जापानसँग लडेका मेरा हजुरबा र हजुरआमाको अनुहारमा परेका सङ्घर्षका मुजा

जापानी बन्दीमा रहेको बेलाको कथा सुनाउँदा हजुरबा सधैँ गर्वका साथ भन्नुहुन्थ्यो - मैले शत्रुको टाउको छिनाएर आएँ । तर, मेरो हजुरआमालाई यो कुरा चित्तै बुझ्दैन ।

Jan 18, 2025 - 07:20
 0
जापानसँग लडेका मेरा हजुरबा र हजुरआमाको अनुहारमा परेका सङ्घर्षका मुजा

“इतिहासमा युवाहरूले युद्धका मैदानबाट समेत आफ्ना प्रेमिकालाई प्रेमपत्र लेखेका छन् तर, अहिले तिमीहरू एउटा म्यासेज पनि ‘सिन’मा छोडिदिने केटाको लागि रुन्छौ ? यस्तै यस्तै आशयको रिल कहिलेकाँही मेरो इन्स्टा फिडमा देखापरिरहन्छ ।

तर, आजकलका केटाहरूलाई यस्तो रिल मनपर्दैन रे । एकपटक एउटी बहिनीले यही रिल आफ्नो ब्वाइफ्रेन्डलाई पठाइ छ । त्यसपछि उसको ब्वाइफ्रेन्ड रिसाएको रहेछ । भनेको थियो रे – त्यो रिल तिमीले पठाउँदा मलाई झ्याउ लागेको थियो लाइक “ह्वाट डु यु एक्सपेक्ट म त यस्तै नै हो ।”

०००

सन १९३९ पछि दोश्रो विश्वयुद्ध चर्कियो । मेरी ९५ वर्षीया हजुरआमा सम्झनुहुन्छ, “संसारभर ठुलो लडाइँ भइराको छ भन्थे । कहाँ के हुने हो, कोको मर्ने हो ? कतिलाई सेनामा भर्ती हुनु भन्ने आदेश आयो रे ।” यत्ति याद छ ।

बेलायतले आफ्ना सैनिकलाई भारतबाट बर्माको मोर्चामा परिचालन गर्‍यो । बेलायतले शासन गरिरहेको भारतका तर्फबाट युद्ध गर्न नेपालले ४००० नेपाली सैनिक तयार पार्‍यो । उनीहरूलाई काठमाडौंको टुँडिखेलबाट तामझाम र जितको शुभकामना सहित बिदाइ गरियो । तीमध्ये एक हुनुहुन्थ्यो मेरो हजुरबा वाशुदेवप्रसाद रिसाल ।  

बर्मामा लड्न जानुअघि टुंडिखेलमा जम्मा भएका सेना

नेपाली लेखपढ गरेका हजुरबाले हजुरआमालाई युद्धको मैदानबाट चिठ्ठी पठाउनुहुन्थ्यो । चिठ्ठी महिनौँपछि आउँथ्यो तर, त्यो चिठ्ठी नभएर सँगै बसेर चिया पिउँदै दोहोरी खेलेजस्तो प्रेमिल कुराकानी हुन्थ्यो ।

विदेश गएका श्रीमानसँग श्रृङ्गारका सामान डिमान्ड गर्न हजुरआमाकी भाउजू, दिदी, बहिनीहरू बेलाबेला उक्साउँथे । अनि हजुरआमा लाजले रातो पिरो पर्नु हुन्थ्यो ।

उनीहरूले हजुरआमाकै नाममा लेखिदिन्थे –

“लाली पाउडर किरिम रातो रातो पछ्यौरा
ल्याइदिनु है पियारा हिन्दुस्तानबाट फर्किदा ।”

हजुरबाको महिनौँ पछि चिठ्ठी आउँथ्यो । लेखिएको हुन्थ्यो –

“लाली पाउडर किरिम नलाए नि राम्री छ्यौ
सिङ्गै ज्यान हाजिर भए हुन्न र ?”

चिठ्ठीमा नल्याउने बहाना दिए पनि हजुरबा बिदामा आउँदा एउटा बाकसभरि लाली पाउडर, क्रिम, सारी, पछ्यौरी सबै आइपुग्थ्यो ।

हजुरआमासँगै उहाँका दौँतरीहरू पनि रमाउँथे सबैले लाली पनि लगाउँथे, किरिम पनि लगाउँथे, अनि फेरि समयक्रममा अर्को चिठ्ठी लेख्न उक्सिन्थे ।

आमाले फेरी अर्को चिठ्ठी लेख्नुभयो ।

“लाली पाउडर त आइपुग्यो तर, पियारा कहिले आउने हो ?
रातो पछ्यौरी ओढेर पर्खी बसेको छु ।”

कहिले आउने हो भनेर सोधेको पनि दिन बित्यो, हप्ता बित्यो, महिनौँ बित्यो तर चिठ्ठीको जवाफ आएन, न हजुरबुबा आउनुभयो ।

तर, एक दिन कता कताबाट समाचार भने आयो । जापानी सेनाले युद्धको मैदानबाट सयौँ नेपालीलाई बन्दी बनाएर आफ्नो क्याम्पमा लग्यो ।

हजुरबाको केही खोज खबर नपाएपछि ठुलाबडा बसेर निर्क्यौल निकाले – बाजेलाई पनि जापानीले लग्यो ।

हजुरआमालाई कतिले भने – अब यसको पोइ उतै मर्छ ।

कतिले भने – धैत यिनीहरूको एउटा छोरो पनि छैन ।

कतिले धिक्कारे – कस्तो भाग्य रहेछ यसको

०००

त्यो रातो माटोको पिँढी, अरुका पराले छानाभन्दा अलग्गै जस्तो देखिने जस्ताको छानो लगाएको हामीलाई ठूलो लाग्ने घर । फराकिलो आँगन, तुलसीको मठ, पिँढीमा पराले सुकुल ओच्छ्याएर म स्कुलको होमवर्क गरिरहेको हुन्थेँ । मेरो हजुरबा बेलाबेला बर्मेली भाषा बोलेर मलाई जिस्काउनुहुन्थ्यो ।

हजुरबाले घरमा आउने जो कोहीलाई लडाइँ र जापानीको कब्जा नामक भाइरसले कायल पारिसक्नु भएको थियो । घरमा पाहुना वा नयाँ मान्छे कोही आउँदा हजुरआमाले हजुरबालाई पहिल्यै थर्काउनु हुन्थ्यो, “त्यो जापान र लडाइँको कुरा चाँहि निकाल्ने हैन है ।” 

किनकि, घरमा आउनेहरू हजुरबाको कथा सुनेर वाक्कदिक्क भइसकेका थिए । हुनलाई हाम्रो परिवारै पनि वाक्क भइसकेको थियो । हरेक कुरामा युद्ध, हिन्दुस्तान, बन्धक र जापानी सेना कतै न कतै घुसाइ हाल्नुहुन्थ्यो । अनि त्यो बेलाको इतिहास सबै बेलिबिस्तार लगाउनु हुन्थ्यो । 

मलाई अहिले सोच्दा लाग्छ अनेक शब्द कोर्दै, नेपाली र अङ्ग्रेजीको होमवर्क गरिरहेकी म कति भाग्यमानी रहेछु । इतिहास बाँचेका मान्छेबाट फस्ट ह्याण्ड कथा सुन्न पाइरहेकी थिएँ । तर, मलाई त्यतिबेला दिक्कै लाग्थ्यो अनि भन्थेँ, “ह्या कति एउटै कुरा सुनाइराको भन्या।”

म सम्झन्छु हजुरबाले सुनाएको जापानीले दिएको यातनाको कथा, नेपाली सेनाका ठूलो पोस्टकाले साना सिपाहीलाई गरेको तुच्छ व्यवहारका कथा । 

हजुरबा भन्नुहुन्थ्यो, “ती जापानीले दिनभर जङ्गल जङ्गलको बाटो आफूले बोक्न सक्नेभन्दा बढी भारी बोकाएर हिँड्न र दौडिन लगाउँथे । पानीको नाममा एक थोपो पिउन दिँदैन थिए । हामी त खेतको रसिलो गराबाट पानी चुसेर मुख भिजाउँथ्यौ । अनि मुखमा अड्केको माटो थुक्थ्यौँ । अनि खानेकुरामा दिनभर टिपेको शङ्खेकिरा, फट्याङ्ग्रा भुटेर खान्थ्यौँ ।”

म आँखा ठुलो पार्दै अचम्मले सोध्थेँ अनि तपाईं के खानुहुन्थ्यो ? हजुरबा हाँस्दै भन्नुहुन्थ्यो, “केराको पात” । उहाँ शाकाहारी हुनुहुन्थ्यो ।

हजुरबा र हजुरआमा

०००

जापानी सेनाको बन्दी अवस्थामा एक रात हजुरबालाई महसुस भयो यहाँबाट निस्किन सजिलो छैन । तर, घर परिवारको मोहले हजुरबालाई भागेरै भए पनि आफ्नो क्याम्पमा फर्कन बाध्य बनायो । ‘एभ्रिथिंङ इज फेयर इन लभ एण्ड वार’ भनेजस्तै उहाँ प्रेम र युद्ध दुवैमा हुनुहुन्थ्यो । महिनौँसम्म पनि बन्दी बनाइराखेपछि उहाँले अरुको मतलब गर्नुभएन, आफू बन्दी भएको क्याम्पबाट सुइकुच्चा ठोक्नु भयो ।

एकछिनसम्म त कसैले थाह पाएन रे तर, एउटा खेतको गराबाट हाम फाल्दा हजुरबा बल्ड्याङ लड्नुभयो । त्यतिबेला एउटा चिम्से तर, जीउज्यान परेको जापानी सेनाले देखिहाले छ । त्यसले जापानी भाषामा कराउँदै हजुरबालाई लखेट्न थाल्यो । तर, अरुले थाह पाएनन् । 

भन्नुहुन्थ्यो, “त्यो एउटा खेतको गरा उक्लिँदा म अर्को आली पुगेको हुन्थेँ । त्यो डाँडा उक्लँदा म अर्को डाँडा उक्लिरहेको हुन्थेँ । हजुरबालाई जापानी सेनाले घन्टौँसम्म लखेट्नु लखेट्यो तर भेटाउन सकेन अब झिसमिसे बिहानी हुनै लाग्दा हजुरबालाई लाग्यो अब म यतै मर्छु । हजुरबाको सास फुल्न थाल्यो । 

जङ्गलको बाटोमा दौडँदा, भाग्दा ज्यानमा लगाएको लुगा पनि फाट्न थालिसकेका थिए । हजुरबा एकैछिन एउटा रूखमुनि टुसुक्क के बस्नुभएको थियो । जापानी सेना आफ्नै अघिल्तिर । हजुरबालाई बेस्करी लात्ताले हान्यो अनि घाँटी थिच्न आयो ।

यो कहानी हजुरबाले सुनाउँदा पनि मलाई कथा सुनाएको जस्तै लाग्थ्यो । अहिले सम्झँदा कुनै फिल्म हेरिरहेजस्तो लाग्छ । कहानी अझै रोचक बन्छ ।

जब जापानी सेनाले घाँटी थिच्दै थियो हजुरबाले कहाँबाट एउटा अजङ्गको ढुङ्गा देख्नुभयो । त्यसपछि हजुरबालाई बाँच्ने आशा जाग्यो । “मैले आफ्नो न्वारनदेखिको बल निकालेँ अनि त्यो जापानीलाई पछिल्तिर पछारेँ । त्यो ढुङ्गा उचालेर जापानीको टाउकोमा हानेँ । त्यो त्यही ढल्यो ।” उहाँ भन्नुहुन्थ्यो, “त्यो ढल्दै गर्दा रगतको धारा बग्यो । अनि म फेरि त्यहाँबाट कुलेलम ठोकेँ । त्यसपछि मेरो पछि कोही लागेन । सायद अर्को दिन म आफ्नो क्याम्पमा पुगेँ ।”

बाँच्ने सबै आश मरिसकेपछि सुरक्षित स्थानमा फर्किन पाउँदा कस्तो हुन्छ होला ? उहाँलाई महिनौँपछि आफ्नो घर भेट्टाएजस्तो भयो । हजुरबा क्याम्पमा आफ्ना साथीभाइ भेटेपछि भक्कानिएर रुन थाल्नु भयो । त्यो खुशीको आँशु पक्कै थिएन । सहारा भेटाएपछि महिनौँदेखि मुटुमा गाँठो परेका आँशुको ढिक्का वर्षिरहेको थियो । आँशुले आँखा पखालेपछि हजुरबालाई सम्झना आयो आफ्नो देश, गाउँघर अनि श्रीमती ।

जापानी बन्दीमा रहेको बेलाको कथा सुनाउँदा हजुरबा सधैँ गर्वका साथ भन्नुहुन्थ्यो – मैले शत्रुको टाउको छिनाएर आएँ । तर, मेरो हजुरआमालाई यो कुरा चित्तै बुझ्दैन ।

अझै पनि भन्नुहुन्छ, “छिनाएपछि त्यसको टाउको एउटा कपडामा बेरेर ल्याएको भए हुन्थेन ? राजाको अगाडि सलामी पाइन्थ्यो । अब यो धाक लगाको हो की के हो कसलाई के थाहा ? प्रमाणको लागि टाउको लेराउनु पर्थ्यो नि ।”

पहिले पनि हजुरआमाले यस्तै प्रमाण खोज्दा हजुरबा हाँस्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो, “नपत्याए नपत्याउ न त ।”

०००

जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले बम खसाएको ६ दिनपछि युद्धबिराम भयो । जापानी क्याम्पमा बन्धक बनाइएका नेपाली सेना पनि सायद फर्किए । त्यसपछि कोही ब्रिटिश गुर्खामा भर्ती भए, कति भारतीय आर्मीमा गए । तर, हजुरबाले नेपाली सेनाकै रुपमा त्यतिबेलाको हवाईअड्डामा निरन्तर काम गर्नु भयो ।

हजुरबा लडाइँबाट फर्किदा हिन्दुस्तानबाट ल्याएको बाकस घरमा अझै छ । त्यसमा थिए- उहाँका केही कपडा, बच्चाबच्चीका लुगा, सारी, पछ्यौरा, गलबन्दी अनि केही मिठाई ।

तर, हजुरबाले जस्तो छोडेर जानु भएको थियो, फर्कँदा घर त्यस्तो थिएन ।

हजुरआमा सम्झनुहुन्छ, “दुईवटा जुम्ल्याहा छोरीलाई सँगै दादुराको ज्वरो आएको थियो । दुई दिनको अन्तरालमा दुवैले प्राण त्यागे । जमुना नामकी छोरीले भनेकी थिइन, ‘आमा म सँग बस न एकछिन’ । तर, कामको चटारोले कहिले बिरामी छोराछोरीसँग पनि बस्न पाइएन ।”

पिँढीमा घाममा सुताएको ३ वर्षकी गङ्गाले कहिल्यै आँखा उघारिनन् । उनकै जुम्ल्याहा बहिनी पनि दुई दिन पछि बितिन् । आज पनि यो कुरा सम्झँदा हजुरआमाको भक्कानो छुट्छ ।

०००

हजुरबाले युद्ध मैदानमा गोलीको निशाना छल्दा दाहिने कानको लोती उडेको कहानी त झनै गर्वका साथ सुनाउनु हुन्थ्यो, ‘सुईईईय गयो कान रगतपिच्छे भो । लौ कान नै उडेछ भनेको त अलिकतिले भ्याएन छ ।’

प्रमाणको लागि आफ्नो कान देखाउँदै कथा बेलिबिस्तार लगाउनु हुन्थ्यो ।

लामो समयसम्म स्वास्थ्यसँग सङ्घर्ष गर्दागर्दै २०५६ सालमा हजुरबाले भौतिक शरीर छाड्नु भयो । त्यससँगै हजुरबाले सुनाइरहने इतिहासका तमाम कथा र कहानी पनि सकिए । 

तर, हजुरआमाका दुःख त्यतिमै पनि सकिएनन् ।

अहिले आफ्नो विगत सम्झिँदा हजुरआमा कहिले मरीमरी हाँस्नु हुन्छ कहिले भक्कानिनु हुन्छ । सुख र दुःख जिन्दगीका मौसमी चक्र रहेछन् । चलिरहन्छन् । त्यसपछि पनि कयौँ कष्ट आए । तर, जीवन चलिरह्यो ।

हजुरआमाको उमेर ९५ भएपनि दिमाग अझै तेजिलो छ, कान त सुन्न छाडिसक्नुभयो, तर अझै पनि घरको एकएक खबर उहाँलाई भन्नुपर्छ । उहाँलाई अझै राम्री देखिन पर्छ । कहिलेकाँही फोटो खिच्न लाग्दा भन्नुहुन्छ – लुगा राम्रो लगाको दिन खिच् ।

कहिलेकाँही उहाँको फोटो मोबाइलमा देखाउँदा भन्नुहुन्छ – यो छाला के विदि चाउरी परेको । कस्तो शरीर कस्तो हुँदो रहेछ हे भगवान् ।

म हजुरआमालाई जिस्क्याउँछु – तपाईंको अनुहार चाउरी नपरे मेरो पर्छ त ?

अनि हजुरबाको चिठ्ठी सम्झाउँदै कुरालाई मोडिदिन्छु

“लाली पाउडर किरिम ल्याइदिने नि कोई छैन
ल्याइदेऊ न पियारा भन्नलाई नि कोही छैन”

हजुरआमा गिँजा देखाएर मरीमरी हाँस्नु हुन्छ । हजुरआमाको अनुहारमा उमेरसँगै सुख, दुःख अनुभव, समय, सम्बन्ध र सङ्घर्षका दर्जनौँ मुजा पर्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register