२९ वर्ष अघि यसरी बनेको थियो माओवादी ‘जनयुद्ध’को पहिलो पोस्टर 

पोस्टर बनाउँदासम्म पनि आरसीलाई देशमा ‘जनयुद्ध’ हुँदैछ भन्ने थाहा थिएन । अनि धेरै पछिसम्म पनि ‘जनयुद्ध’को पोस्टर बनाउने चित्रकार आरसी हुन् भन्ने धेरैलाई थाहा थिएन ।

Feb 13, 2025 - 14:30
 0
२९ वर्ष अघि यसरी बनेको थियो माओवादी ‘जनयुद्ध’को पहिलो पोस्टर 

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) ले ‘जनयुद्ध’ सुरु गरेको आज ठीक २९ वर्ष पुग्यो । १ फागुन २०५२ मा माओवादीले देशभरका ४ स्थानमा रहेका सुरक्षा पोस्टमा आक्रमण गरेर ‘जनयुद्ध’ सुरु गरेको थियो । ती सुरक्षा पोस्टमा आक्रमण गर्नुअघि माओवादीले जनयुद्ध सुरु गरेको जानकारी दिन एउटा पोस्टर सार्वजनिक गरेको थियो ।

‘जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने नारा लेखिएको उक्त पोस्टर माओवादी ‘जनयुद्ध’को पहिलो चित्र हो । त्यसो भए त्यो पोस्टर कसले बनायो ?

माओवादी जनयुद्धको उद्घोष गर्ने पोस्टर चितवनका रामचन्द्र (आरसी) पियाले बनाएका हुन् ।

त्यो पोस्टर बनाउँदासम्म आरसीलाई नै देशमा ‘जनयुद्ध’ हुँदैछ भन्ने थाहा थिएन । उनी भन्छन्, “ठूलो जनयुद्ध हुँदैछ भन्ने थाहा थिएन । सामान्यरूपमा केही हुँदैछ भन्ने मात्रै जानकारी थियो ।”

माओवादी पार्टीको समर्थक भएपनि त्यतिखेरसम्म उनी सङ्गठनमा आवद्ध भएका थिएनन् । त्यतिखेर मात्र होइन आरसी अहिले पनि माओवादीको कुनै पनि सङ्गठनमा आवद्ध छैनन् ।

२०५२ मा माओवादीले ‘जनयुद्ध’ सुरु गर्ने तरखर गर्दा आरसी साथीहरूसँग मिलेर चितवनबाट नवचेतना पत्रिका निकाल्थे । काठमाडौंबाट प्रकाशित हुने जनादेश पत्रिकामा कार्टुन पनि बनाउँथे ।

आफूलाई ‘प्रगतिशील’ विचारधाराको बताउने आरसीलाई माओवादी नेता गुणराज लोहनीले पोष्टर बनाउन अनुरोध गरेका थिए । “जनयुद्ध सुरु हुनुभन्दा १५ दिन अगाडि मलाई पोस्टर बनाउने अनुरोध भयो,” आरसी सम्झन्छन् ।

लोहनीले पोस्टर बनाइदिन अनुरोध गरेपनि ‘यस्तै पोस्टर बनाउनुपर्छ’ भनेर ‘आइडिया’ दिएका थिएनन् । “यस्तै पोस्टर बनाउनुपर्छ भनेर कसैले भनेको थिएन,” उनी सुनाउँछन् । साथीहरूसँगको सामान्य छलफलपछि आरसीले पहाडी पृष्ठभूमिमा कम्ब्याट लुगा लगाएका मिलिसिया । हसिया हथौडा अङ्कित झण्डा कोरिएको चित्र बनाए ।

चित्रको पहिलो ‘ड्राफ्ट’आरसीले गुणराज लोहनीलाई देखाए । “मेरो भूमिगत नेताहरूसँग भेटघाट हुँदैन थियो । स्थानीय नेतासँग मात्रै भेट हुन्थ्यो,” आरसी सम्झन्छन्,“पहिलो ड्राफ्ट नै लोहनी सरले ओके भन्नुभयो ।”

गुणराज लोहनीले चित्र लगेर नेतालाई देखाएछन् । तर, कुन नेतालाई कहाँ लगेर देखाए भन्ने आरसीलाई लोहनीले अहिलेसम्म भनेका छैनन् । चित्र हेरेपछि नेताहरूले औधी मन पराएको कुरा लोहनीले आरसीलाई सुनाएका थिए ।

३ दिन लगाएर आरसीले उक्त पोस्टर तयार गरेका थिए । “१ दिन कन्सेप्ट बनाउन लाग्यो । बाँकी दुई दिन चित्र बनाउन समय लाग्यो,” उनले भने ।

जनयुद्धको पोस्टर आरसीले क्यानभासमा नै पेन्टिङ गरेका थिए । चित्र बनाइसकेपछि आफूले मूल अर्थात ओरिजिनल प्रति नै लोहनीलाई दिएर पठाएको आरसीले बताए । 

“मैले त मुल पेन्टिङ नै दिएको हुँ । उहाँहरूले नै कहाँकहाँ लगेर कलर प्रिन्ट गर्नुभयो मलाई थाहा छैन्,” आरसी भन्छन् ।

पोस्टरमा चित्र बनाउनेको नाम र प्रिन्ट गरिएको ठेगाना नभएका कारण आफू त्यतिखेर पक्राउ पर्नबाट जोगिएको हुनसक्ने उनको अनुमान छ । तर, माओवादीको मुखपत्र मानिएको जनादेशमा जोडिएका कारण पक्राउ पर्छु कि भन्ने डर भने थियो ।

“जनादेशमा कार्टुन बनाउँथे । त्यसैले त्यताबाट पक्राउ पर्छु कि भन्ने डर थियो,’ उनी सम्झिन्छन् । माओवादी ‘जनयुद्ध’ चर्किदै गएपछि आरसीले आफूसँग रहेका क्रान्तिकारी किताब र दस्तावेज जलाए । “त्यो बेलाको साहित्य र पार्टीका केही दस्तावेज थिए । कतिपय साथीको घरमा लुकाए कति त जलाए,” उनले भने ।

त्यसपछि पनि आरसीले अर्को पोस्टर बनाएका थिए । अघिल्लो पोस्टर जस्तै पछिल्लो पोस्टर पनि उनले लोहनीकै आग्रहमा बनाएका थिए । तर, त्यो पोस्टर प्रयोग भयो कि भएन आरसीले थाहा पाएनन् । “सायद, त्यो पोस्टर प्रयोग भएन होला । प्रयोग भएको भए त देखिन्थ्यो कि ?” आरसी शङ्का गर्छन् ।

धेरै पछिसम्म पनि ‘जनयुद्ध’को पोस्टर बनाउने चित्रकार आरसी हुन् भन्ने धेरैलाई थाहा थिएन । “केही सीमित साथीलाई थाहा थियो । अरु कसैलाई थाहा थिएन,” आरसीले भने ।

माओवादीका पनि उच्च नेतृत्वलाई आफूले पोस्टर ‘डिजाईन’ गरेको थाहा थिएन कि भन्ने शङ्का गर्छन आरसी । उनी भन्छन्, “त्यतिखेर पनि उच्च नेतृत्वलाई थाहा थिएन होला । शान्ति प्रक्रियामा आए पछि कुनै पनि माथिल्लो नेताले यसविषयमा कुरा नगरेकाले अहिले पनि उहाँहरूलाई थाहा छैन् कि जस्तो लाग्छ ।”

आरसी ‘जनयुद्ध’को सानो हिस्सा हुन पाएकोमा गर्व गर्छन् । तर, ‘जनयुद्ध’ले कल्पना गरेअनुसार काम भने नभएकोमा असन्तुष्ट पनि छन् । “सानो हिस्सा भएपनि त्यसमा सामेल हनु पाएकोमा गर्व गर्छ । तर, पूर्ण सन्तुष्ट भने छैन्,” असन्तुष्टिको फेहरिस्त लामै छ । तर, उनलाई सुनाईरहन मन पनि छैन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register