समूहभित्रको ध्रुवीकरण रोक्न खोज्दै देउवा

 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनमा आफ्नो समूहमा ध्रुवीकरण बढ्न थालेसँगै त्यसलाई रोक्न पहल थालेका छन् । यसका लागि उनले आफूनिकट नेताहरूलाई बोलाएर महाधिवेशन केन्द्रित छलफल थालेका हुन् । शुक्रबार बुढानिलकण्ठस्थित निवासमा आफूनिकट नेताहरूलाई बोलाएर देउवाले समुहभित्र ध्रुवीकरण देखापरेकोबारे चासो व्यक्त गरेका थिए । शुक्रबार उनले नेताहरू कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, […]

Feb 14, 2025 - 12:09
 0
समूहभित्रको ध्रुवीकरण रोक्न खोज्दै देउवा

 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनमा आफ्नो समूहमा ध्रुवीकरण बढ्न थालेसँगै त्यसलाई रोक्न पहल थालेका छन् । यसका लागि उनले आफूनिकट नेताहरूलाई बोलाएर महाधिवेशन केन्द्रित छलफल थालेका हुन् ।

शुक्रबार बुढानिलकण्ठस्थित निवासमा आफूनिकट नेताहरूलाई बोलाएर देउवाले समुहभित्र ध्रुवीकरण देखापरेकोबारे चासो व्यक्त गरेका थिए । शुक्रबार उनले नेताहरू कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ विजयकुमार गच्छदार प्रकाशमान सिंह, उमाकान्त चौधरी , बालकृष्ण खाँड, एनपी साउद, प्रकाशशरण महत लगायतलाई बोलाएर महाधिवेशन केन्द्रित छलफल गरेका हुन् ।

छलफलमा उनले आफूलाई सहयोग गरेका साथीहरू शेखर समुहमा जान लागेको भन्दै सार्वजनिक भएका समाचारमाथि चासो व्यक्त गरेको बैठकमा सहभागी नेता गोपालमान श्रेष्ठले नेपालभ्युजलाई बताएका छन् । ‘हाम्रा समूहका साथीहरू एकतावद्ध हुनुपर्नेमा गुट परिवर्तनमा लागेको समाचार आइरहेको छ । मिडियामा निरन्तर हाम्रा समुहका साथीहरूको फोटो जोडेर गुट परिवर्तन लागेको कुरा आइरहेको छ । यो कुरामा साथीहरूको धारणा के हो?’ देउवाको प्रश्न उद्दृत गर्दै श्रेष्ठले भने ।

सभापति देउवाले यस्तो प्रश्न उठाएपछि उनलाई सहभागीहरूले विगतदेखिनै साथ दिँदै आएकाले सभापतिको साथ नछोड्ने भनेर आश्वस्त बनाएको श्रेष्ठको भनाइ छ । ‘सभापतिले प्रश्न गरेपछि साथीहरूले कसैलेपनि समूह परिवर्तन नगरेको जानकारी सभापतिलाई गराउनुभयो,’ श्रेष्ठले भने ।

१५ औँ महाधिवेशनलाई लिएर शेखर कोइराला समूहले अभियान थालनी गरिसक्दा देउवा मौन बसेका थिए । महाधिवेशनलाई लिएर देउवाको मौनता र आफूहरूको उचित व्यवस्थानबारेको वेवास्ताप्रति उनीनिकट नेताहरू असन्तुष्ट थिए ।

शुक्रबारको बैठकमा यो असन्तुष्टीबारे सभापतिलाई जानकारी गराइएको नेता प्रकाशरण महतले बताए । आगामी महाधिवेशनमा सभापतिले आफूहरुको व्यवस्थापनमा सद्धभाव देखाउनुपर्ने आवाज सामूहिक रूपमा उठाइएको नेता महतले बताएका छन् ।

‘हामीले सभापतिलाई साथ दिने प्रतिवद्धता व्यक्त गरेका छौँ । उहाँलाई साथ दिँदै आएकाहरूको उचित व्यवस्थापनमा सभापतिले पनि सद्धभाव देखाउनुपर्ने सामूहिक कुरा बैठकमा राख्यौँ,’ महतले भने ।

बैठकमा नेताहरूले संस्थापन पक्षलेपनि महाधिवेशन केन्द्रित छलफल र बहसलाई अघि बढाउनुपर्ने माग गरेका छन् । उनीहरूले सभापतिलाई महाधिवेशनको बहसमा शेखर कोइराल पक्ष खरो उत्रिँदा आफुहरू कमजोर देखिएकाले बहसमा अग्रसरता देखाउन सुझाव दिएको सह-महामन्त्री उमाकान्त चौधरीले बताए ।

‘हामीले महाधिवेशनको सवालमा मौन नबस्न र सक्रियता देखाउन सभापतिलाई आग्रह गरेका छौँ । अबको मार्गबारे सभापतिले प्रस्ट पारेर सम्पूर्ण पंक्तिलाई एकतावद्धरूपमा परिचालन गर्नुपर्ने कुरा राख्यौँ,’ उनले भने ।

बैठकमा नेता कृष्णप्रसाद सिटौलाले महाधिवेशनका सन्दर्भमा फरक-फरक कुरा आएको र कुनै पक्ष देशदौडाहामा लागिसकेको भन्दै यसबारे सभापतिको धारणा माग गरेका थिए । उनले १५ औँ महाधिवेशनको सन्दर्भमा क्रियाशिल सदस्यता लगायत अन्य पक्ष टुंग्याउन सभापति देउवाको ध्यानाकर्षण गराएका थिए ।

‘महाधिवेशनको मितिबारे समान धारणा बनाउन र क्रियाशील सदस्यता लगायत अन्य प्राविधिक कुराहरू समयमै टुंग्याउनुपर्ने कुरा मैले उठाएँ,’ उनले भने । सिटौलाले सभापति देउवालाई साथ दिएकाहरूमध्येबाटै सभापतिमा उम्मेदवारी आउने भएकाले यसपटक आफुहरुलाई सहयोग गर्नुपर्ने बताएका थिए ।

उनको प्रस्तावमा नेताद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदारले साथ दिएका थिए । ‘मैले सभापतिमा तपाइँलाई साथ दिएकै मध्येहरूबाट कसैले यसपटक सभापतिमा उम्मेदवारी दिनेछ । त्यसमा तपाइँले साथ दिनुपर्छ भनेँ,’ सिटौलाले भने ।

उक्त प्रस्तावपछि देउवाले समूहमा ध्रुवीकरण देखापर्न नहुने बताएका थिए । अहिले नै आफूले यसमा केही भन्न नसक्ने भन्दै उनले समय आएपछि यस विषयमा छलफल गर्ने उल्लेख गरे । ‘अहिले म पार्टीको सभापति छु। अहिले नै मैले यो विषयमा बोल्नु भए नि । समय आएपछि बोलौँला,’ देउवाको भनाइ उद्दृत गर्दै सिटौलाले बताए ।

जो भएपनि यही समुहबाट उम्मेदवारी हुने भन्दै उनले ध्रुवीकरण रोक्दै एकतावद्ध रूपमा अघि बढ्न आफ्नो समूहनिकट नेतालाई आग्रह गरेका छन् । ‘बलियो र सुदृढ कांङग्रेस बनाउन अहिले एकजुट हुनुस् । जो जो उम्मेदवार भएपनि यही टिमबाट हुन्छ । समय आएपछि बोलौँला । अहिले एकतावद्ध भएर अघि बढौँ,’ देउवाको मत थियो ।

पछिल्लो समयमा देउवाले गगन थापालाई च्यापेको भन्दै उनको समूहमा असन्तुष्टि बढ्दो छ । अझ थापाले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेसँगै देउवा पक्षका नेताहरू आफ्नो भविष्यलाई लिएर थप चिन्तित देखिन्छन् ।

महाधिवेशनलाई लिएर देउवाले मौनता साँधेपछि र आफूहरूको व्यवस्थापनप्रतिको वेवास्ताले नेताहरू पूर्णबहादुर खड्का, एनपी साउद, प्रकाशरण महत लगायतले असन्तुष्टी व्यक्त गरिरहेका थिए । यस्तो अवस्थामा असन्तुष्टहरूलाई बोलाएर देउवाले ध्रुवकीरण रोक्दै एकतावद्ध भएर सुदृढ पार्टी बनाउनेतर्फ क्रियाशील हुन आग्रह गरेका हुन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register