालाई कम महत्त्वमा राखिएको गुनासो गरिन् । ‘सञ्चार माध्यमले महिला सांसदहरूलाई विकल्पको रुपमा प्रयोग गर्नुहुन्छ । पुरुष सदस्यले नभ्याएमा मात्र महिला सदस्यलाई सूचनाको लागि सम्झिनुभएको मसँग प्रशस्त अनुभव छ,’ उनले भनिन्, ‘अझ राष्ट्रियसभाका सदस्यले महत्त्वपूर्ण विषयमा छलफल गर्दा समाचारको विषय बन्दैन । कभरेज नै हुदैन ।’

संसदीय सुनुवाई समिति (संयुक्त समिति)की सभापति ईश्वरीदेवी न्यौपानेले पनि समान अनुभव सुनाइन् । ‘संसद्मा महिला सांसदले गर्नुभएका राम्रो अभ्यासको कथा खै त आमसञ्चारले भनेको ?,’ उनले प्रश्न गरिन् ।

अन्तरक्रियामा राष्ट्रियसभा सदस्य जयन्ती राईले पुरुष सांसद पत्रकारको प्राथमिकतामा पर्नुका कारण जिम्मेवारी र पद पनि भएको भनाइ राखिन् । ‘आमसञ्चार माध्यमबाट हामीलाई विकल्पको रुपमा लिइन्छ । महिला सदस्यको समाचारलाई धेरै बाइपास गरियो,’ उनले भनिन्, ‘भूमिका र जिम्मेवारीले पनि पछि परिने रहेछ । पार्टीभित्र जिम्मेवारी पाउँदै जाँदा हाम्रो आवाज स्वतः बुलन्द बन्छ ।’

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको संसदीय दलको सचेतक सुशीला थिङले पत्रकारले महिला सदस्यहरूले उठान गरेको सार्वजनिक महत्त्वको विषयलाई कभरेज दिन सुझाव दिइन् ।

प्रतिनिधिसभा सदस्य रोशन कार्कीले पत्रकारले महिला सांसदलाई गर्ने व्यवहार समान नभएको जिकिर गरिन् । सांसद कार्कीले भनिन्, ‘महिला सांसदसँग समाचार हुन्छ । महिलाहरुसँग प्रश्न किन नगर्ने ? संसदमा उपलब्ध समयमा महिला सांसदहरू बोल्नुहुन्छ । तर समाचार बन्दैन ।’

राष्ट्रियसभाको सदस्य मदनकुमारी शाह (गरिमा)ले महिला सांसदहरू अध्ययनशील हुनुपर्नेमा जोड दिइन् । प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीले पार्टी र नेताभन्दा जनतासँग सरोकारका विषयमा प्रश्न गर्न पत्रकारसँग अनुरोध गरिन् । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register