दिल्लीमा सरकार बनाउने ‘हट’ सिट, केजरीवाललाई दुई पूर्वमुख्यमन्त्रीका छोराको चुनौती

तीन दशकको इतिहास हेर्दा यो सिट जितेको पार्टीले दिल्लीमा सरकार बनाएको छ । सन् १९९३ मा भाजपाका कीर्ति आजाद यहाँबाट विधायक बने र दिल्लीमा भाजपाले सरकार बनायो । शिला दीक्षितले सन् २००८ सम्म यहाँबाट जितिन् र मुख्यमन्त्री बनिन् । सन् २०१३ मा नवगठित आम आदमी पार्टीका नेता केजरीवालले यहाँबाट शिलालाई हराए ।

Jan 22, 2025 - 07:30
 0
दिल्लीमा सरकार बनाउने ‘हट’ सिट, केजरीवाललाई दुई पूर्वमुख्यमन्त्रीका छोराको चुनौती

काठमाडौं । नयाँ दिल्ली विधानसभा सिट क्षेत्रफलको हिसाबले दिल्लीको सबैभन्दा ठूलोमध्ये एक हो । तर, मतदाताको हिसाबले यो दोस्रो सानो सिट हो ।

यदि यो राजनीतिक महत्त्वको कुरा हो भने यो सिट दिल्लीको राष्ट्रिय राजधानी क्षेत्रको सबैभन्दा चर्चित पनि हो । र, यसपटक पनि उम्मेदवारको हिसाबले यो सिट चुनावी मैदानमा सबैभन्दा अगाडि छ ।

यस सिटमा जम्मा ४० जनाले उम्मेदवारी दिएका छन्, केहीले फिर्ता लिए भने केही अस्वीकृत भए । अहिले यहाँबाट २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

आम आदमी पार्टीका संयोजक तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल यहाँबाट तीन पटक विधायक बनेका छन् भने यसपटक पनि उनी सोही सिटबाट उम्मेदवार छन् ।

भाजपाले पूर्वमुख्यमन्त्री साहिब सिंह वर्माका छोरा प्रवेशलाई उम्मेदवार बनाएको छ भने काङ्ग्रेसले पूर्वमुख्यमन्त्री शीला दीक्षितका छोरा सन्दीपलाई उतारेको छ ।

कीर्ति आजाददेखि केजरीवालसम्म

विगत तीन दशकको इतिहास हेर्दा यो सिट जितेको पार्टीले दिल्लीमा सरकार बनाएको छ । सन् १९९३ मा भाजपाका कीर्ति आजाद यहाँबाट विधायक बने र दिल्लीमा भाजपाले सरकार बनायो ।

शिला दीक्षितले सन् १९९८ मा यो सिट जितेकी थिइन् । दीक्षितले सन् २००८ सम्म यहाँबाट जितिन् र दिल्लीको मुख्यमन्त्री बनिन् ।

सन् २०१३ मा नवगठित आम आदमी पार्टीका नेता केजरीवालले यहाँबाट शिलालाई हराए । त्यसपछि सन् २०१५ र २०२० मा केजरीवाल यहाँबाट विधायक बने र मुख्यमन्त्री पनि बने ।

पछिल्लो चुनावमा केजरीवालले यहाँबाट ६१.१० प्रतिशत मत ल्याएका थिए भने सन् २०१५ को चुनावमा ६४.३४ प्रतिशत मत ल्याएका थिए ।

सन् २०१३ मा पहिलो पटक यहाँबाट निर्वाचित हुँदा केजरीवालले ५३.४६ प्रतिशत मत पाएका थिए ।

यसको मतलब केजरीवालले पछिल्ला तीन विधानसभा चुनावमा प्रत्येकमा पचास प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् ।

यस अवधिमा उक्त सिटमा काङ्ग्रेसको भोट प्रतिशत लगातार घट्दै गएको छ । पछिल्लो चुनावमा यहाँबाट काङ्ग्रेसले करिब चार प्रतिशत मत ल्याएको थियो भने भाजपाले झन्डै ३३ प्रतिशत मत पाएको थियो ।

दिल्लीमा आफ्नो उदयसँगै सत्तामा आएको आम आदमी पार्टीले अहिलेसम्म दिल्लीमा एकतर्फी मत पाइरहेको छ ।

पछिल्लो चुनावमा पार्टीले ७० सिटमध्ये ६२ सिट जितेको थियो । तर, अब करिब १२ वर्षको शासनपछि दिल्लीमा सत्ता कायम राख्न आम आदमी पार्टीका लागि चुनौती बनेको छ ।

पार्टीका ठूला नेताहरू भ्रष्टाचारको आरोपमा मुछिएका छन् । कथित मदिरा घोटालामा जेल परेका केजरीवालले जमानत पाएपछि मुख्यमन्त्री पद छाड्ने क्रममा दिल्लीका जनताले आफूलाई पुनः निर्वाचित गरे मात्रै मुख्यमन्त्री पदमा फर्कने बताएका थिए।

सन् २०२० मा यहाँ १ लाख ४६ हजार मतदाता थिए । अहिले यो सङ्ख्या बढेर करिब १ लाख ९० हजार पुगेको छ । अधिकांश सरकारी कार्यालय यहाँ छन् ।

सांसदहरूको सरकारी निवास पनि यस सिटको क्षेत्रमा पर्छ । यहाँ धेरै सङ्ख्यामा केन्द्रीय र राज्य कर्मचारीको सरकारी क्वार्टर छन् । यस विधानसभा सिटमा अन्य पिछडा वर्ग र अनुसूचित जातिको पनि उल्लेखनीय सङ्ख्या छ ।

जातीय तथ्याङ्क उपलब्ध छैन तर, यहाँ वाल्मीकि मतदाता सबैभन्दा बढी छन् । यसपछि यस सिटमा धोबी समुदायका मतदाता पनि पर्याप्त छन् ।

प्रतिस्पर्धा कत्तिको कडा ?

अहिलेसम्म सजिलै जित्दै आएका केजरीवालले पनि यो सिटमा आफ्नो पार्टीको पूरा शक्ति लगाएका छन् ।

यसलाई उदाहरणबाट बुझ्नुहोस् । धोबी कालोनीमा बस्ने एक व्यक्तिको फोन बज्यो । यो फोन आम आदमी पार्टीका एक स्वयंसेवकको थियो ।

ती स्वयंसेवक सोध्छन् – तपाईंको परिवारमा कति भोट छ ? ती व्यक्तिले जवाफ दिन्छन्– ३० जति ।

उताबाट स्वयंसेवक भन्छन् – तपाईंको क्षेत्रमा डस्टबिन र बेन्च पठाइरहेका छौँ, कति पठाउने ? ती व्यक्तिले दुईवटा डस्टबिन मागे तर, चारवटा डस्टबिन पठाउने जवाफ आयो ।

फोन कलको क्रममा स्वयंसेवकले यस तथ्यमा पूर्ण जोड दिन्छन् कि मतदाताले आफ्नो वरपरका मानिसलाई पनि मतदान गर्न प्रेरित गर्न सकुन् ।

यस्तो प्रयास आम आदमी पार्टीले मात्र गर्दैन । भाजपाका उम्मेदवार प्रवेश वर्माले आफ्नो सम्पूर्ण शक्ति र स्रोत चुनावी अभियानमा लगाएका छन् ।

डिसेम्बर २५ मा प्रवेश वर्माको सरकारी घरबाट केही महिला हातमा ‘लाडली’ योजना ग्यारेन्टी कार्ड र ११ रूपैयाँ लिएर बाहिर निस्कँदा आम आदमी पार्टीले हङ्गामा मच्चायो ।

निर्वाचन आयोगमा उजुरी गर्दै प्रवेशको घरमा ठूलो मात्रामा नगद भएको आरोप लगाएको थियो ।

तर, यी आरोप खारेज गर्दै प्रवेशले आफ्नो बुवाको नाममा चल्ने एनजीओमार्फत मानिसलाई सहयोग गरिरहेको दाबी गरे । र, वितरण भइरहेको रकम यस गैरसरकारी संस्थाको खाताबाट निकालिएको छ ।

प्रवेशको घरबाट पैसा लिएर बाहिर निस्केकी एक महिलाले भनिन्, ”हाम्रो कोलोनीमा आएपछि कार्ड बनाइयो । आज हामी त्यसको पैसा उठाउन आएका हौँ ।”

यस सिटमा आम आदमी पार्टी र भाजपा दुवैले एक–एक मतदातालाई आकर्षित गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।

सन्दीप दीक्षित पनि आफ्नो राजनीतिक विरासतका आधारमा भोट खोज्ने मैदानमा छन् ।

एक प्रश्नको जवाफमा केजरीवालले आफूलाई आम मानिसको छोरा भन्दै थपे, ”मसँग दुई पूर्व मुख्यमन्त्रीका छोरा प्रतिस्पर्धामा छन् तर, जनताले आम मानिसको छोरालाई रोज्नेछन् ।”

के भन्छन् मतदाता ?

मन्दिर मार्गमा रहेको भगवान महर्षि वाल्मीकि मन्दिरको विशाल परिसरमा बसेर तास खेलिरहेका मानिस एकै स्वरमा भन्छन् – अहिलेसम्म यहाँबाट केजरीवालले जित्दै आएका छन् तर, यसपाली प्रतिस्पर्धा कडा हुन्छ।

उनीहरू सबै यस सिटका वाल्मीकि समुदायका मतदाता हुन् । तर, सबैसँग कुरा गरेपछि प्रत्येक मतदाताको आ–आफ्नो रोजाइ छ भन्ने प्रष्ट हुन्छ ।

एक मतदाता त्रिलोक भन्छन्, “मलाई लाग्छ यस पटक भाजपा बढी शक्तिशाली छ । भाजपाको समर्थन दिल्लीमा मात्र नभई बाहिर पनि बढ्दै गएको छ, यसको प्रभाव देखिन्छ ।”

त्रिलोक थप भन्छन्, ”मोदीले विश्व बाहिर पनि भारतलाई गौरवान्वित बनाएका छन्, जनताले यो देखिरहेका छन् ।”

तर, त्यहाँ बसेका अर्का एकजना भन्छन्, ‘सन्दीप दीक्षित पनि मैदानमा छन् तर, मानिसहरू केजरीवालतर्फ बढी झुकेको देखिन्छ ।”

प्रवेश वर्माको गैरसरकारी संस्थाले यहाँ स्वास्थ्य शिविर स्थापना गरेको छ, जसमा हरेक दिन करिब १५० देखि २०० मानिस चेकअपका लागि आउने गरेका छन् । तीमध्ये अधिकांश महिला छन् ।

त्यहाँ आएकी एउटी महिला भन्छिन्, “जहाँ जान्छ, भोट त्यहीँ पुग्छ, तर स्वास्थ्य परीक्षण राम्रो छ । केजरीवालले २१ सय रूपैयाँ दिने वाचा पनि गरेका छन् ।”

निर्णायक को ?

यस सिटमा वाल्मीकि र धोबी समुदायका मतदाताले निर्णायक भूमिका खेल्न सक्छन् ।

अनुमानअनुसार यहाँ वाल्मीकि मतदाताको सङ्ख्या २० हजारको हाराहारीमा हुनसक्छ भने धोबी समुदायका मतदाता १५ हजारको हाराहारीमा छन् ।

यस सिटमा यी समुदायका मतदाताले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्लेषकहरूको विश्वास छ ।

दिल्ली चुनावको रिपोर्टिङ गरिरहेका पत्रकार सुनिल कस्पाया भन्छन्, “यस सिटमा प्रतिस्पर्धा कडा हुन्छ र नतिजा जोसुकै तिर ढल्किनसक्छ । यहाँसम्मकी केजरीवाललाई पहिलेको जस्तो यस पटक जित्न सजिलो छैन जस्तो लाग्छ ।”

यसको कारण बताउँदै कश्यप भन्छन्, ”यद्यपि सन्दीप दीक्षित पनि यहीँका हुन् तर, केजरीवालको मुख्य प्रतिस्पर्धा प्रवेश वर्मासँग हुनेछ । भाजपाले यहाँबाट वर्मालाई मैदानमा उतारेर आफ्नो रणनीति परिवर्तन गरेको छ । वाल्मीकि मतदाताको यस पटक भाजपातर्फ झुकाव छ ।”

वाल्मीकि मन्दिर वरपरका मतदाताहरूसँग कुरा गरेपछि पनि यो झुकावका केही सङ्केतहरू छन् । एक वृद्ध मतदाता भन्छन्, ”यसपटक वाल्मीकि भाजपातर्फ झुकेका छन् ।”

तर, यो सिटमा धोबी मतदाता पनि ठूलो सङ्ख्यामा छन् । मङ्गलबार केजरीवालले आफ्नो सरकार बनेमा दिल्लीमा वाशरम्यान वेलफेयर बोर्ड गठन गर्ने वाचा गरेका थिए ।

धोबी समुदायका नेतासँग पत्रकार सम्मेलन गर्दै केजरीवालले भने, “हाम्रो सरकार बनेपछि दिल्ली सरकारले धोबी समुदाय कल्याण बोर्ड गठन गर्नेछ । यो बोर्डले धोबी समुदायका समस्या समाधान गर्नेछ ।” यो घोषणापछि धोबी समुदायमा खुशी छाएको छ ।

दिल्ली धोबी महासभासँग सम्बद्ध अधिवक्ता रवि कनोजिया भन्छन्, “नयाँ दिल्ली विधानसभाको जित वा हार वाल्मीकि र धोबी समुदायका मतदाताले तय गर्छन् । केजरीवालले धोबी बोर्ड गठनको घोषणा गरेर हाम्रो समुदायका मतदाता आकर्षित गरेका छन् ।”

तर, रवि भन्छन्, ‘धेरै मतदाताले मनबाट भोट दिन्छन् । कसैको कसैमा प्रभाव छैन । तर, धोबी महासभाको दृष्टिबाट केजरीवालले त्यो काम गरे, जसको लागि हामीले लामो समयदेखि प्रतिक्षा गरिरहेका थियौं ।”

पत्रकार सुनील कश्यप भन्छन्, “केजरीवाल कुनै पनि कसर छोड्न चाहँदैनन् । उनले यो सिटमा चुनाव हारे भने उनको राजनीति नै खतरामा पर्नेछ । यस्तो अवस्थामा केजरीवालले मतदातालाई आफूतर्फ आकर्षित गर्ने हरेक कदम चाल्नेछन् ।”

-बीबीसी हिन्दीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register