माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुन्छः वर्षमान पुन

खोटाङ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन् । ३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव पुनले समाजवादीसँग आफूहरुको कार्यदिशामा समानता रहेको बताएका हुन् । उनले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित माओवादी […]

Feb 13, 2025 - 13:42
 0
माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुन्छः वर्षमान पुन

खोटाङ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन् ।

३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव पुनले समाजवादीसँग आफूहरुको कार्यदिशामा समानता रहेको बताएका हुन् ।

उनले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित माओवादी धारका सबै घटकसँग पनि सहकार्य र एकताको नीतिमा आफूहरु रहेको बताए ।

‘एकीकृत समाजवादीसँग हाम्रो कार्यनीतिक रुपमा धेरै कुरा मिल्छ, ढिलोछिटो हामी एकै ठाउँमा हुने सम्भावना छ’, उनले भने, ‘युद्ध गर्ने होइन, शान्तिपूर्ण प्रतिस्पर्धाबाटै जान तयार भए वैद्यजी, विप्लवजीहरुसँग पनि एकता हुन्छ । हिजो सँगै लडेका र जनयुद्धको विरासत बोकेका सबै समूहसँग एकताका लागि हामी खुला छौं ।’

उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरि कम्युनिष्ट ध्रुवीकरणको प्रक्रिया अघि बढिसकेको दाबी गरे । पुनले आगामी ०८४ को स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा कसैसँग पनि तालमेल नहुने भन्दै अहिल्यैदेखि तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

काङ्ग्रेस  र एमालेप्रति जनताको मोह भङ्ग  भएको र विकल्पका रुपमा आफूहरुलाई छान्ने अवस्था बनेको उनको दाबी छ । उनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा माओवादी उम्मेदवारले काङ्ग्रेस र एमालेका साझा उम्मेदवारलाई हराएर जित निकालेबाट उक्त तथ्य पुष्टि हुने तर्क  गरे ।

‘०८४ मा स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा हामी एक्लै लड्ने छौं, यसमा कसैलाई पनि भ्रम नहोस् कि हामी अब एक्लै अगाडि बढेका छौं’, पुनले भने, ‘हामी एक्लै जनताको जनमत लिन सक्ने भएका छौं । करिबकरिब ०६४ को जस्तै उभार देखिन थालेको छ ।’

पुनले प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा भ्रष्टाचार नियन्त्रण, राज्य दोहन र बिचौलिया प्रवृत्तिविरुद्ध तथा सुशासनका पक्षमा कदम चालेका कारण जनतामा काङ्ग्रेस  र एमालेसँगको सहकार्यले पनि माओवादी बिग्रिएको रहेनछ भन्ने मनोविज्ञान विकास भएको दाबी गरे । ‘हामीले भ्रष्टाचार, अनियमितता, राज्य रोहन र बिचौलियामाथि प्रहार गरेर अघि बढ्ने बाटो लिएका छौं’, पुनले भने, ‘काङ्ग्रेस र एमाले बिचौलियाको र स्वार्थ समूहको ‘इन्ट्रेस्ट’ मा चलेका कारण हाम्रो बाटो फरक भएको छ ।’

उनले राज्यमा कानून सबैलाई बराबरी हुने भए पनि सत्तापक्षकालाई एक प्रकारको तथा विपक्षी र आमसर्वसाधारणका लागि फरक खालको कानूनको अभ्यासजस्तो देखिएको टिप्पणी  गरे । पुनले प्रधानमन्त्री केपी ओलीको नाम जोडिएका गिरीबन्धु, यति, ओम्नी, कम्बोडियाको लगानी र स्वीस बैंकमा रकम राखिएको भन्ने विषय तथा लडाकु शिविरमा भएको भनिएको अनियमितता र शेरा दरबार प्रकरणको सँगसँगै छानबिन अघि बढाउन माग गरे ।

‘गिरीबन्धु, यति, ओम्नी, स्वीस बैंक, कम्बोडियाको लगानीसहित क्यान्टोन्मेन्ट र शेरा दरबारको पनि छानबिन गरौं’, उनले भने, ‘हाम्रो कोही मुछिएको रहेछ भने पर्छ । तर, हामीलाई तर्साउन तिम्रो पनि छ भन्ने जस्ता कुरा हामी मान्दैनौं । छ भने छानबिन गरे हुन्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register