लामिछाने फेरि ५४ लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहारा चितवन सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग ५४ लाख रुपियाँ धरौटी मागिएलगत्तै उहाँ धरौटी बुझाएर रिहा हुनुभएको छ। चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लगातार दुई दिनको सुनुवाइपछि बिहीबार रविसँग धरौटी माग गर्ने आदेश दिएको थियो। सोही अनुसार लामिछानेले धरौटी बुझाएर रिहा भएका […]

Feb 7, 2025 - 02:35
 0
लामिछाने फेरि ५४ लाख धरौटी बुझाएर रिहा

काठमाडौं ।

सहारा चितवन सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग ५४ लाख रुपियाँ धरौटी मागिएलगत्तै उहाँ धरौटी बुझाएर रिहा हुनुभएको छ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लगातार दुई दिनको सुनुवाइपछि बिहीबार रविसँग धरौटी माग गर्ने आदेश दिएको थियो। सोही अनुसार लामिछानेले धरौटी बुझाएर रिहा भएका हुन्।

यसअघि बहसका क्रममा सरकारी वकिल र जाहेरवालाका कानुन व्यवसायीले रविलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन माग गरेका थिए। प्रबन्ध निर्देशकको हैसियतबाट चेकमा हस्ताक्षर गरेको र विभिन्न व्यक्ति तथा संस्थालाई दिएको, आफ्नो कार्यकालमा धेरै चेकहरू जारी भएको, ती चेक अध्यक्ष गीतेन्द्रबाबु राईको निर्देशन पालना गरी जारी गरेको बयान लामिछानेले दिनुभएको थियो।

रविमाथि सहारा चितवन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ। उक्त सहकारीको १० करोड ८० लाख १ हजार १५१ रुपियाँ ६ पैसा गोर्खा मिडियामा प्रवाह गरेको भेटिएको छ। सहकारीको रकम कम्पनीमा लैजानु गैरकानुनी रहेको र यसमा रविसँगै छविलाल जोशी बन्जाडे, जीबी राई र कुमार रम्तेलको संलग्नता रहेको दाबी अभियोगपत्रमा गरिएको छ।

यसअघि सहकारी ठगीकै मुद्दामा लामिछाने तीनवटा जिल्ला अदालतबाट पनि धरौटीमै रिहा हुनुभएको थियो। कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्दामा ६५ लाख धरौटीमा रिहा हुनुभएका लामिछानेलाई काठमाडौं अदालतले स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख धरौटी लिएर छाडेको थियो।

त्यसपछि बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा उहाँलाई रूपन्देही अदालतले एक करोड रुपियाँ धरौटी माग गरेको थियो। यी तीनवटै जिल्लामा गरी उहाँले २ करोड २५ लाख रुपियाँ धरौटी यसअघि नै बुझाइसक्नुभएको छ। अब पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको ठगी प्रकरणमा पनि उहाँमाथि मुद्दा चलाउने तयारी छ । प्रहरीले अनुसन्धान अन्तिम चरणमा पु¥याइसकेको जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register