ग्लोबल आइएमई बैंक डुब्ने हल्ला कति सही ? कति गलत ? सम्पूर्ण चिरफार… (भिडियो ब्रिफिङ) 

काठमाडौँ । अहिले टिकटकमा तपाईंहरुले ग्लोबल आईएमई बैंकबाट मैले पैसा झिकें, तपाईं पनि झिक्नुस् ? यो बैंक डुब्दैछ भनिएको भिडियो तपाईंहरुले देख्नुभएको होला । बैंकका अध्यक्ष चन्द्र ढकालको कम्पनीले कुनै ठाउँमा केबलकार बनाउन लागेको विषयमा चित्त नबुझ्दा बैंकसँग जाइलागेका भिडियोहरु पनि तपाईंले देख्नुभएको छ होला । आफूले पैसा जम्मा गरेको बैंकको यस्तो विषय आउँदा, वा […]

Feb 7, 2025 - 02:30
 0
ग्लोबल आइएमई बैंक डुब्ने हल्ला कति सही ? कति गलत ? सम्पूर्ण चिरफार… (भिडियो ब्रिफिङ) 

काठमाडौँ । अहिले टिकटकमा तपाईंहरुले ग्लोबल आईएमई बैंकबाट मैले पैसा झिकें, तपाईं पनि झिक्नुस् ? यो बैंक डुब्दैछ भनिएको भिडियो तपाईंहरुले देख्नुभएको होला । बैंकका अध्यक्ष चन्द्र ढकालको कम्पनीले कुनै ठाउँमा केबलकार बनाउन लागेको विषयमा चित्त नबुझ्दा बैंकसँग जाइलागेका भिडियोहरु पनि तपाईंले देख्नुभएको छ होला । आफूले पैसा जम्मा गरेको बैंकको यस्तो विषय आउँदा, वा आफूले सेयर किनेर राखेको बैंक डुब्दैछ भन्ने चर्चा चल्दा जो कोहीलाई पनि चासो हुनु अस्वाभाविक होइन । तर के साँच्चै ग्लोबल आईएमई बैंक डुब्दै छ त ? के निक्षेपकर्ताहरुले बाहिर हल्ला चलेजस्तो ह्वारह्वार्ती पैसा निकालिरहेका छन् त ? आजको स्ट्रेट फरवार्डमा हामी यही प्रश्नको नालीबेली खोतल्दैछौँ

धेरैको पहिलो चासो के ग्लोबल आईएमई बैंक डुब्दैछ ?
यसको सिधा उत्तर हो, ग्लोबल आईएमई बैंक अहिलेकै अवस्थामा डुब्ने त परै जावस यसका संकेतका छिटा/बाछिटा पनि कतै छैनन् । ग्लोबल बैंक फण्डामेन्टल रुपमा निकै बलियो बैंक हो । डुब्दैन, डुब्दै डुब्दैन । बैंकका वित्तीय विवरणले स्पष्ट बोलिरहेका छन्, बैंकको अवस्था सन्तोषजनक मात्र होइन उत्साहजनक छ । अझ प्रष्ट रुपमा भन्दा राम्रो गरिरहेका नेपाली बैंकहरुको सूची बनाउँदा ग्लोबल आईएमई बैंक टप ५ भित्रै पर्छ । बैंकको निष्क्रिय कर्जा अनुपातको स्थिति चिन्ताजनक त छैनन् नै, बैंकको प्रति सेयर आम्दानी, निक्षेप संकलन र कर्जा प्रवाहको स्थिति पनि सन्तोषजनक छ । यसले बैंकको स्थिति सहज छ भन्ने प्रष्ट देखाउँछ । बैंकसँग चित्त नबुझेका विषय कतिपय ग्राहकका होलान् । आफ्नो आस्थामाथि कसैले प्रहार गरेको महसुस गरेपछि उ पनि त्यहाँ छ भनेपछि बैंकप्रति रिस देखाइएको पक्कै हो । तर बैंक डुब्दैछ भन्ने हल्ला फगत हल्ला बाहेक केही होइन ।

अनि किन ग्लोबल आईएमई बैंक विरुद्ध केही अभियानताहरुले अभियान चलाए त ?
सत्य हो, आस्थामा इफ बट हुँदैन । आस्थामा ठेस पुगेपछि मान्छे उग्र हुन्छ । यतातिर हामी कमेन्ट यसकारण पनि गर्दैनौँ कि त्यसमा के सही हो, के गलत हो, पाथीभरामा केबलकार बन्दा ठिक कि बेठिक भन्ने विषय हामीले अध्ययन गरिसकेको विषय होइन । तर यतिचाहिँ जरुर भन्छौँ, जसरी चन्द्र ढकालको बैंक भनेर ग्लोबल आईएमई बैंकप्रति कतिपय अभियानताहरु खनिएका छन्, त्यो सहि हुन सक्दैन । किनकि ग्लोबल आईएमई बैंक चन्द्र ढकालको मात्र होइन । हाल ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकमा ४८.७६ प्रतिशत लगानी सर्वसाधारणको छ, अर्थात तपाईं हामीजस्तै सेयर लगानीकर्ताहरुको छ । ग्लोबल आईएमई बैंकले जति कमाउँछ, जति लाभांश बाँड्छ, त्यो ४८.७६ प्रतिशत सर्वसाधारण सेयर धनीहरुले पाउने हो । कोहि अध्यक्ष हुँदैमा सो बैंक उसैको हुँदैन । नेपालमा आफ्नो सेयर नगन्य रहेका तर बैंकको अध्यक्ष पदमा रहेका धेरै छन् । ग्लोबल आईएमई बैंकलाई जसरी चन्द्र ढकालको बैंक भन्ने भाष्य बनाईएको छ, त्यो शैदान्तिक र व्यवहारिक दुवै रुपमा गलत छ । ग्लोबल आईएमई बैंक त आम सर्वसाधारणको बैंक हो । न यो बैंक राम्रो हुँदा चन्द्र ढकालको मात्र राम्रो हुने हो, न बैंकले राम्रो गरेन भने ढकालको मात्र निख्रने हो ।

सर्वसाधारणको बैंक भएकाले बैंक राम्रो हुँदा वा नराम्रो हुँदा त्यसको लाभ र हानीको हिसाब सर्वसाधारणकै खल्तीमा आएर हुने हो । यही तथ्य नबुझ्दा धेरैले ग्लोबल आईएमइ बैंकलाई तगारो बनाएका छन् । भएको यति हो । अव रिस उठेपछि, मन नपरेपछि केहिले ग्लोबल आइएमई बैंकमा खाता बन्द पनि गरेका हुन्, जुन ग्राहकको अधिकार भित्र पर्छ । भोलि मलाई ग्लोबल आईएमई बैंक ठिक र सहज लागे खाता मै पनि खोल्न सक्छु, चित्त नबुझे त्यहाँ खाता बन्द गरेर अन्त खोल्न सक्छु । यसको अर्थ फेरी केहिले खाता खोल्दैमा सो बैंक उग्र राम्रो भईहाल्ने र केहिले खाता बन्द गर्दैमा बैंक सिद्धिहालने भन्ने होइन ।  

के त्यसो भए बैंकलाई दशा लागेको हो त ?
अव दशा भन्ने कि यो परिस्थितिलाई के नाम दिने त्यसको यकिन परिभाषा नहोला । तर ग्लोबल आईएमई बैंकप्रति जसरी केही अभियानताहरु आईलागे, ग्लोबलका दिन बिग्रेका पक्कै हुन् । बैंक होस् वा मान्छेको जिन्दगी, कहिलेकाहीं केही नराम्रो नगर्दा पनि दिन र समय आफू अनुकुल हुँदैन । ग्लोबल आईएमई बैंक अहिले सोहि परिस्थितिमा छ । अध्यक्षले कहाँ के बिजनेश गरे, त्यो सही वा गलत के हो भन्ने विषय एउटा पब्लिक लिमिटेड रहेको र राष्ट्र बैंकले लाइसेन्स दिएर चलेको वाणिज्य बैंकको सरोकारको विषय त्यति नहुन सक्छ, जसरी अहिले सबै दोष ग्लोबल आईएमई बैंककै हो भन्ने भाष्य बनाउने दुष्प्रयास भएको छ । तर, जसले जति नै भने पनि कुरा क्लियर छ, ग्लोबल आइएमई बैंक डुब्दैछ भन्ने कुरा पूर्ण रुपमा निराधार हो । बैंक यदि डुब्न लागेको भए त त्यसको खबर हामी बजाईहाल्थ्थ्यौं नि । कुनै दिन कर्णालीमा कारोबार गर्नेहरु होसियार हुनु भनेकै हो नि । पछि कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले टेकओभर गर्यो । बैंक डुब्न लागेको संकेत बजारमा देखिइनै हाल्छ । थोरै मात्र संकेत देखिएपछि हामी तपाईंहरुलाई सचेत गराई नै हाल्छौँ । आजका लागि यति बुझ्नुस्, ग्लोबल आईएमई बैंकले राम्रो पर्फर्मेन्स गरिरहेको छ । बिग्रन थाल्यो भने त त्यसको जानकारी सबैभन्दा पहिला अर्थ सरोकारले दिई नै हाल्छ नि । यति कुरामाचाहिँ तपाईंहरु ढुक्क हुनुस् । 

अव कुन बैंकमा खाता खोल्ने, नखोल्ने तपाईंको इक्षा हो । एउटै आमाका दुई सन्तानबीच त कुन बैंकमा खाता खोल्ने, को सँग कारोबार गर्ने, कहाँबाट ऋण लिने भन्ने विषयमा कुरा मिल्दैन भने आफूलाई मन नपरेपछि खाता बन्द गर्न पाइन्छ । तर आफूलाई मन नपरेकी केटी चरित्रहीन छिन् भन्दै हिँड्नु भने केटाकेटी पारा बाहेक अरु केही हुन सक्दैन । हुन सक्छ, कसैलाई कुनै बैंकको रंग मन नपर्न सक्छ, कसैलाई नाम मन नपर्न सक्छ, कसैलाई कुनै बैंकको सिइओ अनुहार नै मन नपर्न सक्छ, तर त्यसको अर्थ फेरी त्यो बैंक डुब्दैछ भन्नु पक्कै पनि गलत हुन्छ ।

हो, ग्लोबल आईएमई बैंक सोह्रै आना सबै कुरामा उत्कृष्ट छ र कमजोरीविहीन छ भन्ने कुरा हाम्रो होइन, हुँदै होइन । त्यहाँ काम गर्ने कर्मचारी सबै दूधले नुहाएका छन् भन्ने पनि होइन । ग्लोबल आईएमई बैंकको नाममै जादुको छडी छ जुन, जो फटाहाको हातमा परे पनि डुब्दैन भन्न खोजेको पनि होइन । त्यो भविष्यवाणी गर्ने हामी ज्योतिष पनि होइनौँ  तर आजको दिनमा, अहिलेकै स्थितिमा ग्लोबल आईएमई बैंक डुबेको हेर्ने सपना कसैले देखेको छ भने सो सपना सपनामै सिमित रहनेछ । 

अनि धेरैलाई लाग्ला, केही अभियान्ताले मात्र होइन, केही नेता हुन खोजेकाहरुले पनि त बैंक डुब्दैछ भनिरहेका छन् त । तपाईंमध्ये केहिलाई यस्तो लाग्छ भने यो कुरा पनि प्रष्ट हुनुहोस्, कसैले भनेर बैंक डुब्ने होइन । हामी फेरी पनि दोहोर्याउँछौं, बैंक डुब्ने त परको कुरा ग्लोबल आईएमई बैंकभित्र केही थोरै मात्र गलत भयो भने पनि हामी त्यसको खबर ल्याईहाल्छौँ । बिगतमा पनि ल्याएकै हो, भविष्यमा पनि ल्याउँछौँ । जनताको पसिना परेको संस्थालाई राम्रो बनाउने र खबरदारी गर्ने दुवै जिम्मा हाम्रो हो । हामी त्यो काम गर्छौँ नै । त्यसैले ढुक्क हुनुस्, ग्लोबल आईएमई बैंक ठीकठाक चलिरहेको छ, गज्जब गरिरहेको छ । (भिडियो)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register