भारतका स्वतन्त्रता, संविधान र गणतन्त्र दिवसबीचको भिन्नता

रोचक कुरा, संविधानसभाको निर्वाचन र गठन हुँदा भारत स्वतन्त्र भइसकेको थिएन । भारतीय राष्ट्रिय काङ्ग्रेसको लामो समयदेखिको माग र ब्रिटिश सरकारकै अनुमतिमा संविधान सभाको निर्वाचन भएको थियो ।

Jan 26, 2025 - 07:14
 0
भारतका स्वतन्त्रता, संविधान र गणतन्त्र दिवसबीचको भिन्नता

काठमाडौं जनवरी २६ भारतको गणतन्त्र दिवस हो । भारतमा आज ७६ औं गणतन्त्र दिवस भव्य राजकीय समारोहका साथ मनाइदैछ । गणतन्त्र दिवसमा प्रमुख अतिथिका रुपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवा सुवियन्तो आमन्त्रित छन् ।

१०.३० बजे राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस समारोहको प्रारम्भ गरेकी थिइन । समारोहमा भव्य सैन्य परेड भएको छ भने विभिन्न झाँकी र सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएका छन् । महत्त्वपूर्ण राष्ट्रिय पदकको घोषणा र वितरण हुँदैछ ।

गणतन्त्र दिवस वर्षगाँठको नारा ‘स्वर्ण भारत : सम्पदा र विकास’ (गोल्डेन इन्डिया : हेरिटेज एण्ड डेभलपमेन्ट) राखिएको छ ।

गणतन्त्र दिवसको सन्देशमा प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् – यो राष्ट्रिय उत्सवले हाम्रो संविधानका मूल्य संरक्षित गर्नुका साथै एक शसक्त र समृद्ध भारत बनाउने दिशामा हाम्रा प्रयासलाई अझ मजबुत बनाउने छ ।

भारतमा ३ वटा राष्ट्रिय दिवसलाई उच्च महत्त्वका साथ मनाइन्छ । स्वतन्त्रता दिवस, संविधान दिवस र गणतन्त्र दिवस । यी दिन भारतको इतिहासमा किन र कसरी महत्त्वपूर्ण भए । बुझौँ यी दिवस बीचको भिन्नता ।

स्वतन्त्रता दिवस

सन् १९४७ अगष्ट १५ मा भारत १९४ वर्ष लामो बेलायतको औपनिवेशिक शासनबाट मुक्त भएर एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनेको घोषणा गरिएको थियो र तसर्थ, ‘अगष्ट १५’ लाई स्वतन्त्रता दिवस भनिन्छ ।

बेलायती संसद्ले भारतीय स्वतन्त्रता ऐन २०४७ पारित गरेपछि अगष्ट १५ मा एकै दिन भारत र पाकिस्तान दुई स्वतन्त्र राज्य बनेका थिए ।

भारत स्वतन्त्रताको घोषणा प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले दिल्लीको लालकिल्लामा राष्ट्रिय झण्डा फहराएर गरेका थिए । उनले भारतीय स्वतन्त्रताको चाहना, सङ्घर्षको महानता, भारतको भविष्य र विश्व इतिहासमा यसको प्रभावबारे सारगर्भित भाषण गरेका थिए । 

संविधान दिवस

भारतमा नोभेम्बर २६ मा संविधान दिवस मनाइन्छ । सन् १९४९ नोभेम्बर २६ मा संविधान सभाबाट संविधान पारित भएको दिनलाई दिवसका रुपमा मानिएको हो । यसै दिनलाई कानुन दिवस पनि मानिन्छ । यस दिनबाट स्वतन्त्र भारतको संवैधानिक कानुनको इतिहास सुरु हुन्छ । यही दिन पारित भएको संविधानलाई सन् १९५० जनवरी २६ का दिन औपचारिक घोषणा र लागू गरिएको थियो ।

भारतको संविधानसभा निर्वाचित र मनोनित गरी मिश्रित संरचनाको थियो । ३८९ सदस्यमध्ये २९६ सिट वालिग मताधिकारका आधारमा प्रत्यक्ष निर्वाचन भएको थियो ।

यस निर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसले २०८ र मुस्लिम लिगले ७३ सिट जितेका थिए । अन्य साना दल र स्वतन्त्र उम्मेदवारले १५ सिट ल्याएका थिए । ९३ सिट मनोनित थिए ।

सन् १९४६ डिसेम्बर ९ मा संविधानसभाको पहिलो बैठक दिल्लीमा बसेको थियो । रोचक कुरा, संविधानसभाको निर्वाचन र गठन हुँदा भारत स्वतन्त्र भइसकेको थिएन । भारतीय राष्ट्रिय काङ्ग्रेसको लामो समयदेखिको माग र ब्रिटिश सरकारकै अनुमतिमा संविधान सभाको निर्वाचन भएको थियो । तर, स्वतन्त्रतापछि पनि सोही संविधानसभालाई मान्यता दिइएको थियो ।

संविधानसभाको २ वर्ष, ११ महिना १८ दिनको अवधिमा ११ पूर्ण बैठकले १६५ दिन लगाएर संविधान निर्माण गरेका थिए । सन् १९५१ – ५२ को पहिलो लोकसभा निर्वाचन नहुन्जेलसम्मलाई संविधानसभाले नै अन्तरिम संसद्को काम गरेको थियो ।

७ सदस्यीय संविधान मस्यौदा समितिका सभापति डा. भीमराव अम्बेडकर थिए । पण्डित जवाहरलाल नेहरु, सरदार बल्लभभाइ पटेल, डा.राजेन्द्र प्रसाद, जेबी कृपालानी लगायत संविधानसभा भित्रका महत्त्वपूर्ण व्यक्तित्व थिए । मस्यौदा मूल समितिसहित १३ वटा उपसमिति बनाएर संविधान निर्माण गरिएको थियो ।

गणतन्त्र दिवस

स्वतन्त्र भारतको संविधानसभाले पारित गरेको संविधान घोषणा र लागू भएको दिनलाई गणतन्त्र दिवस भनिन्छ । सन् १९५० जनवरी २६ मा संविधान देशभरि लागू भएको घोषणा गरिएको थियो । 

संविधान घोषणका लागि यो दिन छनोट गरिनुको कारण भने सन् १९३० मा भारतीय राष्ट्रिय काङ्ग्रेसले पूर्ण स्वराजको नीति उद्घोष गरेको दिनको स्मरण थियो ।

प्रथम राष्ट्रपति डा.राजेन्द्र प्रसादले कर्तव्यपथमा झण्डा फहराएर गणतन्त्र दिवसको परेड सुरु गरेका थिए । अहिलेसम्म त्यही परम्परा कायम छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register