ईश्वर मरेको घोषणा गर्ने दार्शनिक, जो आफैँ दुई पटक मरे

आज पनि संसारमा धेरै मान्छे यो विश्वास गर्दछन् कि हिटलर र मुसोलिनीका दार्शनिक गुरु नित्से नै थिए । उनले आफ्नै बारेमा भनेका थिए, 'म मान्छे हैन, डाइनामाइट हुँ, मेरो मस्तिष्कमा सधैँ विचारको विस्फोट भइरहेको हुन्छ ।'

Jan 11, 2025 - 03:18
 0
ईश्वर मरेको घोषणा गर्ने दार्शनिक, जो आफैँ दुई पटक मरे

के तपाईंले फ्रेडरिक नित्सेको नाम सुन्नु भएको छ ?

यदि दर्शनशास्त्रमा रुचि राख्नुहुन्छ भने पक्कै सुन्नु भएको होला । हो, तिनै महान् दार्शनिक फ्रेडरिक नित्से जसले ‘ईश्वर मरिसक्यो’ भन्ने घोषणा गरेका थिए । तर, उनकै बारेमा पछि मान्छेले यस्तो घोषणा गर्दिए– नित्से आफैँ दुईपटक मरे ।

के एउटै मान्छे दुईपटक मर्न सक्छ ? सक्छ भने कसरी ?

त्यसो त ‘ईश्वर मरिसक्यो’ भन्ने घोषणा पनि त्यस्तै एउटा प्रतिकात्मक कुरा थियो ।

नित्सेले न ईश्वरलाई जिउँदो देखेका थिए न मरेको ईश्वरको लास नै देखेका थिए । नित्सेले मात्र हैन, जिउँदो ईश्वर आजसम्म कसैले पनि देखेको छैन ।

अझ नित्सेले एकपटक यसो पनि भनेका थिए – ईश्वरलाई मैले चक्कु रोपेर मारिदिएँ । ईश्वरको लास मेरो छेउमा भुँईमा ढलेको छ । मेरो चक्कु ईश्वरको रगतले लत्पतिएको छ । कोही धर्मात्मा हुनुहुन्छ यो धर्तीमा, मेरो चक्कुमा लागेको रगत कुन पानीले धुनुहुन्छ ? ईश्वर मारेको अपराधमा मलाई कुन जेल पठाउनु हुन्छ ?

नित्सेका यी भनाइबाट अनुमान गर्न सकिन्छ, उनको तर्क प्रणाली कति बेजोड, बिम्बात्मक र अतिशयोक्तिपूर्ण थियो । उनले आफ्नै बारेमा भनेका थिए, ‘म मान्छे हैन, डाइनामाइट (बारुद) हुँ, मेरो मस्तिष्कमा सधैँ विचारको विस्फोट भइरहेको हुन्छ ।’ ईश्वर मरेको घोषणा त्यस्तै एउटा विचारको विस्फोट थियो ।

सन् १८४४ मा जर्मनीमा जन्मेका नित्से जम्मा ५५ वर्ष बाँचे । उनी सन् १९०० अगष्ट २५ मा बिते । त्यो पनि करिब ६ वर्ष रोगले थला परेर, पक्षघातले हलचल गर्न नसक्ने अवस्थामा । उनको सक्रिय दार्शनिक जीवन त्यति धेरै लामो थिएन । तर, उनले आधुनिक दर्शनशास्त्रमा जुन योगदान गरे, त्यो आफैँमा विचित्रको थियो ।

भनिन्छ – दर्शनशास्त्र सजिलै नबुझिने विषय हो । यो आम पाठक र जनताका लागि रुचिको विषय हैन । तर, नित्सेका बारेमा यो कुरा ठीक उल्टो थियो । उनका विचारको प्रभाव बौद्धिक र प्राज्ञिकबीच कम तर, आम पाठक र नागरिकबीच धेरै पर्दथ्यो ।

नित्से आफ्नो समयमा जर्मनी र युरोपमा यति धेरै लोकप्रिय थिए कि फासीवाद र नाजीवादको उदयको आधार नै उनको दर्शनलाई मानिन्थ्यो ।

यथार्थमा नित्सेलाई न फासीवादका प्रवर्तक बेनिटो मुसोलिनीले भेटेका थिए न नाजीवादका संस्थापक एडल्फ हिटलरले । मुसोलिनी र हिटलरले राजनीति सुरु गर्नु, पार्टी गठन गर्नुभन्दा करिब डेढ दशकअघि नै नित्सेको मृत्यु भइसकेको थियो । तर, आज पनि संसारमा धेरै मान्छे यो विश्वास गर्दछन् कि हिटलर र मुसोलिनीका दार्शनिक गुरु नित्से नै थिए । कतिपयलाई त यो भ्रम छ कि हिटलर र मुसोलिनीले नित्सेबाट शिक्षा पाएका थिए ।

कट्टर इसाई धार्मिक परिवारमा जन्मिएका नित्से किन यति धेरै ‘ईश्वर विरोधी’ भएर निस्के ? यसको कारण थियो । नित्सेका पिता एक पादरी थिए, जसले मानसिक रोगका कारण नित्से ५ वर्षको हुँदै दर्दनाक मृत्युवरण गरेका थिए।

बालक नित्सेलाई लाग्थ्यो – मेरा पिता जो आफैँ ईश्वरका भक्त थिए, यदि ईश्वर जिउँदो छ भने पितालाई त्यसले किन त्यति धेरै दुःख र दर्दनाक मृत्यु दियो ?’

नित्सेलाई आफ्नै माता र बहिनीसँग असाध्यै रिस उठ्थ्यो । नित्से यावत् बन्धनबाट स्वतन्त्रता चाहन्थे । तर, आमा र बहिनी एलिजावेथ भने नित्सेमाथि अधिकार जमाउने र आफूहरूले भने बमोजिम हिँडाउने प्रयत्न गर्थे । यो विरोधाभास नित्सेको निजी तथा पारिवारिक जीवनको त्रासदी थियो ।

नित्सेले विश्वविद्यालय शिक्षामा दर्शनशास्त्र पढे र पछि बसेल विश्वविद्यालयमा दर्शनशास्त्रकै प्राध्यापक बने ।

नित्सेको जीवनमा जब लो आद्रियास सालोमे आइन्, त्यसपछि आमा र बहिनीसँग उनको दूरी झनै बढ्यो । सालोमे आफैँमा एक विचित्रकी युवती थिइन् । उनी दुई पुरुष साथी नित्से र पोल रि सँगै रोममा एउटै कोठामा बस्थिन् । तर, उनले दुवैलाई छोडेर तेस्रो पुरुषसँग विवाह गरिन् ।

नित्से र पोल रि– दुवै मिल्ने साथी थिए, दुवै सालोमेलाई प्रेम गर्थे, दुवै ती युवतीसँग बिहे गर्न चाहन्थे । तर, सालोमेबारे तिनका सोच र परिकल्पनाको कुनै तादम्यता थिएन ।

सालोमे समकालीन युरोपमा एक विचित्रकी ‘किम्वदन्ती महिला’ भएर निस्किइन् । उनले त्यो समयका दर्जनौं प्रतिभाशाली र चर्चित पुरुषसँग सम्बन्ध बनाइन् । आफ्नो वैवाहिक जीवनलाई पनि कायम राखिन् । एक चर्चित लेखिका र दार्शनिकका रुपमा स्थापित भइन् । नित्से र पोल रिका अतिरिक्त मनोविज्ञानका पिता फ्रायड र महाकवि रिल्केसँग पनि उनको अन्तरङ्ग सम्बन्ध रह्यो ।

नित्से, पोल रि र सालोमे, यी ३ को मित्रता भने नित्सेकी आमा र बहिनीकै कारणले भङ्ग भएको थियो । उनीहरूले नित्सेलाई गलत यौन सम्बन्धमा फसाएको आरोपमा सालोमेलाई गालीगलौज र निन्दा गरे । रि र सालोमे नित्सेलाई छोडेर अर्कै शहर गए ।

यसबाट नित्सेलाई झन् गहिरो मानसिक आघात पर्‍यो । उनी झन् उद्धिग्न भए । पछि उनले एक दार्शनिक सिद्धान्त बनाए – नियतिलाई स्वीकार गर अर्थात् ‘एसेप्ट योर रियालिटी ह्वीच क्यान नट चेन्ज ।’

कतिपयलाई नित्सेको यो सिद्धान्त ‘भाग्यवादी’ लाग्न सक्दछ । तर, हैन । उनी ईश्वर, भाग्य, पूर्वजन्म, पुनर्जन्ममा विश्वास गर्दैनथिए । तर, ‘नियति’मा विश्वास गर्थे । ती यथार्थ जसलाई मान्छेले जति प्रयत्न गर्दा पनि बदल्न सक्दैन, त्यसलाई बदल्न खोज्नुभन्दा स्वीकार गरेर बाँच्नु बुद्धिमानी हो भन्ने उनको धारणा थियो ।

अल्वेयर काम्यु र जाँ पौल सत्रको आधुनिक अस्तित्ववाद र विसङ्गतिवादको आधार पनि नित्सेको यही सिद्धान्त हो ।

औसत मान्छे दर्शनशास्त्र भन्नाले सृष्टि र ब्रह्माण्ड, पदार्थ र पराभौतिकबारे गम्भीर तत्व मीमांसालाई बुझ्ने गर्छन् । तर, नित्सेले दर्शनशास्त्रलाई सामान्य मान्छेको जीवन, जीवन प्रक्रिया र आत्मिक उन्नयनसँग जोड्न खोजे । जस्तो कि उनी भन्थे – मान्छे भनेको पशु र अतिमानवबीच एक अध्याँरो खाडलमाथि टाँगेको डोरी हो । मान्छे पशु पनि हुन सक्दछ । मान्छे अतिमानव पनि हुन सक्दछ । मान्छे मान्छेकै रुपमा अँध्यारो खाडलमा खस्न पनि सक्दछ । नित्सेका दार्शनिक सिद्धान्तलाई सरल तरिकाले निम्नानुसार बुझ्न सकिन्छ ।

१. ईश्वर मरिसक्यो (गड इज डेथ) – यो अवधारणाबाट नित्सेले तत्कालीन रुढीवादी इसाई समाजको अन्धविश्वासमाथि कठोर प्रहार गरे । त्यतिखेरको इसाई समाजमा ईश्वर र स्वर्ग प्रतिको धारणा निकै बलियो थियो । उनले यो घोषणामार्फत मानव जीवनमा ईश्वरको कुनै भूमिका नहुने र मृत्युपछि स्वर्ग प्राप्ति पनि नहुने हुँदा ईश्वर र स्वर्गको भ्रमबाट मुक्त हुन प्रेरित गरेका थिए ।

२.अन्तर्य पुनर्रुक्ति (इन्टर्नल रिर्टन) – यस अवधारणामा नित्सेले इतिहास र घटनाक्रम दोहोरिँदैन, समाज सधैँ विकास र अग्रगमनमा हुन्छ भन्ने धारणाको खण्डन गरेका छन् । उनको विचारमा जे हिजो भयो त्यो आज पनि हुन सक्दछ र जे आज घटित भयो त्यो भोलि दोहोरिन्छ । किनकि प्रकृतिको चरित्र र मान्छेको नियति अन्तर्य पुनर्रुक्तिमा आधारित छ ।

३.बथान मानसिकता (हर्ड मेन्टालिटी) – नित्सेका विचारमा मान्छे पनि एक प्राणी हो । तसर्थ स्वाभाविक रुपमा यसमा पशु गुण हुन्छ । तर, सबै मान्छेमा एकै प्रकारको पशु गुण हुँदैन, पशुका गुण र स्वभाव फरकफरक भएजस्तै मान्छेका गुण र स्वभाव फरकफरक हुन्छन् । मान्छेका पशु गुणको भिन्नता बुझाउन उनी अनेक प्राणीका गुणको चित्रण र तुलना गर्छन् ।

नित्सेका विचारमा बथान मानसिकता अर्थात् भेडा चरित्र सबैभन्दा नराम्रो गुण हो । एउटाले जे गर्‍यो, त्यही गर्ने, त्यो गर्नु ठीक हो कि बेठीक हो भनेर विचार नगर्ने गुण नै ‘बथान मानसकिता’ हो । नित्से भन्थे–मान्छेको आत्मिक र सृजनशील विकास भीडलाई पछ्याएर हैन, पन्छाएर मात्र हुन्छ ।

ड्रागन र माकुरोलाई उनी समाजलाई जकड्ने गुणको बिम्ब बनाउँछन् भने सर्प, बाघ र बाजलाई अनुकरणीय चरित्रका प्राणी मान्दछन् । मान्छे सर्पजस्तो जमिनमुनि पनि बाँच्न सक्ने, बाघजस्तो जमिनमाथि निर्भय डुल्न सक्ने र बाजजस्तो आकाशमा माथि माथिसम्म उड्न सक्ने हुनुपर्दछ भन्ने नित्सेको धारणा थियो ।

४.स्व–निर्माण (सेल्फ–बिल्डिङ) – नित्सेको चिन्तनमा मान्छेको व्यक्तित्व स्वनिर्मित हुन्छ । मान्छेले आफूलाई आफैँ बनाउनु पर्दछ । तर, बनाउनुभन्दा पहिले आफूलाई चिन्न र आविष्कार गर्न (सेल्फ डिस्कोभरी) र स्व–प्रकल्पन (सेल्फ इमेजिनेसन) गर्न जरुरी हुन्छ ।

५.एक्लोपनको सामनामा निर्भयको अनुभूति (सोलिच्युड) – जब बथान मानसिकताभन्दा बाहिर मानिसले आफूलाई स्वआविष्कार, स्वप्रकल्पनामार्फत स्वनिर्माण गर्न थाल्दछ, उसमा एक्लोपनमा पनि निर्भयतापूर्वक बाँच्न सक्ने इच्छाशक्ति र सङ्कल्प हुनुपर्दछ । अन्यथा मान्छे पुनश्च: पतनतिर जान्छ र बथान मानसिकतामा पुग्दछ । आत्मिक तथा नैतिक विकासको आधार खुशीसाथ एक्लोपनको सामना हो ।

६. परम्परागत मापदण्ड भङ्ग र नयाँ मापदण्डको स्थापना (आउट अफ कन्भेन्सनल मोरल कोर्ट) – जीवनमा केही राम्रो र नयाँ काम गर्न चाहने सृजनशील मानिसले परम्परागत नैतिक मूल्य र मापदण्ड भत्काउनु पर्दछ । तर, भत्काउनु मात्र हुँदैन, नयाँ नैतिक मापदण्ड र प्रचलन स्थापितसमेत गर्न सक्नुपर्दछ ।

७. प्रारब्ध प्रेम (अमोर फाती) – नित्से भन्थे – हरेक मान्छेको जीवनमा केही न केही त्यस्ता कमजोरी र दुर्भाग्य हुन्छ, जसलाई हटाउन वा परित्याग गर्न सकिँदैन । ती नियति वा प्रारब्धका रुपमा जोडिएर आएका हुन्छन् र दोहोरिन्छन् । यस्ता कमजोरी जो आफ्नो वशमा छैनन्, मान्छेले तिनको चिन्तामा समय खेर फाल्नु हुँदैन । तिनलाई नियतिका रुपमा स्वीकार गरेर बिर्सिदिनु पर्दछ । जति सम्झियो, त्यति त्यसले कमजोर बनाउँछ र हानी गर्दछ । मान्छेले आफ्ना सबलताको बारम्बार स्मरण र अभ्यास गर्नुपर्दछ । ताकि कमजोरमाथि सबलताको विजय सम्भव होस् ।

८. स्व–प्रतिस्पर्धा (सेल्फ–कम्पिटिसन) – नित्सेको विचारमा हरेक मान्छेको आत्म उन्नयनको प्रतिस्पर्धा अरुसँग हैन, स्वयं आफैँसँग, आफैँभित्र, आफ्नै विकास चरणसँग हुन्छ । बाह्य पक्षसँगको प्रतिस्पर्धा कृत्रिम, क्षणिक र आत्मरतिपूर्ण हो । मान्छेले अहिले आफू कहाँनेर छु र अब कसरी अगाडि बढ्ने भनेर स्वयोजना बनाउनु पर्दछ । मान्छेले जब आफूभित्र आफ्नो क्षमताको पूर्ण विकास र उपयोग गर्दछ, बाह्य प्रतिस्पर्धी पक्ष स्वतः पराजित हुन्छ ।

९. शक्तिको चाहना वा शक्तिका लागि इच्छाशक्ति (विल टु पावर) – मानिस असीमित इच्छा शक्तिले भरिएको प्राणी हो । मान्छेले शक्तिको चाहना कहिल्यै परित्याग गर्नु हुँदैन । र, शक्तिको मुख्यस्रोत वा आधार इच्छाशक्ति हो ।

स्मरण होस् कि नित्सेको यो सिद्धान्तलाई धेरैले राजनीतिक शक्ति वा सत्तामोह भनेर बुझ्छन् । खासमा नित्सेको यो सिद्धान्तले भन्न खोजेको चाहिँ सङ्कल्पशक्ति हो । आफूले ठीक देखेको वा ठानेको कामका लागि आफूलाई प्रतिबद्ध र निरन्तर क्रियाशील बनाउने इच्छाशक्ति हो ।

१०.अतिमानव (सुपरम्यान) – उपरोक्त प्रक्रियाबाट मान्छे एक अतिमानव बन्न पुग्दछ । जो अतिमानव बन्न सक्दछ, उसैले इतिहास बदल्न सक्दछ । पुराना मापदण्ड भत्काएर नयाँ नैतिक मापदण्ड स्थापित गर्न सक्दछ । इतिहासमा बेलाबेला अतिमानव देखा पर्दछन् । तिनैले सोच र सभ्यतालाई नयाँ आकार दिन्छन् ।

११.प्रतिभानश्ल (युजेनिक्स) – मानवीय उन्नयनको प्रभाव कुनै एक पुस्तामा सीमित नहुने, बरु त्यो पुस्तादर पुस्ता प्रतिभा नश्लका रुपमा सर्दै जाने नित्सेको विचार थियो । अर्थात् कुनै एक पुस्ताको सङ्कल्पशक्ति र अतिमानव चरित्रको प्रभाव उसका सन्तानमा समेत नश्ल सुधारको कारक तत्त्व बन्दछ । यही कारण हो कि मान्छे त्यही पेशा वा कर्ममा बढी सफल हुन्छ जो उसका पुर्खाले गर्दै आएका थिए ।

पहिलोपटक नित्से भौतिक रुपमा मरे । यो त सजिलै बुझिने कुरा भयो । दोस्रोपटक ?

नित्सेको दोस्रो मृत्यु भने उनका विचारको नाजीकरणसँग सम्बन्धित छ । नित्सेकी बहिनी एलिजावेथ जो एक यहुदी विरोधी आन्दोलनकी कार्यकर्ता थिइन्, जसलाई ‘एन्टीसेमाइट’ भनिन्थ्यो, जसलाई नित्से मन पराउँदैनथे । उनै एलिजावेथले नित्सेको भौतिक मृत्युपछि उनका अधिकांश लेखको सम्पादन र प्रकाशन गरिन् । सम्पादनको क्रममा उनले नित्सेका विचारमा यहुदी विरोधी नश्लवादी भावना पसाई दिइन् ।

भनिन्छ –उनले नित्सेका निबन्धमा केही त्यस्ता वाक्य नजानिदो गरी राखिदिइन्, जसले नाजी पार्टी र विचारलाई वैचारिक फाइदा पुग्यो । पछि उनी हिटलरको नाजी पार्टीमा लागिन् र भन्न थालिन्–नित्सेले भनेको अतिमानव हिटलर नै हुन् । हिटलरमा शक्तिको चाहना छ । उनले पुराना मापदण्डलाई भत्काइ दिनेछन् । जर्मनी केन्द्रित नयाँ विश्व व्यवस्था निर्माण गर्नेछन् । हिटलर नै अतिमानव हुन्, नित्सेका विचारमा विश्वास गर्नेले हिटलरलाई सहयोग र समर्थन गर्नुपर्दछ ।

यहुदीहरू नित्सेले भनेका ‘ड्रागन’ हुन् र लोकतन्त्रवादीहरू नित्सेको व्याख्याका ‘बथान मानसकिता’ भएका मानिस हुन् । हिटलर एक्लोपनमा पनि साहसिक र सङ्कल्पित छन्, नित्सेको विचारअनुरूप एक सही पात्र हिटलर नै हुन् । हिटलरले नै जर्मनीलाई मुक्ति, स्वतन्त्रता र महानता प्रदान गर्न सक्दछन् ।

यसरी स्वयं नित्सेकी बहिनीले उनका विचारलाई नाजीकरण, हिटलरीकरण गर्दिइन् । फलतः नित्सेका विचार विश्वभरि फासीवाद–नाजीवादको दार्शनिक स्रोतका रुपमा बदनाम भयो ।

नित्से पहिलोपटक भौतिक रुपमा मरे, दोस्रोपटक स्वयं उनकी बहिनी एलिजावेथले वैचारिक रुपमा मारिदिइन् । यसरी ‘ईश्वर मरिसक्यो’ भनेर घोषणा गर्ने दार्शनिक नित्से आफैँ दुईपटक मरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register